कोशीमा भारी वर्षाको सम्भावना, देशभर मनसुन विस्तार हुने क्रम जारी

काठमाडौं । देशका अधिकांश क्षेत्रमा मनसुनको प्रभाव क्रमशः विस्तार हुँदै गएको छ । हाल कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश का सम्पूर्ण क्षेत्रमा मनसुन सक्रिय रहेको छ भने गण्डकी प्रदेश र लुम्बिनी प्रदेश का केही क्षेत्रमा मनसुनको प्रभाव देखिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्रसहित कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आगामी चारदेखि पाँच दिनभित्र मनसुन फैलिने सम्भावना रहेको छ ।

हाल देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

महाशाखाले आज दिउँसो हिमाली तथा पहाडी क्षेत्रका साथै मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ ।

यस्तै, कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका केही स्थान, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ ।

महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । साथै, कोशी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र डुबानको जोखिमप्रति सतर्क रहन अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै