रुपन्देही । गौतम बुद्घको अस्तुधातु रहेको नवलपरासी (पश्चिम) रामग्राममा विहारका पर्खाल र प्राचीन पोखरीको संरचना फेला परेको छ । रामग्राम स्तुप गौतम बुद्घको अस्तु राखिएको आठ भागमध्येको एक ठाउँ हो ।
रामग्राममा १९९७ सालमा छोटो अवधिको र सन् १९९८ देखि २००४ सम्म अलि लामो गरी दुई चरण मात्रै उत्खनन भएको थियो । त्यसयता अहिले सन् २०२३ नोभेबर १ तारिखदेखि ३० सम्मको समय राखेर उत्खनन गरिएको हो ।
पुरातत्व विभाग, लुम्बिनी विकास कोष, युनेस्को र दुर्हाम विश्वविद्यालयका विज्ञहरुको टोलीले करिव एक महिनादेखि गरेको उत्खननबारे जानकारी दिन आइतबार आयोजित कार्यक्रममा रामग्राम स्तुपको उत्तर पश्चिमपट्टी गरिएको उत्खननबाट प्राचीन विहारका भग्नाअवशेष र पोखरी भेटिएको जानकारी गराइएको हो ।
रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले बुद्धको अस्तुधातु रहेको रामग्राममा सरकारले प्राथमिकताका साथ उत्खनन र संरक्षणको काम नगरेको गुनासो गरे । उनले अहिले भएको उत्खननबाट फेला परेका प्राचीन अवशेष र संरचनाले उत्साही बनाएको बताउँदै यस्ता उत्खनन्को मात्रा बढाउन समेत आग्रह गरे ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई सिद्धिचरणले रामग्राम स्तुपमा गरिएको भोगर्भिक (जियोफिजिक्स) सर्भेमा देखिएको संरचनालाई अहिले गरिएको उत्खननले पुष्टि गरेको बताए ।
उनले विहारका भग्नाअवशेष पर्खाल, पोखरी फेला परेकाले रामग्राम स्तुपको पुरातात्विक महत्व थप उजागर भएको बताउँदै लुम्बिनी विकास कोषले रामग्राम स्तुपको विकासलाई गति दिने गरी योजना बनाएको समेत बताए । उनले रामग्राम स्तुप क्षेत्र कोषकै कार्यक्षेत्रभित्रमा पर्ने भएकाले यसको व्यवस्थापनका सन्दर्भममा स्थानीयस्तरमा उठेका सवाललाई सम्बोधन गर्ने समेत प्रतिबद्धता जनाए ।
पुरातत्व विभाग, लुम्बिनी विकास कोष र दुर्हाम विश्वविद्यालयका विज्ञहरुको टोलीले नोभेम्बर १ तारिखदेखि रामग्राम स्तूप उत्खनन् र पण्डितपुरमा भौगर्भिक सर्भे गरेको छ । रामग्राममा प्राचीन विहारका भग्नाअवेष पर्खाल, पोखरी र अन्य प्राचीन सामग्रीहरु फेला परेको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए ।
उनले रामग्राम स्तुपको बारेमा हजारमिटर भन्दा बाहिरीको क्षेत्रमा पनि अनुसन्धान गर्नुपर्ने बताए । उनले पण्डितपुरमा गरिएको भौगर्भिक सर्भेले जमिनमुनी प्राचीन सहर रहेको देखिएको बताए । कोलीय राज्यको सहरका रुपमा पण्डितपुर हुनसक्ने आधारहरु देखापरेको उनको भनाइ छ ।
उत्खनन् र भौगर्भिक सर्भेका बारेमा दुर्हम विश्वविद्यालयका प्रा. डा. रविन कनिङघमले रामग्राम स्तुप निकै महत्वपूर्ण प्राचीन सम्पदा भएकाले यहाँको महत्व पुष्टिका लागि उत्खनन्ले ठूलो सहयोग गर्ने बताए । उनले आफूहरु प्राविधिक रुपमा रामग्राम स्तुपका प्राचीन संरचनाहरु पत्ता लगाउने भएपनि यसको संरक्षण स्थानीयहरुले नै गर्नुपर्ने बताए ।
कार्यक्रममा नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले रामग्राम स्तूपको महत्वलाई झल्काउनका लागि यसको उत्खनन् र संरक्षणलाई प्राथिमकता दिनुपर्ने बताए । रामग्राममा भेटिएका पुरातात्विक भग्नाअवेशष र वस्तुहरुको कालवधी (समय) पत्ता लगाउनका लागि यसपटकको उत्खनन्ले सहयोग गर्ने लुम्बिनी विकास कोषका वरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेतीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन


ट्रेन्डिङ
खबरमुकाम







