भारतद्वारा शेख हसिनाको सम्बोधन रोक्न अस्वीकार 

काठमाडौं । भारतले आफ्नो भूमिमा हुने बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको सम्बोधन रोक्न अस्वीकार गरेको छ । हसिनाले आज भारबाट गर्न लागेको भर्चुल सम्बोधन रोक्न बंगलादेशको परराष्ट्र मन्त्रालयले गरेको आग्रह अस्वीकार गरिएको हो । 

उनले आज भारतको नयाँ दिल्लीमा आयोजना हुने फरेन करेस्पोन्डेन्ट्स क्लब अफ साउथ एसियाको कार्यक्रममा अनलाइनमार्फत सम्बोधन गर्ने घोषणा गरेकी छन् । बंगलादेश सरकारले भारतसँग उनको सम्बोधन रोक्न आग्रह गरेको छ ।

भारत सरकारले भने हसिनाको अनलाइन सम्बोधनसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ । विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले पत्रकार सम्मेलनमा भने, “यो कार्यक्रम एउटा निजी मिडिया संस्थाले आयोजना गरिरहेको हो । भारत सरकारको यससँग कुनै संलग्नता छैन । यस मञ्चमा व्यक्त गरिने कुनै पनि विचारलाई सरकारले समर्थन गर्दैन ।”

बंगलादेश छाडेपछि ५ अगस्ट, २०२४ यता शेख हसिना पहिलोपटक कुनै सार्वजनिक कार्यक्रममा देखिन लागेकी हुन् ।

यो कार्यक्रम फरेन करेस्पोन्डेन्ट्स क्लब अफ साउथ एसिया (एफसीसीएसए)ले गर्दै छ । एफसीसीएसए नयाँ दिल्लीस्थित पत्रकारहरूको संस्था हो, जसको स्थापना सन् १९५८ मा भएको थियो । हसिना यही संस्थाको कार्यक्रममा भिडियो लिंकमार्फत सहभागी हुने बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार कार्यक्रम साँझ ६ बजेदेखि ७ः३० बजेसम्म सञ्चालन हुनेछ । बंगलादेशले सोमबार भारतसँग शेख हसिना वा प्रतिबन्धित संगठनसँग सम्बन्धित कुनै पनि व्यक्तिलाई भारतको भूमिबाट राजनीतिक भाषण दिन वा बंगलादेशमा अस्थिरता फैलाउन सक्ने गतिविधि गर्न अनुमति नदिन आग्रह गरेको थियो ।

ढाकाको भनाइमा यदि, कुनै ‘भगौडा’ नेतालाई भारतको भूमिबाट राजनीतिक गतिविधि गर्न अनुमति दिइयो भने त्यसले दुवै देशबीच सुधारिँदै गएको सम्बन्धमा नकारात्मक असर पार्न सक्छ ।

यो विषय सोमबार बंगलादेशका प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार हुमायुँ कबिर र ढाकास्थित भारतीय उच्चायुक्त दिनेश त्रिवेदीबीच भएको भेटवार्तामा पनि उठाइएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै