बूढीगण्डकी जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौताबारे सार्वजनिक सुनुवाई सम्पन्न

काठमाडौँ । गोरखास्थित ३४०.४२३ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौताबारे सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । 

विद्युत् नियमन आयोगले मंगलबार विद्युत् विकास विभागको सभाहलमा सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो । टाइम्स इनर्जी प्रालिद्वारा प्रवर्द्धित आयोजनाको पिपिएका लागि नेपाल विद्युत् प्राधिकरणले आयोग समक्ष पेस गरेको निवेदनउपर आयोगले सरोकारवाला पक्षलाई बोलाएर सार्वजनिक सुनुवाई गरेको हो ।

कार्यक्रममा बोल्दै विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले नेपालमा विद्युत् क्षेत्रको नियमनमा आयोग स्थापना भएपछि निजी लगानीकर्ताहरुले निकै सहजता महसुस गरेको बताए । उनले भने, ‘नियम–कानुनले मिल्ने भएसम्म आयोगले आयोजना निर्माणका लागि आवश्यक निर्णय समयमै गरिदिने गरेको छ ।’ आयोगका सदस्य गौतम डंगोलले भने, ‘कम लागतमा आयोजना निर्माण गर्ने विकासकर्ताहरुलाई पुरस्कारको व्यवस्था गर्नुपर्छ ।’ 

कार्यक्रममा आयोजनाको प्रवर्द्धक कम्पनी टाइम्स इनर्जी प्रालिका अध्यक्ष दिपक मल्होत्राले पनि आफ्नो धारणा राखेका थिए । उनले भने, ‘निजी क्षेत्रले हालसम्मकै ठूलो आंशिक जलाशय आयोजना निर्माण गर्न लागेकोले सबैको साथ सहयोग प्राप्त हुने अपेक्षा छ ।’ 

विद्युत् प्राधिकरणका निर्देशक राजन ढकालले आयोगले पिपिएका लागि सहमति दिएपछि विद्युत् खरिद बिक्री सम्झौता पत्रमा हस्ताक्षर गरिने बताए । 

कार्यक्रममा सरोकारवालाहरुले राखेको प्रश्नको जवाफ दिँदै आयोजनाको परामर्शदाताका तर्फबाट प्रेम केसीले आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमाथि सार्वजनिक सुनुवाई भई पारित भइसकेको पनि बताए ।

बूढीगण्डकी जलविद्युत् आयोजना गोरखा जिल्लाको चुमनुब्री र धार्चे गाउँपालिकामा निर्माण हुँदैछ । आयोजना सम्पन्न गर्न ५ हजार ५ सय ५७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यसका अधारमा आयोजनाको प्रतिमेगावाट लागत १६ करोड २९ लाख ८८ हजार रुपैयाँ लाग्ने देखिएको छ । आयोजनाको बाँधस्थल र जलाशय चुमनब्री गाउँपालिका रहने गरी डिजाइन तयार पारिएको छ । बाँधस्थल र जलाशय मनास्लु संरक्षण क्षेत्रमा पर्दछ । बाँकी संरचनाहरू संरक्षण क्षेत्र बाहिर पर्दछन् ।

आयोजनाको जलाधार क्षेत्रफल ३६२८ वर्ग किलोमिटर रहने गरी डिजाइन गरिएको छ । आयोजनाको धेरैजसो संरचना र विद्यूत् गृहसमेत भूमिगत रहने गरी डिजइन गरिएको छ । आयोजनामा ५.८ किलोमिटर लामो हेडरेस टनेल निर्माण हुनेछ । टनेलमार्फत पानीलाई भूमिगत विद्युत्‌गृहमा पुर्‍याइनेछ । विद्युत्‌गृहमा ६ वटा ५७ मेगावाट क्षमताको टवाईन जडान हुनेछ । सो टवाईनसँग जोडिएको जेनेरेटरमार्फत विद्युत् उत्पादन गरिने कम्पनीले जनाएको छ ।

आयोजनाको सबै काम पूरा गरे २०८५ चैतदेखि व्यवसायिक उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । आयोजना निर्माण पूरा भएपछि वार्षिक १८३७.१६ गिगावाट घन्टा विद्युत उत्पादन गर्न सक्छ । उत्पादित ऊर्जालाई करिब ४५ किमि प्रसारण लाइन निर्माण गरेर रातमाटे सबस्टेसनमा जोडिनेछ ।

आयोजनाको विभिन्न संरचना निर्माणका लागि ५६.२२ हेक्टर जमिन चाहिने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख छ । जसमध्ये ४९.६२ हेक्टर स्थायी रूपमा र ६.६ हेक्टर अस्थायी रूपमा आवश्यक पर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै