असोज दोस्रो साता आएको बाढीपहिरोले बिपी राजमार्गसहितका तराई र भित्री मधेशलाई काठमाडौँसँग जोड्ने सडक सञ्जालहरू टुटेर सडक सम्पर्कविहीन भएसँगै बिपीमार्गको विकल्पमा महाभारत पर्यटनमार्ग बनाउन माग गरिएको छ ।
यस पटकको बाढीपहिरोले बनेपा–बर्दीबास बिपीमार्गको रोसीखोला, सुनकोशी खण्डमा ठुलो क्षति पुर्याएसँगै बिपीमार्गको विकल्पमा महाभारत पर्यटनमार्गको अवधारणालाई पुनः उठाइएको हो । काठमाडौँ उपत्यकाबाट पूर्वी क्षेत्र जोड्ने गरी ललितपुर, काभ्रे, सिन्धुली, उदयपुर हुँदै चतरासम्म वैकल्पिक मार्गका रूपमा ‘महाभारत पर्यटनमार्ग’ निर्माणका लागि नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ ।
बागमती प्रदेशका पूर्वमन्त्री गङ्गानारायण श्रेष्ठले बाढीपहिरोले बनेपा–बर्दीबास बिपीमार्गमा यो पटक बाढीपहिरोले पुर्याएको क्षति हेर्दा बिपीमार्गको विकल्पका रूपमा आफूहरूले उठाउँदै आएको महाभारत पर्यटनमार्गको मागले औचित्य पुष्टि गरेको बताए ।
उनले समस्याले समाधान र विपत्तिले विकल्प सँगै लिएर आउने बताउँदै काठमाडौँ उपत्यका–काभ्रे–सिन्धुली–उदयपुर हुँदै सुनसरी जिल्लाको वराहक्षेत्रसम्मको महाभारत शृङ्खलालाई जोड्ने गरी महाभारत पर्यटनमार्ग निर्माण गर्न सकिने जानकारी दिए। उनका अनुसार प्रस्तावित यस मार्ग ललितपुरको ग्वार्को, लाँकुरीभन्ज्याङ, काभ्रेको पनौती, बेथानचोक, ढुङ्खर्क, कामीडाँडा, साँगापोट, सिपाली, जुकेपानी, सिन्धुलीको सातदोबाटो, बन्दीपुर, सिन्धुलीगढी, खनियाँखर्क, धापचौकी, कालीमाटी, बाहुनतिल्पुङ, महादेवडाँडा, उदयपुरको तीनखण्डे गहुँबारी, बेतिनी, राउतखर्क, ओख्ले, चिसापानी, ताप्ली, माझखर्क, पुँवारे, रौतासाउने, चौदण्डीगढी हुँदै सुनसरीको चतारासम्म पुग्न सकिन्छ ।
हेटौँडा–चतरा मार्ग विगतमा मधेसमा पटक पटक हुने गरेको सडक बन्दका कारण विकल्पका रूपमा निर्माण भएको उदाहरण दिँदै प्रदेश सभा सदस्य श्रेष्ठले भने, ‘यस पटकको बाढीपहिरोले बनेपा–बर्दीबास बिपीमार्गको रोसीखोला, सुनकोसी खण्डमा पुर्याएको ठूलो क्षतिले हामीलाई विकल्प खोज्न प्रेरित गरेको छ ।’
काठमाडौँ उपत्यकालाई पूर्वी नेपालसँग जोड्न महाभारत पर्यटनमार्ग निर्माणका लागि आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रममा योजना समावेश गरी बजेट विनियोजन गर्न तत्कालीन उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र त्यसपछिका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला तथा आव २०८१/८२ मा तत्कालीन उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई विशेष ध्यानाकर्षण गराएको उनले बताए ।
आफूसहित बागमती प्रदेश सभा सदस्यहरू रत्नप्रसाद ढकाल, मातृकाप्रसाद भट्टराई र सुस्पा भुजेल न्यौपानेले संयुक्त रूपमा ध्यानाकर्षण गराउनुभएको पूर्वमन्त्री श्रेष्ठले बताए ।
झन्डै तीन सय किमीको यस मार्गले आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन, कृषि सबै क्षेत्रमा विशेष योगदान पुर्याउने छ । यस मार्गबाट त्यस क्षेत्रका लाखौँ जनता लाभान्वित हुने छन् । ग्वार्कोदेखि ढुङ्खर्कसम्म सडक कालोपत्रे भइसकेको छ । बाँकी खण्डका अधिकांश भागमा ट्र्याक खुलेको छ, ठूला पुलहरू कतै पर्दैन भन्दै पूर्वमन्त्री श्रेष्ठले यसैले यस सडक आर्थिक लागतका दृष्टिले निकै सस्तो हुने र कम समयमा निर्माण हुने जिकिर गरे ।
‘महाभारत क्षेत्रमा बसाइँसराइको समस्या तीव्र छ । यस सडकले ती क्षेत्रको बसाइँसराइ रोक्ने छ, सांस्कृतिक रूपमा यस सडकले नेवाः, तामाङ र किराँत संस्कृतिलाई जोड्ने छ । सुन्दर भूगोल भएकाले पर्यटकलाई आकर्षित गर्ने छ,’ पूर्वमन्त्री श्रेष्ठको कथन छ । सडकको दायाँ बायाँ अधिकांश ठाउँमा लिङ्करोड बनिसकेकाले त्यस क्षेत्रका कृषि उत्पादन सिधै काठमाडौँ उपत्यकामा पुर्याएर कृषकहरूको जीवनस्तर बदल्न सकिने देखिन्छ ।
उनले महाभारत मार्ग बनेपछि बिपी र पुष्पलाल मार्ग अवरुद्ध भएको समयमा काठमाडौँ उपत्यकाबाट पूर्व जोड्न यस मार्गले मेरुदण्डको काम गर्ने भन्दै यस प्रस्तावित महाभारत मार्गलाई देशको गौरवको आयोजनाका रूपमा विकास गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ग्यालेक्सी फोरके टेलिभिजनका सामान लिलाम गर्ने तयारी
- प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- पश्चिमी वायु सक्रिय : पहाडमा वर्षा, तराईमा गर्मी र हावाहुरीको चेतावनी
- आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
- गठबन्धनभित्रको मतभेदले मधेश सरकार विस्तार रोकियो
- सुकुम्बासीका माग सम्बोधन नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको चेतावनी
- शेरबहादुर देउवा र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता



ट्रेन्डिङ
खबरमुकाम





