• वि.सं २०८३, वैशाख १७ बिहीबार
  • Thursday, 30 April, 2026
  • युनिकोड
  • Live

राँके बजारको रैथाने उत्पादनमा पल्किएका पर्यटकः गाडी रोकेर सामान नकिनी फर्किन्नन्

राधा लुइँटेल । ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन गरेर फर्कंदै गर्नुभएकी पोखरा लेखनाथ चौककी पवित्रा अधिकारीको गाडी पाँचथरस्थित राँके बजार आइपुगेर टक्क रोकियो ।

गाडी किनारा लगाएका पवित्रासँगै उहाँको साथमा रहेका पाँच जना यात्रु ओर्लिए, कसैले टिम्मुर–कागतीको अचार, कसैले अकबरे खुर्सानी, कसैले बाँसको तामा, कसैले बान्टे, कटुस, एबोकाडो, किवी र ओखर किन्न थाले । अधिकारीले भनिन्, ‘चिटिक्क पारेर सजाइएका सामग्रीले मन तान्यो, सबैले गरेर झन्डै पाँच हजार रुपियाँको किनिएछ ।’ 

लगत्तै पाथीभराबाट फर्किंदै गरेको इटहरीका प्रद्युम्न ढकालको टोली राँके बजार आइपुग्यो । उनको टोली सदस्यले घिउ, छुर्पी, ललिपप र चिजलगायतका दुधजन्य उत्पादन र हरियो सागपात किने । विगतमा पनि पाँचथर ताप्लेजुङ आएर फर्कंदा केही न केही किनेर फर्केको ढकालले सुनाए । उनले भने, ‘यहाँबाट लगेको चटनी, तरकारी, घिउ र ललिपप विशेष लाग्छ । आएको बेला छर छिमेकी र आफन्तलाई कोसेली पनि यहीँबाट लिएर जान्छु ।’

राँके बजार इलाम र पाँचथरको सीमावर्ती स्थानमा पर्छ । बाह्रैमास जाडो हुने यो ठाउँमा स्थानीयले मौसम अनुसारका फलफूल, दलहन, तेलहन, तरकारी, घिउ, छुर्पी, चिज, मसला र जडीबुटीजन्य उत्पादन बिक्रीमा राख्छन् । पसलका दराजदेखि सिँढीसम्म सजाइएका सामग्री झापा, मोरङ सुनसरी, काठमाडौँ र पोखरा हुँदै विभिन्न स्थानबाट आएका आन्तरिक र बाह्य पर्यटकले धक फुकाएर किन्ने गरेका छन् । 

आसपासमा फलेका रैथाने उत्पादन बजार ल्याएर विभिन्न वजन समूहमा प्याकिङ गर्दै कोसेली लैजान मिल्ने गरी बेचिने भएकाले बजारलाई रैथाने उत्पादनको कोसेली बजार भनेर चिनाउन थालिएको जनप्रतिनिधिहरू बताउँछन् ।

धेरै थरीका मसला, अन्न, फलफूल र तरकारी उत्पादन हुने राँके बजार क्षेत्र अकबरे खुर्सानीको पकेट क्षेत्र भएकाले बजारको मध्यभागमा खुर्सानीकै स्तम्भ निर्माण गरिएको फाल्गुनन्द गाउँपालिका अध्यक्ष वृजहाङ आङदेम्बेले बताए । स्थानीय उत्पादन चिटिक्क पारेर सजाएका राँकेका पसलले अधिकारी र ढकाल जस्ता हजारौँ तीर्थयात्री र बटुवालाई तान्ने गरेका छन् । यहाँ आइपुगेका ग्राहकले टिम्बुर, अकबरे खुर्सानीदेखि घिउ, छुर्पी र ललिपप नै किन नहोस् छानी छानी किन्न पाउँछन् ।

राँके बजार व्यवस्थापन समितिका अनुसार यहाँ करिब ३५ वटा पसल छन् । याममा ती सबै पसलमा दैनिक करिब ३० हजार रुपियाँ बराबरको कोसेलीजन्य सामग्री बिक्री हुने गरेको छ । बाह्रैमास यात्रुको आउजाउ भइरहने राँके बजारमा असोज, कात्तिक, मङ्सिर, फागुन, चैत र वैशाखमा धेरै सामग्री बिक्री हुन्छ ।

पाथीभरा दर्शन गर्ने सिजन भएकाले यो बेला राँके बजारमा ग्राहकको भिड लाग्ने गरेको व्यवसायी अनिल तामाङले बताए । यो क्षेत्रमा चार हजारभन्दा धेरै किसानले व्यावसायिक अकबरे खुर्सानीको खेतीसँगै पशुपालन गर्दै आएका छन् । स्थानीय शिक्षक भक्तिप्रसाद नेम्वाङले भने, ‘यहाँको कोसेली बजारलाई स्थापित गर्नमा स्थानीय किसानकै मेहनत छ । आफ्ना सामग्री आफैँ बेच्ने यहाँका किसान समृद्धितर्फ अग्रसर छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै