• वि.सं २०८३, साउन २२ शुक्रबार
  • Friday, 07 August, 2026
  • युनिकोड
  • Live

‘अमेरिकासँग प्रशस्त गोला–बारुद छ, सूचना चुहाउनेलाई कडा कारबाही हुन्छ’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग पर्याप्त मात्रामा गोला–बारुद मौज्दात रहेको दाबी गर्दै यसको विपरीत सूचना सार्वजनिक गर्ने वा चुहाउने व्यक्तिमाथि कडा कानुनी कारबाही गरिने चेतावनी दिएका छन् ।

बिहीबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत ट्रम्पले सञ्चारमाध्यममा प्रकाशित हतियार अभावसम्बन्धी समाचारलाई अस्वीकार गर्दै अमेरिकासँग अत्याधुनिक हतियारसहित ठूलो परिमाणमा गोला–बारुद रहेको बताएका हुन् । उनले भने, अमेरिका तीव्र गतिमा नयाँ गोला–बारुद उत्पादन गरिरहेको छ र आवश्यक परे स्वदेशभित्रै पर्याप्त आपूर्ति गर्न सक्ने क्षमता राख्छ ।

ट्रम्पका अनुसार अमेरिकी रक्षा उद्योगहरूले इतिहासकै सबैभन्दा धेरै नयाँ उत्पादन केन्द्र र कारखाना स्थापना गरिरहेका छन्, जसले देशको सैन्य क्षमता अझ सुदृढ बनाउनेछ ।

यसअघि द वासिङ्टन पोस्ट ले क्याम्प डेभिडमा भएको मन्त्रिपरिषद् बैठकमा ट्रम्पले रक्षामन्त्री पिट हेगसेथसँग गोला–बारुदको अभावबारे स्पष्टीकरण मागेको दाबी गरेको थियो । समाचारमा ट्रम्पले उक्त समस्या समाधान भइसकेको ठानेको उल्लेख गरिएको थियो ।

यसप्रति प्रतिक्रिया दिँदै ट्रम्पले हतियार अभावसम्बन्धी सूचना चुहाउने व्यक्तिहरूको पहिचान भइसकेको दाबी गर्दै उनीहरूलाई लामो समय जेल सजाय हुन सक्ने चेतावनी दिएका छन् ।

यस्तै, सीएनएन ले लामो दूरीका निर्देशित मिसाइल र हवाई प्रतिरक्षा प्रणालीका अवरोधक मिसाइलको अभावले इरानसम्बन्धी अमेरिकी रणनीतिमा असर परेको जनाएको थियो । रिपोर्टअनुसार अमेरिकी सेनाले आफ्नो थाड हवाई प्रतिरक्षा प्रणालीका करिब ८० प्रतिशत मिसाइल प्रयोग गरिसकेको दाबी गरिएको छ ।

त्यसैगरी, वासिङ्टन पोस्ट ले हतियार अभावकै कारण ट्रम्प प्रशासनले इरानविरुद्धका केही सम्भावित सैन्य कारबाही स्थगित गरेको उल्लेख गरेको थियो ।

तर, ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले ट्रम्प र रक्षामन्त्री हेगसेथबीच विवाद भएको तथा हतियार अभावसम्बन्धी समाचारलाई ‘फेक न्युज’को संज्ञा दिएकी छन् । पेन्टागनका वरिष्ठ प्रवक्ता सन पार्नेलले पनि यस्ता सबै दाबीलाई पूर्ण रूपमा आधारहीन र मनगढन्ते भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै