महोत्तरी । भारतको जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म जयनगर बर्दिबास रेल्वेको तेस्रो खण्डको काम थालिएको छ । जयनगरदेखि धनुषाको कुर्था र कुर्थादेखि महोत्तरीको भङ्गाहासम्म क्रमशः पहिलो र दोस्रो खण्डको काम सकिएर सेवा प्रारम्भ भएपछि नेपाल रेल्वे कम्पनीले यो आयोजनाको तेस्रो खण्डको काम थालेको हो ।
तेस्रो खण्डमा भङ्गाहादेखि बर्दिबाससम्म १७ किलोमिटर दूरीमा अहिले काम थालिएको छ । जम्मा ६९ किलोमिटरको यो आयोजनालाई तीन खण्डमा विभाजन गरिएको थियो । पहिलो जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर र दोस्रो कुर्थादेखि भङ्गाहासम्म १७ किलोमिटर दूरीसहित जम्मा ५२ किमीभित्र निर्माण सम्पन्न भएर हाल रेल सेवा सञ्चालनमा ल्याइएको छ । दुई खण्डको काम सकिएर सेवा सञ्चालनमा ल्याएपछि अब तेस्रो खण्डको काम थालिएको हो ।
तेस्रो खण्ड (भङ्गाहादेखि बर्दिबास खण्ड)को १७ किमी दूरीभित्रको कामको प्रारम्भिक चरणमा मुआब्जा वितरण अन्तिम चरणमा पुगेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झा बताउँछन् । ‘तेस्रो खण्डको मुआब्जा वितरण अन्तिम चरणमा छ,’ उनी भन्छन्, ‘मुआब्जा वितरण सकिनासाथ निर्माण कार्य अघि बढ्छ ।’ यस खण्ड (तेस्रो खण्ड) मा पर्ने एक सय २३ बिघा जग्गामध्ये ८० प्रतिशतभन्दा बढीको मुआब्जा वितरण भइसकेको कम्पनीले जनाएको छ । तेस्रो खण्डमा महोत्तरीका भङ्गाहा र बर्दिबास (साबिक किसाननगर र बर्दिबास गाविस) एवं धनुषाको मिथिला (साबिक बेङ्गाडावर गाविस) नगरपालिकाका जग्गा पर्छन् ।
यस खण्डमा मुआब्जा दिएर अधिग्रहण गरिएका जग्गामा अहिले सर्वेक्षण गरिँदैछ । भारत सरकारको सहयोगमा निर्माण भइरहेको यो आयोजनाको तेस्रो खण्डमा अहिले नेपाल भारतका प्राविधिकको संयुक्त टोलीले सर्वेक्षणका काम गरिरहेका महाप्रबन्धक झाको भनाइ छ । यस खण्डमा परेका जग्गाभित्रका संरचना र बालीनाली खाली गर्न सम्बद्ध यसअघिका जग्गाधनीलाई सूचना जारी भइसकेको र त्यसअनुसार घरबाहेकका धेरैजसो जग्गा खाली भएका छन् । अब घरसहित संरचना भएका ठाउँको मुआब्जा दिएर खाली गराइने छ ।
सन् २०१० मा तत्कालीन राष्ट्रपति डा रामवरण यादवको भारत भ्रमणका क्रममा भएको द्विपक्षीय सम्झौताअनुसार यहाँ रेल्वे सेवा विस्तारको काम थालिएको हो । सोअनुसार पहिलो खण्डमा विसं २०७८ चैत ११ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गरेपछि जयनगरबाट कुर्थासम्म ३५ किलोमिटर रेल सेवा सञ्चालनमा आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







