नेपालको सबैभन्दा प्राचीन सभ्यता नै किरात सभ्यता हो । यो संसारको सबैभन्दा प्राचीन सभ्यता मध्ये एक विशाल किरात सभ्यता भारतीय उपमहाद्वीपमा अवस्थित थियो । आदिम प्रागैतिहासिक काल अघिदेखि नै प्राचीन नेपाल वरपरको क्षेत्रमा किरातीहरुले विचरण भुमी बनाएका थिए । किरातीहरुको मुन्दुम अनुसार तयामा खियामा र हेत्छाकुप्पा (रैछाकुले) ले यही नेपालको भूमि हाल खोटाङको तुवाचुङमा जंगलीयुग, शिकारीयुग पार गर्दै कृषियुगको शुभारम्भ गरेको वर्णन पाइन्छ ।
पालको पहिलो राजा यलम्बर हाङको इतिहासबाट र किरात सभ्यताबाट नै नेपालको इतिहासको सुरुवात हुने गर्दछ । नेपाल राष्ट्र त्यति नै प्राचीन राष्ट्र हो जति किरात सभ्यता प्राचीन छ । किरात सभ्यताको किरातीहरुले प्राचीन किरातकालमा अपनाएको धर्म संस्कार संस्कृतिबाट नै नेपालको सभ्यता धर्म संस्कृतिको सुरुवात भएको हो । तसर्थ नेपालमा किरातीहरुले मनाउने धर्म संस्कृति र उधौली–उभौली साकेला जस्ता चाडहरु किरातको मात्र होइन सिँगो नेपाल राष्ट्र र नेपालीहरुकै मौलिक संस्कृति र चाडहरु हुन् ।
किरातीहरुले मनाउने उधौली उभौली साकेला जस्ता चाडहरु नेपालको प्राचीन मौलिक राष्ट्रिय चाडहरु नै हुन् । नेपालको सबैभन्दा प्राचीन किरात सभ्यताको मानिसहरुले मुख्यतः दुईवटा किरात ऋतुहरु उभौली (दोङवाङा–धिरीनाम) वैशाखे पुर्णे र उधौली (दोङ्दावा–छिरीनाम) मंसिरे पुर्णेलाई आधार मानेर किरात सभ्यताको विकासको क्रममा प्राचीनकालदेखि मनाउँदै आएको आफ्नो मुन्दुमी सांस्कृतिक चाडलाई भाषागत, भौगौलिक रुपमा विभिन्न नाम दिएर किरात राईहरुले साकेला, साकेन्वा, साक्खेवा, तोसी, साकेल, किरात लिम्बुहरुले यक्वा तङ्नाम, किरात सुनुवारहरुले फोल स्यादर, किरात याक्खाहरुले चासुवा, किरात थामीहरुले भुमे पुजा मनाउने गर्दछन् ।
यी किरात सभ्यताको किरातीहरुले उभौली उधौलीलाई जे नामकरण दिएर मनाएपनि सारमा प्रकृतिसँगको सामिप्यता र आध्यामिक सर्वशक्तिमान आराध्यदेव, भुमिदेवको प्रतिबिम्बको रुपमा नै साकेला पुजेको देखिन्छ । किरातीहरुको मुन्दुम दर्शन अनुसार किराती समाज प्रकृतिवाद र आत्मवादमा विश्वास राख्छन् । त्यसैले किरातीहरु प्रकृतिको पुजा र प्रकृतिमा रहेका सम्पुर्ण कुरामा आत्मा रहेको छ भन्ने मानेर त्यसको पुजा गर्दछन् । किराती समाज नछुङवाद, माङपावाद अर्थात् धामी÷विजुवावादमा आधारित छ ।
यस साकेला, साक्खेवाको पुजा नछुङहरुले मुन्दुमी विधिबाट गर्दछन् र यस साकेला पुजासँग सम्बन्धित किरात सभ्यता विकासको क्रममा प्रकृति, वन÷जंगल, पशुपंक्षीसँगको किराती पुर्खाहरुको अन्तरसम्बन्ध र जंगलीयुग, शिकारीयुग, कृषीयुगमा किराती पुर्खाहरुले गरेका श्रमसौन्दर्ययुक्त क्रियाकलापहरुलाई ढोल र झ्याम्टाको सांगीतिक तालमा विभिन्न साकेला शिलीहरु द्वारा व्यक्त गर्दै आइरहेका छन् ।

हिलेको किराती समाजका युवा पुस्ताहरुले उभौली उधौली साकेलालाई व्यापक रुपमा रुचाइएको भएपनि यसप्रतिको बुझाइ सतही भएको साकेला शिलीलाई सिर्फ मनोरन्जन र नाचको रुपमा मात्र हेरिने गरिएको पाइन्छ । तर साकेला शिलीहरु सिर्फ नाच नृत्य मात्र होइन साकेला सिलीहरु मुन्दुमी नछुङहरुले पुज्ने साकेला पुजासँग, मुन्दुमी संस्कृतिसँग र मुख्यतः किरात सभ्यताको विकासको क्रममा पुर्खाहरुले भोगेका भोगाइ, अनुभव, ज्ञान, सिप, श्रमसँग श्रमसौन्दर्ययुक्त क्रियाकलापहरुसँग सम्बन्धित छन् ।
किरात मुन्दुमी दर्शन र उत्पत्तिको सुरुवातः
किराती समाज मौखिक श्रुति परम्परामा आधारित मुन्दुमबाट निर्देशित छ । किरात सभ्यता विकासको क्रममा हजारौ“ वर्षअघिदेखिको किराती पुर्खाहरुका भोगाइ अनुभव ज्ञानको सँगालो, दर्शन, दार्शनिक दृष्टिकोणलाई एक पुस्तादेखि अर्काे पुस्ता हस्तान्तरण गर्दै जोगाएर ल्याएको श्रुति परम्परामा आधारित मौखिकशाष्त्र नै मुन्दुम हो । किरातीहरुको मुन्दुममा सृष्टिको उत्पत्ति, मानव सभ्यताको विकासको चरणहरु, प्रकृतिसँगको अन्तरसम्बन्ध इतिहास भुगोल संस्कृतिका कुराहरु वर्णन गरिएको पाइन्छ ।
किरात मुन्दुममा सृष्टिको उत्पत्ति कसरी भयो? यो पृथ्वी, यो धर्ती यो आकाश जल जमिनको उत्पत्ति कसरी भयो ? यो सृष्टिमा मानव उत्पत्ति कसरी भयो?भनेर दार्शनिक दृष्टिकोणबाट वर्णन गरिएको पाइन्छ । किरात मुन्दुम दर्शन अनुसार यो सृष्टिमा मानव उत्पत्ति हुनु अगाडि सारा पृथ्वी जलाम्य अवस्थामा थियो । पृथ्वीमा कालान्तरसम्म आँधीहुरी चलिरहयो र आँधीहुरीले उडाएर ल्याएको फोहोर पानीको भागमा जम्मा हुँदै गयो । त्यही फोहोरको डंगुरबाट उन्यू झारको विकास भयो । उन्युका पात खस्दै जाँदा त्यसको फेदमा थुप्रिएका पातहरु कुहिन थाले । त्यही कुहिएको उन्युको थुप्रोबाट धमिराको उत्पत्ति भयो । त्यही धमिराले उधिनेर माटोको उत्पत्ति गरायो । त्यही माटोमा च्याऊ उम्रन थाल्यो ।
च्याऊ कुहिएर सड्दै गएपछि विभिन्न किसिमको किराहरुको उत्पत्ति भयो । यसरी नै कालान्तरमा पहिलो मानवहरुः (रिकापा छोरा र रिभेना छोरी) को उत्पत्ति भयो भन्ने मानिन्छ । त्यस्तै अर्काे मतअनुसार सुर्य र चन्द्रमाको पारस्परिक आकर्षण शक्तिको कारण भूगर्भमा विर्य रह्यो र त्यही गर्वबाट उन्युको उत्पत्ति भयो । कालान्तरमा वासेपमा धमिराले ढिकुरा उठायो र त्यही ढिकुरा फुटेर नाईमा र चिनिमा अथवा सुम्निमा पारुहाङबाट मानवको उत्पत्ति भएको मुन्दुमी दर्शनअनुसार सृष्टिको उत्पत्ति र मानव उत्पत्तिबारे दार्शनिक पक्ष रहेको छ । यसलाई गहिरिएर बुझ्ने हेर्ने हो भने यो अहिलेको आधुनिकयुगको विज्ञानसँगत कुराहरु छन् ।

साकेला सम्बन्धित मिथकहरु यस्ता छन्ः
साकेला पुज्ने परम्पराको सुरुवात कसरी भयो ?
किरात सभ्यताको मानिसहरुले साकेलालाई प्राचीनकालदेखि नै किरातीहरुले सर्वशक्तिमान आराध्यदेव, भुमिदेवको रुपमा मान्यता दिएर पुज्दै आएको देखिन्छ । किरातीहरुले उभौली (दोङवाङा÷धिरीनाम) वैशाखे पुर्णे र उधौली (दोङदावा÷छिरीनाम) मंसिरे पुर्णेमा वर्षको दुई वटा किराती ऋतुहरुमा साकेला पुज्ने गरिन्छ । प्राचीनकालमा मानव सभ्यता विकासको सुरुवातको क्रममा कुनै पनि किसिमको समय तिथिमितिको विकास भएको थिएन । त्यसकारण किराती पुर्खाहरुले आफ्नो ज्ञान र चेतनाको आधारमा प्रकृतिमा भएका प्राकृतिक वनजंगल, रुखविरुवा वनस्पतिहरुमा आएको परिवर्तनलाई आधार मानेर र प्रकृतिमा रहेका पशुपंछीहरुको क्रियाकलापलाई आधार मानेर दुईवटा किराती ऋतुहरुको पहिचान गरे ।
भौली (दोङवाङा÷धिरीनाम) वैशाखे पुर्णेमा जब प्राकृतिक रुपमा गर्मियामको सुरुवात भयो र मौसम परिवर्तनसँगै प्रकृतिमा रहेका वनजंगल, रुखविरुवा वनस्पतिहरुले नया पालुवा हाल्न सुरु गरे, हिमालको शिरदेखि बगेका नदी, खोलानालाहरुको माछाको कुरहरु, भेडाको बथानहरु तथा कर्याङकुरुङ जस्ता चराहरु उभोउभो लेकतिर जान सुरु गर्ने समयलाई किराती पुर्खाहरुले उभौलीको रुपमा माने ।
यस उभौलीको समयमा नयाँ लगाएको अन्नबालीलाई कुनै पनि किसिमको प्राकृतिक प्रकोपले क्षती नपुयायोस्, अन्नबाली उत्पादन वृद्धि होस् भनेर मनुष्य जातिको रक्षार्थ साकेला पुजा गरेर बल शक्ति माग्ने गरिन्छ । उधौली (दोङदावा÷छिरीनाम) मंसिरे पुर्णेमा जब प्राकृतिक रुपमा मौसम चिसो बढ्न थाल्छन् । उभौलीमा पलाएका प्राकृतिक वनजंगल रुखविरुवा वनस्पतीहरुको नयाँ पालुवा, पातहरु विस्तारै झर्न थाल्छन् । अनी हिमाली भेग माथिमाथि लेकतिर गएको माछा तथा भेडाको बथानहरु र कर्याङकुरुङ जस्ता चराहरु बेसीतिर उधोउधो झर्न सुरु गर्ने समयलाई किराती पुर्खाहरुले उधौलीको रुपमा माने ।
यस उधौलीको समयमा खेतबारीमा लगाएको अन्नबाली उठाएर भकारीमा थन्काएपश्चात अन्बाली र सम्पुर्ण प्राणीलाई रक्षा गरी यो अवस्थामा ल्याइपु¥याएकोमा प्रकृति अनी भुमिदेवी साकेलालाई धन्यवाद सम्मानस्वरुप साकेलाको पुजा गरिन्छ ।
साकेला/साक्खेवा पुज्ने विधि र नछुङ/नाक्छोङको साकेलाथानतिर प्रस्थानः
किरात राज्यको किरात गाऊ बस्तीहरुमा धामी÷नछुङहरुले आध्यात्मिक शक्तिबाट साकेलालुङ (साकेला ढुंगा) को प्राकृतिक रुपमा स्थल रहेको पत्ता लगाउने गर्दछन् । साकेलालुङको प्राकृतिक स्थलबाट नछुङहरुले आध्यात्मिक शक्तिको विधा कम्पनको गति दिँदै मानव ईच्छा क्षेत्रमा समेत स्थानान्तरण गरेर साकेला थानको निर्माण गरिने संस्कारको विकास हुँदै गयो । किराती समाजमा साकेला पुज्ने अघिल्लो दिन धर्ती (हेन्खामा) लाई खनजोत गरिँदैन । यसको अर्थ हेन्खामा धर्ती नाशवान वस्तु हो । त्यसैले एकदिन मात्र भएपनि भुमी÷धर्तीलाई फुर्सद दिएर भुमिलाई नष्ट हुनबाट जोगाउनुपर्दछ भन्ने मान्यता हो ।
किरातीहरुले साकेला (भुमिदेव) पुज्नु अगाडि ४ प्रकारका माङहरुलाई अनिवार्य रुपमा नछुङहरुले मुन्दुमी विधिपूर्वक पुजा गरिँदै आएको देखिन्छ । उक्त माङहरुको विधिसम्मत पुजा गरिसकेपछि मात्र साकेला नछुङले साकेला पुज्न सक्ने शक्ति प्राप्त गर्ने मान्यता रहेको छ । साकेला पुजेको दिन साकेला मातहतमा रहेका वापुटाङमाङ (पानीको मुल), नागनगेनी, सिमेभुमे (हुत्लुङ. अगेना) र रेत्कामाङहरु (आठ पितृआत्माहरु) सँग पनि शक्ति माग्दै पुजा आराधना गरिन्छ । ती सम्पुर्ण कार्य सम्पन्न भएपछि साकेला नछुङले आफ्नो घरबाट ढोल झ्याम्टाको आवाज दिई साकेलाको प्रारम्भ भएको जानकारी गराउँछन् ।
साकेला नछुङ/नाक्छोङ मुलधामीले साकेला स्थल जानुपुर्व मुख्यतः घरको चुलो सुप्तुलुङ (पितृ माङहरु) पुज्छन् र बल शक्ति माग्ने गर्छन् । यसरी घरको सुप्तुलुङ/माङपितृहरुसँग बिना बाधाअड्चन साकेला स्थलसम्म जान सक्ने शक्ति मागेर साकेला नाक्छोङले आध्यामिक शक्ति प्राप्त गरेपछि साकेला नाक्छोङ, नछुङ मुलधामीलाई नेतृत्व स्वरुप सांस्कृतिक आभुषणमा सुनाखरी (आम्लाबुङ) को पारी, पंक्षीहरुको प्वाँख (वासाङ) जडित शिरमा डोलोकोम (सेतो कपडाको पगरीरश्रिपेच) लगाइदिएपश्चात नछुङ÷नाक्छोङ÷मुलधामीले मुन्दुमी हतियारको रुपमा हातमा सोलोन्वा (चिण्डो) आरावा र अदुवा/ बेच्छुक, लोत्लासा, सोलोन्वा राखिएको फोरु (ऐतिहासिक तरबार) र बाँया हातमा सायाताली (सात आँखाको शिर उभ्याऊने धनु) बोकी भेला भएका सम्पुर्ण बाखा, होमे, नछुङ, केन्छेरुवा, ढोले, झ्याम्टे, सिलिहाङ्मा (साकेला शिलीको अगुवाई गर्ने महिला), शिलीहाङ्पा (साकेला शिलीको अगुवाई गर्ने पुरुष) लगायत भेला भएका गाउँलेहरुको लावा लस्करसहित ढोल झ्याम्टा बजाउँदै नछुङ/नाक्छोङ/ मुलधामीको अगुवाइमा साकेला थानतिर प्रस्थान गर्दछन् ।
साकेला नछुङले साकेलाथानसम्म जाने उक्त भेला भएका लावालस्करको लागि उच्च मनोबल रहिरहोस् भनेर आफ्नो चुलामा लावा (सातो) माग्दै आध्यात्मिक सुरक्षा प्रदान गरेर लगिएको हुन्छ । साकेला थानमा पुगेपश्चात आध्यामिक शक्तिद्वारा मुन्दुम गाउँदै शक्तिको प्रतिक (साकेला लुङ) पुजा गर्दै बल÷शक्ति माग्ने गर्दछन् । उभौलीको समयमा अन्नबालीको उत्पादनमा वृद्धि होस्, किराफट्याङ्ग्रा र वन्यजन्तुहरुको नोक्सानीबाट संरक्षण गरिदिनु, प्राकृतिक प्रकोपबाट अन्नबाली र मानव जिउधनको सुरक्षा गरिदिनु भनेर आग्रह गर्दै बल शक्ति माग्दै चोखो पवित्र कुराहरु अदुवा, मर्चा, चोखो जाँण, आरावा, तोत्ला (मृगको मासु, गाईको मासु, गोरुको मासु, माछा, पाहा, बँदेलको मासु) लगायत विभिन्न वस्तुहरु चढाऊने गरेको पाइन्छ । उता उपस्थित बाखा होमे, नछुङहरु (शिलिहाङ्मा), सिलिहाङ्मासहितको लावालस्कर सहितको सहभागीहरुले ढोल र झ्याम्टाको उत्साहजनक तालमा नाच्दै गाउँदै शिलिहाङ्मा र शिलिहाङ्पाको नेतृत्वमा विभिन्न साकेला शिलीहरुको प्रस्तुतिसहितको मन्दुमी विधिगत ढंगले साकेलाको शुभारम्भ सुरुवात र त्यसरी नै विधिगत ढंगबाट अन्त्य हुने गर्दछ ।
साकेला शिलीहरु यस प्रकार छन्ः
साकेलामा प्रस्तुत गर्ने शिलीहरु कुनै नृत्य र नाच मात्र होइनन्, शिलीहरु साकेला÷साक्खेवा संस्कृति सम्बद्ध छन् । किरात सभ्यता विकासको क्रममा पुर्खाहरुले प्रकृतिमा देखेका भोगेका भोगाइ, अनुभव ज्ञान र सिप श्रमहरुलाई साकेला सम्बद्ध श्रमसौन्दर्य युक्त क्रियाकलापहरुमा शिलीहरु प्रस्तुत गरिएको हुन्छ । यस्ता साकेला शिलीहरुलाई (शिलीहाङ्पा र शिलिहाङ्मा) को नेतृत्वमा प्रस्तुत गर्ने गरिन्छ । किराती सभ्यताको किरातीहरुमा विभिन्न भाषा, पाछा, क्षेत्र, खोलानालाहरु अनुसार साकेला शिलीहरु विविधतापुर्ण रहेको पाइन्छ । किरातीहरुले विविधतापुर्वक साकेला शिलीहरु प्रस्तुत गरेका संख्याहरुमध्ये कतै १८४, १५०, १३५, १०७ र ११२ प्रकारको शिलीहरु रहेको मान्यता देखिन्छ । त्यसमध्येका केही साकेला शिलीहरु यस प्रकार छन् ।
२) आप्तारुङ शिली
३) खारु शिली
४) तयामा खियामा शिली– कपास छरे देखी तान बुनेर कपडा ओढिन्जेलसम्म
५) चासुंग सिली– अन्नबाली बिउ छर्नेदेखि भित्र्याउनेसम्म
६) बोखामा सिली– पृथ्वीलाई ढोग्ने सिली
७) कोकोले सिली– छेपारोको अनुकरण
८) खासिमा सिली– झिँगाको अनुकरण
९) फुइपा सिली– बाँदरको अनुकरण
१०) वापा वाम्मा सिली– कुखुराको भाले पोथीको अनुकरण
११) क्रावा सिली– गँगटाको अनुकरण
१२) कुप्पामा सिली– उपियाँको अनुकरण ईत्यादि ।
१) फाक्लेवा शिली– बाटामा आइपर्ने समस्याहरु खुट्टाले नृत्यद्वारा फाँड्दै पन्छ्याउँदै अघि बढ्ने ।
२) पासो थापेको ३) ढुकुरको गाँण फोडेको ४) अन्न निकालेको ५) ढुकुर पोलेको ६) मासु काटेको ७) भाँडो बसालेको ८) पकाएको ९) भाडो उतारेको १०) पस्केको ११) हात धोएको १२) खाएको १३) हात धोएको १४) पेट अघाएको १५) खुसी भएको ।
खारु शिली प्रारम्भ र अन्त्यः
सिकी शिलीको प्रारम्भ र अन्त्यः
यस्ता विभिन्न प्रकारको साकेला÷साक्खेवा शिलीहरु भषागत÷पाछा खोलानाला र भौगौलिक रुपमा विविधतापुर्ण साकेला शिलीहरुको प्रस्तुति गरिन्छ ।
वर्तमान अवस्थामा साकेला शिलीहरु लोपन्मुख अवस्थामा छन्ः
किरातीहरुको भुमिदेव/आराध्यदेव साकेला÷साक्खेवासँग सम्बद्ध साकेला शिलीहरु भाषिक रुपमा, भौगोलिक रुपमा विविधतापुर्ण साकेला शिलीहरु रहेको छ । आजभोलि साकेला शिलीहरु प्रतिस्पर्धा कार्यकर्महरु आयोजना हुने गर्दछन् । तर साकेला शिली प्रतिस्पर्धा कार्यक्रमहरु गर्दा सीमित शिलीहरुलाई मात्र केन्द्रित राख्ने गरेको कारण विभिन्न भाषिक र खोलानालामा रहेका साकेला शिलीहरु लोपन्मुख हुँदै गइरहेका छन् । हामी किरातीहरुले किरात सभ्यता र भुमिदेव साकेलासँग सम्बद्ध सम्पुर्ण साकेला शिलीहरुलाई समान ढंगले लिएर संरक्षण प्रवर्धन गर्नुपर्दछ, जोगाउन पहल गर्नुपर्दछ । कतिपय आध्यात्मिक शक्तिसँग सम्बन्धित शिलीहरु सुम्निमा पारुहाङ शिली, पंक्षी शिलीहरु कराङकुरुङ शिली र नारा शिलीहरु विधि पु¥याएर नाच्न सकिएन भने आयु घट्ने मान्यताको कारण लोप भएर जाने अवस्थामा छन् । हामीले त्यस्ता शिलीहरु संरक्षण गर्न र जोगाउन नयाँ पुस्तालाई यस्ता लोपन्मुख शिली सिक्ने सिकाऊने पहल गर्न आवश्यक छ । त्यस्तै किरात राईहरुको सबै भाषिक र भौगौलिक क्षेत्रमा अलग अलग साकेला शिलीहरु छन् । जस्तै अरुण उपत्यकामा बस्ने किरातीहरु जस्तै आठपहरीया/ छिलिङ/ याम्फु/ मेवाहाङ लगायतको किरात राईहरु कतिपयले मुख्यतः च्याब्रुङ/ ढोल नाच नाच्ने गर्दछन्, वाढाङ्पित/ पापानी मनाउँछन्, नाच्ने गर्दछन् ।
त्यस्तै ओखलढुंगा/ सोलुखम्बुतिरका वायुङ/ खालिङ राईहरु सेग्रो/ हङशिली नाच्दछन् । त्यस्तै वाम्बुले राईहरुको ढवाङ्कुमो चाडहरुमा नाचिने नाच र खाउमो शिलीहरु नाच्छन् । त्यस्तै कुलुङहरुको चाकचाचुर चाडमा नाच्ने शिलीहरु लगायत सबै भाषिक र क्षेत्रगत सांस्कृतिक विविधता चाड र शिलीहरु पनि संरक्षण गर्नु आवश्यक छ । हामीले उभौली साकेलामा सीमित शिली प्रतिस्पर्धा गराउने मात्र नगरेर सम्पुर्ण भाषिक र भौगोलिक क्षेत्रको शिलीहरु, चाडपर्वहरुमा नाचिने शिलीहरु समान रुपमा संरक्षण गर्नु आवश्यक छ ।

निष्कर्षः
नेपालको सबैभन्दा प्राचीन किरात सभ्यतासँग सम्बन्धित उभौली उधौली साकेला नेपालकै सबैभन्दा प्राचीन र मौलिक सांस्कृतिक चाड हो । हामीले किरातीहरुको महान चाड उभौली उधौली साकेलालाई पनि कसरी नेपालको अन्य चाड दशै“ तिहार जस्तै तामझाम र रमझमको साथ किरातीहरुले चाड मनाउन सकिन्छ भन्नेतिर ध्यान दिन जरुरी छ । हामीले उभौली, उधौली साकेला चाडलाई चाहिँ बृहत रुपमा स्थापित गर्न सकियो भने अरुको चाड बहिस्कार गरिरहनै पर्दैन । किरातीहरुले आफ्नै मौलिक सांस्कृतिक चाडहरुमा रमाउन मनाउन सुरु गर्नेछौ“ । किरातीहरुको उधौली, उभौली साकेला चाडलाई आजसम्म साकेला पुज्ने, साकेला शिली नाच्ने, शुभकामना आदानप्रदान गर्ने गरी सांस्कृतिक रुपमा स्थापित भएको छ । यसको अलावा हामीले यस उभौली साकेला चाडलाई कसरी रमझम, तामझामको साथ अझ रमाईलो सँगले उभौली उधौली साकेला चाड मनाऊन सकिन्छ भन्ने विषयमा यसरी केही विकल्पहरु अपनाएर अघि बढ्नुपर्दछ भन्ने मेरो मान्यता रहेको छ ।
यी माथिका बुँदाहरु किरातीहरुको उधौली उभौली साकेला चाडलाई कसरी व्यापक रुपमा मनाउन सकिन्छ भन्ने मेरो नितान्तै व्यक्तिगत विचार हो । यसरी हामीले पनि हाम्रो चाडलाई नै तामझामको साथ मनाऊन स्थापित गर्न सकियो भने मात्र किरातीहरु ऋाफ्नै चाडमा रमाउन सक्लान् । तथापि यी सम्पुर्ण कुराहरुको अलावा उभौली साकेलाको सबैभन्दा बढी महत्व सांस्कृतिक पक्ष साकेला पुज्ने/ शिली नाच्ने संस्कृतिलाई प्राथमिकता दिँदै जानुपर्दछ ।
नेपालको सबैभन्दा प्राचीन किरात सभ्यताको मौलिक सांस्कृतिक चाड उधौली उभौली साकेलालाई यसरी तामझामको साथ मनाउने परम्पराको विकास गरेर नेपाल र नेपालीहरुको राष्ट्रिय चाडको रुपमा स्थापित गराउनुपर्दछ । अतः उधौली उभौली साकेलालाई नाचगान र मनोरन्जनको रुपमा मात्र होइन किरातीहरुको आराध्यदेव/ भुमिदेव साकेला/ साक्खेवा पुज्ने संस्कृति, साकेला पुजा सम्बद्ध सिलीहरु र किरात सभ्यताको विकासको क्रममा किराती पुर्खाहरुले आफनो भोगाई अनुभव ज्ञान, प्रकृतिसँगको अन्तरसम्बन्ध प्रकृतिमा रहेका पशुपंक्षी चराचुरुंगीसँगको अन्तरसम्बन्ध, पुर्खाहरुले गरेको श्रम र श्रमसौन्दर्ययुक्त क्रियाकलापहरुलाई गहिरिएर बुझ्नुपर्दछ र मात्र उधौली उभौली र साकेलाको अर्थ र महत्व बुझिनेछ, अनी किराती समाजमा साकेलाको अस्तित्व रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन
- परशुराम चौहानको अन्तर्राष्ट्रिय फड्को, पाए यस्तो सम्मान
- राष्ट्रिय वाणिज्य बैंकले कृषिमा प्राथमिकताका साथ लगानी बढाउँदै
- खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक एनआईसी एशिया बैंकको आग्रह
- ‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै
- पञ्चकोट सर्किटः ऐतिहासिक र धार्मिक पर्यटकीय स्थल
- अझै जीवित छ तत्कालीन बाइसे चौबिसे राजाले प्रयोग गरेको तोप
- पर्यटकीय गन्तव्य बन्दै भर्जन कालिका मन्दिर


ट्रेन्डिङ
मूलघरे कान्छा






.jpg)
