अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’ ले सन् २०२४ मा घुम्नका लागि उपयुक्त विश्वभरका ५२ ठाउँको सूची सार्वजनिक गरेको थियो । त्यो सूचीमा नेपालको मुस्ताङ पनि समावेश छ ।
यसअघि गत वर्ष सिएनएनले पनि घुम्नैपर्ने विश्वका २३ ठाउँको सूचीमा मुस्ताङलाई समेटेको थियो । सिएनएनले मुस्ताङलाई चिनाउँदै माउन्टेन ट्रेकिङका लागि प्रसिद्ध परौणिककालीन पदमार्ग समेत रहेको उल्लेख गरेको थियो ।
न्यूयोर्क टाइम्सले पनि नेपालको उत्तरी क्षेत्रमा अवस्थित प्राचीन हिमाली अधिराज्यका रूपमा रहेको मुस्ताङले शताब्दीदेखि यसको ग्रामीणपन र संस्कृति बचाएर राखेको उल्लेख गरेको हो ।
यसरी न्यूयोर्क टाइम्सको घुम्नपर्ने ठाउँको सूचीमा मुस्ताङ समेटिएसँगै विदेशी पर्यटकको आगमन बढ्ने स्थानीय जनप्रतिनिधिहरू बताउँछन् । यसले समग्रमा नेपाल आउने पर्यटक संख्या बढाउने अन्नपूर्ण संरक्षण क्षेत्र मुस्ताङकी सूचना अधिकारी जसलिना नेपालीले बताइन् ।
‘मुस्ताङ धार्मिक, पुरातात्विकसँगै पर्यटकीय गन्तव्य हो । मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ दर्शनका लागि स्वदेशीसँगै विदेशी पर्यटकको लर्को लाग्ने गरेको छ,’ नेपालीलेले भनिन् । मुक्तिनाथ दर्शनका लागि पुग्नेमध्ये सबभन्दा धेरै भने भारतीय पर्यटकहरू हुन्छन् ।
मुस्ताङको अर्को आकर्षण भनेको ऐतिहासिक र पौराणिक मानिने लोमन्थाङ हो । लोमन्थाङ माटैमाटोले बनेका घर र माटोकै पर्खालले घेरिएको सहरका रूपमा परिचित छ। लोमन्थाङको बस्तीभित्र अवस्थित ज्यम्पा गुम्बा नेपालकै सांस्कृतिक सम्पदा हो ।
‘मुस्ताङका धेरै गाउँहरू आफैंमा पर्यटकीय स्थान छन्,’ नेपालीले भनिन्, ‘हरेक ठाउँले पर्यटक तानिरहेको छ । यहाँका हरेक ठाउँ अनुपम नमूना हुन् ।’
यहाँ स्वदेशीसँगै विदेशीहरू पनि सुटिङका लागि जाने गरेको उनले बताइन् । सुटिङका निम्ति पुरातत्व विभागबाट स्वीकृति लिनुपर्छ ।
मुस्ताङका हरेक कुनाबाट छर्लंग्गै हिमाल देखिन्छन् । जाडो याममा सबैजसो भूभागहरू हिउँले सेताम्मे हुन्छन् । यसकारण पनि पर्यटकको आकर्षण बढेको पन्तले बताए ।
सन् २०२३ मा झन्डै एक लाख विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । बर्सेनि हजारौं आन्तरिक पर्यटकहरू पनि पुग्छन् । सूचना अधिकारी नेपालीका अनुसार सन २०२४ का यी पाँच महिनामा ३० हजार भन्दा बढी विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरिसकेका छन् ।
कोरोना महामारीअघि मुस्ताङमा अधिकतम वार्षिक ६० हजार विदेशी पर्यटक घुम्न पुगेको तथ्यांक छ । आन्तरिक पर्यटक भने सिजनमा दैनिक ६ ७ हजार जना नै पुग्ने गरेका छन् ।
सिजनमा पर्यटकले भरिभराउ हुने मुस्ताङमा पर्याप्त मात्रामा होटल रहेको नेपालीले भनिन् ।
‘मुस्ताङका सबै घर नै होटल हुन् । सिजनका बेला घरले धान्न नसक्दा टेन्ट हालेर पनि पर्यटकलाई राख्ने गरिएको छ,’ उनले भनिन्, ‘साना ठूला होटल, रेस्टुरेन्ट र होमस्टेहरू छन् ।’
पछिल्लो समय नेपालीहरू पनि ट्रेकिङमा जाने क्रम बढ्दो छ । मुस्ताङ हुँदै तिलिचो, थोरोङ्ला पास हुँदै मनाङ, धवलागिरि आइसफल, दामोदर कुण्ड लगायत गन्तव्यहरू यही जिल्ला हुँदै जाने उनले बताइन् । आगामी दिनमा नाका व्यवस्थित गर्न सके छोटो दुरीमा कैलाश मानसरोवर पुगिने उनको भनाइ छ ।
‘यसका लागि पनि तयारी भइरहेको छ । यो रूट व्यवस्थित गर्न सके अझ धेरै पर्यटक भित्र्याउन सकिन्छ,’ उनी भन्छिन् । यसरी पर्यटक आगमनका लागि मुस्ताङ जिल्लाका चारै स्थानीय तहले प्रवर्द्धनका कामहरू गरिरहेको उनले बताइन् ।
मुस्ताङमा पर्यटक बढाउन प्रवर्द्धनका कामहरूलाई बजेटमै छुट्ट्याउने गरेको लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरूङले बताए । कोरोनापछि यसपालि कोरोला नाका पनि खुलेको छ। यसले पनि आर्थिकसँगै पर्यटनमा टेवा पुग्ने उनको भनाइ छ ।
मुस्ताङ जहाज र गाडीमार्फत जान सकिन्छ । जहाजमा जाने हो भने काठमाडौंबाट पोखरा र पोखराबाट जोमसोम जान सकिन्छ । जोमसोमबाट कागबेनी र मुक्तिनाथसम्म सहजै गाडी पाइन्छ । काठमाडौंबाट मुक्तिनाथ र जोमसोम सिधै गाडीमार्फत पनि जान सकिन्छ ।
यस्तै माथिल्लो मुस्ताङ नै पुग्ने हो भने कागबेनीबाट छुसाङ र त्यहाँबाट लोमन्थाङसम्म जिप पाइने गाउँपालिकाका अध्यक्ष गुरूङले जानकारी दिए । गाडीको सहज पहुँच भएकाले एक हप्तामै माथिल्लो मुस्ताङ पुगेर आउन सकिन्छ। समय धेरै छ भने ट्रेकिङ पनि जान सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- गठबन्धनभित्रको मतभेदले मधेश सरकार विस्तार रोकियो
- सुकुम्बासीका माग सम्बोधन नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको चेतावनी
- शेरबहादुर देउवा र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता
- बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि
- आजको मौसम, पानी पर्ने र तातो हावा बहने सम्भावना
- आज यस्तो छ बिदेशी मुद्राको नेपाली दररेट
- ओलीको संकट तत्काललाई टर्यो, यस्तोछ पार्टीको नयाँ पदीय वरीयताक्रम



ट्रेन्डिङ
खबरमुकाम






