कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु

काठमाडौं । कोलम्बियामा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १११ जनाको मृत्यु भएको छ । भूकम्पका कारण ठूलो भौतिक क्षति भएको छ भने भग्नावशेषमा अझै मानिसहरू पुरिएको आशंका गरिएको छ ।

कोलम्बियाको भूगर्भीय सेवाका अनुसार सोमबार बिहान ७ः३४ बजे स्थानीय समयमा चोको प्रान्तलाई केन्द्रविन्दु बनाएर ७.४ म्याग्निच्युडको भूकम्प गएको हो । जमिनको सतहबाट करिब १०३ किलोमिटर गहिराइमा गएको भूकम्पको धक्का पश्चिमी कोलम्बियाका सयौँ किलोमिटर क्षेत्रसम्म महसुस गरिएको थियो ।

भूकम्पपछि सरकारले राष्ट्रिय विपद्को अवस्था घोषणा गर्दै उद्धार तथा राहतका लागि विशेष अधिकार प्रयोगमा ल्याएको छ । उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।

भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये कफी उत्पादनका लागि प्रसिद्ध पेरेइरा शहर पनि परेको छ । पेरेइराको महानगरीय क्षेत्रमा मात्रै कम्तीमा ४० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । त्यहाँ ६५ वटा भवन भत्किएका छन् भने १५ वटा भवनमा मानिसहरू फसेको आशंका गरिएको छ ।

भूकम्पको केन्द्रविन्दु चोको प्रान्तको सान होसे डेल पालमार गाउँनजिकै भए पनि गाउँमा मानवीय क्षति भने नभएको मेयर लेओन फाबियो मारिन मोनकाडाले बताएका छन् । भूकम्पका कारण गाउँतर्फ जाने तथा आउने सडकमा भने क्षति पुगेको छ ।

केन्द्रविन्दुबाट करिब ५५ किलोमिटर टाढा रहेको पेरेइरामा ठूलो भौतिक क्षति भएको छ । सार्वजनिक भएका भिडियोमा शहरको मुख्य चोक प्लाजा बोलिभारमा एउटा भवन भत्किएको तथा वरिपरि भग्नावशेष र धुलो फैलिएको देखिएको बताइएको छ ।

पेरेइराभन्दा करिब १६० किलोमिटर दक्षिणमा रहेको काली शहरमा ३२ वटा भवन भत्किएका छन् । भूकम्पका कारण मानिजालेस, किब्दो, मेडेलिन तथा चोको र भाये डेल काउका क्षेत्रमा पनि जनधनको क्षति भएको छ। मानिजालेसमा मात्रै कम्तीमा दुई जनाको मृत्यु भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै