
हेटौँडा उपमहानगरपालिकाको मध्य भागमा अवस्थित भूटनदेवी मन्दिर एक प्रसिद्ध शक्ति पीठ हो । भुटनदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राममान श्रेष्ठका अनुसार यो मन्दिर मध्यकालतिर मकवानपुरे सेन राजाले स्थापना (वि.सं. १८६०) गरेको मानिन्छ । पछि, २०२८ सालमा यसको जिर्णाेद्धार गरिएको थियो । भुटनदेवी मन्दिरका पण्डित पुरुषोत्तम धिताल रहेका छन् ।
किम्बदन्ती अनुसार महाभारतकालीन समयमा पाँच पाण्डवहरु वनवासमा रहँदा यस स्थानमा पाण्डव र हिडम्बासुर नामक राक्षससँग युद्ध भएको थियो । सो युद्धमा भीमसेनले हिडिम्बाको वध गरेको र सोही हिडिम्बाकी भुटनदेवीलाई त्यस स्थानको जिम्मा लगाएकोमा कालान्तरमा हिडिम्बा नगरी अपभ्रंश भई ‘हेटौँडा’ हुन पुगेको भन्ने बुझिन्छ ।
यस मन्दिरमा हिन्दू तथा बौद्ध धर्मावलम्बीले पूजा अर्चना गर्ने तथा भाकल गर्ने चलन रहिआएको पाइन्छ । विशेषगरी बडादशैँको अवसरमा १० दिन तथा प्रत्येक वर्ष चैत्र महिनाको अन्तिममा विषासय पूजा (क्षमापूजा)का लागि धर्मावलम्बी एवम् पर्यटकहरुको भीड लाग्ने गर्दछ । त्यसका अलावा हरेक शनिवार पनि उल्लेख्य रुपमा भक्तजनको उपस्थिति रहन्छ । मन्दिरमा बलि भोग चढाइन्छ । नरिवलदेखि हाँस, कुखुरा, बोका लगायतका पशुपन्छीको बलि भोग चढाउने प्रचलन छ ।
वर्षाैंअघि स्थापना गरी पुजिँदै आएको हेटौँडाको प्रसिद्ध शक्ति पीठ भूटनदेवी मन्दिरमा चरण पूजाको संस्कार विकास गरिएको छ । भक्तजनले अबिर, केसरी, मिठाइ र पानी लगायतले मूर्तिमै पूजा गर्दै आएकाले पित्तलको आकर्षक र ऐतिहासिक मूर्ति खिइँदै गएपछि मन्दिर सञ्चालक समितिले यस्तो निर्णय गरेको पाइन्छ । सोही निर्णय अनुसार, भुटनदेवी माताको चाँदीको चरण राखिएको छ । र, चरणमा मात्र पूजा गर्ने संस्कार विकास गरिएको सञ्चालक समिति अध्यक्ष श्रेष्ठ बताउँछन् । ‘करिब डेढ फिट अग्लो पित्तलको मूर्तिलाई वरिपरिबाट छेकबार गरी मूर्ति स्पर्श हुनबाट जोगाइएको छ,’ उनी भन्छन् । उनका अनुसार, ऐतिहासिक मूर्तिलाई स्पर्श गर्न र अबिर केसरी लगायतले प्रत्यक्ष पूजा गर्न पाइँदैन । जनकलाल शर्माका अनुसार यस मूर्ति सेनकालीन नभई शाहकालीन हो (स्रोतः चितवनदेखि जनकपुरसम्मका केही पुरातात्विक स्थल, शर्मा, पृ. २) ।
मन्दिरको वरिपरि लक्ष्मीनारायण र गणेश लगायतका देवीदेवताका मूर्तिहरु पनि छन् । पुराना घण्टीहरु करिब एक सय वर्ष अगाडिदेखिका पाइएका छन् । यहाँ रहेको वि.सं. १९७९ सालमा राणाकालीन समयमा समर्पण भएको घण्टले मन्दिर नेपालको पुरातङ्खव संरचनाभित्र सूचीकृत हुने सम्भावना देखाएको समितिका श्रेष्ठ बताउँछन् । एक सय वर्षअघिका संरचना पुरातत्वमा पर्ने सरकारी निर्णय छ । यदि मन्दिर पुरातत्वभित्र समावेश भए जीर्णाेद्धार, संरक्षण र विकासका लागि सरकारी बजेट प्राप्त हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक
- म्यानमारमा नेपाल-म्यानमार व्यापार र पर्यटन एक्स्पो-२०२५ हुँदै
- नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न NMB बैंक, IFC, र EU को साझेदारी
- मुक्तिनाथ विकास बैंकद्धारा कञ्चरपूरमा बैशाखी वितरण कार्यक्रम सम्पन्न
- सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमा PAN अपडेट र ब्यालेन्स सर्टिफिकेट अनुरोध गर्न सकिने सुबिधा थप
- नेपालमा भित्रियो बर्ली एयर कूलर, भब्य रुपमा सार्वजनिक
- बिहीबारदेखि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने
- राष्ट्रिय वाणिज्य बैंकद्वारा ग्लोबल मनी विकमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन