काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी स्थापनाको छोटो अवधिमा देखिएको समस्या र संकीर्णताप्रति चिन्ता व्यक्त गर्दै योग्य व्यक्तिलाई पार्टीभित्र आउन नदिन कोसिस भइरहेको निष्कर्ष निकालेका छन् ।
रास्वपाको जलेश्वरमा सम्पन्न बैठकले पारित गरेको सभापति लामिछानेको राजनीतिक प्रतिवेदनमा पार्टीभित्रैका साथीहरूबाट राम्रा मान्छेलाई रास्वपामा आउन नदिने कोसिस भएकोतर्फ सबै चनाखो बन्नुपर्ने उल्लेख छ ।
नयाँ र योग्य व्यक्तिहरू पार्टीभित्र आउँदा आफूले टिकट नपाउने र आफू पछि पर्ने जस्ता लघुताभासी चरित्र पार्टीभित्र देखिएको लामिछानेको निष्कर्ष छ । उनले यसलाई ‘प्राइमरी’को दुरुपयोग भनेका छन् ।
प्रतिवेदनमा भनिएको छ- हाम्रो पार्टीमा राम्रा मान्छेलाई आउन नदिने कोसिस भएको हुन सक्छ । त्यो अरु कसैले होइन हाम्रै पार्टी भित्रैका साथीहरूबाट भइरहेको हुन सक्छ। ‘प्राइमरी’को दुरुपयोग भएको वा हुने जोखिम पनि त्यतिकै छ। यसलाई पनि विधिको थप व्याख्या वा प्रबन्ध गरेर निराकरण गर्नुपर्छ। हामी आफैँ पनि अझै खुला हुन जरुरी छ । सामूहिक खेलमा आफ्नो टिमलाई जिताउने हो भने टिममा राम्रा खेलाडी हुनुपर्छ । त्यसैले राजनीतिमा पनि जित्ने हो भने हामीसँग राम्रा खेलाडी हुनैपर्छ । र, राम्रा खेलाडी भित्र्याउन हामी अझै खुला हुनुपर्छ । सानो चित्त राखेर राम्रा खेलाडीको टिम बनाउन सकिन्न । र, राम्रो टिम बनाउने बहानामा फउल खेल्ने खेलाडीलाई पनि भित्र्याउन सकिन्न । हामी बेलैमा सचेत र सजग भएनौँ भने पुराना राजनीतिक दलको गलत प्रवृत्ति रास्वपामा छिट्टै सर्छ । पुरानो प्रवृत्ति लिएर हामी सफल हुन सक्दैनौँ ।
पुराना दलको प्रवृत्ति पार्टीमा निषेध गर्न र पार्टीभित्र बिना कारण निषेध गरिएका असल मानिसलाई टिममा ल्याउन मैले दुईवटा अवधारणा राखेको छु ।
(१) लिडरसीप एकेडेमी
(२) उम्मेदवार क्लब
लामिछानेले विभिन्न पार्टीमा अवसर नपाएर रास्वपामा आउनेहरूको प्रवृत्तिगत विश्लेषण समेत प्रतिवेदनमा गरेका छन् । अधिकांश व्यक्तिहरू इमानदार र निष्ठावान् भए पनि केही आफ्नो पूर्व पार्टीकै गलत प्रवृत्ति बोकेर आएको लामिछानेले उल्लेख गरेका छन् ।
प्रतिवेदनमा भनिएको छ- पुराना राजनीतिक दल छोडेर हामीसँग सम्बन्ध गाँस्न आउने साथीहरूमध्ये अधिकांश असल, इमान्दार र निष्ठावान् छन् । तर, केही पूर्वपार्टीकै गलत प्रवृत्ति बोकेर आएको देखिन्छ । फरक राजनीतिक संस्कार र संस्कृतिको पक्षपाती हामीलाई तीमध्ये खराबहरूले क्रमशः दबाब र प्रभावमा पनि पार्न सक्ने देखिन्छ । अर्कोतर्फ, अन्यत्र उचित स्थान नपाएर, स्वार्थ पूरा हुने नदेखेर र नयाँ दलमा तत्काल सम्भावनाको अवसर पाइन्छ भन्ने लोभले आएकाहरूले हामीलाई बदनाम गराउने सम्भावना पनि बढी नै हुन्छ । यसतर्फ पनि हामी बेलैमा सचेत हुनुपर्छ । यसो भनिरहँदा, जुनसुकै पार्टीबाट आएका असल साथीहरूको निष्ठामा ठेश नलागोस्, मानमर्दन नहोस् भन्ने कुरामा म सचेत छु । हामी ‘संगठित पार्टी र योग्य सदस्य’को अवधारणामै अगाडि बढ्नु पर्छ ।
सभापति लामिछानेले पेश गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पारित भएको छ । सो प्रतिवेदनमा चितवनले गत निर्वाचनमार्फत नेपालमा निलो क्रान्ति गरेको उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन


ट्रेन्डिङ
खबरमुकाम







