• वि.सं २०८३, वैशाख १७ बिहीबार
  • Thursday, 30 April, 2026
  • युनिकोड
  • Live

‘भरतपुर भ्रमण वर्ष’ मा कहाँ कहाँ घुम्ने सोचमा हुनुहुन्छ ? यी ठाउँहरू नछुटाउनुहोस्....!

काठमाडौँ । भरतपुर महानगरपालिकाले सन् २०२४ लाई ‘भरतपुर भ्रमण वर्ष’को रूपमा मनाउने घोषणा गरिसकेको छ । पूर्व–पश्चिम राजमार्गको बीच भागमा पर्ने नारायणघाट बजारका कारण पनि ‘स्थलमार्ग’ बाट काठमाडौँ भित्रिने प्रायः यात्रीले भरतपुर नटेकी सुखै छैन । हामीले यस आलेखमा भरतपुरको पर्यटकीय सम्भावना बोकेका स्थलको बारेमा संक्षिप्तमा चर्चा गर्ने प्रयत्न गरेका छौँ ।

मेघौली

विश्वसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज र दुई ठूला नदी राप्ती तथा नारायणी दुईतिरबाट घेरिएको छ मेघौली । मेघौली पनि चितवन जिल्लामा अवस्थित सुन्दर पर्यटकीय क्षेत्र हो । यो नेपालमा सर्वप्रथम जंगल सफारीको सुरुवात गर्ने टाइगर टप्स जंगल लजको प्रवेशद्वार मानिन्छ । भरतपुरको चौबिसकोठीबाट २५ किलोमिटर पश्चिमतर्फ भरतपुर महानगरपालिका वडा नं। २७ मा पर्ने मेघौली पर्यापर्यटन विकासको महत्वपूर्ण गन्तव्य हो ।

दुर्लभ बाघ, गैँडा तथा चराचुरुङ्गी, निर्माणाधीन राइनोपार्क, असहाय वन्यजन्तु केन्द्र, थारु सांस्कृतिक संग्रहालय, प्याराजम्पिङ्ग,पहाडी तथा आदिबासी संस्कृति, निकुञ्जमा हात्ती सयर, डुङ्गासयर, मचान स्टे, जंगलवाक, जिप सफारी आदि यस क्षेत्रका प्रमुख आकर्षण तथा पर्यटकीय क्रियाकलाप हुन् ।

समुद्री सतहदेखि २२५ मिटर उचाइमा अवस्थित उच्च मनसुनी हावापानी रहेको मेघौलीमा होमस्टे र सुविधा सम्पन्न आरामदायी होटलहरु छन् । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा पर्ने मेघौली पर्यटकहरुको प्रमुख रोजाइमा पर्दछ ।

सीतामाई तथा पटिहानी

पटिहानी क्षेत्रमा पर्ने सीतामाई पनि जिल्लाको पर्यटकीय केन्द्रका रुपमा विकास हुँदै गएको छ । हालै मात्रै सरकारले सीतामाई पटिहानीलाई एक सय पर्यटकीय गन्तब्यको रुपमा सूचिकृत गरेको छ । महत्वपूर्ण वन्यजन्तु मार्ग बरण्डाभार जंगलको दक्षिण खण्डको राप्ती नदी किनारमा राइनोकुञ्ज अन्तर्गत पर्ने प्रमुख पर्यटकीय स्थल सीतामाई अवस्थित छ । आदिबासी थारु समुदायले छितामाईको रुपमा पूजन गर्ने यस धार्मिक स्थल प्राकृतिक सम्पदाको बीचमा रहेको छ ।

भरतपुर चौबिसकोठीदेखि १५ किलोमिटर दक्षिणतर्फ भरतपुर महानगरपालिकाको वडा नं। १३ मा पर्ने सीतामाई परिसरभित्र हिन्दु मन्दिरहरु, बौद्ध गुम्बा, बेलशहर मध्यवर्ती सामुदायिक वन रहेका छन् । यसैगरी योगी नरहरिनाथको कोटिहोम, पिकनिक खाने ठाउँ, बोटे संग्रहालय, चितवन राष्ट्रिय निकुञ्ज अवलोकन गर्न सकिने टावर निर्माण गरिएका छन् ।

जंगल भ्रमण, हात्ती सयर, डुंगा सयर, थारु, बोटे, दराई संस्कृति अवलोकन, स्थानीय परिकार आदि यहाँका प्रमुख पर्यटकीय आकर्षणहरु हुन् । यसैगरी भरतपुर–कसरा मार्गमा वडा नम्बर २२ स्थित कमलपोखरीमा तैरिएका विभिन्न प्रजातिका मनमोहक कमलका फूलहरुले पर्यटकलाई भरपूर आनन्द प्रदान गर्दछ । गोही प्रजनन केन्द्र कसरा, विक्रमबाबा, निकुञ्ज, सामुदायिक वनहरु नजिकै रहेका आकर्षण हुन् ।

पछिल्लो समयमा यो क्षेत्रमा सुविधा सम्पन्न होटल स्थापना भएका छन् । पर्यटकीय क्रियाकलापहरु पनि बढ्दै गएका छन् । पटिहानी पर्यटन क्षेत्रमा मानव निर्मित अम्ब्रेला टावर थप आकर्षण बनेको छ । निर्माणाधीन अम्ब्रेला स्ट्रिट अन्तर्गत करिब ४५० ओटा फाइबरका छातामुनिबाट १२० मिटर पैदल यात्रा गर्दा पर्यटकहरुले फरक अनुभूति प्राप्त गर्दछन् । भ्युपोइन्ट, सेल्फीगेट, रेस्टुरेण्ट, शौचालय, पाकिङ, आवास लगायतका सेवाहरू उपलब्ध यस गन्तब्यमा पर्यटकहरूले प्राकृतिक वातावरणमा आनन्द प्राप्त गर्दछन् ।

देवघाटधाम

नेपालकै प्रमुख धार्मिक क्षेत्रमध्ये एक देवघाट पवित्र तीर्थस्थलका रुपमा रहेको छ । यहाँ वार्षिक लाखौं भक्तजनहरु दर्शन तथा अवलोकनका लागि आउने गर्दछन् । तनहुँ, चितवन र नवलपुर जिल्लाको संगम स्थानमा त्रिशुली र कालिगण्डकी नदी मिसिएका छन् । भरतपुरदेखि ६ किलोमिटर उत्तरतर्फ देवघाटधाम समुद्री सतहबाट २०० मिटरदेखि ५७५ मिटरसम्मको उचाइमा छ देवघाटधाम । देवघाटलाई शान्ति र आध्यात्मिक उन्नयनको उत्कृष्ट क्षेत्र मानिन्छ । चितवन र तनहुँ जिल्लातर्फ गलेश्वर आश्रम, चक्रेश्वर शिला, सीता गुफा, वशिष्ठ गुफा, हरिहर मन्दिर, महेश सन्यास आश्रम, राम मन्दिर, यज्ञशाला, कठस्तूप, सिद्घि गणेश, गोपीधाम, सूर्यकुण्ड, पशुपतिनाथ जस्ता धार्मिक स्थलहरू छन् ।

चितवन, तनहुँ र नवलपुर तीन वटा जिल्लामा करिब ५ हजार ४३४ हेक्टर क्षेत्रमा फैलिएको देवघाटलाई हरिहर क्षेत्र, शालग्राम क्षेत्र, चक्रतीर्थ, बराह क्षेत्र, कदम्बतीर्थ, गजेन्द्रतीर्थ, तपोवन, प्रयाग, सिद्धाश्रम, यज्ञभूमि आदि नामले पनि चिनिन्छ । ऐतिहासिक, धार्मिक तीर्थस्थल देवघाटधाममा धार्मिक पर्यटनको केन्द्रबिन्दुको रूपमा प्रचार­प्रसार भैरहेको छ । यसैगरी देवघाटदेखि सुरु भएको धार्मिक चक्रपथको महत्वपूर्ण केन्द्र नवलपुर जिल्लाको मौलाकालिका मन्दिरमा हजारौँ भक्तजनले दर्शन गर्दछन् । चौबीसकोटीबाट ६ किलोमिटर उत्तरमा पर्ने ऐतिहासिक धार्मिक स्थल मौलाकालिकामा पाल्पाका राजा मणि मुकुन्दसेनले पूजा चलाएका थिए ।

चौकीडाँडा र कविलासपुरगढी

नारायणगढदेखि १८ किलोमिटर पूर्व भोर्लेबाट ९ किलोमिटर उकालो पार गरेपछि करिब ११०० मिटर उचाइमा अवस्थित हिल स्टेशनको रूपमा विकास गर्न सकिने शितल क्षेत्र चौकीडाँडाबाट मनमोहक पहाडी श्रृङ्खला, नागबेली, नारायणी नदीको चाल, चितवनको समथर भाग अवलोकन गर्न सकिन्छ । चेपाङ तथा गुरुङ संस्कृतिमा पर्यटकले मनोरञ्जन लिन सक्ने यस क्षेत्रबाट प्याराग्लाइडिङ्ग समेत गर्न सकिन्छ ।

चौकीडाँडाको नजिकै रहेको समुद्री सतहदेखि १२०० मिटर उचाइमा अवस्थित ऐतिहासिक कविलासगढी पूर्खाहरुको बीरगाथासँग जोडिएको छ । बंकर, प्रशासनिक भवन, चौकी तथा कविलास दरबारका भग्नावशेष छन् यहाँ । सामरिक दृष्टिले महत्वपूर्ण यस ऐतिहासिक स्थलबाट अन्नपूर्ण हिमश्रृङ्खलादेखि लमजुङ हिमालसम्म अवलोकन गर्न सकिन्छ ।

बीसहजारी ताल र बाटुलीपोखरी

भरतपुर चौबीसकोठीबाट गोन्द्राङ हुँदै ९ किलोमिटर पूर्व­दक्षिणमा अवस्थित बीसहजारी ताल पूर्वी चितवनबाट ल्याएको नहरको कारण निर्माण भएको हो । बाँधबाट बीसहजार फुट टाढा धेरैवटा तालहरू बनेकाले बीसहजारी ताल नामाकरण गरिएको स्थानीय बताउँछन् ।
विश्व सिमसार क्षेत्रमा सूचीकृत यो क्षेत्र जैविक विविधताले सम्पन्न छ । सौराहाको टिकौली सामुदायिक वनबाट जिप सफारी होस् वा बरण्डाभार मध्यवर्ती वनको हात्तीसयर, दुर्लभ वन्यजन्तु, बाघ, गैँडा, मृग, गोही र घुमन्ते चराहरु अवलोकनको गन्तव्य बनेको छ बीसहजारीताल । वन्यजन्तु कोरीडोर अन्तर्गत बरण्डाभार क्षेत्रमा पर्ने बीसहजारी ताल क्षेत्र साल प्रजातिका विशाल रुखहरुका लागि पनि प्रख्यात छ । चारभाइ साल, बेतघारी फरक फरक आकृतिका तालहरु, विभिन्न प्रजातिका वनस्पती, पुतली, माछा, मगर गोही, घडियाल गोही, चराचुरुङ्गी आदि यहाँका आकर्षण हुन् ।

पर्यटक विश्राम स्थल, टावर, खानेपानी, शौचालय, सूचनाकेन्द्र निर्माण भैसकेको यस क्षेत्रमा सत्रहजार ताल, बाइसहजार ताल, अठ्ठाइसहजार ताल, मयुर ताल, किङ्गफिसर ताल, रातमाटे ताल, दक्षिणकाली ताल, लक्ष्मी ताल, बाटुली पोखरीसम्मको लेकसाइड सर्किट अवलोकन गर्न सकिन्छ । यसका साथै जंगल वाक, बोटिङ, जिप सफारी, गाउँ भ्रमण तथा जातीय संस्कृति पनि अवलोकन गर्न सकिन्छ ।

दियालो बंगला

पर्यटकीय दृष्टिले महत्वपूर्ण मानवनिर्मित सम्पदा दियालो बंगला भरतपुर महानगरपालिका वडा नं। १ आँपटारीस्थित नारायणी नदीको किनारमा पर्दछ । तत्कालीन राजा महेन्द्रले निर्माण गरेको यस बंगलाले ३५ हेक्टर क्षेत्रफल ओगटेको छ । नेपालकै चर्चित राजा महेन्द्रको निधन पनि यहि बंगालामा भएको थियो । मनमोहक तटीय क्षेत्र, जलपर्यटनका क्रियाक्रलापहरु, साल, जामुन, यमुना, सिन्दुर, सिसौ जस्ता रुखहरुको हरियालीे, वनस्पति, विभिन्न प्रजातिका चराचुरुङ्गी एवम् राजाहरुले प्रयोग गरेका सामग्रीहरु यहाँका प्रमुख आकर्षण हुन् ।

दुर्लभ वन्यजन्तु, पिकनिक पार्क, शिवलिङ्ग, धार्मिक वनलगायत प्राकृतिक सौन्र्दयले परिपूर्ण जलदेवी सामुदायिक वनको सामीप्य प्राप्त गरेकोे दियालो बङ्गला नजिकै वागीश्वरी, जोरकुसुम, गणेशधाम जस्ता प्राकृतिक एवम् धार्मिक सम्पदाहरू पनि रहेका छन् । बाल उद्यान, विश्रामस्थल, राजतन्त्रको जीवनशैली जानकारी गराउने संग्रहालय, पैदलमार्गलगायतका पूर्वाधारहरू थप गर्दै यसलाई दियालो बंगला उद्यान पार्कको रुपमा विकास गरिँदै छ ।

सिन्ती झरना

हरियाली पर्वत श्रृङ्खलाको बिचमा कालिका नगरपालिका वडा नं। ९ मा अवस्थित लटौली डाँडामा पर्दछ सिन्ती झरना । अनुपम प्राकृतिकका रूपमा रहेको यो झरना एकान्त स्थलबाट निरन्तर प्रफुलित भई आफ्नै अविश्रान्त गतिमा झरिरहेको छ । खोलेसिमलबाट शक्तिखोर हुँदै दोगरासम्म ११ किलोमिटर पूर्व मोटरबाटो पार गरेपछि एक घण्टाकै पैदल यात्रामा यो झरनासम्म पुगिन्छ । करिव १०० फिट अग्लो पहराबाट झरेको पानीसँग पर्यटकहरु रमाउँदै खेल्ने गर्दछन् ।


हरेक वर्ष यहाँ पर्यटकहरु बढ्दै गएको कालिका पर्यटन विकास समितिका अध्यक्ष हिम्मत पुरी बताउँछन् । झरनाको संरक्षण र व्यवस्थापनका लागि यसै वर्षबाट पूर्वाधार निर्माणमा केही काम गरिने अध्यक्ष पुरीले बताए । यहाँ नगरपालिकाले योजनाबद्धरूपमा पूर्वाधार निर्माण गरिरहेको छ । यस झरना नजिक होटलको समेत सुविधा छ ।

सोमेश्वरगढी

नेपाल र भारतको दक्षिण सिमाना नजिकै रहेको सोमेश्वरगढी नेपाल सरकारले छनौट गरेका १०० पर्यटकीय गन्तव्यहरुमा सूचीकृत छ । यो सामरिक दृष्टिले महत्वपूर्ण क्षेत्र हो । भरतपुरदेखि ४१ किलोमिटर दक्षिणमा पर्ने माडीको बसन्तपुर बजारबाट सुन्दर गाउँ र सामुदायिक वन अवलोकन गर्दै ११ किलोमिटर मोटरबाटो पार गरिसकेपछि एक किलोमिटर पैदल दूरीमा उकाली चढ्दै ऐतिहासिक सोमेश्वरगढी पुग्न सकिन्छ । यहाँ रहेको प्राचीन सोमेश्वर क्षेत्रको बारेमा बराहपुराण तथा शिव पुराणमा उल्लेख भएको छ ।

यो समुद्री सतहदेखि ८०० मिटर उचाइमा छ । भग्नावशेषका रुपमा रहेका कुँदिएका सुन्दर पत्थरहरु, पुराना इँटा, सोमेश्वरी कालिका, पुरानो तरबार, ढुङ्गाको ठूलो डुङ्गा, इनार, सीमास्तम्भ, ढुङ्गाको पोखरी, झरना आदि ऐतिहासिक तथा पुरातात्विक बस्तुहरुको अवलोकन गर्न सकिन्छ । प्राकृतिक मनोरम दृश्यहरु तथा समथर भू–भाग अवलोकन गर्दै धार्मिक उद्देश्य पूरा गर्न कालिका मन्दिरमा भारतदेखि समेत भक्तजनहरु आउँदछन् ।

वाल्मीकि आश्रम

माडी नगरपालिका वडा नम्बर १ बरुवा बजारबाट २३ किलोमिटर पश्चिम चितवन राष्ट्रिय निकुञ्जबाट पैदलमार्ग हुँदै चुरे पर्वतमा रामायणमा उल्लेखित वाल्मीकि आश्रम रहेको छ । त्यसैगरी त्रिवेणीधामबाट दुई किलोमिटर पूर्व पर्ने ऐतिहासिक धार्मिक केन्द्र वाल्मीकि आश्रममा हरेक भग्नावशेषहरूले तीर्थयात्रीलाई उत्सुकता प्रदान गर्दछन् । यहाँ वाल्मिकी, लव, कुश, सीता, हरिहरनाथका मन्दिरहरु, मन्दिरको भित्री पर्खालमा शिवलिङ्ग, बराह अवतार, नवग्रह, विष्णु, लक्ष्मीनारायण, बामन अवतार, हनुमान आदिका प्रस्तर मूर्तिहरु सजाएर राखिएका छन् ।

यसैगरी अग्निकुण्ड, सीतावाटीका, लवकुश पाठशाला, यज्ञशाला, गौशाला, धर्मशाला आदि विभिन्न रुपका भग्नावशेषहरु यहाँका सम्पदाहरु हुन् । गजेन्द्र मोक्षधाममा रहेको धर्मशाला तथा साना होटेल सुविधा भएको वाल्मीकि क्षेत्र भारतीय पर्यटकहरुको समेत मुख्य रोजाइ भएको धार्मिक गन्तव्य हो ।

सिराइचुली

चितवन जिल्लाको सबैभन्दा अग्लो डाँडो हो सिराइचुली । यो समुद्री सतहबाट १९४७ मी उचाइमा अवस्थित छ । सिराइचुली इच्छाकामना गाउँपालिका वडा नम्बर २ मा पर्दछ । महाभारत पर्वत श्रृङ्खलामा पर्ने सिराइचुलीबाठ सूर्योदयको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ ।

हुग्दीबाट मोटरबाटो हुँदै हात्तीवाङ्ग पुगेर बास बसेपछि विहान करिव २ घण्टा पैदल यात्रा गरेपछि पुगिन्छ सिराइचुली । यसैगरी शक्तिखोरबाट ट्रेकिङ गर्दै अमलाचुली–उपरदाङ्गगढी–चिसापानीटार–सोलाभञ्ज्याङ्ग हुँदै हात्तीवाङ्गबाट सिराइचुली पुग्न सकिन्छ ।

बसन्त ऋतुमा लालीगँुरास फूलेर यहाँको वातावरणलाई रङ्गिन बनाइदिन्छ । चेपाङ्गबस्तीहरु, सुन्दर हरियाली पर्वत श्रृङ्खला तथा हिमालहरूको अवलोकन गर्न सकिने यो रमणीय क्षेत्र सिराइचुली घुम्न जाँदा हात्तीवाङ्गमा होमस्टे सुविधा उपलब्ध छ । प्याराग्लाइडिङ सञ्चालनको सम्भावना समेत रहेको सिराइचुली क्षेत्रमा सिद्धबाबाको ऐतिहासिक मन्दिर रहेको छ ।

उपरदाङ्गढी

उपरदाङ्गगढीमा विक्रम सम्वत् २०१४ सालसम्म चितवन जिल्लाको सदरमुकाम थियो । इच्छाकामना गाउँपालिका वडा नम्बर ७ मा अवस्थित ऐतिहासिक किल्ला उपरदाङ्गगढी महाभारत श्रृङ्खलाको १२७५ मिटर उचाइमा छ । यो गढी मध्यकालीन समयमा सेनवंशीय राजाले सैनिक आवासको लागि बनाएका थिए । पछि पृथ्वीनारायण शाहका नाति, बहादुर शाहका छोरा, शत्रुभञ्जन शाहले पुनर्निमाण गरेका थिए ।

कुल ६३९ वर्ग मिटर क्षेत्रफल ओगटेको यो क्षेत्रमा राजदरबार, मालअड्डा अदालत, प्रहरी एवम् सैनिक आवास क्षेत्रको भग्नावशेष छ । यो किल्लाको चारैतिर पर्खालमा तोप राख्ने ९ वटा स्थान छन् । ढुङ्गा, सुर्को र चुना प्रयोग गरी बनाइएको सामरिक दृष्टिले महत्वपूर्ण गढीको दक्षिणतर्फ कालिका र शिवको थान स्थापना गरी शालग्राम राखिएको छ । बाहिरको उत्तरतर्फ गणेशको मूर्ति छ भने गढीभित्र बज्रयोगिनी र बालकुमारी देवीको पूजा गरिन्छ ।

यस चुचुरोबाट चितवन राष्ट्रिय निकुञ्ज, नारायणी र राप्ती नदीको नागबेली दृश्य अवलोकन गर्न सकिन्छ । यो स्थलमा घुमन्ते चराहरु पनि अवलोकन गर्न सकिन्छ । शक्तिखोरबाट एक घण्टा मोटर यात्रा गरेपछि करिब ३० मिनेट पैदल हिँडेर उपरदाङ्गढी पुगिन्छ ।

जलबीरे लामो झरना

समथर फाँटहरुले भरिपूर्ण चितवन जिल्लामा प्राकृतिक वरदानको रुपमा परापूर्वकालदेखि निरन्तर प्रफुल्लित भएर हाँसिरहेको जलबीरे लामो झरना अलग्गै पहिचान बोकेको पर्यटकीय गन्तव्य हो । मुग्लिङदेखि ७ किलोमिटर पश्चिम इच्छाकामना गाउँपालिका वडा नं. ६ मा अवस्थित छ जलविरे । सडक किनारको जलबीरे मन्दिरबाट एक किलोमिटर उकालो हिँडेपछि झरनामा पुगिन्छ ।

चैत–वैशाखको सुख्खा याममा पनि चितवनको गर्मीलाई बिर्साउने यो झरना करिब ७५ मिटर उचाइबाट निरन्तर झरिरहेको छ । क्यानोनिङ, सानो पोखरीमा नुहाउने जस्ता जल पर्यटनका क्रियाकलापहरु एवम् पानीको फोहोरासँगै आउने शीतल कण र चिसो हावाको स्पर्शबाट पर्यटकले अविस्मरणीय आनन्द लिन सक्छन् ।

भीर पहरा, छाँगा र छहराको संयोग प्राकृतिक छटाले भरिपूर्ण जलबीरे झरनामा शौचालय, कपडा फेर्ने कोठा, मिनीपार्क, सिँढीजस्ता पूर्वाधारहरु तैयार भैसकेको छ । झरनाभन्दा ५ किलोमिटर माथि रहेको याकराङ गुरुङ्ग गाउँमा होमस्टेको सुविधा छ । गुरुङ संस्कृति, स्थानीय खानाका परिकार, नारायणी नदीको नागबेली दृश्यावलोकन, हरियाली पर्वत श्रृङ्खलाहरुको अवलोकन तथा र्‍याफ्टिङ यहाँका थप आकर्षणहरु हुन् । नारायणगढ–मुग्लिन सडकखण्डको नजिकै रहेको जलवीरे लामो झरना तथा याकराङ गाउँमा सहज पहुँच एवम् रेष्टुरेण्ट, होटल तथा होमस्टेको सुविधा उपलब्ध छ ।

शिवघाट

भरतपुर महानगरपालिकाको साविक मंगलपुर गाविसको सिमानामा रहेको शिवघाट क्षेत्रलाई धार्मिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न गुरूयोजना निर्माण गरिनुपर्दछ । मुकुन्देश्वर महादेवको प्राचीन मूर्ति रहेको सो ठाउँमा झन्डै दुई बिघा क्षेत्रफलमा मन्दिर, पार्क, धर्मशाला र पिकनिक स्थल बनाउने योजनाका साथै यस क्षेत्रको धार्मिक महत्वलाई अझै उजागर गर्ने र पर्यटनको विस्तार पनि गर्ने योजनाका साथ गुरूयोजना निर्माणमा जुट्नुपर्छ । पाल्पाली राजा मुकुन्द सेन प्रथमले विसं १५९५ देखि १६०० सम्मको पाँच वर्षको अवधिमा ११ वटा रूद्र स्थापना गरेका थिए । शिवघाटमा सोही बेला स्थापना गरेको रूद्र रहेको इतिहासकारहरुले पत्ता लगाएका छन् । त्यसैले, यो ठाउँ प्राचीन र धार्मिक पनि छ । यस्तो ठाउँको विकास हुनुपर्छ ।

परशुराम कुण्ड

विशेषगरी, पिकनिक स्पटका लागि अति नै प्रख्यात यो वन पछिल्लो समय सभा, गोष्ठी, सेमिनारका लागि पनि उत्कृष्ट थलो बनेको छ । यो वनमा विशेषगरी सिसौका बोटहरु रोपिएको हुनाले प्राकृतिक हरियाली एवं मनोरम दृश्य देख्न सकिन्छ । यो पर्यटकको लागि जंगल सफारी, ¥याफ्टिङ एवं वन्यजन्तु उद्धार केन्द्रसमेत रहेको कारण यो नमुना गन्तव्यका रुपमा विकसित भएको छ । ज्योतिनगरमा रहेको शिवमन्दिर, गुम्बा, मठमन्दिरहरु, ताल र पर्साढापमा रहेको परशुराम कुण्डको संरक्षण गर्न जरूरी छ । ऐतिहासिक रानीपोखरीको संरक्षण र थप पूर्वाधार निर्माण गरेर पयर्टक लोभ्याउने, खेलकुद क्षेत्रको विकासका लागि रामपुरमा बन्दै गरेको गौतमबुद्ध अन्तर्र्रािष्ट्रय क्रिकेट रंगशाला, शारदानगरमा निर्माणाधीन चित्रवन रंगशाला, दासढुंगादेखि गुञ्जनगर, गाँजीपुर-गोलाघाटसम्म तटबन्धनसहितको रमणीय पर्यटन पार्क निर्माण गर्न जरूरी छ ।

निर्माणाधीन राइनोपार्क, प्याराजम्पिङ र होमस्टे

दुर्लभ बाघ, गैँडा तथा चराचुरूंगी, निर्माणाधीन राइनोपार्क, असहाय वन्यजन्तु केन्द्र, थारु सांस्कृतिक संग्रहालय, प्याराजम्पिङ, पहाडी तथा आदिवासी संस्कृति, निकुञ्जमा हात्ती सयर, डुंगा सयर, मचान स्टे, जंगल वाक, जिप सफारी आदि यस क्षेत्रका प्रमुख आकर्षण तथा पर्यटकीय क्रियाकलाप हुन् । समुद्री सतहदेखि २२५ मिटर उचाइमा अवस्थित उच्च मनसुनी हावापानी रहेको मेघौलीमा होमस्टे र सुविधासम्पन्न आरामदायी होटलहरु छन् । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा पर्ने मेघौली पर्यटकहरुको प्रमुख रोजाइमा पर्दछ ।
मेघौलीमा अहिले पर्यटक राख्न सक्ने साना–ठूला गरी ११ वटा होटल सञ्चालनमा छन् । पछिल्लो समय ठूलो लगानीमा बनेका चौधरी ग्रुपको मेघौली सेराई, बाराही होटल, गोलाघाट वाइल्ड लाइफ रिसोर्ट, होटल सारंगा हुन् । ती होटलहरु अहिले सुनसान बनेका छन् ।

पछिल्लो समय मेघौली क्षेत्रमा मात्रै साना तथा ठूला गरी २२ वटा होटल सञ्चालनमा रहेको छ र अरु थपिने क्रममा छन् । त्यसमध्ये ३ वटा ठूला, ६ वटा मझौला र १३ वटा साना होटलसहित होमस्टेहरु सञ्चालनमा रहेका छन् । मेघौलीमा ४ सय १८ बेड क्षमता रहेका होटल सञ्चालनमा छन् । हात्ती सफारीका लागि १० वटा हात्ती, ६ वटा जिप सफारी र १५ वटा डुंगाको व्यवस्था रहेको छ ।

गोही प्रजनन् केन्द्र

चितवन राष्ट्रिय निकुञ्ज, नारायणी र राप्ती नदीको सामीप्यतामा रहेको सो क्षेत्र पर्यटनका हिसाबले प्रशस्त सम्भावना रहेको ठाउँ हो । राप्ती र नारायणीको संगमस्थल मेघौलीको गोलाघाट, गोही प्रजनन् केन्द्रका रुपमा रहेको कसरा र यहाँका ठूला–ठूला जंगल रिसोर्टहरु पहिलेदेखि नै पर्यटकका रोजाइ नबनेका हैनन् । मेघौलीका पर्यटन व्यवसायीहरुले पर्यटकहरुलाई निकुञ्जमा जिप सफारी, राप्ती नदीमा डुंगा सयर, जंगल वाक, हात्ती सफारी, थारु कल्चर कार्यक्रम प्रदान गर्दै आएका छन् । पर्यटनबाट प्रत्यक्ष लाभ–हानि बेहोर्ने होटल व्यवसायीहरु समेत अहिले शिथिल भएर बसेका छन ।

भौगोलिक सुगमता, पूर्वाधार सम्भाव्यता र प्राकृतिक सुन्दरताका हिसाबले पनि चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र, बरण्डाभार अन्तर्गतका सामुदायिक वनहरु र यहाँका गाउँबस्तीहरु नै पर्यटन विकासका प्रमुख आधारहरु हुन् । त्यसका लागि मेघौलीमा रहेको क्षेत्रीय विमानस्थललाई अन्तर्राष्टि«य विमानस्थल, जिल्लाभित्र रहेका विविध संस्कृति र रहनसहन भएका जनजाति समुदायका बस्तीहरुलाई सुविधासम्पन्न होमस्टेका रुपमा विकास गर्न सक्छौँ । त्यसैगरी, अन्तर्राष्ट्रियस्तरका ठूला–ठूला होटल, रिसोर्ट र क्लबहरुको अवधारणालाई अघि बढाउने हो भने विकसित देशहरुका पर्यटकहरु भित््र्याउन पनि सक्षम हुन्छौँ हामी ।

पानीजहाज 

२०१९ को डिसेम्बरसम्म नारायणी नदी गंगा नदीमा मिसिने स्थानबाट वाल्मीकिनगर (नेपाल–भारतको सीमा क्षेत्र) सम्म पानीजहाज ल्याउने लक्ष्य भारतको छ । त्यसैअनुरुप जलमार्ग विकासका लागि एकीकृत ढंगले भारतले काम गरिरहेको छ । वाल्मीकिनगरमा भारतीय टर्मिनल बन्दैछ । यो अवस्थामा नेपालले त्यहाँसम्म आउने पानीजहाजलाई कम्तीमा चितवनको दासढुंगासम्म ल्याउने गरी प्रयत्न गर्नुपर्ने छ । केही प्राविधिक समस्याहरुलाई समाधान गरियो भने दासढुंगासम्म पानीजहाज ल्याउन एकदमै ठूलो मेहनत नै गर्नुपर्दैन । नारायणीको गहिराइ अन्य नदीको भन्दा धेरै छ । डेढ मिटरसम्म गहिराइ भएकाले बढी सम्भावना पनि यसै नदीमा छ । गण्डक ब्यारेजमा पानीजहाज तार्न सक्ने गरी पूर्वाधार बनाइएकाले ठूलो समस्या रहने छैन । त्यसमा केही प्राविधिक सुधार गरेर ब्यारेजबाट जहाज पार गराउन सकिने छ ।

दासढुंगा–गोलाघाट एकीकृत विकास योजना

 

तत्कालीन एमालेका महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको जिप त्रिशूली नदीमा खसेर ज्यान गुमाएको ठाउँ दासढुंगादेखि चितवनको पश्चिमी अन्तिम बिन्दु गोलाघाटलाई समेटेर एकीकृत विकास योजना अगाडि बढाइने भएको छ । भण्डारीको शव घटनास्थलदेखि लगभग २५ किमी पश्चिम नारायणी नदीको गाँजीपुरमा फेला परेको थियो । दासढुंगादेखि तल नदीकिनारमा देवघाट, दियालो बंगला क्षेत्र, नारायणगढको नदी तट, नगर वन, ज्ञानेश्वर सामुदायिक वन क्षेत्र र गोलाघाट पर्छन् । गोलाघाट सूर्यास्तको दृश्य हेर्न पाइने ठाउँ हो । नवलपुर क्षेत्रमा पनि धार्मिक र पर्यटकीय क्षेत्र छन् । दासढुंगा क्षेत्रमा मदन र आश्रितको अर्धकदको सालिक र जिप खसेको ठाउँमा रेलिङ राखिएको छ । त्यसैगरी, भरतपुर–१७ मा पर्ने गाँजीपुरमा पनि सामान्य कामबाहेक ठोस केही हुन सकेको छैन । दासढुंगा र गाँजीपुरको मात्रै नभएर नारायणी नदी र आसपासका पर्यटकीय क्षेत्रको बृहद् गुरूयोजना निर्माण गरी विकास गरेर दासढुंगादेखि देवघाट, गाँजीपुर, गोलाघाट हुँदै त्रिवेणीसम्मको तटीय क्षेत्रको विकास गर्नुपर्ने देखिन्छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेको छ । साथै, पर्यटकको संख्या पनि दोब्बर भित्र्याउने लक्ष्य राखेको छ । प्रचुर पर्यटकीय सम्भावना बोकेको चितवनका रमणीय वनजंगल, खोलानाला, तालतलैया एवं मठमन्दिरहरुको जगेर्ना, प्रवद्र्धन र प्रचारप्रसार गर्न सक्ने हो भने हामी समग्र चितवनलाई नै पर्यटन केन्द्रका रुपमा विकास गर्न सक्छौँ । लोपोन्मुख जंगली जनावर, विभिन्न प्रजातिका चराचुरूंगी र अन्य ससाना जीवजन्तुहरुको एउटै क्रीडास्थलका रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्ज पर्यटकहरुको पहिलो रोजाइ बन्न सक्छ । प्राकृतिक सुन्दरताका अनुपम छटाहरुले सुसज्जित हाम्रो यो परिवेश संसारका कुनै पनि पर्यटकीय स्थलहरु भन्दा कम सुन्दर छैन । तर, प्रचारप्रसार र पूर्वाधार विकासमा यथेष्ट ध्यान नदिँदा यो छायामा परिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै