गलकोट (बागलुङ) । “भिरालो जग्गामा चट्टानमाथिको सानो मन्दिर, दर्शनार्थीलाई मन्दिर घुम्नै अफ्ठ्यारो थियो”, २०४७ साल अघिको बलेवा कालभैरवलाई सम्झदै स्थानीय ९६ वर्षीय देवीप्रसाद पाठकले भने, “दर्शनार्थीहरु भिरालो मन्दिरको पेटीबाट लड्थे पनि तर अहिले त्यस्तो छैन, मन्दिर परिसर फराकिलो भएको छ, भिरालो जग्गामा तारबार गरिएको छ, मन्दिर परिसरमै सडक पुगेको छ तर मुख्य मन्दिर ३३ वर्षयता उस्तै छ ।” उनका अनुसार मन्दिरको प्रचारप्रसार र महिमा पछिल्लो समय बढेको भए पनि मन्दिर जीर्णोद्वारमा भने कसैको नजर पुगेको छैन ।
पाठकले भैरवस्थान आउने सडक बनेको, अन्य पूर्वाधार बनेको भन्दै मन्दिर पुनःनिर्माण गरी भव्य बनाउन आवश्यक रहेको बताउनुभयो । एक दशकयताको सर्वसिद्धिधाम पञ्चकोटमा अहिले बनेको भौतिक संरचना देख्दा यो तीन सय वर्षभन्दा पुरानो मन्दिर जीर्णोद्वारमा कसैको ध्यान नपुगको देख्न सकिन्छ ।
विसं २०४७ मा रु ५० हजार लागतमा मर्मत सम्भार गरिएको बलेवा कालभैरव मन्दिरकोस्वरुप अझै उस्तै छ । पछिल्लो समय मन्दिरका नाममा लाखौँ बजेट खर्च भइरहे पनि मुख्य मन्दिर भने जीर्ण अवस्थामै छ । मन्दिर वरपरको भाग चिरिच्याट्ट पारिएको छ । ढुङ्गा छापिएको छ । सत्तल र कार्यालय भवन निर्माण गरिएको छ ।
ढुङ्गा माटोको मन्दिरलाई पुनःनिर्माण गरी ३३ वर्ष अघि केही ठूलो बनाइएको थियो । अहिले मन्दिरको रेलिङको केही भाग चर्किएको समेत छ । मन्दिरसमेत साँघुरो र पूजा गर्न समस्या भएको हुन थालेको छ ।
मन्दिरको क्षेत्रफल बढाउन रु .५० लाख लागतमा बागलुङ नगरपालिकाले पक्की पर्खाल बनाएको, तारबार गर्न सहयोग गरिरहेको छ भने गण्डकी प्रदेश सरकारले मन्दिर वरपरको क्षेत्रमा लगानी गरिरहेको छ । कालभैरव मन्दिरको मुख्यस्वरुप भने जीर्ण बनेको र पुनःनिर्माणको आवश्यकता खड्किएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले बताए ।
“मन्दिरको २०४७ सालयता मर्मत हुन सकेको छैन । मन्दिरको पुनःनिर्माण आवश्यक छ, मन्दिर व्यवस्थापन समिति नहुँदा जीर्णोद्वारको काम प्रभावित बन्यो, ६ वर्षपछि बल्ल मन्दिर व्यवस्थापन समितिले पूर्णता पाएको छ”, ढकालले भने “मन्दिरको निर्माणको डिपिआर बनाएर अघि बढ्छौँ, डिपिआरपछि बजेटको माग गरिनेछ, अहिले मन्दिरमा कोषसमेत वृद्धि भइरहेको छ, केहीवर्षपछि कोषलेनै सानोतिनो काम गर्न सक्छ ।”
ढकालका अनुसार मन्दिर जीर्णोद्वारका लागि डिपिआर निर्माण यसैवर्ष व्यवस्थापन समितिले गर्ने छ । वार्षिक रु नौ लाख ठेक्कामा भेटीबाट राजस्व उठाउँदै आएको मन्दिरले व्यवस्थापन समितिलेनै पूजा गराउँदा कोष वृद्धि हुने योजनामा पनि छ । बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको कालभैरव मन्दिर भकुण्डे र रायडाँडासँगसमेत सिमाना जोडिएको छ । मन्दिरको प्रचारप्रसारका कारण टाढाटाढाबाट दर्शनार्थी आउने भए पनि उनीहरुलाई खानेपानी, आश्रयस्थल लगायतको पनि अभाव छ ।
विसं १७८० तिर पाल्पाबाट ल्याइएका कालभैरवलाई यहाँ स्थापना गरिएको किम्मदन्ती छ । मन्दिरमा मङ्गलबार र शनिबार विशेष पूजा हुनेगर्दछ भने दसैँ र चैते दशैमा मन्दिरमा दर्शनार्थीको बढी भीड लाग्ने गरेको मन्दिरका पुजारी पदमबहादुर शाहीले बताए ।
मनोकांक्षा पूरा हुने जनविश्वासका कारण पछिल्लो समय मन्दिरमा दर्शनार्थीको सङ्ख्या बढ्दै गइरहेको छ । चालु आर्थिक वर्षमा मन्दिर प्रवेशद्वार र फूलप्रसादको व्यावसायिक सटर निर्माण गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







