काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कुनै पनि व्यवसाय फस्टाउनका लागि बजारीकरण आवश्यक रहेकामा जोड दिएका छन् ।
रेडियो र टेलिभिजनको व्यवसाय प्रवर्द्धनमा संलग्न जनशक्तिका लागि विज्ञापन बोर्डले आज यहाँ आयोजना गरेको क्षमता विकास कार्यक्रममा उनले आजको युग बजारीकरणको भएको बताउँदै जुनसुकै व्यवसाय बजारीकरणबिना फस्टाउन नसक्ने उल्लेख गरेका छन् ।
मन्त्री शर्माले भने, “व्यवसाय फस्टाउनका लागि बढी व्यावसायिक र सीपयुक्त बनाउन आवश्यक छ । यो कार्यक्रमले बजारीकरणमा काम गर्नेलाई थप प्रोत्साहन गर्ने विश्वास छ ।” रेडियो र टेलिभिजन तुलनात्मक बढी प्रभावकारी सञ्चारमाध्यम भएको उल्लेख गर्दै उनले यसबाट प्रसारित हुने सामग्रीको विषयका बारेमा ध्यान पुर्याउन आग्रह गरेका छन् ।
“कहिलेकाहीँ विज्ञापन प्रसारण गर्दा पनि संविधान र प्रचलित कानुनको प्रावधानविपरीत हुने गरेको पाइएकाले त्यसमा पनि ध्यान पुर्याउनुपर्छ । बहुविवाह र छुवाछुतविरुद्ध सकारात्मक सन्देश प्रवाह हुने उद्देश्यले प्रसारण गरेका सामग्रीले पनि कसैको भावनामा चोट पुर्याउन हुँदैन”, मन्त्री शर्माले भने ।
विज्ञापनमा हुने चुहावट नियन्त्रणका लागि विज्ञापन नियमावली संशोधन गरिएको जानकारी गराउँदै मन्त्री शर्माले अब यस क्षेत्रमा विज्ञापन एजेन्सीले १५ प्रतिशत मात्र शुल्क लिन पाउने व्यवस्था गरिएको जानकारी दिए । उनले आथिक मन्दीको प्रभाव विज्ञापन क्षेत्रमा पनि परेकाले विज्ञापनबापत कम रकम पाउँदा सञ्चारमाध्यमले श्रमजीवी पत्रकार र कामदारको पारिश्रमिक दिन नसकेको गुनासो सुनिएको सन्दर्भमा यसले केही हदसम्म समस्या समाधान गर्ने विश्वास व्यक्त गरेका छन् ।
मन्त्री शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ठूलो सङ्घर्ष गरेका मिडियाको प्रवर्द्धन गर्न सरकारले आवश्यक पहल गरिरहेकोसमेत बताए ।
कार्यक्रममा बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन बजार नियमनका लागि बोर्डले विभिन्न काम गरिरहेको जानकारी गराउँदै आगामी फागुनदेखि बोर्डबाट पारित गरेरमात्र विज्ञापन प्रसारण गर्न पाइने व्यवस्था गर्न लागिएको बताए ।
नेपाल विज्ञापन सङ्घका अध्यक्ष सुदीप थापाले विज्ञापन बजार खुम्चिएकाबेला हरेक सञ्चारमाध्यमले एकअर्काको अस्तित्व स्वीकार गरेर काम गर्दामात्र सञ्चार उद्योग जोगिने धारणा व्यक्त गरेका छन् ।
बोर्डका सदस्य चेतन अधिकारीले हालसम्म समाचारमा संलग्न जनशक्तिका लागिमात्र विभिन्न कार्यक्रम हुने गरेको अवस्थामा बोर्डले व्यस्थापनमा संलग्न जनशक्तिलाई लक्षित गरी यो कार्यक्रम गरेको बताए । दुई दिनसम्म हुने उक्त कार्यक्रममा विभिन्न सञ्चारमाध्यमको व्यवस्थापन र बजार क्षेत्रमा कार्यरत व्यक्तिको सहभागिता छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यस्तो छ आज बिदेशी मुद्राको नेपाली मूल्य
- विष्णु पौडेलको गिरफ्तारीप्रति ओलीको आपत्ति, सरकारमाथि प्रतिशोधको आरोप
- हालान्ड चम्किँदा नर्वे विश्वकपको नकआउट चरणमा
- नगरकोटमा चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ
- आज पहाडी क्षेत्रमा पानी पर्ने, तराईमा तातो लहर
- प्रतिनिधि विवादले रास्वपाको बन्दसत्र भोलिसम्म स्थगित
- एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
- बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २४ जना घाइते



ट्रेन्डिङ
खबरमुकाम






