जब बादलले हिमाल लुकाउने र एकैछिनमै फेरि उज्यालो बनाउने लुकामारी गर्छ, जब हरियो डाँडामा बुकी फूल फुल्छन् र चिसो हिमाली बतासले गाला छुन आउँछ । त्यही बेला तपाईं चौरीखर्क पुगिसक्नुभएको बुझ्नुपर्छ। बागलुङ र पूर्वी रुकुमको सीमामा अवस्थित चुङ्रीको चौरीखर्क अहिले तीव्र गतिमा एक आकर्षक पर्यटकीय गन्तव्यका रुपमा चिनिदै छ । करिब ४,००० मिटर उचाइमा फैलिएको यो लेक क्षेत्र हालै केही वर्षयता आन्तरिक पर्यटकबीच लोकप्रिय बन्न थालेको छ।

कसैकै नजरमा नपरेको चौरीखर्क अहिले शान्तिको खोजी गर्नेहरू, प्रकृति प्रेमी र पदयात्रा पारखीहरूका लागि स्वर्ग समान बनिरहेको छ। रंगीचंगी वनफूल, हरियालीले ढाकिएको पाखा, छिटफुट भेडीगोठ र उत्तरतर्फ फैलिएको हिमशृङ्खलाको दृश्यले यहाँ पुग्ने जो–कसैलाई मन्त्रमुग्ध बनाउँछ। ‘चुङ्री’ भनेर चिनिने यो क्षेत्रमा लेकाली हावापानी र पोषिलो घाँस पाइने हुँदा वर्षौँदेखि बागलुङ, पूर्वीरुकुम, रोल्पा र म्याग्दीका गोठालाहरू बर्खाको समयमा यहाँ आउने गर्छन् । तर अहिले, चौरीखर्कमा पर्यटकहरूको आगमनले यहाँको मौसमी जीवनशैलीमा नै नयाँ ऊर्जा थपिएको छ।

मध्यपहाडी लोकमार्गअन्तर्गत पातीहाल्नेसम्मको सडक पहुँच भएपछि चौरीखर्कसम्म पुग्ने बाटो सहज बनेको छ। पातीहाल्नेबाट आधा घण्टा सवारीयात्रा र करिब साढे दुई घण्टा पैदल हिँडेपछि चौरीखर्कको हरियालीमा पाइला राख्न सकिन्छ। यस बाटोमा यात्रा आफैंमा अद्भुत छ । बाटोभरि वनफूलको सुगन्ध, पाखामा चरिरहेका भेडाबाख्रा, स–साना खोला, हरियाली र माथिबाट टाकुरो हेर्दा देखिने सेता हिमाल यी सबैले यात्रालाई गन्तव्यभन्दा पनि रोमाञ्चक बनाउँछ।

गत वर्ष चौरीखर्कमा रानीबास–पाइपा हुँदै करिब पाँच किलोमिटर लामो पदमार्ग निर्माण गरिएको छ। यसका लागि १० लाख रुपैयाँ बजेट खर्च भएको थियो। यसै वर्ष, लुम्बिनी प्रदेश सरकारबाट २५ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ, जसले पदमार्ग थप विस्तार, सूचना बोर्डहरू, विश्रामस्थल र आवश्यक पूर्वाधार निर्माणमा मद्दत पुर्याउनेछ।
चौरीखर्कको मुख्य विशेषता भनेको यहाँको मौसमी चरित्र र प्राकृतिक दृश्य हो। गर्मीयाममा चारैतिर हरियाली र फूलले ढाकिएको दृश्य, जताततै चरिरहेका भेडाबाख्राहरू, र खुलेर श्वास फेर्न सकिने सफा हावाले यहाँको वातावरणलाई स्वर्गीय बनाउँछ। जुनसुकै दिशातर्फ फर्किए पनि हरियाली र हिमालको संयोजनले यस स्थानलाई एक प्राकृतिक पोस्टकार्ड जस्तै बनाइदिन्छ। झन्, बादल र हिमालबीचको लुकामारी हेर्दै चिसो बतासमा थकाइ मेट्ने अनुभव स्वाभाविक रूपमा मनमा अमिट छाप छोड्छ।

हालै चौरीखर्क भ्रमण गरेका पर्यटकहरूका अनुसार, यो गन्तव्य कम खर्चिलो, प्राकृतिक, र तनावमुक्त बनाउने उपयुक्त स्थान हो। सहरको गर्मी, धुलो र भीडबाट भागेर शान्ति खोज्न चाहनेहरूका लागि चौरीखर्क विशेष गन्तव्य बन्न सक्छ। सुगम बाटो, सुरक्षा, र सूचना सुविधा थपिएमा यो क्षेत्रले पर्यटन व्यवसायमा आर्थिक सम्भावनासमेत बोक्ने देखिन्छ। चौरीखर्क अब केवल एक गोठ क्षेत्र होइन, भविष्यको पर्यटन केन्द्र हो । चौरीखर्कले अब आफूलाई गोठालाहरूको मौसमी बासको रूपमा मात्र सीमित राखेको छैन। हरियाली, हिमाल, मौसमी फूल, स्थानीय जीवनशैली र सरकारी संरचनागत लगानीको सम्मिश्रणले यो स्थानलाई भविष्यको दिगो, सस्तो र मोहक गन्तव्य बनाउने स्पष्ट संकेत दिएको छ।

यदि योजनाबद्ध रूपमा प्रवर्द्धन, पूर्वाधार विस्तार र संरक्षण गरियो भने, चौरीखर्कले निकट भविष्यमा नेपालकै प्रमुख उच्च हिमाली आन्तरिक पर्यटन केन्द्रको दर्जा पाउने कुरामा दुईमत छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण


ट्रेन्डिङ
रञ्जिता अधिकारी





