अमरराज नहर्की
तनहुँ, चैत ६ गते । तनहुँको देवघाट गाउँपालिका –५ पिपलटारस्थित भर्जन कालिका मन्दिर धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । पानीको मुहान संरक्षणसँग जोडिएको यस मन्दिरलाई थप आकर्षक बनाउने उद्देश्यले बृहत्तर गुरुयोजना अघि बढाइएको छ ।
मन्दिर संरक्षण समितिका अध्यक्ष केशवचन्द्र न्यौपानेका अनुसार आधुनिक शैलीको मुख्य मन्दिर निर्माण सम्पन्न भइसकेको छ । गुरुयोजना अनुसारका अन्य संरचना निर्माणका लागि अझ तीन करोड ७६ लाख रुपियाँ आवश्यक छ । सोही रकम जुटाउन तथा मन्दिरको देशव्यापी प्रचार–प्रसार गर्न आगामी वैशाख ५ देखि १३ गतेसम्म ‘विराट ज्ञान महायज्ञ एवं देवीभागवत’ आयोजना गरिने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।
न्यौपानेले भन्नुभयो, “मुख्य संरचना निर्माण भइसकेको छ, अब धर्मशाला, सचिवालय, अमृत जलकुण्ड र ‘मणिदीप’ क्षेत्र निर्माण गर्दै यसलाई वर्षभरि भक्तजन आउने धार्मिक केन्द्र बनाउने लक्ष्य राखेका छौँ ।” देवघाटको यो दोस्रो पुरानो मन्दिरलाई बाह्रै महिना भक्तजन आउने धार्मिक पर्यटकीय हब बनाउन खोजिएको उहाँको भनाइ छ ।
वि.सं. २००६ सालमा स्थापना भएको यस मन्दिरको इतिहास निकै रोचक छ । तत्कालीन समयमा खानेपानीको हाहाकार भएपछि पिपलटारमा पूजापाठ गर्दा पानीको मुहान फुटेको र सोही स्थानमा मन्दिर स्थापना गरिएको स्थानीय ८६ वर्षीय धनजित गुरुङले स्मरण गर्नुभयो ।
हाल मन्दिर निर्माणका लागि स्थानीय सामुदायिक वन, टोल विकास संस्था र दानवीर भक्तजनले सहयोग गर्दैआएका छन् । स्थानीय बासिन्दा तथा देवघाट धाममा आउने भक्तजनहरुको सहयोगबाट करिव ५० लाख रुपियाँको लागतमा मन्दिरको पुनरनिर्माण गरिसकिएको समितिले जनाएको छ ।
महायज्ञको पूर्व तयारीस्वरूप चैत ६ गतेदेखि १९ गतेसम्म नवरात्र मेला तथा विशेष पूजापाठ सञ्चालन भइरहेको छ । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पर्यटकीय महत्वलाई ध्यानमा राख्दै मन्दिर संरक्षण र प्रवर्धनमा पालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
उहाँका अनुसार गाउँपालिकासँग सीमित स्रोतका कारण ठुला पूर्वाधार निर्माणका लागि सङ्घीय सरकारसँग पहल गाउँपालिकाले गरिरहेको छ । वडा नम्बर ५ का अध्यक्ष पूर्णबहादुर कुँवरले मनोकांक्षा पूरा हुने विश्वासमा भक्तजनको आकर्षणको केन्द्र बन्दै गएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- इन्टर्न चिकित्सकको स्टाइपेन्ड माग्दै डिल्ली हरिजन आमरण अनशनमा
- ग्यास नपाएर नागरिकलाई हैरानी, कारबाहीको चेतावनी दिएर पन्छिदै सरकार
- स्वपहिचानका आधारमा लैङ्गिक पहिचान परिवर्तनसम्बन्धी विवादास्पद आदेश पुनरावलोकनका लागि सर्वोच्चको अनुमति
- जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, कुन देशबाट कति आए ?
- सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहिन महिला संघलाई शैक्षिक सामाग्री हस्तान्तरण
- सांग्रिला डेभलपमेन्ट वैंकका ग्राहक र कर्मचारीले ट्रांक्यूलिटि स्पामा छुट पाउने
- भ्रामक र आधारहीन समाचारप्रति प्रभु बैंकको आपत्ति
- नबिल बैंकले एजुकेशन हबमार्फत शैक्षिक कर्जा, वित्तीय परामर्श र बैंकिङ सहायता उपलब्ध गराउने

ट्रेन्डिङ
खबरमुकाम







