काठमाडौँ । काठमाडौँ उपत्यकाको उत्तरपूर्वमा अवस्थित गोकर्णेश्वर मन्दिर नेपालकै एक प्राचीन र महत्त्वपूर्ण मन्दिर हो । वाग्मती, चन्द्रमती र सूर्यमतीको त्रिवेणी सङ्गम र गोकर्ण वनले बनाएको सुरम्य वातावरणमा गोकर्णेश्वर महादेवको भव्य मन्दिर छ । समुद्र सतहबाट १३३६ मिटरको उचाइमा काठमाडौँ उपत्यकाको उत्तरपूर्वमा अवस्थित गोकर्ण किराँतीहरूको राजधानी रहेको इतिहासकारहरु बताउँछन् ।
गोकर्ण धार्मिक तथा अन्य पर्यटकहरूका लागि पनि प्रसिद्ध र महत्त्वपूर्ण गन्तव्यस्थल हो । नेपालका विभिन्न शैव मन्दिरहरूमध्ये गोकर्णेश्वर मन्दिर सत्ययुगदेखि नै एक महत्त्वपूर्ण र प्रसिद्ध तीर्थस्थलका रूपमा परिचित छ । शक्तिसङ्गमतन्त्र एवं वराहपुराणमा गोकर्णेश्वर र जलेश्वरको महात्म्यको वर्णन गरिएकोले गोकर्ण निकै प्राचीन तीर्थ रहेको बुझिन्छ । रावणले यही तपस्या गरी त्रैलोक्य विजय गर्ने वर पाएका थिए । यो मन्दिर राजा जयस्थिति मल्लले इ।स। १४२२ मा जीर्णोद्वार गरी नित्यपूजा र अन्य पर्वोत्सवका लागि गुठीको समेत व्यवस्था गरेका थिए तर सो पूर्व कसले कुन समयमा बनाएको हो अहिलेसम्मको अन्वेषणबाट थाहा हुन सकेको छैन ।
स्थानीय तहको २०७४ सालमा निर्वाचन भएपछि गोकर्णेश्वर नगरपालिकाले मन्दिरलाई पुनःनिर्माण गर्ने कार्य गरेको छ । अहिले मन्दिरको स्वरुपमा परिवर्तन आएको छ । यो नेपालकै प्रसिद्ध धार्मिक तिर्थस्थलको रुपमा विकास भएको गोकर्णेश्वर नगरपालिकाले जनाएको छ । नगरपालिका प्रमुख दीपक रिसालले नगरपालिकाको पहिचानसँग जोडिएको गोकर्णेश्वर मन्दिरको नगरपालिकाले पुनःनिर्माण गरेको बताए ।
यहाँ नेपाली संवत् ७०३ मै गोपीराना भारोले गजुरमा सुवर्ण कलश ध्वजा चढाए भने लिच्छवि राजा मानदेव प्रथमले निर्माण गराएको मानगृह पनि गोकर्णमा नै रहेको, साथै मन्दिरको कलाकौशल, टुँडालमा रहेका कलाकृतिका आधारमा यो मन्दिर लिच्छविकालीन हो भन्ने पुरातत्वविद्हरूको दावी छ । त्यस्तै इतिहासकारहरूले अंशुवर्माको कैलाशकूट भवन विभिन्न ठाउँमा रहेको अड्कल गरेको पाइन्छ । प्रबल मानेश्वर भनेर गोकर्णेश्वर महादेवलाई नै भनिएको र सोही कुरालाई पुष्टि गर्ने अर्को आधार हो अंशुवर्माको संवत् ५३६ को गोकर्ण बालुवा गाउँको अभिलेख हो । कैलाशकूट भवन गोकर्णको आसपास हुनुपर्छ भन्ने कुरा अभिलेखमा प्रयोग भएको अहिन्दूकोट्ट शब्दबाट स्पष्ट सङ्केत प्राप्त भएको देखिन्छ ।
इतिहास विद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठको भनाईका अनुसार गोकर्ण क्षेत्रमा विभिन्न धार्मिक तथा लौकिक वास्तुकलाका नमूनाहरू यत्रतत्र छरिएर रहेका बताएका छन् । उनका अनुसार गोकर्णेश्वर मन्दिरको पश्चिमोत्तर वायण्य कोणमा आठौ शताब्दीको एक पुरानो मूर्ति रहेको एउटा पार्वतीको मन्दिर रहेको छ । त्यसमा पनि प्रसिद्ध गोकर्ण मन्दिरको इशानकोण तर्फ मिश्रति शैलीको श्री ३ जङ्गबहादुरकी आमा रक्षाकुमारीले विस १९११ मा निर्माण गरेको एक महत्वपूर्ण गदाधर नारायण मन्दिर रहेको छ । शास्त्रमा विष्णुपादुकालाई विष्णुले पितृको उद्धार गरेको पवित्र स्थल मानिन्छ । यस मन्दिरमा रहेको विष्णुपादुकामा राखी पिण्डदान ग(यो भने सबैभन्दा ठूलो पुण्य मिल्ने कुरा वराह पुराणमा उल्लेख छ । पितृकृत्यको लागि गदाधरको सानित्य अत्युत्तम मानिन्छ । आफ्नै महत्व रहेको विष्णुपादुका स्थानमा श्राद्ध गर्दा मृतकहरूले स्वर्गमा बास पाउछन् भनी विश्वास गरिन्छ ।
गोकर्णेश्वर मन्दिर आसपास रहेका विष्णुपादुका तीर्थ, त्रिवेणी धाम, पितामहमहातीर्थ, सप्तषिर्तीर्थ, पिङ्गला योगिनी, वाग्मती उत्तरवाहिनी तीर्थस्थल र गोकर्ण वनले महत्वपूर्ण स्थान राख्छन् । गोकर्णेश्वर महादेव मन्दिर पूर्वतर्फ पवित्र उत्तरवाहिनी स्थान रहेको छ । पञ्चमुखी हनुमान र कान्तिभैरव मन्दिरबीच भएर बागद्वारबाट उत्पन्न भई बग्दै आएको पवित्र वाग्मती दक्षिणबाट उत्तरतर्फ फर्केर बगेको हुनाले यस ठाउँलाई उत्तरवाहिनी भनिन्छ । यो उत्तरवाहिनी क्षेत्र धार्मिक, सांस्कृतिक, एवम् ऐतिहासिक, पुरातात्विक महत्वका वास्तुकला र कलाकृतिका नमुनाहरू यत्रतत्र छरिए रहेको पाइन्छ ।
भागवत पुराणमा गोकर्णको कथा
पितृ उद्धारका लागि गरिने सप्ताह भागवत पुराणमा उल्लेख छ । शिवपुरीको काखमा रहेको सुन्दर गाउँमा आत्मदेव नाम गरेका ब्राह्मण र धुन्धुली नाम गरेकी ब्राह्मणी बस्थे । उनीहरूका सन्तान भएनन् । सन्तानका लागि ठूलो आराधना गरेपछि गंगामा तपस्या गरेका एक साधुले आत्मदेवलाई एउटा फल दिँदै भने, ‘यो फल श्रीमतीलाई खुवाउनु, भगवानको अंश भएको पुत्र जन्मने छ ।’ आत्मदेवले उक्त फल श्रीमतीलाई दिए । तर श्रीमतीले गाईलाई खान दिइन् र आफू गर्भवती भएको नाटक गरिन् । १० महिनापछि बहिनीको भर्खर जन्मेको छोरा ल्याएर आफूले छोरा पाएको भन्दै श्रीमान्को आँखा छलिन् । धुन्धुलीको कोखबाट जन्मिएको ठानिँदै उनको नाम धुन्धुकारी राखियो । यसैगरी, उक्त फल खाएको गाईले पनि त्यही बेला बालकको जन्म दियो । गाईको जस्तो कान भएको र गाईबाटै जन्मेकाले उनको नाम गोकर्ण राखियो ।
गोकर्ण निकै ज्ञानी भए, धुन्धुकारी मूर्ख भए । धुन्धुकारीले धेरै अपराध गर्न थाले । अपराध गर्दागर्दै श्रीमतीका रूपमा आफ्नै घरमा जम्मा पारिएका वेश्याद्वारा उनी मारिए । उनको शरीरलाई घरभित्र गाडेर वेश्याहरू लाखापाखा लागे । वर्षौंपछि धेरै ज्ञान आर्जन गरेर ठूला ऋषिका रूपमा गोकर्ण आफ्नो घरमा आए, तर घरमा कोही पनि थिएनन् । रित्तो घरमा राति सुतिरहेका बेला धुन्धुकारीको आत्माले चीत्कार गर्न थाल्यो । आफू यसरी मारिएको र प्रेतका रूपमा दुःख पाइरहेको धुन्धुकारीले बताए ।
यता, गोकर्णले शान्ति पाउन नसकेका आत्माहरूको उद्धारका बारेका भगवान शिवजीकै मुखबाट शुकदेव ऋषिले ज्ञान आर्जन गरेको थाहा पाएका थिए । गोकर्णले शुकदेव ऋषिलाई बोलाएर सप्ताह ज्ञान महायज्ञ लगाई धुन्धुकारीको आत्मालाई उद्धार गरे । त्यसपछि गोकर्णले दिवंगत पितृहरूको उद्धारका लागि उत्तरगयामा बसेर अभियान नै चलाए । बागमती नदी जुन ठाउँमा दक्षिणबाट उत्तरतिर बग्छ, त्यही ठाउँलाई उत्तरगया भनिन्छ । गोकर्णले पितृहरूको उद्धार आरम्भ गरेको ठाउँ भएकाले उत्तरगयालाई गोकर्ण भन्न थालिएको हो । यसैगरी स्वयम्भू पुराणका अनुसार पाञ्चाल देशका राजकुमार गोकर्णको उद्धार भएकाले गोकर्णेश्वर नाम प्रारम्भ भएको हो ।
गोकर्णेश्वर महादेवको उत्पतिबारे किम्बदन्ती
गोकर्णेश्वर महादेवको उत्पतिको बारेमा अनेकन किम्वन्ती रहेका छन् । पाशुपत क्षेत्र मृगस्थलीमा मृगको रुपमा पशुपतिनाथ श्लेषमान्तक वनमा घुम्न आउँदा स्वर्गमा महादेव हराएको हल्ला फिँजिएछ । एकसिँगे मृगको रुप धारण गरी गोकर्णको जङ्गलमा विचरण गरिरहेका भगवान् शिवलाई चिनेर ब्रम्हा, विष्णु र इन्द्र भगवानले समातेरआफ्नो अधीनमा राख्न खोज्दा सिङ तीन टुक्रा भई तीनै देवताको हातमा एक, एक टुक्रा पर्न गएछ । तीन देवताको हातमा रहेको मृगको सिङलाई विष्णुले पातालमा, इन्द्रले स्वर्गमा र ब्रम्हाले जमिनमा अर्थात् मृगको सिङको एक टुक्रालाई शिवलिङ्गको रुपमा ब्रह्माजीले गोकर्णमा गोकर्णेश्वर महादेवको नामले स्थापित गरेको कुरा नेपाल महात्म्यमा उल्लेख भएको पाइन्छ ।
यहाँ वाग्मती नदीमा स्नान गरेर गोकर्णेश्वर महादेवको पूजा गर्नाले कैलाशधामको गति प्राप्त हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ । भाद्रकृष्ण औँसीको दिनलाई पिता एवं पूर्वजनहरुप्रति श्रद्धा आदर प्रकट गर्ने दिनका रुपमा लिइन्छ । यस दिनलाई पिताको मुख हेर्ने दिन पनि भन्दछन् । जीवित पिताप्रति आदर गर्ने एवं मुख हेर्ने भनेको दर्शन ढोग गर्ने दिन पनि हो । पिता दिवड्गत भएकाहरुले यहाँ गोकर्णेश्वरमा आई वाग्मतीको तटमा तर्पण श्राद्ध गर्ने परम्परा रही आएको छ । वाग्मती तटमा रहेको गोकर्णेश्वरलाई उत्तर गया पनि भनिन्छ । यहाँ पितृ श्राद्ध गरेमा ठूलो पुण्य मिल्छ भन्ने कुरा नेपाल महात्मा हिमवत्खण्डमा उल्लेख भएको छ ।
यसरी मनाउन थालियो कुशे औँसीको दिनलाई पिताको मुख हेर्ने पर्वका रूपमा
भाद्रमासे त्व्मास्वयां तिथौ गाकर्ण सन्निधौ ।
अत्रैव पिण्डदानस्य त्रिसप्तं प्रोद्धरेत् कुलम् ।।
यस दिनको औँसीलाई कुशे औँसी वा गोकर्ण औँसी भन्ने चलन रहेको छ । यसै दिन कुश उखेली वा काटी राख्ने र त्यही कुशले वर्षभरि देवक्रिया र पितृकार्यमा प्रयोग गर्नुपर्छ भन्ने धार्मिक एवं शास्त्रीय मान्यता रहेको छ ।
बैशाख मातृ औँसीको दिन आमा नहुने हिन्दू धर्मावलम्बी थानकोटस्थित मातातीर्थ पुग्छन् भने भाद्र कृष्ण औँसीको दिन बुवा नहुनेहरुले पितृको नाउँमा गोकर्ण त्रिवेणीमा श्राद्ध गर्ने गर्दछन् । किम्बदन्ती अनुसार एक देहव्यापारी केटीले एक दन्तुर नामक छोरा जन्माइन् । बच्चा हुर्कंदै जाँदा बच्चाले आफ्नो बाबुको बारेमा धेरै सोधिखोजी गर्न थाले । तर स्वयम् आमाले आफ्नो बच्चाको बुवा को हो भन्ने थाहा पाइनन् । ठूलो भइसकेपछि दन्तुरले आफ्नो पिता अभावको पीडा पुलह नामक ऋषिसामु राखेछन् । पुलह ऋषिको सल्लाहअनुसार गोकर्णेश्वर त्रिवेणीमा नुहाएर आफ्ना पिताको नाममा पितृ तर्पण दिन जाँदा दन्तुरलाई सम्पूर्ण पितृले म तिम्रो पिता हुँ भन्दै छोरा भनेर पुकारी बोलाउन थालेछन् । तर अलमलमा परेका दन्तुरलाई स्वयम सृष्टिकर्ता भगवान ब्रम्हाले वास्तविक पिता चिनाउँदै पितृ श्राद्ध गराएछन् । आफ्नो पितालाई चिनेर पिण्ड तर्पण दिएको भाद्र कृष्ण औँसीको दिनलाई त्यसै बेलादेखि पिताको मुख हेर्ने पर्वका रुपमा मनाउन थालिएको बताइन्छ ।
त्रिवेणी नदीको किनारमा स्थापित तीनतल्ले खपट छानायुक्त प्यागोडा शैलीको मन्दिर पशुपतिनाथभन्दा पनि प्राचीन मानिन्छ । प्राचीन पशुपति हेर्नुछ भने गोकर्ण जानु भन्ने उखानले पनि उक्त भनाइलाई प्रमाणित गर्दछ । भारतको तीर्थस्थल भ्रमणमा जानुअघि पितृ श्राद्ध गरी शरीर शुद्धि गरेर विदाई लिने परम्परा रहेको छ । गोकर्णेश्वर महादेवको मन्दिरवरपर थुप्रै मूर्तिहरु स्थापना गरिएका छन् । मन्दिरको पूवी भर्याङबाट मन्दिरतर्फ अघि बढ्दा देवस्थलवरिपरि बुद्ध, राम लक्ष्मण, सीता, कृष्ण, सरस्वती, लक्ष्मी, भैरव, बलभञ्जन पाण्डे, विष्णु, ब्रम्हा, नन्दी भृङ्गीका मूर्तिहरु क्रमशः सजाइएका छन् ।
त्यसैगरी मन्दिरमा नेपालको झन्डा बोकेको वायुदेव, सीता, दुर्गा, गौरी, मञ्जुश्री, गङ्गा, बासुकी नारायण, कामदेव, धन्वन्तरी, चन्द्र, सूर्य, गणेशका मुर्तिले गोकर्णेश्वर तीर्थस्थललाई धार्मिक तथा पुरातात्विक सम्पदाको फूलबारी बनाएको छ । गोकर्णेश्वर महादेवको प्राङ्गणवरिपरिका भग्नावशेषमा पीपल उम्रिएको जीर्ण देवस्थल छरपस्ट देखिनुले देवस्थल पुरातात्विक प्राचीन अस्तित्व रहेको झल्किन्छ । यहाँ प्राप्त शिलालेख अनुसार मन्दिरमा झिँगटीको छाना ने.सं. ५०२ मा गोपिरन भारो श्रेष्ठले लगाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी

ट्रेन्डिङ
खबरमुकाम







