• वि.सं २०८३, वैशाख १७ बिहीबार
  • Thursday, 30 April, 2026
  • युनिकोड
  • Live

तराईका ताल र सिम क्षेत्रमा देखिन थाले हिमाल पारिका देशबाट जाडो छल्न आएका पन्छी

काठमाडौँ । कोशी टप्पु वन्यजन्तु आरक्ष आसपासका सिम क्षेत्र र तालहरूमा हिउँद लागेसँगै सिम क्षेत्रमा पाइने चराहरू देखिन थालेका छन् । हिमाल पारिका देशबाट जाडो छल्न पानी चराहरु कोशी टप्पु आरक्ष हुँदै तराईका नदी, खोला र तालहरूमा देखिन थालेका हुन् ।

उत्तरी क्षेत्रका साइवेरीया, रसिया, ताजिकिस्तान, तन्जेनीया र तिब्बतबाट आउने पानी हाँसहरु तराईका सिम क्षेत्र र तालहरूमा देखिन थालेको नेचर गाइड तथा चराहरुका जानकार अनिष तिम्सिनाले बताए । 

तराईका सिम क्षेत्र र तालहरूमा आगन्तुक चराहरूका साथै रैथाने सिलसिले हाँस र हरित हाँसहरूसमेत देखिन थालेका छन् । पानी हाँसहरु मात्रै नभएर चिलहरू पनि बसाई सरेर आउने गरेका छन् । 

बसाई सराइ गरेर आएका पानी हाँसहरु अहिले कोशी टप्पुको सिम क्षेत्र र सुनसरीको बर्जु तालमा बढी मात्रमा देखिने गरेका छन् । चराका जानकार तिम्सिनाका अनुसार खडखडे हाँस, सिन्दुरे हाँस, हरियो टाउके हाँस, सुइरो पुच्छ्ररे हाँस, बिजुला गैरी हाँसहरू बर्जु तालमा देख्न सकिने छ । तिम्सिनाले भने, ‘जाडो छल्न वर्षौँदेखि आउने पानी चराहरू पहिला जस्तो सिमक्षेत्रहरु नहुँदा चराहरूको बसाइसराइ समेत कम हुँदै आएको छ ।’

असोज अन्तिमदेखि बसाई सरेर आउने पानी हाँसहरु तराईमा गर्मी सुरु भएपछि फागुन अन्तिमदेखि चैतको पहिलो हप्ताभित्र पाहुना चराहरू फर्कने गरेका छन् । तराईमा जाडो कम हुँदै जाँदा आगन्तुक चराहरू पनि आफ्नै वासस्थानतिर फर्कने गर्छन् । आगन्तुक चराहरू जाडो याम भरि तराई क्षेत्रमा बसेर बच्चा कोरल्ने बेला भएपछि स्थायी बासस्थान तिरै फर्कन्छन् । 

यसरी जाडो याममा नेपालमा बसाइँ सरेर आउने चराहरूको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन् भने जाडो छल्न अन्य प्रजातिका सिकारी तथा मांसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राई आदि चराहरू आउने गरेका छन् ।

जाडो छल्न आउने हिउँदे आगन्तुक चराहरू नेपालका प्रमुख सिमसार क्षेत्रहरू कोसी टप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिस हजारी ताल, जगदीशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका ताल क्षेत्र तथा कोसी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीहरूमा नै मूल रूपमा आफ्नो समय व्यतीत गर्दछन् । 

पानी चराहरू हेर्नका लागि आन्तरिक तथा विदेशी पर्यटकहरू कोशी टप्पु र आसपासका सिम तालहरूमा आउने गरेको कोशी टप्पु वन्यजतु आरक्ष कार्यालयका सहायक संरक्षक अधिकृत विनयकुमार मिश्रले जानकारी दिए । ‘चराहरू हेर्नको लागी हिउँद याममा आन्तरिक पर्यटकका साथै बेलायत, अमेरिका, जर्मन र चाइनाबाट पर्यटक कोशी टप्पु आउने गरेका छन्” उनले भने । चराका पारखीहरू हिउँद याममा कोसी टप्पु वन्यजन्तु आरक्ष र तराईका सिम ताल र नदीहरूमा देखिने जलपंछी हेर्न आउने गरेका छन् । 

उत्तरी मुलुकहरूमा हिमपात सुरु भएपछि बढ्दो जाडो छल्न नेपालका पहाड र तराईका विभिन्न भू—भाग तथा ताल, तलैया र नदी आसपासमा चराहरू बसाइँ सरी आउने गर्दछन् । बर्सेनि करिब १ सय ५० प्रजातिका पर्यटक चराहरू आउने गरेका छन् ।

आगन्तुक चराहरू अनुकूल मौसम, सुरक्षित वासस्थान र चरनको खोजीमा एक ठाउँबाट अर्को ठाउँ र एक देशबाट अर्को देशमा बसाई सरी आउने जाने क्रम वर्षभरि नै चलिरहने चराका आरक्षका सहायक संरक्षक अधिकृत मिश्रले बताउनु भयो । मिश्रका अनुसार पहिलाको जस्तो पाहुना चराहरू बसाइ सरेर आउने क्रम कम हुँदै गएको छ । 

बसाइ सरेर आएका पाहुना चराहरूको वासस्थान तथा चरन क्षेत्रहरू विनाश हुँदै जानु, बढ्दो चोरी सिकार र जलवायु परिवर्तनका असरले पनि पाहुना चराहरू कम देखिन थालेका छन् । प्रत्येक वर्ष जनवरीमा जल पंक्षी गणना  विश्वभरि नै हुने गरेको छ । कोशी टप्पुदेखि पूर्वको जिल्लाहरूमा कोशी वर्ड सोसाइटीले चराको गणना गर्दै आएको छ । तराईका जिल्लाहरूमा सन २०२२ र २३ को गणनाअनुसार ३५ प्रजातिका जल पंक्षिको गणना गरिएको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै