काठमाडौँ । संसारभरि फैलिएका किरात समुदायले फाल्गुनन्द जयन्ती (कात्तिक २५) मनाउने गर्दछन् । विशेषतः नेपाल, भुटान, भारतलगायतका ठाउँमा फाल्गुनन्दको नाम गौरवसाथ लिइन्छ । यसर्थ किरातहरुका गुरु फाल्गुनन्द लिङ्देन नेपालका एक बहुचर्चित गुरु, सत्यवक्ता र साधु हुन् । यिनै राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देन जन्म लिएको, ज्ञान प्राप्त गरेको र समाधि लिएको ऐतिहासिक स्थानलाई धार्मिक मार्गमा समेटेर ‘फाल्गुनन्द सर्किट’ बनाउन सके विश्वभरिका पर्यटकको आकर्षण बढ्ने सम्भावना छ । किरात धर्मावलम्बीको महागुरु फाल्गुनन्दको जन्म विसं १९४२ कात्तिक २५ गते इलामको चुक्चिनाम्बामा भएको थियो भने २००५ साल चैत २२ गते पाँचथरको सिलौटीमा उनले देहत्याग गरेका थिए।
झापा, इलाम र पाँचथर जिल्लाका स्थानीय तह मिलेर ‘फाल्गुनन्द सर्किट’को निर्माण र प्रचारप्रसार गर्नुपर्ने देखिन्छ। यदि यो अवधारणामा जाने हो भने विश्वभरिका किरातको धार्मिक केन्द्र बन्ने र यसबाट नेपालको धार्मिक पर्यटनमा नयाँ आयाम थपिने अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन तामाङको धारणा छ।
उनको योगदानको सम्मानमा नेपाल सरकारले २०६६ मङ्सिर १६ गते विभूति घोषणा गरेको छ भने हुलाक टिकट प्रकाशित गरेको छ। इलामको माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईका अनुसार ‘फाल्गुनन्द सर्किट’को प्रस्ताव संघीय र प्रदेश सरकारबाट औपचारिकरुपमै घोषणा भइसकेको छ। यस अवधारणामा झापाको अर्जुनधारा नगरपालिका, इलामको माई नगरपालिका, इलामकै माङ्सेबुङ गाउँपालिका र पाँचथरको फाल्गुनन्द गाउँपालिकालाई समेटिएको छ।
माई नगरपालिकाका मेयर खम्बा सिंह लिम्बूले महागुरु फाल्गुनन्दको जन्मस्थल चुक्चिनाम्बा र समाधिस्थल सिलौटीको धार्मिक विकास तथा प्रचारप्रसारमा सरकारको ध्यान नपुगेको बताए। त्यहाँ स्थानीय तहमा केही विकासको प्रयास भए तापनि बजेट अभावमा उल्लेख्य काम हुन सकेको छैन। महागुरु फाल्गुनन्दले जन्म लिएको चुक्चिनाम्बामा भत्किएका पर्खाल बाँकी रहेका छन्। विगतमा निजी स्वामित्वमा रहेको सो पर्खाल भएको ऐतिहासिक जग्गालाई संरक्षण गर्ने गरी हाल लारुम्बास्थित धार्मिक संस्थामा स्वामित्व सारिएको छ। सडक पुगेको भए तापनि त्यहाँ सामान्य मन्दिर मात्र रहेको छ।
‘फाल्गुनन्द सर्किट’को प्रवेश विन्दु झापाको अर्जुनधारा नगरपालिकालाई बनाउन सकिने र इलामको माई नगरपालिकाको दानावारी, माङ्सेबुङ गाउँपालिकाको लारुम्बा, रवि, राँके हुँदै पाँचथरको फाल्गुनन्द गाउँपालिकास्थित लेब्रेकुटी र सिलौटीलाई महङ्खवपूर्ण धार्मिक करिडरको रुपमा विकसित गर्न सकिन्छ। धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा पहिल्यैदेखि चिनिएको झापाको अर्जुनधारामा फाल्गुनन्दको पूर्णकदको शालिक, फाल्गुनन्द शान्ति बाटिका, किरात माङहिमलगायतका धार्मिक महङ्खवका स्थल निर्माण पहिल्यै भइसकेको छ।
भुटानी शरणार्थीले आश्रय लिएको अर्जुनधारा–३ कैदलेस्थित शिविरस्थलमा फाल्गुनन्द शान्ति बाटिका, फाल्गुनन्द मिङ्सो माङहिम र फाल्गुनन्द पोखरी निर्माण भइसकेको अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन तामाङ बताउँछन्। ‘फाल्गुनन्द सर्किट’को विकास र प्रबर्धनमा सघाउन अर्जुनधारा नगरपालिका इच्छुक रहेको उनले बताए। अर्जुनधारा नगरपालिका वडा नं २ र ३ को सीमामा पर्ने खुदुनाबारी बजारको चोकमा साढे सात फिट अग्लो र करीब ६०० किलोग्राम तौलको फाल्गुनन्दको शालिक स्थापना गरिएको छ। स्थानीय मूर्तिकार भक्तबहादुर राईले कुँदेको सो शालिक स्थापना गर्न रु १२ लाख ७५ हजार खर्च भएको तामाङले जानकारी दिए।
‘फाल्गुनन्द सर्किट’को सबैभन्दा महङ्खवपूर्ण स्थान इलामको माङ्सेबुङ–५ स्थित लारुम्बा धार्मिकस्थल हो। जहाँ किरात धर्मका गुरु आत्मानन्द लिङ्देनको आश्रम रहेको छ। विश्वभरिका किरातको धार्मिक केन्द्रका रुपमा विकास भइरहेको लारुम्बामा गुरु आश्रमसहित विश्व किरात मुन्धुम पाठशाला, सेवा सावा (पूजारी) प्रशिक्षण केन्द्र, किरात लिपी पाठशाला आदि रहेका छन्। अर्जुनधाराबाट ३५ किलोमिटर उत्तरमा लारुम्बा धार्मिक स्थल छ भने त्यहाँबाट रवि हुँदै पाँचथरको लेबे्रकुटी र सिलौटी पुग्न करीव ६० किलोमिटर सडक मार्ग छिचोल्नु पर्दछ।
झापाको दमक हुँदै इलामको रवि चिसापानी र पाँचथरको लेब्रेकुटी–सिलौटी जोड्ने सडकको नाम फाल्गुनन्द मार्ग राखिएको छ भने झापाकै विर्तामोडदेखि अर्जुनधारा, इलामको माई र माङ्सेबुङ जोड्ने सडकमार्गलाई ‘आत्मानन्द मार्ग’ नामकरण गर्नुपर्ने प्रस्ताव गरिएको माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राई बताउँछन्। लारुम्बा धार्मिकस्थललाई नेपाल सरकारले मुलुकको सय वटा पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ। प्राप्त भएको बजेटबाट लारुम्बा क्षेत्रमा चक्र पथ, विद्यालय भवन र मन्दिर बनिरहेका छन्। ‘फाल्गुनन्द सर्किट’को अवधारणालाई सरकारले स्वीकृत गरेमा धार्मिक विकासका लागि अझ धेरै बजेट आउने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष राई बताउँछन्। झापाको काँकडभिट्टा स्थल नाका र चन्द्रगढी विमानस्थल भएर भित्रिने पर्यटकलाई ‘फाल्गुनन्द सर्किट’ले आकर्षण गर्ने भएकाले सरकारले यसको विकासका लागि ठोस अध्ययन र योजना ल्याउनुपर्ने राईको धारणा छ।
अर्जुनधारादेखि नै शालिक, मठमन्दिर र स्मारकहरु बनाउँदै लगियो भने लारुम्बा, सिलौटी र लेबे्रकुटी जाने धार्मिक पर्यटकले तीर्थयात्राको सार्थक अनुभूति गर्ने राई बताउँछन्। यसैबीच, अर्जुनधाराको खुदुनाबारी चोकमा नवनिर्मित महागुरु फाल्गुनन्दको पूर्ण कदको शालिक भोलि एक समारोहविच अनावरण हुने भएको छ। सो शालिक साढे सात फिट अग्लो र करीब ६०० किलोग्राम तौलको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी

ट्रेन्डिङ
खबरमुकाम







