वर्षाै“सम्म लथालिङ्ग पारिएको दरबार परिसर अहिले पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको छ । दरबारका भग्नावशेषहरुको संरक्षण थालिएको छ । नयाँ संरचनाहरु बन्ने क्रम जारी छ । ढलेको हिलिहाङ दरबार पुनः उठिरहेको छ ।
नेपाल एकीकरणको क्रममा वल्लो किराँत र माझ किराँतलाई कब्जामा लिएपछि गोरखाली फौज अरुणखोला तरेर तत्कालीन विजयपुर राज्य अन्तर्गतको पल्लो किराँत प्रवेश गरे । नेपाल एकीकरण हुनुपूर्व यस क्षेत्रमा थुप्रै राजा रजौटाहरु थिए । भनिन्छ, प्रत्येक थुम्का–थुम्कामा छुट्टाछुट्टै राज्यहरु थिए । तीमध्ये हिलिहाङ योङहाङ याङवरक थुमका शक्तिशाली राजा थिए । उनले १८१४ देखि १८४४ सालसम्म ३० वर्ष शासन गरे ।

विक्रम सम्वत १७८३ साल कात्तिक १८ गते तत्कालीन योङहाङ राज परिवारमा जन्मिएका हिलिहाङले १८१४ मा राजगद्दी सम्हालेका थिए । नेपाल एकीकरण अभियानमा लागेका पृथ्वीनारायण शाह नेतृत्वको फौजसँग हिलिहाङ राजाका सेनाले १७ पटक लडाइँ गरेको र हारजित नभएपछि १८३१ साउन २२ गते सम्झौता (लालमोहर) भएको थियो । तत्कालीन याङवरक थुमका शक्तिशाली राजा हिलिहाङ योङहाङले राज्य गरेको इतिहास स्थानीय जनश्रुतिमा मात्र सीमित नभएर ऐतिहासिक हड्सन पाण्डुलिपिमा समेत वर्णन गरिएको छ ।
गोरखाली फौजले पूर्वी क्षेत्रका स–साना राज्यमाथि आक्रमण गर्दै याङ्वरक थुमको हस्तपुरगढीमा पुग्दा राजा हिलिहाङसँग १७ औ“ पटकसम्म युद्ध गर्दा पनि हारजित नभएपछि लिम्बुवानलाई स्वायत्त अधिकार दिने गरी गोरखा–लिम्बुवानबीच सम्झौता भएको इतिहास छ । सम्झौतामा हिलिहाङ योङहाङ र उनका सन्ततिले हस्तपुर याङ्वरक (यक)मा शासन गर्न पाउने, शाह वंशीय राजालाई दाजु र लिम्बुवानका राजालाई भाइ मान्ने, केन्द्रीय सरकार गोरखालाई मान्ने, सम्भावित सबैतिरका आक्रमणलाई दुवै पक्ष मिली परास्त गर्ने लगायतका बुँदाहरुमा सहमति गरिएको थियो ।
विशाल नेपालमा गाभिएपछि स्वायत्त भनिए पनि स–साना राज्यहरु कमजोर हुँदै गए । केन्द्रीय शासन प्रणालीको दबाबमा ती स्वायत्त राज्यहरु विलीन हुँदै गए । अधिकारसम्पन्न र स्वायत्त राज्य भनेर तथाकथित सम्झौता गरिए पनि याङवरक थुम राज्य पनि कमजोर हुँदै गए । स्वतन्त्र राज्य नरहेपछि राजा हिलिहाङ लिम्बुवानका अन्तिम राजा बन्न पुगे । उनले राज्य सञ्चालन गर्ने गरेको हिलिहाङ दरबार पनि भत्किन थाले । राजदरबार र त्यसको परिसर जङ्गलमा परिणत भए ।
हाल कोशी प्रदेश अन्तर्गत पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका–४ मा अवस्थित छ यो, दरबार । हिलिहाङ गाउँपालिका र याङ्वारक गाउँपालिकाको सङ्गम स्थलमा अवस्थित हिलिहाङ दरबारको जिर्णाद्वार भइरहेको छ । वर्षाै“सम्म लथालिङ्ग पारिएको दरबार परिसर अहिले पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको छ । दरबारको भग्नावशेषहरुको संरक्षण थालिएको छ । नयाँ संरचनाहरु बन्ने क्रम जारी रहेको छ । ढलेको हिलिहाङ दरबार पुनः उठिरहेको छ ।

धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएको हिलिहाङ दरबार समुन्द्र सतहबाट करिब १ हजार ९ सय मिटर उचाइमा अवस्थित छ । दरबार करिब १३ सय रोपनीको क्षेत्रफल फैलिएको छ । पुरातात्त्विक सम्पदाहरुको भग्नावशेष संरक्षण, जीर्णोद्धार, दरबार क्षेत्र पुग्ने कच्ची सडकसँगै हिलिहाङ खेलमैदान र राजाको शालिक निर्माण भएका छन् ।
पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०७७ बमोजिम स्वीकृत भई हिलिहाङ गाउँपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको लागत साझेदारीमा हिलिहाङ दरबार प्यागोडाशैली भवनको निर्माण भइरहेको छ । करिब चार करोड सात लाख असी हजार रुपैयाँको लागत अनुमान गरिएको छ । भगवती बौद्ध जेभी इलामले २०८० माघ २५ भित्र काम सक्ने गरी ठेक्का लिएर काम गरिरहेको छ । निर्माण कम्पनीसँग ०७८ कार्तिक १८ गते ठेक्का सम्झौता भएको थियो ।
यस्तै, दरबार क्षेत्रमै राजा हिलिहाङले प्रयोग गरेका हातहतियारसँगै अन्य महत्त्वपूर्ण सामग्रीहरु सङ्ग्रह गर्न सँग्राहलयको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सङ्ग्रहालयमा तोप, ढाल, तरबार, निशान, राजाको कन्तुर, हिलिहाङ झण्डा लगायत सामग्रीहरुका साथै विभिन्न जातजाति, भाषाभाषीका मौलिक सामग्रीहरु राखिने भएको छ । निर्माण कार्य जारी रहेता पनि दिनप्रतिदिन दरबार अवलोकन गर्न आउनेको सङ्ख्या बढ्दै गइरहेको छ ।

पर्यटकीय सम्भावना
हिलिहाङ दरबार परिसरबाट कञ्चनजङ्घा, कुम्भकर्ण हिमाल र पाथीभरा मन्दिर लगायत पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाका थुप्रै रमणीय स्थलको दृश्यावलोकन पनि गर्न सकिन्छ । त्यसका साथै दरबार आसपासका क्षेत्रमा पर्यटकीय स्थानहरु कालोपानी, आगेजुङ गुम्बा, जोरपोखरी, आगेजोङ किरात हाङसाम माङहिम, गोपेश्वर महादेव मन्दिर लगायत दर्जनौ“ घुम्न लायकका अत्यन्तै रमणीय पर्यटकीय स्थलहरुको पनि भ्रमण गर्न सकिन्छ ।
करिब ६ सय वर्ष अगाडी दरकार निर्माण गर्न तिब्बतबाट ल्याइएका इँटा र युद्धमा प्रयोग गरिएका हतियार समेत रहेको यस स्थल पर्यटकीय सँगै पुरातात्त्विक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ । तपार्इाले पनि हिलिहाङ दरबार र आसपासका पर्यटकीय स्थलहरुको भ्रमण अवलोकन गरेर त्यहाँको सुन्दर प्राकृतिक हिमाली स्वच्छ हावापानीको भरपुर आनन्द लिनु सक्नुहुनेछ ।
मेची राजमार्ग अन्तर्गत पाँचथरको सदरमुकाम फिदिम हुँदै ताप्लेजुङ जाने गाडी चढेर नाङ्गीको हिलिहाङ चोकमा उत्रे पछि करिब आधा घण्टाको पैदल यात्रा हिँडेर हिलिहाङ दरबार पुगिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ग्यालेक्सी फोरके टेलिभिजनका सामान लिलाम गर्ने तयारी
- प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- पश्चिमी वायु सक्रिय : पहाडमा वर्षा, तराईमा गर्मी र हावाहुरीको चेतावनी
- आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
- गठबन्धनभित्रको मतभेदले मधेश सरकार विस्तार रोकियो
- सुकुम्बासीका माग सम्बोधन नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको चेतावनी
- शेरबहादुर देउवा र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता



ट्रेन्डिङ
खबरमुकाम





