म्याग्दी। म्याग्दीको रत्नेचौर यति बेला विदेशमा समेत चर्चित छ । परम्परागत तोरी खेतीलाई सामाजिक सञ्जालसँग जोडेर राख्न थालेदेखि यो गाउँको चर्चा हुन थालेको हो।
बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौर केही समययता सामाजिक सञ्जालमा ‘भाइरल’ बनेकाले अहिले आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बनेको छ। भौगोलिक वनावटका साथै प्राकृतिकरूपले सुन्दर रत्नेचौर सबैलाई आकर्षित गर्न सफल भएको छ ।
परम्परागत कृषिलाई व्यवस्थित गरेर सूचना प्रविधिसँग जोडिएकाले यो गाउँको कायापलट भएको स्थानीय अगुवा भरत खत्री बताउँछन् ।
उत्तरतर्फ चाँदीझैँ टल्किएका धौलागिरि, नीलगिरि, अन्नपूर्णलगायत हिमशृङ्खला, तोरी र गहुँ झुलेर आकर्षक देखिने समथर फाँट, बेनी–बागलुङ सडकको बायाँतर्फ विशाल खेलमैदान र समथर खेतको बीच भागको सडक कालोपत्रे भएकाले पनि रत्नेचौरको रौनक झन बढेको छ।
रत्नेचौरदेखि अर्जम, भकुण्डे हुँदै भकिम्ली जोड्ने सडकको रत्नेचौर–अर्जम खण्ड कालोपत्रे गरिएको छ। समथर फाँटमा झुलेको धान, फाँटको बीचमा कालोपत्रे सडकका साथै धौलागिरि, नीलगिरिलगायत हिमशृङ्खला देखिने गरी तस्बिर खिचाउन, टिकटक बनाउन र रमाउन दैनिक सयौँको सङ्ख्यामा युवायुवती आउन थालेपछि अहिले रत्नेचौर बेफुर्सदिलो बनेको छ ।
कृषिमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यहाँका बासिन्दाले समथरफाँटलाई प्राङ्गारिक कृषिफाँट बनाउन थालेका छन् ।
गाउँको फाँटमा रैथाने बालीको खेती गर्ने, होटल, रेष्टुराँ र होमस्टे (घरबास) विस्तार गर्ने, दूध, ताजा तरकारी र फलफूल सबैको घरको करेसाबारीमा लगाउने र पशुपालन गर्नेजस्ता कामको सुरुआत भइसकेको अगुवा खत्री बताउँछन्। त्यसैगरी ढोडेनी खोलामा निर्माण भएको रत्नेचौर–कुडुले जोड्ने झोलुङ्गे पुलले पनि रत्नेचौरको आकर्षण बढाएको छ ।
“पूर्वतर्फ मोहोडा भएको फराकिलो रत्नेचौरको फाँटमा धेरै पहिलेदेखि नै तोरी लगाइन्थ्यो । रत्नेचौरबाट उत्तरतर्फ सेता हिमाल, बागलुङ, पर्वत र म्याग्दीका अनेकौँ गाउँबस्ती पहिले पनि देखिन्थे”, बेनी नेपाली कांग्रेस स्थानीय नेता नेत्रबहादुर महत भन्छन्, “यी दृश्य हेर्न पर्यटक पहिले आउँदैनथे। जब, फाँटको बीचमा सडक पिच भयो र सामाजिक सञ्जाल तथा आम सञ्चारमाध्यममा यहाँको समाचार आउन थाल्यो त्यसपछि गाउँको रौनक बढ्यो।”
“विसं २०७७ मा फाँटको सडक कालोपत्र भयो । बेनी–बागलुङ सडकको स्तरोन्नति भयो । परम्परागतरूपमा गरिँदै आएको कृषिलाई व्यवस्थित गर्न थालियो। प्रविधिको पहुँचसँगै फोटो र भिडियो सामाजिक सञ्जालमा देखिन थालेकाले विगत चार वर्षयता रत्नेचौर देश विदेशमा ‘भाइरल’ बन्यो” वडा नं १का वडाध्यक्ष टेकबहादुर थापा भन्छन् ।
म्याग्दी, बागलुङ, पर्वत र कास्कीका साथै मुुस्ताङ जाने र फर्कने पर्यटक रत्नेचौरको तोरीबारीमा रमाउँछन्। पर्यटकको चहलपहलसँगै रत्नेचौरमा व्यापार व्यवसाय पनि फस्टाउँदै गएको छ । पर्यटकको वृद्धिसँगै यहाँ विकासका पूर्वाधार पनि थपिएका छन् ।
होटल र रेष्टुुराँ खुल्नाका साथै रत्नेचौरदेखि बागलुङको कुडुले जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल पनि निर्माण भएकाले यो क्षेत्र नयाँ गन्तव्य बनेको स्थानीयवासीको भनाइ छ ।
धौलागिरि हिमाल देखिने गरी सडकमा उभिएर तोरीको पहेँलो र गहुँको हरियो दृश्यसहित तस्बीर खिच्न र भिडियो बनाउन यो याममा यहाँ दैनिक आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ । बिदाको दिनमा पर्यटकको भीडले सडक खचाखच भरिने गरेको स्थानीयवासी बताउँछन्। पोखराको बिरौटाबाट चार साथीसहित रत्नेचौर आउनुभएका प्रविण शेरचन हिमाल हेर्दै तोरीबारीको बिचमा रमाउन पाउँदा निकै आनन्द आएको बताउँछन् ।
पछिल्लो समय यहाँ मुस्ताङ जाने र फर्किने विदेशी पर्यटकसमेत आउन थालेका स्थानीय दिनेश बोगटीको भनाइ छ। उनका अनुसार यहाँ दैनिक तीन सयदेखि पाँच सय जनाको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







