जलवायु परिवर्तनको असर, गैँडाको अस्तित्व खतरामा

वसन्त पराजुली

जलवायु परिवर्तनको प्रत्यक्ष असर गैँडामा पर्ने देखिएको छ । जलवायु परिवर्तनले हुने अतिवृष्टि र अनावृष्टिका कारण जैविक विविधतामा प्रभाव पर्दा यसको प्रत्यक्ष असर गैँडामा पर्ने विज्ञहरूले औँल्याएका छन् । 

जलवायु परिवर्तनको प्रभावले गैँडामा पर्ने असरबारे विद्यावारिधि गर्नुभएका चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तले जलवायु परिवर्तनको असरले आगामी ५० वर्षभित्र गैँडाको वासस्थान खुम्चिने दाबी गरे । 

‘कुल भूभागको दुई प्रतिशत मात्रै अहिले नेपालमा गैँडाका लागि वासस्थान योग्य क्षेत्र छ । यो क्षेत्रमा पनि ५० वर्षपछि ३० प्रतिशतभन्दा बढी खुम्चिने अवस्था छ,’ उनले भने, ‘अतिवृष्टि भयो भने बाढीले असर गर्छ, अनावृष्टि भयो भने पानीका मुहान सुकेर संरक्षित क्षेत्रमा वन्यजन्तुका लागि पानीको अभाव हुन्छ । अतिवृष्टिको प्रभाव त अहिले नै देखिएको छ ।’  

२०७४ साल साउन २८ गते नारायणी नदीमा आएको बाढीले १३ वटा गैँडा बगाएर भारतीय क्षेत्रमा पुर्‍यायो । तीमध्ये नौवटा उतैबाट उद्धार गरेर ल्याइयो भने चारवटा नेपालतर्फ त्रिवेणीमा फर्केका बेला उद्धार गरेर ल्याइएको अभिलेख निकुञ्जसँग छ । नारायणी, राप्ती जस्ता ठुला नदी रहेको चितवन राष्ट्रिय निकुञ्जमा अहिले पनि हरेक वर्ष जसो बाढी आइरहेको छ तर कति गैँडा बगाएको छ भन्ने यकिन तथ्याङ्क निकुञ्जसँग पनि छैन । भारतले पनि नदीमा बगेर पुगेका गैँडा उतै संरक्षण गर्न थालेपछि त्यसलाई उद्धार गरेर ल्याउन सक्ने अवस्था नभएकाले पनि यसको यकिन तथ्य आउन नसकेको गुनासो निकुञ्जका कर्मचारीको छ । 

बाढीजस्तै अनावृष्टिले पनि तापक्रम बढाउँछ । तापक्रम बढेसँगै संरक्षित क्षेत्रका तालतलैया सुक्ने र गैँडाका लागि आहाल खेल्ने क्षेत्रसमेत नहुने अवस्था आउने डा पन्तको निष्कर्ष छ । नेपालमा सबैभन्दा बढी गैँडा रहेको चितवन राष्ट्रिय निकुञ्जमा नारायणी, राप्ती, रिउसँगै एक सयभन्दा बढी साना साना घोल तथा पोखरी छन् । यीमध्ये आधाभन्दा बढी अहिले पनि हिउँदमा सुक्छन् । जलवायु परिवर्तनको असरले अहिले जसरी नै तापक्रम बढ्दै जाने हो भने ५० वर्षको अन्तरालमा सबै घोल तथा पोखरी सुक्न सक्ने उनको अध्ययन निष्कर्ष छ । 

उनले जलवायु परिवर्तनका कारण जैविक विविधतामा असर पर्दा कतै नेपालको पहिचान मानिने गैँडाको अस्तित्व सकिने त होइन भनेर अहिले नै चिन्ता गर्नुपर्ने बेला आएको पनि बताए । 

‘यदि संरक्षित क्षेत्रमा कुनै समस्या आए बाघ, हात्ती जस्ता जनावर त चुरे र महाभारत पहाड शृङ्खलामा पनि रहन सक्छन् तर गैँडाका लागि यो क्षेत्र अनुकूल छैन,’ उनले भने ।  ५० वर्षमा गैँडा लोप नै भएर जाने अवस्था नभए पनि समय अनुकूल  वासस्थान सुधार गर्न सकिएन भने यसले गम्भीर असर गर्ने उनको अध्ययन निष्कर्ष छ । 

‘जलवायु परिवर्तनले गैँडाको मृत्युदर बढ्न सक्छ । वासस्थान घट्दै जान्छ । वासस्थान कसरी व्यवस्थापन गर्ने ? बाढीबाट हुने क्षति कसरी घटाउने रु अझै महत्वपूर्ण कुरा त यो अवस्थामा कसरी गैँडा बचाउन सकिन्छ भन्ने नै अहिलेको चुनौती हो,’ उनले भने ।  जलवायु परिवर्तनको एउटा प्रभाव तापक्रम बढ्नु हो । तापक्रम बढेसँगै पानीका मुहान सुक्ने भएकाले कृत्रिम पानीको स्रोत बनाएर पनि घाँसेमैदान पर्याप्त बनाउँदै जानुपर्ने आजको आवश्यकता हो । तापक्रमले गैँडा आहाल खेल्ने घोलको मात्रा सुक्न सक्ने भएकाले यसतर्फ पनि ध्यान पुग्नुपर्ने उनको सुझाव छ । 

युएसएआइडी जलजङ्गल कार्यक्रमका जैविक विविधता प्रमुख डा बाबुराम लामिछाने पनि जलवायु परिवर्तनको असरबाट गैँडालाई बचाउन कम क्षति हुने रणनीति लिनुपर्ने बताउँछन् । 

‘जब तापक्रम बढ्छ अनि मिचाहा प्रविधिका झारले घाँसेमैदान सखाप पार्छ । तापक्रम बढेसँगै नयाँ नयाँ रोगको पनि सङ्व्रmमण हुन सक्छ,’ उनले थपे, ‘जसरी भारतको काजिरङ्गा राष्ट्रिय निकुञ्जमा ब्रह्मपुत्र नदीमा आउने बाढीबाट गैँडा बचाउन साना साना कृत्रिम पहाडको थुप्रो बनाइएको छ, त्यसै गरी नेपालमा पनि यो विधि अपनाउन जरुरी छ ।’

अहिले पनि चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा पूर्वी क्षेत्रको तुलनामा गैँडाको चाप बढी छ । कसरालाई मध्य क्षेत्र मान्ने हो भने त्योभन्दा पश्चिममा ६५ प्रतिशत र पूर्वमा ३५ प्रतिशत गैँडा रहेको तथ्याङ्क छ । चितवनमा पछिल्लो गणना अनुसार ६९४ गैँडा छन् । यो सङ्ख्या बर्दियामा ३८, शुक्लाफाँटामा १७ र पर्सामा तीन वटा रहेका छन् । पर्सा चितवनसँगै जोडिएको निकुञ्ज हो भने बर्दिया र शुक्लाफाँटामा पनि चितवनबाटै स्थानान्तरण गरेर गैँडा लगिएको हो । 

बाढीको जोखिमका हिसाबले चितवन निकुञ्जमा पश्चिमभन्दा पूर्वी क्षेत्र बढी सुरक्षित रहेकाले आन्तरिक रूपमा पनि गैँडा स्थानान्तरण गर्नुपर्ने आवश्यकता विज्ञहरूले औँल्याएका छन् । 

‘पश्चिमतर्फका गैँडालाई पूर्वमा स्थानान्तरण गरौँ । ‘रेडियो कलर’ लगाएर अनुगमन गरौँ, जसले बाढीको क्षतिबाट बचाउन सकिन्छ,’ प्रमुख डा पन्तले भने । गैँडाको मुख्य वासस्थानमा कुनै पनि कारण गैँडा प्रभावित भएर क्षति हुन सक्ने कुरालाई ध्यानमा राखी अन्यत्र स्थानान्तरण गर्न सकिने पनि बताइन्छ । 

‘कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र गैँडाका लागि नयाँ वासस्थान विकास गराउन सकिने क्षेत्र हो, त्यता पनि स्थानान्तरण गर्ने कार्यक्रम ल्याउन सकिन्छ,’ डा पन्तको भनाइ छ । चितवन निकुञ्जबाट दुई वटा गैँडा त यो आरक्षमा यसअघि स्थानान्तरण गरिसकिएको छ । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले अहिले विभागले गैँडा संरक्षणका लागि गरिएका योजना जलवायु परिवर्तनबाट हुने असर न्यूनीकरणमा केन्द्रित रहेको बताए । उनले भने, ‘जलवायु परिवर्तनले जैविक विविधतामा पार्ने असरबारे केन्द्रित गरेर नै हाम्रा कार्यक्रम सञ्चालनमा छन् ।” 

स्रोतः गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै