सुशिल पौडेल
पोखरा महानगरपािलका– ३२, कास्की
हिन्दू धर्म र दर्शनमा कास्की जिल्ला र भगवान श्री गणेश दुवैको स्थान अत्यन्तै उच्च र गरिमामय रहेको छ । कास्की जिल्लाको धार्मिक महत्वलाई नियाल्दा, यो भूमि पौराणिक कालदेखि नै कश्यप ऋषिको तपोभूमिका रूपमा प्रसिद्ध छ, जसको नामबाटै ‘कास्की’ शब्दको उत्पत्ति भएको मानिन्छ । यस क्षेत्रलाई भगवान शिवको पवित्र निवासस्थान माछापुच्छ्रे हिमालले पहरेदारी गरिरहेको छ भने पोखरा उपत्यकाका विन्ध्यवासिनी, तालबाराही र गुप्तेश्वर महादेव जस्ता शक्तिपीठहरूले यसलाई आध्यात्मिक ऊर्जाको केन्द्र बनाएका छन् । विशेषगरी, कास्कीलाई मुक्तिनाथजस्तो परम पावन तीर्थस्थलको प्रवेशद्वार मानिने हुनाले यसको धार्मिक मूल्य अझ बढेको हो । यहाँका नदीहरू र हिमशृङ्खलाहरूलाई केवल प्राकृतिक सम्पदा मात्र नभई साक्षात् ईश्वरको स्वरूप मानेर पूजा गरिने परम्पराले नेपाली जनजीवनमा हिन्दू धर्मको गहिरो प्रभावलाई स्पष्ट पार्छ ।
यसैगरी, हिन्दु शास्त्रहरूमा भगवान श्री गणेशको महिमालाई ‘अग्रपूज्य’ देवताका रूपमा व्याख्या गरिएको छ, जसको पछाडि एक अत्यन्तै तार्किक र भावुक पौराणिक कथा लुकेको छ । सत्ययुगमा जब भगवान शिव र माता पार्वतीले आफ्ना दुई पुत्रहरू गणेश र कुमार (कार्तिकेय) बीच ब्रह्माण्ड परिक्रमा गर्ने प्रतिस्पर्धा गराउनुभयो, तब कुमार आफ्नो वाहन मयूरमा चढेर संसार घुम्न निस्किए । तर, शारीरिक रूपमा भारी र मुसो वाहन भएका गणेशले आफ्नो विवेक प्रयोग गर्दै आफ्ना माता–पितालाई नै साक्षात् ब्रह्माण्ड मानेर उहाँहरूको तीन पटक परिक्रमा गरे । गणेशको यो तर्क थियो कि ‘जसले आफ्ना जन्मदाता माता–पिताको सेवा र सम्मान गर्छ, उसले समस्त तीर्थ र ब्रह्माण्डको फल प्राप्त गर्छ ।’ गणेशको यही बुद्धिमत्ता, समर्पण र मातृ(पितृ भक्तिबाट प्रसन्न भएर भगवान शिवले उनलाई जुनसुकै शुभ कार्य वा पूजाआजा गर्दा सबैभन्दा पहिले गणेशको अर्चना गरियोस् भन्ने वरदान दिनुभयो ।
यस पौराणिक प्रसङ्गले एउटा महत्वपूर्ण दार्शनिक यथार्थलाई उजागर गर्छः वास्तविक धर्म र सफलता बाहिरी संसारमा भौतारिनुमा मात्र छैन, बरु आफ्ना माता–पिताको आदर र सेवामा निहित छ । त्यसैले आज पनि हिन्दू परम्परामा कुनै पनि नयाँ काम, व्यापार, वा धार्मिक अनुष्ठानको सुरुवात गर्दा ‘श्री गणेशाय नमः’ भन्दै विघ्नहर्ता गणेशको स्मरण गरिन्छ ।
आजभन्दा करिब एक सय वर्षअगाडि पोखरा महानगरपालिका वडा नं. ३२ (साविक लेखनाथ १५) अन्तर्गत पर्ने बडहरेमा एक अत्यन्तै रहस्यमय तथा आस्थाले भरिएको घटना घटेको जनविश्वास रहिआएको छ । त्यस समयमा एक जना हलीले आफ्नो दैनिक जीवनयापनका लागि बारी जोत्ने क्रममा अकस्मात् हलोको फाली जमिनमा रहेको एउटा शिलामा ठोक्किएर भाँचिएको थियो । सामान्य रूपमा देखिने यस्तो घटनाले त्यस दिन एक असामान्य रूप लियो, किनभने सोही दिन खेत जोत्न प्रयोग गरिएका हलगोरु र हली पनि कारण नखुली अकालमै मरेको किम्बदन्ती प्रचलित छ ।
त्यस रात सोही गाउँका मुखियालाई सपनामा भगवान श्री गणेश प्रकट भई ‘आज बारी जोत्ने क्रममा हलिले मलाई घाइते बनाए’ भनी भन्नुभएको जनश्रुति छ । सपनामा नै श्री गणेशले ‘मलाई वर र पिपलको विचमा राखिदेऊ’ भनेको भन्ने समेत बताइन्छ । यस दिव्य सन्देशले मुखिया अत्यन्तै भयभीत तथा चिन्तित भएको र भोलिपल्ट बिहानै वारीमा गई जोतेको स्थानको शिला ध्यानपूर्वक अवलोकन गर्दा त्यहाँ रगत जस्तै देखिने चिन्ह देखिएको बताइन्छ । यस घटनाले उक्त शिला साधारण ढुङ्गा नभई दैवी शक्तिसँग सम्बन्धित भएको विश्वास जनमानसमा गहिरिँदै गएको थियो ।
यसपछि हलीले आफ्नो अज्ञानताका कारण भएको त्रुटिप्रति सम्पूर्ण गाउँवासीहरूले क्षमा याचना गर्दै विधिपूर्वक क्षमापूजा सम्पन्न गरेको र सोही स्थानमा वर पिपलको रुखको बीचमा भगवान श्री गणेशको प्रतीकस्वरूप मूर्ति स्थापना गरिएको किम्दबन्ती पाइन्छ । उक्त मूर्ति शालिग्रामको पत्थरबाट बनेको मानिन्छ, जुन हिन्दू धर्मअनुसार अत्यन्तै पवित्र तथा दुर्लभ मानिन्छ । विशेषगरी भक्तजनहरूले वर्षेनि उक्त मूर्तिको उचाइ क्रमशः बढ्दै गएको अनुभूति गर्ने गरेका छन्, जसले यस स्थानको चमत्कारी महत्त्वलाई झनै बलियो बनाएको छ ।
आजसम्म पनि सो शिलामा हलोको फालीले ठोकर लागेर चोइटिएको भाग स्पष्ट रूपमा देख्न सकिन्छ, जुन घटनाको प्रत्यक्ष प्रमाणको रूपमा लिइन्छ । सुरुमा एक िबत्ता जति मात्र देखिने उक्त शिला समयक्रमसँगै बढ्दै गई हाल करिब दुई हातभन्दा बढी उचाइको देखिन थालेको स्थानीय बताउँछन् । यही कारणले यो गणेशस्थान स्थानीय मात्र नभई क्षेत्रीय तथा राष्ट्रिय आस्थाको केन्द्र बन्दै गएको छ ।
आरम्भिक कालखण्डमा उक्त शिलालाई सामान्य ढुङ्गाले घेरेर पूजा गर्ने चलन रहे पनि, समयसँगै भक्तजनहरूको सङ्ख्या बढ्दै गएपछि हाल व्यवस्थित रूपमा मन्दिर निर्माण गरी संरक्षण गरिएको छ । आज देशका विभिन्न स्थानहरूबाट श्रद्धालु भक्तजनहरू यहाँ पूजाआजा गर्न आउने गरेका छन्, जसको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ ।
विशेषतः मङ्गलबारका दिन भगवान श्री गणेशको प्रिय वस्तु मानिने तिलको लड्डु, दूबोको माला तथा सिङ्गो फल चढाई श्रद्धापूर्वक पूजा गर्दा मनले चिताएका कार्य सफल हुने विश्वास गरिन्छ । कतिपय परिवारका मानिस हराउँदा वा विदेशबाट नफर्किदा गणेशस्थानको भाकल गरेपश्चात सातदिन भित्र विदेशवाट नेपाल फर्किएको तथा हराएका मानिस समेत फेला परेको स्थानीय बताउँछन् । त्यसैगरी हरेक वर्ष हरितालिका तीजपछिको चौथीका दिन भगवान श्री गणेशको जन्मदिनको रूपमा यस मन्दिरमा विशेष पूजा, आराधना तथा धार्मिक कार्यक्रम आयोजना गर्ने परम्परा रहिआएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत पर्ने गगनगौँडाबाट करिब एक घण्टाको यात्रामा पुग्न सकिने यो धार्मिक स्थल गणेशस्थान प्राकृतिक सौन्दर्यले पनि उत्तिकै सम्पन्न छ । यहाँबाट माछापुच्छ्रे, धौलागिरी तथा अन्नपूर्ण हिमश्रृङ्खलाहरू अत्यन्तै सुन्दर रूपमा अवलोकन गर्न सकिन्छ । हाल यस क्षेत्रमा बाटो, यातायात तथा अन्य आधारभूत पूर्वाधारको विकास भइसकेको अवस्थामा, यस स्थानको धार्मिक महत्व, ऐतिहासिक पृष्ठभूमि र प्राकृतिक सौन्दर्यको उचित प्रचार(प्रसार गर्न सकिएमा यसलाई एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने प्रबल सम्भावना देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- जनताको जीउधन र सीमा रक्षा गर्न नसक्ने यो सरकार असक्षम होः हर्क साम्पाङ
- आजको प्रतिनिधिसभाको बैठकमा दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने
- देउवा समूहले आजदेखि प्रदेशस्तरीय भेला सुरु गर्दै
- बडहरे गणेशस्थानः आफैँ उत्पत्ती हुनुभएका श्री गणेश
- आज प्रतिनिधिसभाको बैठक, यस्ता छन् छलफलका एजेण्डा
- आज यी ठाउँमा पर्नेछ पानी, हेर्नुहोस् मौसम पूर्वानुमान
- अमेरिकी डलरको भाउमा रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?
- प्रभु स्टक मार्केटको अध्यक्षमा रविन्द्र ढकाल


ट्रेन्डिङ
खबरमुकाम






