सानो भूगोल अपार भौगोलिक सुन्दरता । अझ त्यसमा पनि भगवान प्रतिको आस्थाको केन्द्र कलात्मक मठ, मन्दिर र गुम्बा लगायतको प्रचुरता । मानिसको मन नलोभियोस् पनि कसरी ? स्वभावकि हो राम्रो प्राकृतिक सुन्दरता र कलात्मक मठ, मन्दिर, गुम्बा अनि भगवान प्रतिको आस्थाको केन्द्रले प्रायः मानिसको मन लोभ्याउँछ नै । अझ त्यो ठाउँमा कहिले पुग्ने र हेर्ने ? भन्ने कौतुहलता जाग्नु अस्वभाविक होइन ।
मुलुकको प्रमुख प्रवेशद्वार पर्साको ‘वीरगन्ज’ यस्तै ठाउँ मध्येको एक धार्मिक स्थल पनि हो । नेपाल भारत सीमाको पाँच किलोमिटर भित्र पर्ने वीरगन्जको मुटुमा अवस्थित गहवामाई मन्दिर ‘माईस्थान’ मन्दिरका नामले पनि प्रख्यात छ । भोजपुरी भाषी क्षेत्रमा आमालाई ‘माई’ भनिन्छ । माईस्थान अर्थात ‘आमा’ को स्थान भएकोले पनि माईस्थान मन्दिर भन्ने गरिएको माईस्थान मन्दिर गेटको उत्तरमा बर्षौंदेखि व्यवसाय गर्दै आएका स्थानीय अनिल रिजालले बताए । यो कुरामा माईस्थान मन्दिरका मूल पूजारी राधेश्याम प्रसाद उपाध्यायको पनि मत समान छ ।
गहवामाई (माईस्थान) मन्दिरको पृष्ठभूमि
गहवामाई (माईस्थान) मन्दिरको कुरा गर्दै गर्दा यसको अझ पृष्ठभूमि पनि जान्नु उपयुक्त हुन्छ । ‘वीरगन्जकै अग्लो ठाउँ भिस्वाको डाँडाबाट फालेको तीर जहाँ गएर गड्छ म त्यही हुन्छु, त्यहाँ आएर मलाई हेर्नु, तिम्रो मनकामना सिद्ध हुन्छ’ भनी एक भक्ता (धामी) लाई देवीले सपनामा भनेको कुरा विपनामा पनि साकार भएको श्रुति छ’, माईस्थान मन्दिरका मूल पूजारी राधेश्याम प्रसाद उपाध्यायले भने । जनकल्याणका लागि ती भक्ताले देवीसँग शक्ति माग्दा उनलाई सपनामा देखाएको कुरा विपनामा साकार भएको जानकारहरुले भनेको सुन्दै आएका छौं उनले थप प्रष्ट पारे । तीर खसेको ठाउँमा वरिपरि हेर्दा अरु ठाउँभन्दा अलि सफा चम्किलो जस्तो देखेपछि सोही ठाउँमा पूजा अर्चना सुरु भएको भन्ने बच्चैदेखि सुन्दै आएको पनि उनको थप तर्क गरे ।

गहवामाई मन्दिरको अगाडिको पूरा दृश्य
उनै भक्ताका सन्तति अच्छेलाल कहार हहिले पनि ‘भक्ता’ छन् । दशैंको नवरात्रमा ६ महिना अगाडीदेखि शुद्ध चोखोनितो बसेका उनै भक्ताले पहिले माईको बिशेष पूजापाठ गरी भेडाको बली दिएपछि मात्र बडादशैंको अष्टमीका दिन सर्वसाधारणका लागि बली चढ्न सुरु हुन्छ’ मूल पूजारी उपाध्याय र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र साहले पनि विस्तृतमा बताए । सप्तमीका दिन भने नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी तथा राज्यको तर्फबाट फूलपाती भित्र्याई कुभिण्डो लगायत बोकाको बली दिने चलन चल्दै आएको छ । नवदुर्गाको पूजा भव्य रुपले हुने भएकोले हरेक वर्ष भक्तजनको घुँइचो थामिनसक्नु बन्दै गएको अध्यक्ष साहको दावी छ । स्थानीय भने देवीको आर्शिवादले सर्वसाधारण भक्तजनको मनकामना पूरा हुने भएकोले ‘माई’ प्रति सबैको आस्था अझ बढेकोे दावी गर्छन् ।
मन्दिरको बिशेषता
हरेक दिन सयौंको संख्यामा भक्तजन पुग्ने यो मन्दिरमा नेपालको भित्री भागका मठ, मन्दिरमा जस्तो भक्तजन र दर्शनार्थी तथा धार्मिक पर्यटक आन्तरिक मात्र हुदैनन् । यो मन्दिरको मूल विशेषता भनेकै सीमा उपारका भक्तजन, दर्शनार्थी र पर्यटक समेत हरेक दिन यो मन्दिरमा पुग्ने गर्छन् । यो चाही प्रमुख कुरा हो । त्यसैले पनि यो क्षेत्रका लागि वीरगन्जस्थित गहवामाई (माईस्थान) मन्दिर नामै काफी छ, गहवामाई मन्दिरको व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र साहले बताए । ‘यो मन्दिरमा पुग्ने भक्तजन र दर्शनार्थी र पर्यटक मध्ये छिमेकी मुलुक तथा बाह्य क्षेत्रबाट आउने ३० प्रतिशत जति रहेको हाम्रो अनुमान छ’ उनले भने । चैते दशैंमा पनि हजारौं र बडादशैंको समयमा त व्यापक भिड हुन्छ । अझ सप्तमी (फूलपाती) र अष्टमीका दुई दिनमा मात्र ५ लाखबढी मानिस यो मन्दिरमा आइपुग्ने हाम्रो ठम्याई छ समिति अध्यक्ष साहले दावी गरे । सीमापारी नजिकका छिमेकीहरु त यहाँ प्रायः आइरहनु हुन्छ । अलि टाढा भारतकै मोतिहारी लगायतका ठाउँबाट समेत यो मन्दिरमा भक्तजन, दर्शनार्थी र धार्मिक पर्यटक आइपुग्ने गरेको भेटिएको छ अध्यक्ष साहले बताए ।

गहवामाई मन्दिरको दर्शनका लागि आएका दर्शनार्थी
मन्दिरको संरचना विकासक्रम
देवीको शक्ति प्राप्ति पश्चात सो ठाउँमा पहिले मन्दिर बनाउने ‘भक्ता’ जिउत राउत र राणाका व्यवस्थापक चोलाई चौधरी रहेको मूल पूजारी उपाध्यायले अग्रजहरुको भनाइ उल्लेख गर्दै बताए । अहिलेको नयाँ संरचना ४ करोडको लागतमा निर्माण भएको हो । २०७० सालमा मन्दिर जीर्णोद्वार भएको छ । शक्तिको पहिचान भएका समयमा माटोका कुण्ड, पछि तामा कुण्ड हुँदै अहिले चाँदीका कुण्ड निर्माण गरिएको छ । अहिलेको मन्दिरको गर्भ गृहमा साविकको माताको मूर्ति छ । यो मूतिमा पहिले बाहिरबाट सबै भक्तजनले दर्शन मिल्थ्यो । तर अहिले बाहिरैबाट मूर्तिको दर्शन गर्न चाही मिल्दैन । मन्दिरको नयाँ संरचना पछि गर्भगृहमा रहेको मूर्तिकै दर्शन गर्न मन्दिर समितिबाट २ सय ५५ रुपैयाको रसिद काटेपछि भने भित्र गएर दर्शन गर्न पाइन्छ ।
पूजारीको पनि पाँचौ पुस्ता
सुरुमा मन्दिरको संरचना बनेपछि मन्दिरमा दैनिक पूजापाठ गर्न भक्ताहरुले आफ्ना अग्रजहरुलाई नियुक्ति गरेको रहेछ हालका मूल पूजारी उपाध्यायले बताए । बाजेहरुपछि बुबा हुँदै आफू पनि मन्दिरमा पूजारी भएको चौथो पूस्ता म हुँ । देवीको अहिलेका भक्ता पनि संभवतः चौथो पुस्ताकै हुनुपर्छ उनले दावी गरे । आफूपछि मन्दिरको पूजापाठ पाँचौ पुस्ताले सम्हाल्न थालेको मूल पूजारीले संक्षिप्तमा खुलाए ।
मन्दिरको वार्षिकोत्सवमा ‘रथ यात्रा’

गहवामाई मन्दिरको वार्षिक उत्सवमा तानिएको रथ
मन्दिरको जीर्णोद्वार भएको मिति २०७० साललाई आधारमानी गत वर्षबाट मन्दिरको बार्षिकोत्सव पनि मनाउन थालिएको छ । बार्षिकोत्सवमा गहवामाईको रथयात्रा निकालिन्छ । देवीहरुको रथ यात्रा निकाल्ने चलन अनुसार वीरगन्जको प्रशिद्ध गहवामाईको पनि रथ यात्रा निकाल्न थालिएको श्री गहवामाई रथयात्रा समितिका कोषाध्यक्ष रविशंकर अग्रवालले बताए । पहिले गहवामाईको रथ यात्रा निकाल्ने गरिएको थिएन । दुईवर्षबाट भने निरन्तर रथ यात्रा पनि निकालिदै छ ।
मन्दिर व्यवस्थापन
मन्दिरसँगै रहेको तीन तले धर्मशाला मन्दिरको नियमित आन्दानी हुने श्रोतका रुपमा रहेको छ । बजारको बीच भागमा अवस्थित मन्दिरको धर्मशालाका भूईं तलाका आधाजर्दन सटरहरु बर्षौंदेखि व्यापारिक प्रयोजनमा प्रयोग भएका छन् । सामान्य खर्चका लागि मन्दिरले बाहिर हात फैलाउन पर्दैन । मन्दिरको हिसाब किताब राख्नेदेखि रेखदेख गर्नेसम्मका कर्मचारी परिचालन गर्न कार्यालय प्रमुख, उनका सहयोगी, कार्यालय सहायक, चौकीदार, सरसफाईकर्मी, बिजुली मिस्त्री सहित १० कर्मचारी मन्दिरले आफै राखेको छ । सरसफाईका केही वाहेक प्रायः सबै कर्मचारी स्थायी रहेको पनि मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिरको पाठपूजाको लागि पनि मूल पूजारी र सहायक गरी दुई जना पूजारीबाट नियमित पूजा अर्चना हुन्छ । पूजा अर्चनामा कुनै कमी हुँदैन समितिको भनाइ छ । यसको लागि कतै कोहीसँग चन्दा माग्नु नपर्ने समितिको तर्क छ ।
पर्यटन प्रवद्र्धनको सम्भावना
जिल्लाको सदरमुकाम, त्यसमा पनि महानगरको मुटुमा रहेको गहवामाई मन्दिरकोसँगै धार्मिक सर्किट बनाउन सके धार्मिक पर्यटक भित्र्याउन यो मन्दिरको महत्व कम छैन । तर अन्य मठ, मन्दिरको पनि प्रवद्र्धन गर्न वीरगन्ज महानगरका महानगरप्रमुख राजेशमान सिंहको एक्लो प्रयास र महानगरको बजेटले मात्र त्यो अलि सम्भव नदेखिएको स्थानीय अनिल रिजालले तर्क गरे । प्रदेश र केन्द्रको पनि साथ हुने हो भने बाहिरी पर्यटक लोभ्याउने गहवामाईको योगदान बलशाली हुने स्थानीयको दावी छ । गहवामाई जस्तै यहाँका सात माईको पनि स्तरीय भौतिक सरचना निर्माण र धार्मिक पर्यटक प्रवद्र्धनमा धार्मिक सर्किट बनाउन आवश्यक रहेको ज्योतिष महासंघका एशियाका उपाध्यक्ष पुरुषोत्तम दुवेको भनाइ छ ।
महानगरको नेतृत्वले थपेको उर्जा

- गहवामाई मन्दिरमा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमानसिंह
वीरगन्ज महानगरको नेतृत्वमा राजेशमान सिंह आएदेखि मठ मन्दिर र सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियान नै चल्यो । उनले धार्मिक पर्यटन प्रवद्र्धन लागि विशेष योजना सहित धार्मिक सर्किटको कुरा सतहमा ल्याएका छन् । वीरगन्जमा अवस्थित गहवामाई, बिर्तामाई, विन्दवासिनीमाई, भुटनदेवीमाई, भिषमाई, र दुईवटा बौद्धिमाई गरी सात दिदीबहिनी देवी (माई) हरु वीरगन्जमा रहेको महानगरप्रमुख सिंह बताउँछन् । पहिलो उक्त माईहरु यहाँ रहे पनि गहवामाईका सात दिदीबहिनी भनी कम चर्चा थियो । महानगरप्रमुखको सकृयताले धार्मिक क्षेत्रमा काम गर्नेहरुलाई धेरै सहज बनाएको विश्व ज्योतिष महासंघका एशिया उपसभापति दुवेले पनि तर्क गरे । गहवामाई देवीका सात दिदी बहिनी वीरगन्ज आसपासमा नै थिए । तर यो पहिले कम चर्चा थियो । धार्मिक पर्यटन प्रवद्र्धनका लागि धार्मिक सर्किट बनाउने मयेरको कुरासँगै यसको चर्चा सकारात्मक छ उनले प्रष्ट पारे ।
उपसंहार
खासगरी विदाका दिन पुग्ने आन्तरिक र वाह्य पर्यटक तथा बडादशैं तथा चैते दशैंको नवरात्रका समयमा मन्दिर परिषरमा हुने भिड थेग्न मन्दिर अगाडीको सवारी पार्किङ्ग गर्ने चलन नै महानगरले हटाउन परेको छ । प्लेनबाट उडेर आउने त्यसमा पनि गोरो अनुहार भएका मानिस मात्र पर्यटक हुन् भन्ने भाष्य चिर्न सके स्थलमार्ग भएर आउने पर्यटकको अझ आकर्षणको केन्द्र बन्न कसैले रोक्न सक्ने थिएन ।
स्थलमार्गबाट आउने पर्यटक त्यसमा पनि धार्मिक पर्यटकलाई पर्यटक नठान्ने भाष्य मुलुकको राजधानी तर्फबाटै उब्जाइएको हो । वीरगन्ज महानगरले त ऐन नै बनाई नीतिगत योजना सहित धार्मिक पर्यटक भित्र्याउन थप अग्रसरता देखाउन थालेको छ । माथिका सरकारहरुको पनि साथ आवश्यक देखिन्छ । मुलुककै प्रमुख नाका भन्ने साथ केन्द्रले राजश्व आउँछ भनी जसरी वीरगन्ज भनेर ठाडा कान लगाउँछ त्यसै गरी मुख्य नाकाबाटै धार्मिक पर्यटक पनि आइरहेको बुझिदिन सकेको छैन । प्लेनबाट आउने पर्यटक मात्र नभई स्थलमार्ग त्यो पनि वीरगन्ज नाकाबाटै ठूलो संख्यामा धार्मिक पर्यटक आइरहेका छन् । वीरगन्जवासीले भने यो कुरा आफ्नै आँखाले देखेका छन् । माथिबाट पनि हेर्ने चश्मा सकारात्मक भए स्थलमार्गी पर्यटक मुलुकको अरु ठाउँका लागि पनि अझ प्रभावकारी हुने थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन
- परशुराम चौहानको अन्तर्राष्ट्रिय फड्को, पाए यस्तो सम्मान
- राष्ट्रिय वाणिज्य बैंकले कृषिमा प्राथमिकताका साथ लगानी बढाउँदै
- खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक एनआईसी एशिया बैंकको आग्रह
- ‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै
- पञ्चकोट सर्किटः ऐतिहासिक र धार्मिक पर्यटकीय स्थल
- अझै जीवित छ तत्कालीन बाइसे चौबिसे राजाले प्रयोग गरेको तोप
- पर्यटकीय गन्तव्य बन्दै भर्जन कालिका मन्दिर


ट्रेन्डिङ
तुलसी भण्डारी






.jpg)
