• वि.सं २०८३, वैशाख १७ बिहीबार
  • Thursday, 30 April, 2026
  • युनिकोड
  • Live

स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्योः पर्वतीय पर्यटन लयमा फर्किंदा व्यवसायी उत्साहित

काठमाडौँ । स्वदेशी तथा विदेशी पर्यटकको आगमन कोभिड–१९ अगाडिकै अवस्थामा पुग्न थालेपछि पर्वतीय पर्यटन लयमा फर्किन सुरु गरेको छ ।

नेपाल राष्ट्र बैंकले २०१८ मा निकालेको तथ्यांक अनुसार नेपालको कुल ग्राहस्थ उत्पादनमा ८.५ प्रतिशतसम्म योगदान थियो । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार नेपालका पर्यटन उद्योगले ३ लाख ७१ हजार जनाभन्दा बढीलाई रोजगारी सिर्जना गरेको थियो । बर्सेनि नेपालमा बाह्य पर्यटनको चाख बढ्दै गइरहेको उक्त अवस्थामा प्रतिशत अझै बढ्ने अपेक्षा गरिएको थियो ।

एक जना विदेशी पर्यटक आउँदा ४ जनालाई प्रत्यक्ष रोजगार सिर्जना गर्छ । प्रत्यक्ष जोडिएका ११ हजार ३२१ जना आरोही कोरोनाको बेला पूरै कामविहीन हुनुपर्‍यो । कोभिडपछि आरोहीहरुले काम पाउन थाले । अहिले सबैजना व्यस्त भइसकेका छन् । नेपालमा आउने कुल बाह्य पर्यटकमध्ये ४० प्रतिशत पर्वतीय पर्यटनकै लागि आउने गरेका छन् ।

नेपालमा आरोहणका लागि खुला गरिएका हिमाल ४१४ वटा छन्, त्यसमध्ये ७५ वटा हिमालमात्रै आरोहण बाँकी छ ।

विश्वमा भएका ८ हजार मिटरभन्दा माथिका सर्वोच्च शिखर सगरमाथासहित १४ वटा हिमाल नेपालमै भएकाले पनि पर्वतीय पर्यटकको मुख्य गन्तव्य नेपाल पर्दै आएको छ ।

अरु क्षेत्रमा आ–आफ्नै सीमाहरु होलान्, तर नेपालको सन्दर्भमा पर्यटन नै हाम्रो मूल आयस्रोत हो । छिमेकी राष्ट्रहरुले यसबाट मनग्गे फाइदा लिइरहेका छन् । तर, हामीले प्रकृतिको वरदान पाएर पनि प्रचार गर्न सकिरहेका छैनौं ।

संसारमा बढ्दो औद्योगिकरणका कारण बढेको विश्वतापमान, अनियन्त्रित वनफडानी, पर्वतीय वातावरणमा भएको असामान्य परिवर्तनजस्ता विषयले पर्वतारोहण पर्यटनलाई प्रभावित पारेको छ । पर्वतारोहण पर्यटनसम्बन्धी जनमानसमा जनचेतना पनि जोगाउन जरुरी देखिन्छ ।

८ औं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव मंसिर २२ गतेदेखि

संयुक्त राष्ट्रसंघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ । सोही दिन पारेर नेपाल पर्वतारोहण संघले पर्वतीय महोत्सव गर्दै आएको हो । आठौं संस्करणमा ५ दिनसम्म विभिन्न कार्यक्रम गरी महोत्सव गर्न लागेको हो । महोत्सव २२–२६ मंसिरसम्म पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, रातोपैह्रोमा हुनेछ । यसवर्षको महोत्सवमा बर्डस कन्जरभेसनसँगको सहकार्यमा ‘मिसअन्डरस्टुड बर्डस’ नामक नाटक प्रर्दशन मुख्य आकर्षणको रुपमा रहनेछ ।

उक्त नाटक ललितपुरको परोपकारी विद्यालय चिल्ड्रेन एन्ड युथ फर्स्टका विद्यार्थीले मञ्चन गर्नेछन् । विद्यार्थीहरुले स्टेजमा गिद्धहरुको भेषमा मास्क लगाई गिद्धको महत्वबारे साथसाथै नेपालका चरा तथा जैविक विविधतासम्बन्धी ज्ञान जनसाधारणमा पुर्‍याउने छ । यो कार्यक्रमको संरक्षणबारे जानकारी दिने विश्वास छ ।

महोत्सवमा पाँचै दिन पर्वतारोहण र पर्वतीय जीवनबारे ६ वटा वृत्तचित्र प्रदर्शन गरिने छ । महोत्सवमा पासाङ, माउन्टेन म्यान, सोफी लाभाड, द सेकेन्ड समिट, अई–डेला हट्स भ्यालिस र एभरेस्ट म्यान वृतचित्र मञ्चन हुनेछन् । महोत्सवमा पर्वतारोहणसम्बन्धी विभिन्न विधामा कीर्तिमान बनाएका पर्वतारोहीको फोटो प्रदर्शनीसमेत गरिनेछ।

प्रतियोगितामा यो वर्ष ‘टग अफ वार’ पहिलो पटक समावेश गरिएको छ । यसबाहेक छेलो प्रतियोगिता, जिपलाइन, दोहोरी गीत पनि समावेश गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै