कास्की । पोखरा बजार क्षेत्रमा छाडा छाडिएका पशु चौपाया व्यवस्थापनका लागि पोखरा-१४ बाच्छेबडुवामा गोकुल धाम (गौशाला) सञ्चालनमा ल्याइएको छ । सो गौशाला सञ्चालनको दिगो स्रोत खोजी गर्ने उद्देश्यले गत पुस २६ देखि माघ ४ गतेसम्म आयोजना गरिएको महायज्ञबाट नगद र जिन्सी गरी रु ५८ लाख २२ हजार एक सय ८२ जम्मा भएको महायज्ञ आयोजक राष्ट्रिय परोपकार महासङ्घ नेपालले जनाएको छ ।
सप्ताहव्यापी महायज्ञको ३५ हजार बढी दानदाता तथा भक्तजनले कथा श्रवण गरेका आयोजकले बताएको छ । महायज्ञबाट सङ्कलित रकम गौ सेवा तथा गौशाला व्यवस्थापनमा खर्च गरिने छ । हाल गौशालामा दुई सय बढी गाई संरक्षित छन् । राष्ट्रिय परोपकार महासङ्घका केन्द्रीय अध्यक्ष एवं पुष्करिणी परोपकार गोकुलधामका परिकल्पनाकार भागवत आदिशास्त्रका वाचक युवा पण्डित कमलनयन गौतमले बोलीमा मात्र सीमित गौ सेवाको अभियानलाई व्यावहारिक बनाउने उद्देश्यले घचघच्याउनका लागि गोकुलधामको प्रारम्भ गरिएको बताए ।
आफूहरू गौशाला परिसरमा तीन सय ६५ प्रजातिका डालेघाँसका बिरुवा रोप्ने अभियानमा रहेको युवा पण्डित गौतमले बताए । गो बंस र मानव सभ्यता एकै ठाउँमा रमाउन सक्ने प्राणी हुन् भन्ने कुरा जगत्लाई स्मरण गराउनका लागि यो अभियानको थालनी गर्न लागिएको उनले बताए । गौशालाले विशुद्ध गौमातासँग जोडिएर गर्न सकिने उपचारका पद्धतिहरू, अध्ययनका विद्याहरू, प्रशोधनपश्चात् मानवका लागि आवश्यक सामग्री उत्पादन गर्दै आगामी दिनमा यसलाई आत्मनिर्भर बनाउने दिशातर्फ लैजाने योजना समेत गौतमले सुनाए ।
पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले फोहरमैला र छाडा पशु चौपायाको व्यवस्थापन चुनौतीपूर्ण भइरहेका बेला महानगरको सहयोग तथा राष्ट्रिय परोपकार महासङ्घको व्यवस्थापनमा गोकुलधाम सञ्चालन भएपछि पोखराको सहरी सौन्दर्यीकरण र सडक सुरक्षामा महत्त्वपूर्ण सहयोग पुगेको बताए ।
गोकुलधाम (गौशाला) व्यवस्थापनका सन्दर्भमा पोखरा महानगरपालिकाका तर्फबाट आवश्यक सहयोग गरिने उनले बताए। गोकुलधामलाई पोखराको नयाँ पर्यटकीय गन्तव्य तथा अध्ययन अवलोकनको एक उत्कृष्ट एवं पवित्रस्थलका रूपमा विकास गर्ने गरी सहयोग गर्न महानगरपालिका प्रतिबद्ध रहेको उपप्रमुख गुरुङले बताए ।
भौतिक विकासका अलवा सामाजिक, शैक्षिक, सांस्कृतिक, वातावरणीय र मानव संसाधनको विकाससमेत अपरिहार्य रहेको उल्लेख गर्दै उनले परम्परागत संस्कार र संस्कृतिको समेत रक्षा गर्नुपर्ने बताए ।
कुनै पनि पशुचौपाय अनुत्पादक भएपछि त्यसलाई सडकमा छोड्ने कार्य दण्डनीय हुने भन्दै त्यस्तो कानुन विपरीत र अमानवीय कार्य नगर्न तथा नगराउनु उनले आग्रह गरे ।
पोखरा महानगरपालिका–१४ का वडाअध्यक्ष बोधबहादुर कार्कीले धार्मिक रूपमा महत्त्व बोकेकी गौ माताको सेवाका लागि अब टाढाको तीर्थ जानु नपर्ने भन्दै त्यसका लागि गोकुलधाम नै काफी हुने बताए ।
गौशाला व्यवस्थापनमा पोखरा महानगरपालिकाले पूरा गर्नुपर्ने दायित्व देखिने बहन गर्न प्रतिबद्ध हुनुपर्ने उनले बताए । वर्षौंदेखि फोहर फ्याँक्ने स्थलका रूपमा परिचित पोखरा–१४ सुव्यवस्थित गौशाला सञ्चालनले पवित्रस्थलका रूपमा विकसित हुँदै गएको उनले बताए । अध्यक्ष कार्कीले वडा कार्यालयका तर्फबाट रु पाँच लाख र आफ्नो व्यक्तिगत तर्फबाट रु एक लाख १५ हजार दान सहयोग प्रदान गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







