नेपालमा वार्षिक १० लाख पर्यटक आउने अनुमान छ । पोखरामा कति पर्यटक कहाँबाट आउँछन् भन्ने आधिकारिक तथ्यांक छैन । नेपाल आएका पर्यटकमध्ये ४० प्रतिशत पोखरा पुग्छन् भन्ने अनुमान छ ।
पोखराको पर्यटनको आधार भनेको प्राकृतिक सम्पदाहरू हुन्, जो अहिले खुम्चिँदै गएका छन् । पोखरामा हेर्नका लागि र घुम्नका लागि के के छन् भन्ने सूची खोज्दा प्राकृतिक सम्पदाकै नाम अघि आउँछ । निश्चय नै मानव निर्मित गतिविधिको तुलनामा प्राकृतिक सम्पदा नै अपरिवर्तनशील गन्तव्य हुन् ।
पोखरामा पर्यटकीय गतिविधि अधिक हुन्छन् । त्यसैले पोखरा पर्यटनको राजधानी हो कि होइनः बहस सुरु भएको छ । लामो समयदेखि पोखरालाई पर्यटनको राजधानी घोषणा गर्नुपर्ने पोखरेलीहरूको माग छ । पोखरा महानगरपालिकाले पटकपटक निर्णय पनि गरेको छ । प्रदेश सरकारले संघमा सिफारिस पनि पठाएको छ । तर केन्द्रले पोखरालाई अहिलेसम्म पर्यटन राजधानी मानेको छैन । त्यसैको दबाबस्वरुप प्रदेश सरकार र पोखरा महानगरले पर्यटन क्षेत्रसँग सम्बन्धितहरूलाई राखेर राजधानी घोषणाका लागि अध्ययन समिति गठन गरेको छ ।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा गठित समितिमा पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधि, पर्यटन विज्ञ सहित ११ जना सदस्य छन् ।
गण्डकीको पर्यटन मन्त्रालयले पोखरालाई पर्यटकीय राजधानीको रूपमा विकास गर्न अवधारणा पत्र तयार गरेको छ । सोही अवधारणा पत्र बमोजिम विस्तृत अध्ययन गर्न समिति गठन गरिएको हो । समितिले पर्यटकीय राजधानीको रूपमा विकास गर्न आवश्यक पूर्वाधारको विकास तथा सेवाको गुणात्मकता वृद्धि गर्ने नीतिलाई कार्यान्वयन गर्नेछ ।
गण्डकी प्रदेशको समृद्धिको मुख्य आधार पर्यटन भएकाले पर्यटनलाई विशेष महत्त्व दिइएको प्रदेश सरकारले जनाएको छ । अध्ययन समितिले विस्तृत अध्ययन गरी ३० दिनभित्र प्रतिवेदन पेस गर्ने छ । राजधानी घोषणा गरेपछि प्राप्त हुने सुविधाका बारेमा खोजी गरेका छन् । विश्व सिग्देल पोखरा पहिलेदेखि नै गतिविधि र पर्यटकको आगमनको केन्द्र भएकाले आफैँ पर्यटनको राजधानी हो, घोषणा गर्नुपर्दैन भन्ने धारणा राख्छन् ।
उनी भन्छन्, ‘पोखराका चौतारा, पोखरी र पाटनलाई पुनर्जीवित गरौँ । नदी, ताल, खोला खोल्साहरुको मापदण्ड खाली गरौँ । कसैको पुर्ख्यौली स्वामित्वमा भएको भए त्यो जमिन अधिग्रहण गरौँ, अधिग्रहण गर्न नसके जग्गाधनीलाई नै प्रकृतिमैत्री भूउपयोग नीति बनाएर सो अनुरुप फाइदा लिन प्रोत्साहित गरौँ । अनि पर्यटक आफैँ हेर्न आउँछन् ।’
पोखरामा २५ प्रतिशत जमिन खुला राख्न सिग्देलको सुझाव छ । उनी विद्यालय तहबाटै पर्यटनमैत्री पाठ्यक्रम राख्नुपर्ने सुझाव दिन्छन् । महानगरको विज्ञ सल्लाहकारसमेत रहेका उनी महानगरपालिका पोखराको वैभव अनुसार चल्नुपर्नेमा जोड दिन्छन् । ‘किसानहरूले फलफूल, बाग बगैँचा, अन्नबाली सागपात उत्पादन गर्ने जमिन करमुक्त गरौँ र उत्पादनको बजार प्रत्याभूति गरौँ । जसबाट नगर समृद्ध, स्वस्थ, हराभरा फूल बागबगैंचाले स्वर्ग देखिन्छ,’ उनी भन्छन्, ‘पूर्वाधार निर्माण गरेर आवास क्षेत्र सुनिश्चित गरेका ठाउँमा मात्र बसोबासको नीति अख्तियार गरौँ ।’
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठको चाहिँ राजधानी घोषणा हुनुपर्ने राय छ । ‘घोषणा नगरे पनि पोखरा राजधानी हो । यति सुन्दर ठाउँ संसारमा छैन । पूर्वाधार त सरकारले थप्दै जान्छ । बाटो बन्ला अनि गरौँला भनेर कुर्नु हुँदैन,’ उनले भने, ‘बाटो छिटो बन्नुपर्छ भन्नेमा हामी पनि सहमत छौँ । अन्तर्राष्ट्रिय उडानका लागि प्रयास भइरहेकै छ । अब घोषणा गर्न विलम्ब गर्नु हुँदैन ।’
‘केवलकार, अल्ट्रालाइट, बन्जी, जिप लाइन, प्याराग्लाइडिङ लगायत इभेन्टहरू राजधानी घोषणाका लागि बलियो आधारहरू हुन् । पोखराले दैनिक ४० हजार पर्यटकलाई सेवा दिन सक्छ । अहिले यहाँको पर्यटन लयमा फर्किएको छ । सुन्दर फेवाताल छ, अरू तालहरू पनि छन् । तर फेवाताल र हिमालमात्रै छैन । मान्छेले बनाएका थप गतिविधिहरू पनि छन्,’ उनले भने, ‘राजधानी घोषणा गरेर विश्वलाई एउटा सन्देश दिन सके यहाँको पर्यटन जुरुक्कै उठ्छ ।’
लेक साइड क्षेत्रलाई २४ घण्टा खुला राख्न प्रशासनले आन्तरिक गृहकार्य गरिरहेको छ । व्यवसायीहरूका अनुसार गण्डकीको पर्यटनमा ७ खर्बभन्दा बढीको लगानी छ । पोखरामा आसपासमा मात्रै ६ खर्ब लगानी छ भने त्यसमध्ये ५ खर्ब होटलमा छ ।
पोखरा महानगरपालिका अन्तर्गत सहरी योजना आयोगका उपाध्यक्ष प्रेमलाल लामिछानेले पोखराको प्राथमिकता पर्यटन नै भएकाले राजधानी घोषणाका लागि पहल थालिएको बताए । ‘पोखराको ध्यान पर्यटनमा छ । राजधानी घोषणाका लागि आवश्यक अध्ययन गर्न समिति बनेको छ,’ उनले भने, ‘समितिले राजधानी घोषणा गर्नु अघिको पूर्वाधार र घोषणा भएपछि प्राप्त हुने सुविधाबारे अध्ययन गर्नेछ ।’ समितिकै सिफारिसपछि सरकारले थप प्रक्रिया थाल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुन र चाँदीकै मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
- सरकारले एकसाथ हुत्याउन लागेका नियुक्ति के–केमा छन् ?
- अध्यादेशको कारण दबाबमा राष्ट्रपति, आज कानुनविद्हरुसँग परामर्श
- आज कुन देशको मुद्रा कति छ ? यस्तो छ विनिमयदर
- रास्वपा संसदीय दलको बैठकमा रविको १२ बुँदे निर्देशनः के के छन् ती १२ बुँदामा ?
- पोर्चुगलमा विशेष कार्यक्रमका साथ २५७० औँ बुद्घजयन्ती मनाइँदै
- आज यी स्थानमा वर्षा हुरीको सम्भावनाः मौसम विभागले गर्यो सचेत रहन आग्रह
- सरकारले ल्याउने ६ अध्यादेश स्वार्थ समूहका लागि नभई नागरिकका लागि होः असीम साह


ट्रेन्डिङ
खबरमुकाम







