– विद्या राई
पूर्वका पहाडी जिल्लाहरु छिचोल्दै अघि बढ्ने ‘फ्रेस ट्रेकिङ ट्रेल’ हो, मुन्धुम ट्रेल । छोटो अवधिमा घुमफिरको धेरै खाले स्वाद लिन पाइने यो ट्रेलमा हिमाल र पहाडका भूवनोट, संस्कृति र प्रकृतिको अवलोकन र अनुभूत गर्न पाइन्छ ।
विशेषतः खोटाङ र भोजपुर जिल्लामा पर्ने यो ट्रेलमा किराँत राई समुदायको बसोबास छ । डाँडाकाँडा, खोलानाला, प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरुसँगै किराँती मिथकसँग जोडिएकाले ‘मुन्धुम पदमार्ग’ नामकरण गरिएको हो । यहाँ बाह्रै मास यात्रा गर्न सकिन्छ । तर, मौसमअनुसारको फरक अनुभव लिन सकिन्छ । वसन्त र शरद ऋतु सबैभन्दा उपयुक्त मानिन्छ ।
यो ट्रेलमा अल्ट्रा म्याराथन, हाइकिङ, माउन्टेन साइक्लिङ, घोडचढी, प्याराग्लाइडिङ, हनी हन्टिङलगायतमा साहसिक गतिविधिहरु देख्न सकिन्छ । यसलाई सरकारले नेपालको घुम्नै पर्ने सय गन्तव्यमा पनि समावेश गरेको छ । यो ट्रेल खोटाङको चखेवाबाट सुरु भएर धोत्रे–मैयुङ–रावाधाप–साल्पा भन्ज्याङ–सिलिचुङ–ह्याकुले–हाँस पोखरी हुँदै भोजपुर सदरमुकाममा पुगेर टुङ्गिन्छ । यो विदेशी पर्यटकका लागि यो पदमार्गको पुरा अवधि १४ दिनको छ भने १०७ किमी पार गर्न नेपालीको लागि आफ्नो अनुकूल केही कम हुन पनि सक्छ ।
काठमाडौँबाट सुरु गर्ने हो भने पहिलो दिन खोटाङ सदरमुकाम दिक्तेल पुग्न सकिन्छ । काठमाडौँबाट झन्डै ९ घण्टाको बस यात्रा गर्नुपर्छ । कार र भ्यान पनि प्रयोग गर्न सकिन्छ । समुन्द्री सतहदेखि १ हजार ६ सय ५० मिटर उचाइमा रहेको दिक्तेल सदरमुकाम भए पनि सानो पहाडी बजार हो । यहाँ रुचि अनुसारको खाना तथा स्थानीय परिकारहरु पनि पाइन्छ । पर्यटक स्तरीय होटेल छन् ।
दोस्रो दिन, बिहानीको खाजा खाएर दिक्तेलमै खाएर त्यहाँको दृश्यावलोकन गर्न सकिन्छ । त्यसपछि साढे तीन घण्टाको बस यात्रा गरेर भोजपुरको चखेवा पुगिन्छ । समुन्द्री सतहदेखि २३ सय मिटर उचाइमा छ चखेवा । चखेवामा ५ वटा टी हाउसहरु छन् । गोठेसिंह होमस्टे पनि छ । तोङ्बा, लाङ्सा र लोकल कुखुराको तीते त्यहाँको विशेष मेनु हो । दिक्तेलदेखि चखेवा पुगेर बिहानको खाना खाएर टेम्के डाँडा घुम्न सकिन्छ ।

तीन हजार १० मिटरको उचाइमा पर्ने टेम्के डाँडा पुग्न दुई घण्टा जति उकालो चढ्नुपर्छ । त्यसै दिन दृश्यावलोकन गरेर चखेवा फर्कन पनि सकिन्छ भने माथि नै क्याम्पिङ गरेर बस्ने इच्छा हुनेको त्यो इच्छा पनि पुरा हुन्छ ।
टेम्केबाट ८ हजार मिटरमाथिका सगरमाथा, ल्होत्से, सिसापाङ्मा, मकालु र चोयु गरी पाँच वटा हिमाल देखिन्छ । टेम्के–मैयुङ रेन्जबाट दोर्जे लाक्पा, गौरीशंकरलगायत थुप्रै हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ । चीनको तिब्बत, भारतको दार्जिलिङ, कालिम्पोङ, सिलिगुडी, भुटान, पूर्वी नेपालका १६ वटै जिल्लाहरु यहाँबाट नियाल्न सकिन्छ । गुराँस फुल्ने सिजन माघ र फागुन महिनामा लालीगुराँस, चिमाललगायत प्रजाति ढकमक्कै फुल्छन् ।
नयाँ वर्ष, मङ्सिरे बालाचतुर्दशी तथा चैतको रामनवमी मेलामा देश तथा विदेशबाट समेत तीर्थालुहरुको घुइँचो लाग्छ । सेप्टेम्बरदेखि अप्रिलसम्म टेम्के अवलोकनका लागि दैनिकजसो पर्यटक पुग्छन् । पर्यटकहरु प्रायः चखेवाका होटेलमा बस्छन् । बिहानको सूर्योदय र बेलुकीको सूर्यास्त हेर्छन् ।
तेस्रो दिन चखेवामा बिहानको खाजापछि हिँडिहाल्दा राम्रो हुन्छ । त्यस दिन धोत्रेमा पुगेर बास बस्न सकिन्छ । दुईवटा टी हाउस छन् धोत्रेमा । यो समुन्द्री सतहदेखि २ हजार ७ सय ५२ मिटर उचाइमा पर्छ । चखेवादेखि धोत्रे पुग्न ७ घण्टा लाग्छ । गाउँघर, रहनसहन अवलोकन गर्न पाइन्छ । यहाँबाट पनि हिमशृंखला र सूर्योदयको दृश्यपान गर्न सकिन्छ । यस दिन मेरुङ डाँडा, मालुवा, दलसिङेको दृश्यावलोकन गर्नु उपयुक्त हुन्छ ।
अर्को दिन बिहानै हिँडेमा साढे तीन घण्टामा हाँस पोखरी मैयुङ पुगिन्छ । यो ३ हजार १ सय २२ मिटर उचाइमा पर्छ । यहाँ टि हाउस लजहरु छैनन् । ‘क्याम्पिङ’ गर्नुपर्ने हुन्छ । धोत्रेबाट हाँस पोखरी पुग्दा चौतारा, मात्तिम डाँडा र बस पानी देवी स्थान अवलोकन गर्न पाइन्छ ।
पाँचौँ दिन मैयुङबाट बिहानको खाजा खाएर सातदोबाटो, ह्याकुले, लौरी डाँडा हुँदै रावाधापमा क्याम्पिङ गर्न पुगिन्छ । यो यस ट्रेलको सबैभन्दा लामो पदयात्रा हो । ७ देखि ८ घण्टा हिँड्नुपर्छ । रावाधाप समुन्द्री सतहदेखि ३ हजार ४ सय २६ मिटर उचाइमा पर्छ । यहाँ पनि क्यापिङको विकल्प छैन ।
छैटौँ दिन रावाधापदेखि साल्पा बेसक्याम्प पुगिन्छ । ६ घण्टा लाग्छ । यो समुन्द्री सतहदेखि ३३४८ मिटर उचाइमा पर्छ । कुलुपंख भन्ज्याङमा टि हाउसहरु छन् । अर्को दिन साल्पा बेसक्याम्पदेखि सिलिचुङ डाँडासम्मको यात्रा गरिन्छ । सिलिचुङ डाँडा ४ हजार २०० मिटरको उचाइमा रहेको छ । यो मुन्धुम पदमार्गकै सबैभन्दा अग्लो स्थान हो । यसलाई प्राकृतिक भ्यु–टावर पनि भनिन्छ । हिमाली भेग, उपत्यका, हरियाली जंगल र हिमशृंखलाको अवलोकन गर्न सकिन्छ । यहाँबाट ८ हजार माथिका सगरमाथा, कञ्चनजंघा, चोयु, ल्होत्से, मकालु हिमालको दृश्यावलोकन नजिकैबाट गर्न सकिन्छ । थाम्सेर्कु, काङ्तेगा, अमादब्लाम, दोर्जे लाक्पा, कुसु खुंगारु, नुमुरलगायतका हिमालको अवलोकन गर्न सकिन्छ ।

सिलिचुङ फेदैमा साल्पा पोखरी छ । यो ३७ सय मिटर उचाइमा पर्छ । पोखरीको मूल र निकास छैन । सबै धर्मावलम्बीहरुको आस्थाको केन्द्र हो, यो । साल्पा–सिलिचुङ मकालु वरुण तथा सगरमाथा राष्ट्रिय निकुञ्जको सिमानामा पर्छ ।
प्रथम सगरमाथा आरोही एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा यही बाटो हुँदै गएकाले तेन्जिङ–हिलारी पदमार्गको नामले चिनिन्छ । सगरमाथा आउने–जाने बाटो पर्ने भएकाले पदमार्गमा रुचि भएका विदेशी पर्यटकहरुको रोजाइमा पर्छ, यो । यहाँ सुनपाती, भैरुङपाती लगायतका दुर्लभ वनस्पति र जडीबुटी पाइन्छ । रुचि भएका पर्यटकहरु यहीँबाट सोलुखुम्बुतिर सगरमाथा बेसक्याम्पतिर जान सकिन्छ ।
आठौँ दिन, सिलिचुङ गएकै रुट हुँदै फर्केर ह्याकुलेमा क्याम्पिङ गर्न पुगिन्छ । ७ देखि ८ घण्टा पैदल हिँड्नुपर्छ । यो समुन्द्री सतहदेखि २ हजार ९ सय ७२ मिटर उचाइमा पर्छ । नवौँ दिन सोही पदमार्ग हुँदै ह्याकुलेदेखि हाँस पोखरी आइपुगिन्छ । मैयुङ हाँस पोखरी घुम्न चाहने त्यहीँ बास बस्न सक्छन् । नत्र तिम्मा सावागाउँको मुन्धुम होमस्टेमा पुगेर बास बस्न सकिन्छ । यहाँ किराँती संस्कृति र खानपानको स्वाद लिन पाइन्छ । नजिकैको सावा झर्नामा क्यानोनिङ पनि सुरु भएको छ ।
दसौँ दिन, स्थानीय पर्यटकीय स्थलहरु एकराते, कखुवा, वर्षे डाँडा, सुन्तले, धाप खर्क हुँदै भोजपुर सदरमुकाम पुग्न सकिन्छ । यो १६ सय मिटर उचाइमा छ । यहाँ मध्यम खालका होटेल छन् । यो दिन हिँड्न नचाहनेले सावागाउँदेखि नै गाडी वा जिप यात्रा गर्न सक्छन् । तर बाटो कच्ची भएकाले हिउँदमा मात्रै गाडी÷जिप चल्छ ।
एघारौँ दिन, भोजपुर बजारबाट काठमाडौँ फर्कने दिन हो । जहाजबाट फर्कंदा एक घण्टा लाग्छ भने सिधा बस यात्रा गर्दा दिनभर लाग्छ । तर भोजपुर घुम्न चाहनेले यो दिन सिद्धकाली मन्दिर, भोजपुरे खुकुरी र टक्सारको भ्रमण तथा अवलोकन गर्न सकिन्छ । टक्सार ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको ठाउँ हो ।
देउराली टोलदेखि गणेस्थानसम्मको बस्तीमा वास्तुकला साँच्चिकै बेजोड छ । नेवारी खानपान, धर्म–संस्कृति रहनसहन पाटनकै जस्तो लाग्छ । जिल्लाको एक मात्र विमानस्थल टक्सारमै पर्छ । बीच बजारमा पौने ४ सय किलोको करुवा र स्थानीय भीमसेन परिसरमा अढाई सय वर्ष पुरानो एक र दुई पैसे डोली पैसाको स्मारक छन् ।
समग्रमा यो ट्रेलका लागि ट्रेकिङ एजेन्सीहरुले विदेशी पर्यटकलाई प्रतिव्यक्ति १५ सय देखि २ हजार डलरसम्म तोकेका छन् । नेपालीहरुलाई भने २८ हजारदेखि ६० हजार रुपैयाँ खर्च लाग्छ । आफ्नो रुचि र चाहानाअनुसारका ठाउँहरु छान्न पनि सक्छन् ।
पूर्वी पहाडको ‘भर्जिन’ गन्तव्यको रुपमा यसरी अगाडि आयो मुन्धुम ट्रेल
मध्यपहाडी लोकमार्गमा भर्खरै पहिचान गरिएको मुन्धुम ट्रेल पदमार्ग नयाँ पर्यटकीय गन्तव्य घोषणा भएसँगै यस पर्यटकीय स्थलमा राज्यको लगानी बढेको छ । सँगसँगै स्थानीय र सरोकारवाला निकै उत्साही बनेका छन् ।
पूर्वी पहाडी जिल्ला भोजपुर, खोटाङ, सोलुखुम्बु तथा संखुवासभा सीमाक्षेत्रमा रहेको यो पदमार्ग नेपाल सरकारले घोषणा गरेको नेपालको घुम्नैपर्ने १ सय पर्यटकीय गन्तव्यभित्रको सूचीमा छनोट भएको छ ।
यो नयाँ गन्तव्यको पहिचान मैयुङ–टेम्के–साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रले गरेको हो । भोजपुर र खोटाङको सीमानामा पर्ने ३ हजार १ सय ६५ मिटरको टेम्के डाँडा क्षेत्रबाट शुरु हुने पदयात्रा ३ हजार ३ सय ५० मिटरको मैयुङ डाँडा, ४ हजार १ सय ५५ मिटरको सिलिचुङ डाँडा हुँदै ३ हजार ७ सय ५० मिटरको साल्पापोखरी पुग्न सकिने पर्यटक क्षेत्रका अभियन्ता एवं केन्द्रका अध्यक्ष रमेशकुमार राई बताउँछन् ।

करिब १ सय किलोमिटर दुरीको यो पदमार्ग पूरा गर्न २ साताजति लाग्ने बताइन्छ । पदमार्गमा अधिकांश किरात समुदायका बस्तीहरु रहेको तथा उनीहरुको मौखिक ग्रन्थ ‘मुन्धुम’ मा उल्लेखित किराती जीवनशैली, संस्कार र संस्कृतिबारे वर्णन गरिने भएकाले पदमार्गको नाम मुन्धुम रहन गएको केन्द्रका अध्यक्ष राईले बताए ।
हिमालनजिकै पुगेर त्यसको सौन्दर्यमा रमाउने पर्यटकहरुका लागि डाँडैडाँडा थकानको महसुससमेत नहुने गरी हिँडिरहुँ लाग्ने यो पदमार्गबाट सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से, लगायतका ८ हजार मिटर अग्ला ६ वटा हिमाल देख्न सकिन्छ । ३३ वटा हिमश्रृंखला र तराईको भूभाग अवलोकन गर्न सकिने राईले बताए ।
ठूला घाँसे मैदान, फराकिला चौरीखर्क तथा भेडीगोठको बीचबाट डाँडाको शीरैशीर दर्जनौँ प्रजातिका गुराँस, चाँप, कटुस, लोक्ता, विविध जडीबुटी तथा घना जंगल अवलोकनमा रम्न पाइने यस क्षेत्रको अर्को आकर्षण हो । मैयुङको हाँसपोखरी क्षेत्रमा पाइने विभिन्न प्रजातिका चराचुरुंगी, रेडपाण्डा, भीर माहुरी र विभिन्न जंगली जनावरहरुसँग पनि त्यत्तिकै लुकामारी खेल्न पाइन्छ ।
सगरमाथा चुचुरोमा पहिलो पाइला टेकेका तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले २०१० सालमा यही पदमार्गको एउटा अंशको रुट प्रयोग गरेका थिए । मध्यपहाडी सडक सञ्जालसँग जोडिएको यो पदमार्ग ‘भर्जिन’ भएको तथा दिक्तेल र भोजपुरबाट हवाइमार्ग हुँदै सहजै पुग्न सकिने क्षेत्र भएकाले पर्यटकहरुलाई आवागमनमा थप सहज बन्ने निश्चित छ ।
यो पदमार्गको पूर्वाधार तयारी तथा अन्य विकासका लागि केन्द्र सरकारले ५० लाख, पर्यटन बोर्डले २० लाख र भोजपुरको टेम्के मैयुङ गाउँपालिकाले १० लाख गरी यो वर्ष ८० लाख बजेट विनियोजन भएको छ । प्रारम्भिक चरणमा सो क्षेत्रमा सूचना पार्टी, विभिन्न संकेत चिन्ह राख्नेजस्ता कामहरु शुरु गरिएका छन् । त्यस्तै हाँसपोखरी नागीमा पाहुना घर बन्दैछ ।
यसको अधिकतम प्रचार प्रसारका लागि र पर्यटकहरुलाई आकर्षित गर्न पहाडी उच्च भागमा हुने साहसिक प्रतियोगिता अल्ट्रा म्याराथुन, स्काई रेस, माउण्टेन साइक्लिङ, हाइकिङ, माउन्टेन साइकिलिङ, घोडचढी, प्यारा ग्लाइडिङ गर्ने गरी ५ करोड ८५ लाखको बजेट प्रस्तावसँगै गुरुयोजना बनाइएको छ ।

नेपाल टुरिजम बोर्डका सिनियर डाइरेक्टर हिक्मतसिंह ऐेर यस क्षेत्रको पर्यटकीय विकास गर्दै पर्यटकहरुलाई आकर्षित गर्नलाई स्थानीय तहको महत्वपूर्ण भुमिका हुने बताउँछन् । ‘यहाँ रहेका सानाभन्दा साना कुरालाई कलात्मक कुरालाई पुँजीकृत गर्न सक्नुपर्छ, पर्यटकलाई लोभ्याउने खालका योजनाहरु बनाउन आवश्यक छ,’ उनको भनाइ छ ।
पदमार्गको झण्डै आधा हिस्सा ओगटेको टेम्केमैयुङ गाउँपालिका प्रमुख धु्रवराज राई मुन्धुम ट्रेल पदमार्गको विकासका लागि गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिसकेको र सबै सरकारी गैरसरकारी निकायसँग समन्वय गरेर अगाडि बढ्ने बताउँछन् ।
भोजपुरका संघीय सांसद समेत रहेका संस्कृति तथा पर्यटन मन्त्री सुदन किरातीले पर्यटकीय क्षेत्रको हामीले सोचेजस्तो आर्थिक सम्वृद्धिको मेरुदण्ड भएकाले जिल्लामा अन्य पर्यटकीय गन्तव्यहरुको पहिचान गर्ने र पहिचान भएका गन्तव्यलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा व्यापक प्रचार प्रसार गर्ने गरी योजना बनाउन आफूले सक्दो पहल गर्ने बताए ।
केही समयअघि पदमार्ग आसपासका स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका नेतृत्व लगायतको उपस्थितिमा मुन्धुम ट्रेल विकास तथा प्रवद्र्धन सम्मेलन गरिएको थियो । सम्मेलनमा सहभागी अधिकांशले भोजपुरले पाएको यो सम्पत्तिलाई ‘सुनको अण्डा पार्ने कुखुरा’ को रुपमा विकास गर्न सबैजना लाग्ने प्रतिबद्धता जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- गठबन्धनभित्रको मतभेदले मधेश सरकार विस्तार रोकियो
- सुकुम्बासीका माग सम्बोधन नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको चेतावनी
- शेरबहादुर देउवा र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता
- बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि
- आजको मौसम, पानी पर्ने र तातो हावा बहने सम्भावना
- आज यस्तो छ बिदेशी मुद्राको नेपाली दररेट
- ओलीको संकट तत्काललाई टर्यो, यस्तोछ पार्टीको नयाँ पदीय वरीयताक्रम



ट्रेन्डिङ
खबरमुकाम






