भोजपुर - टेम्केमैयुङ गाउँपालिकाका महिला उद्यमशीलतामा जोडिन थालेका छन् । गृहिणी भएर घरमा समय बिताउँदै आएका महिलाहरू सीपमूलक तालिम पाएसँगै उद्यममा जोडिन थालेका हुन् । गाउँपालिकाले यहाँ विभिन्न खालका सीपमूलक तालिम सञ्चालनमा पहल थालेपछि महिलालाई उद्यममा जोडिन सहजता भएको छ । वडा नं ६ कोटमा ढाका बुनाइसम्बन्धी दुई तहको तालिम प्रदान गरेपछि महिला उद्यममा जोडिएका हुन् । तालिममा सिकेको सीपको सदुपयोग गर्दै उनीहरूले अहिले घरमा ढाकाका कपडा बुन्दै आएका छन् ।
तालिममा सिकेको कुरालाई व्यावहारिकता दिन अहिले घरमा नै तान राखेर ढाकाबाट कपडा बुन्दै आएको स्थानीय शान्ता श्रेष्ठले बताउछिन । आफ्नै ठाउँमा सीप लिएर स्वरोजगार बन्न पाउँदा खुसी लागेको उनको भनाइ छ । ढाका बुनाइ व्यवसायबाट घर खर्चको जोहो गर्न सहजता भएको उनले बताएकी छन । “वडामा नै ढाका बुनाइ सीप पाएपछि कपडा बुन्दै आएकी छु”, उनले भनिन “चुलोचौका र मेलापात गरेर नै दिन बित्थ्यो, सीप पाएपछि काम गर्न सहजता भएको छ, यहाँबाट आएको पैसाले घर खर्चसँगै आफूलाई आत्मनिर्भर बन्न टेवा पुगेको छ ।”
आफ्नै ठाउँमा सीप लिएर ढाका बुनाइको काम गर्न पाउँदा खुसी लागेको स्थानीय लीला विश्वकर्माले बताउछन । सीपले मानिसलाई जीवन निर्वाहको आधार खडा गर्ने उनले बताउछन । सीप पाएपछि जस्तो परिस्थितिको पनि सामना गर्ने आँट आएको उनको भनाइ छ । सीपले आत्मनिर्भर बन्न सहजता थपेको उनले बताउछन । “सीपले जीवन गुजारा गर्न सहजता हुने रहेछ”, उनले भनेका छन, “सिकेको सीपको सदुपयोग गरेर अहिले घरमा नै ढाका कपडा बुन्दै आएकी छु, दुई चरणको तालिम पाएपछि काम गर्न थप सहज बनेको छ ।”
ढाका कपडाको बजारमा राम्रो माग रहेको विश्वकर्माले बताउछन । ढाकाको हातले बुनेको चोलो रु एक हजार पाँच सय, सल रु एक हजार दुई सयमा बिक्री गर्दै आएको उनले बताउछन । पाँच महिनासम्म सञ्चालन भएको तालिमबाट चोलो, सर्ट, कुर्थासुरुवाल, सल, खादालगायतका कपडा बुन्न सीप लिएको उनले बताएका छन ।
स्थानीय सरकारले विभिन्न खालका महिलालाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरेपछि थप हौसला मिलेको अर्की महिला कोपिला प्रधानले बताउछिन । सीप नहुँदा व्यवसाय गर्न नसकिरहेको अवस्थामा तालिम पाएपछि व्यावसायिक बन्न सहज भएको उनको भनाइ छ । “सीप नहुँदा कुनै पनि काम गर्ने साहस थिएन”, उनले भनेकी छन, “घरधन्दा र खेतबारीको काम गरेर नै दिन बित्थ्यो, वडाले तालिमसँगै ढाका बुनाइको सामग्री दिएपछि आफैँ स्वरोजगार बनेकी छु, घरको कामलाई पनि ध्यानमा राख्दै कपडा बुन्ने गरेकी छु ।” पहिलो चरणमा सीप लिन इच्छुक यहाँका १४ जना महिलालाई आधारभूत तालिम दिइएको थियो । त्यसैको निरन्तरता स्वरूप दोस्रो चरणमा पुनः उनीहरूलाई अर्को दोस्रो तहको सीप प्रदान गरेपछि उद्यममा जोडिएका हुन् ।
वडाले यहाँका महिलालाई स्वरोजगारसँगै उद्यमशील बनाउने लक्ष्यले दुई तहको तालिम प्रदान गरेको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताउछन । तालिम लिएका महिला अहिले उद्यममा जोडिएको उनको भनाइ छ । महिलाहरूलाई घरायसी कामभन्दा पनि सीपमूलक कर्ममा जोड्नका लागि रचनात्मक काम गरिरहेको वडाध्यक्ष नेपालको भनाइ छ । “हामीले महिलालाई स्वरोजगारसँगै उद्यममा जोड्नका लागि तालिम प्रदान गरेका हौँ”, वडाध्यक्ष नेपालले भनेका छन , “सीप लिएसँगै उनिहरू अहिले उद्यममा जोडिएको अवस्था छ, वडाले रोजगारी सिर्जना हुने खालका काममा प्राथमिकता दिएको छ ।”
महिलालाई उद्यमशीलतामा जोड्नका लागि सबै वडामा विभिन्न खालका सीपमूलक कार्यक्रम सञ्चालन रहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउछिन । सीप सिकाएर महिला तथा युवाहरूलाई स्वरोजगारमा जोड्नका लागि गाउँपालिकाले जोड दिएको उनको भनाइ छ । वडासँगको समन्वयमा महिलालाई लक्षित गरेर वडा नं ६ कोटमा दुई चरणको ढाका बुनाइ तालिम, वडा नं ५ खावा र वडा न ७ मा सिलाइकटाइ तालिम, वडा नं ३ मा तरकारी खेती तालिम, वडा नं ४ नागीमा सेनिटरी प्याडसम्बन्धी तालिम सञ्चालन गरिएको उपाध्यक्ष राईले बताउछन ।
त्यस्तै, एकल महिलालाई सातदिने तरकारी खेती तालिम, सीमान्तकृत महिलालाई पशुपालनसम्बन्धी तालिम र ३० जना महिलालाई पालिकास्तरीय बेमौसमी तरकारीखेतीसम्बन्धी तालिम दिएको उनले जानकारी दिएका छन । वडा नं ८ गोगने र वडा नं ९ लेखर्कमा यो आर्थिक वर्षमा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको उनको भनाइ छ । “हामीले महिला उद्यमशीलतामा जोड दिएका छौँ”, उपाध्यक्ष राईले भनेका छन, “महिलालाई लक्षित गरेर वडाहरूसँगको समन्वयमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्, भावी दिनमा पनि यस्ता खालका कार्यक्रम सञ्चालनमा ध्यान दिन्छौँ ।” गाउँपालिकाले यहाँको सम्भावनालाई ध्यानमा राखेर कृषि र पर्यटनमा प्राथमिकताका साथ काम गरिरहेको उनले बताउछन ।
स्रोत : रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ग्यालेक्सी फोरके टेलिभिजनका सामान लिलाम गर्ने तयारी
- प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- पश्चिमी वायु सक्रिय : पहाडमा वर्षा, तराईमा गर्मी र हावाहुरीको चेतावनी
- आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
- गठबन्धनभित्रको मतभेदले मधेश सरकार विस्तार रोकियो
- सुकुम्बासीका माग सम्बोधन नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको चेतावनी
- शेरबहादुर देउवा र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता



ट्रेन्डिङ
खबरमुकाम





