हिन्दू र बौद्घ दुवै धर्मावलम्बीकोे आस्थाले पुकार्ने धाम मुक्तिनाथ

जीवनमा एकपटक जानै पर्ने ठाउँ हो हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले आस्थाले पुकार्ने धाम मुक्तिनाथ । मुक्तिनाथको रमणीयता देखेपछि स्वर्गयात्राको अनुभूति हुन्छ– साँच्चिकै मुक्ति मिलेको अनुभूति हुन्छ । सनातनी हिन्दू र बौद्वमार्गीहरुको आस्थाको पवित्र तीर्थस्थल भन्नेबित्तिकै यसको महत्व बुझिसक्नुभयो होला– जानुभएको छैन भने ढिलो, चाँडो जाने योजना बनाउनुहोला ।

हिमाल पारीको जिल्ला मुस्ताङको ‘मुक्तिनाथ’ मन्दिर समुन्द्र सतहदेखि तीन हजार सात सय १० मिटरको उचाइमा अवस्थित छ । त्यसैले त्यहाँ जाँदा केही पूर्वतयारी गर्नुपर्छ । पहाडबाट एक्कासी हिमालको उच्चस्तरमा जाँदा मानिसमा कमी हुने ‘अक्सिजन’ नै हो ।

सनातनीहरुको मुक्ति क्षेत्र मुक्तिनाथ । बौद्वमार्गीहरु छुमिङ ग्यात्सा (सय पानी) भन्छन् । मुक्तिनाथ मन्दिरमा एकसय आठ धाराका साथै र पाप र धर्म दुई कुण्ड र विष्णु भगवानको मूतिको दर्शन गर्न पाइन्छ । हिमालयको काखबाट बगेर भारत पुग्ने गङ्गा र भागीरथी यात्रा गरे पनि कालीगण्डकी नदीमा स्नान नगर्दासम्म मुक्ति प्राप्त हुँदैन भन्ने मान्यता राख्छन् दक्षिण भारतीय साधकहरू ।

नेपालमा चारधाम पशुपति क्षेत्र, मुक्तिनाथ, रुरुक्षेत्र र वराहक्षेत्र हुन् । ने मुनिले पाँचहजार बर्षभन्दा पहिले नामाकरण गरिदिएको मुक्तिनाथ क्षेत्र ‘गण्डक’ क्षेत्रले पनि चिनिन्छ । यही गण्डकी नदीको माथिल्लो भाग मुक्तिनाथबाट बगेर आउने नदी रुरुक्षेत्र, देवघाटबाट नवलपरासीको त्रिवेणीधाम हुँदै उत्तरदेखि दक्षिणक्षेत्रसम्म बगेको छ । त्रिवेणीधामलाई शास्त्रमा ‘गजेन्द्रमोक्ष’ भनिन्छ ।

जमिनमुनीबाट बलिरहेको ज्वालाको दर्शन र त्यहाँबाट देखिने दृश्यले कयौं दिन लगाएर मुक्तिनाथ पुगेको सबै दुःख भुल्ने गरिन्छ । ‘शालिग्राम भगवान’ (कालो ढुङ्गाको शीला) संसारमा एकमात्र नदी गण्डकीमा पाइन्छ । शालिग्राम पाइने गण्डकी नदीमा सुन समेत पाइन्छ । अर्थात शालिग्रामभित्र सुन पनि भेटिन्छ ।
पतिव्रता स्त्री वृन्दाले भगवान श्री विष्णुलाई ढुंगा हुनु परोस् भनेर श्राप दिएकाले भगवानले गण्डक क्षेत्रमा कालो शालिग्राम शीला भई बसेको हुनाले गण्डकी नदीलाई ‘कृष्णाभा’ पनि भनिन्छ । 

सबै धाम क्षेत्रलाई ‘नाथ’ शब्दसँग नेपालका ‘पशुपतिनाथ’ ‘मुक्तिनाथ’ र हिन्दुस्तानमा रहेको ‘काशी विश्वनाथ’ र ‘जगन्नाथ’ यात्राका लागि हजारौं यात्री प्रेरित हुने गरेका छन् । तीर्थयात्रीले मुक्तिनाथको बारेमा सोधे भने मैले भन्ने गरेको अर्को बाक्य हो, ‘जीवात्माहरुको मुक्ति हुने स्थान हो मुक्तिनाथ क्षेत्र ।’

मुक्तिनाथ यात्रामा जाँदा मौन बस्नु निकै फाइदा हुन्छ श्वासप्रस्वासका लागि भनेपछि फर्कदा मुक्तिनाथ यात्रा पछिको आनन्द स्वंम यात्रीले अनुभव गर्छन् । ‘मन, वचन र कर्म पवित्र हुने यस्तो क्षेत्रमा आउँदा मौन बस्नु र मुक्तिको कामना गर्नु’ भनेर यात्रीलाई सिकाइन्छ ।

त्यहाँ १ सय ८ धारा र दुई कुण्डमा स्नान गरेपछि (मन्दिरभित्र रहेको चतुर्वाहु भगवान विष्णुको मूर्तिमा तामाको ढलौटबाट बनेको दायाँ, बायाँ दुवै सरस्वती र लक्ष्मी धातुका मूर्ति पनि छ) मूल मन्दिरको एकापट्टी कुनोमा सानो प्वालभित्र हात राखेर माग्ने चलन छ । त्यसपछि ब्रह्माजीले यज्ञ र अनुष्ठान गरेको स्थलमा अहिले ज्वालामाईको मन्दिर छ, अहिले पनि त्यहाँ अखण्ड ज्वाला निस्केको प्रत्यक्ष दर्शन गर्न सकिन्छ । 

मन्दिरभित्र भगवान् मुक्तिनाथको तामाको मूर्ति रहेको छ । मुक्तिनाथको मूर्तिको दायापट्टि उभिएको लक्ष्मीको मूर्ति र बाँयापट्टि उभिएको सरस्वतीको मूर्ति रहेको छ भने तामाको छानो भएको यस मन्दिरको पित्तलको गजुरमा सुनको जलप लगाइएको छ । मुक्तिनाथको दर्शनको लागि विशेषतः चैत्राष्टमी, रामनवमी, ऋषितर्पणी, बडादशैं आदिपर्वहरु महत्वपूर्ण मानिन्छन्। यसका अलवा मनले चिताएको पुग्ने विश्वासका साथ यहाँ पुग्नेले १ सय ८ धारा र २ वटा कुण्डमा जम्नै लागको पानीमा स्नान गर्ने गर्छन् ।

मुक्तिनाथको पौराणिकतामा के छ ? 

मुक्तिनाथ १०८ दिव्य देशहरूमा एक स्थान हो । यो ‘दिव्य देश’ वैष्णवहरूको पवित्र मन्दिर हो । पारम्परिक रूपमा भगवान विष्णुको शालिग्राम शिलाको रूपमा पूजा गरिन्छ । यस शिलाको निर्माण यस्तो प्रागैतिहासिक कालमा पाइने किराको जीवाश्मबाट भएको थियो, जो मुख्यतः टेथिस सागरमा पाइन्थे । जहाँ टेथिस सागर अवस्थित थियो त्यहाँ अब हिमालय पर्वत छ । पौराणिक मान्यताहरूका अनुसार शालिग्राम शिलामा विष्णुको निवास हुन्छ । 

यस सम्बन्धमा अनेक पौराणिक कथाहरू पनि प्रचलित छन् । यिनै कथाहरूमा एक कथाका अनुसार जब भगवान शिवले जालन्धर नामक असुरसँग युद्धमा जित्न सकेका थिएनन् त्यो बेला भगवान विष्णुले उनको मद्दत गरेका थिए । कथाहरूमा भनिएको छ– जबसम्म असुर जालन्धरकी पत्नी वृन्दाले आफ्नो सतीत्व बचाएर राखेकी थिइन् तबसम्म जालन्धरलाई कसैले पनि पराजीत गर्न सक्दैनथ्यो । यो अवस्थामा भगवान विष्णुले जालन्धरको रूप धारण गरेर वृन्दाको सतीत्वलाई नष्ट गर्ने काममा सफल भएका थिए । जब वृन्दालाई यस कुराको थाह भयो त्यो बेलासम्म भगवान शिवले जालन्धरको बध गरिसकेका थिए । 

यसैले वृन्दाले भगवान विष्णुलाई शिला, रुख, झारपात र घाँस भएर जीवन व्यतीत गर्नु परोस् भनेर श्राप दिएकी थिइन् । फलस्वरूप कालान्तरमा जो हिन्दू धर्मका आराध्य हुन् ती विष्णुले भगवान शालिग्राम शिला, पिपल, तुलसी र कुश भएर जन्म लिनु परेको थियो । पुराना दन्त्यकथाहरूका अनुसार मुक्तिक्षेत्र त्यस्तो स्थान हो जहाँ मोक्षको प्राप्ति हुन्छ । यसै स्थानमा भगवान विष्णु शालिग्राम शिलामा निवास गर्दछन् । मुक्तिनाथ बौद्ध धर्मावलम्बीहरूका लागि पनि एक महत्वपूर्ण स्थान हो । यसै ठाउँको बाटो भएर उत्तरी–पश्चिमी क्षेत्रका महान बौद्ध भिक्षु पद्मसम्भव बौद्ध धर्मको प्रचारप्रसारका लागि तिब्बत गएका थिए ।

वि. सं. २०६२ सालको मंसिर महिनामा मुक्तिनाथका पिठाधिश्वर कमलनयन आचार्य लगायत लाखौं नेपाली भक्तजनहरूले नेपाललाई तत्कालीन दन्द्वबाट मुक्ति मिलोस् भनेर मुक्तिनाथका १०८ शालिग्रामलाई हरिद्वारमा लगेर गङ्गाको तटमा सवालाख गाइको दूधले नुहाएर सवाकरोड बत्ती बाली पूजा गरेका थिए । यसरी सवा लाख गाईको दूधले शालिग्राम नुहाएको समयमा गङ्गाजीको पानी पुरै सेतो देखिएको थियो भने सवा करोड बत्ती बालेको समयमा रातीमा पनि पुरै गङ्गाको तट दिनको उज्यालो झैं झिलिमिली देखिएको थियो र शहर भरी घिउको बत्ति बालेको वासना फैलिएको थियो । भनिन्छ, मुक्तिनाथको पूजापछि लामो समयसम्म चलेको गृहयुद्वबाट नेपालले मुक्ति पाएको थियो ।

कसरी जाने ?

जोमसोम अर्थात मुक्तिनाथ जान पछिल्लो समय धेरै नै सजिलो बनेको छ । देशका प्रमुख शहरहरुबाट सजिलै गाडिहरु पाउन सकिन्छ । अझ काठमाडौँबाट सोझै मुक्तिनाथसम्मको गाडी पनि पाइन्छ ।

यदि तपाई काठमाडौँ तथा अन्य जिल्लाहरुबाट मुक्तिनाथ दर्शन गर्न तथा घुम्न जाँदै हुनुहुन्छ भने भाडाको गाडी चढेर पुग्न सस्तो पर्दछ । देशका विभिन्न शहरहरुबाट गाडि चढ्नुहोस् र पोखरा वा म्याग्दीको बेनी पुग्नुहोस् र बेनीबाट बिहानको समयमा सिधै जोमसोमको लागि बस र जीप पाइन्छ । तर पर्यटक बढी जाने सिजनमा टिकट पाउन अलि गाह्रो पर्दछ ।

यदि तपाईंले टिकट पाउनुभएन भने बेनीबाट मुस्ताङको घाँसासम्म पुग्नुहोस्, त्यहाँबाट जोमसोमको बस पाइन्छ । जोमसोम पुगेपछि कागबेनी मुक्तिनाथसम्म सजिलै बस जीप पाइन्छ । यदि तपाईंले माथिल्लो मुस्ताङ पनि घुम्ने योजना बनाउनुभएको छ भने कागबेनीबाट छुसाङको गाडि चढ्नुुहोस् र त्यहाँबाट लोमान्थाङसम्म जीपको यात्रा गरेर पुग्नुहोस् ।

खर्च कति लाग्छ ?

मुक्तिनाथ कागबेनी र जोमसोम लगाएका ठाउँ घुमेर फर्कन लगभग १० हजार भए पुग्छ । हामीले काठमाडौँ देखि मुक्तिनाथ सम्मको खर्चको हिसाव गरेका छौँ ।
तर विभिन्न शहरहरुबाटको खर्च थोरै मात्रामा फरक हुन सक्छ । पहिलो दिन काठमाडौंबाट ८ सय रुपैयाँमै बेनी पुगिन्छ । बेनीमा ५ सय रुपैयाँमा होटल पाइन्छ र खाना पनि त्यति महँगो छैन् । दोस्रो दिन बेनीबाट ९ सय रुपैयाँमा जोमसोम पुगिन्छ । त्यहाँ १ हजारमा कोठा पाइन्छ । यहाँ अलि खाना महँगो छ । यहाँ ५ सय रुपैयाँ छाक खाना पाइन्छ ।

तेस्रो दिन जोमसोबाट करिब ३ सय रुपैयाँ भाडामा मुक्तिनाथ पुगिन्छ । मुक्तिनाथ दर्शन पश्चात यहि रुट भएर र्फकन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै