नेपाल–भारतबीच द्विपक्षीय वार्ता, तीन महत्वपूर्ण निर्णय सार्वजनिक

काठमाण्डौ । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस. जयशंकरबीच नयाँ दिल्लीमा द्विपक्षीय वार्ता भएको छ । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जारी गरेको विज्ञप्तिअनुसार वार्ताका क्रममा नेपाल–भारत व्यापार, आर्थिक सहकार्य, सीमापार सम्पर्क सञ्जाल, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तारलगायत विषयमा विस्तृत छलफल भएको हो। 

दुवै पक्षले नेपाल–भारत सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्दै दीर्घकालीन साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । वार्तापछि दुई देशबीच तीन महत्वपूर्ण निर्णय सार्वजनिक गरिएका छन् । 

पहिलो, नेपाल र भारतबीच व्यक्ति–व्यक्तिबीच हुने सीमापार डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा ल्याउने घोषणा गरिएको छ । यो व्यवस्था नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) बीच भएको समझदारीअनुसार कार्यान्वयनमा आएको हो । यसबाट दुई देशबीचको डिजिटल कारोबार थप सहज, छिटो र व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

दोस्रो, २०७२ सालको भूकम्पपछि भारत सरकारको विकास सहयोगमा निर्माण गरिएका ७२ वटा स्वास्थ्य क्षेत्रका तथा १२ वटा सांस्कृतिक सम्पदासम्बन्धी गरी कुल ८४ वटा पुनर्निर्माण परियोजना नेपाललाई हस्तान्तरण गर्ने घोषणा गरिएको छ ।

तेस्रो, काठमाण्डौ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङअन्तर्गतको ‘सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर एण्ड आर्टिफिसियल इन्टेलिजेन्स’ र भारतको ‘डिजिटल इन्डिया भाषिणी डिभिजन’ बीच समझदारीपत्र आदानप्रदान गरिएको छ। ‘भ्वाइस फर्स्ट’ भाषा अनुवाद प्लेटफर्म विकास गर्ने उद्देश्यसहित भएको यस सहकार्यले नेपाली भाषासहित विभिन्न भाषामा कृत्रिम बुद्धिमत्ता (एआई) आधारित अनुवाद प्रणाली विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

भेटका क्रममा विदेशमन्त्री जयशंकरले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट नेपालसँग आपसी हित र कल्याणका लागि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता पुनः दोहोर्‍याएका थिए ।

परराष्ट्रमन्त्री खनाल विदेशमन्त्री जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका लागि गत शुक्रबार भारत गएका थिए । उनी आज काठमाण्डौ फर्किने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै