बौद्घ, हिन्दु, क्रिश्चियन र बोन धर्मवालम्बीहरुको आस्थाका केन्द्रको रूपमा परिचित छ ‘शैलुङ’

प्राकृतिक सम्पदाले भरिपूर्ण ‘शैलुङ’को नाम तामाङ भाषाबाट राखिएको हो । जसको अर्थ तामाङ भाषामा “शै” भनेको सय र “लुङ” भनेको थुम्का भन्ने बुझिन्छ । सयाैँ थुम्काहरूकाे समूह मिलेर शैलुङ बनेकाे छ ।

नेपाललाई त्यसै कसैले पृथ्वीको ‘ह्याङ्गिङ्ग गार्डेन’ भनेको होइन । कसैले बिनसित्ति किन कुनै ठाउँलाई स्वर्गको उपनाम दिन्थे । विविधताले भरिपूर्ण देश नेपालमा वास्तवमै स्वर्गको अनुभूति दिलाउने सुन्दरता छ । तिनै ठाउँ मध्ये थुम्कै-थुम्काको एक गाउँपालिका  हो, शैलुङ ।

प्राकृतिक सम्पदाले भरिपूर्ण ‘शैलुङ’को नाम तामाङ भाषाबाट राखिएको हो । जसको अर्थ तामाङ भाषामा “शै” भनेको सय र “लुङ” भनेको थुम्का भन्ने बुझिन्छ । सयाैँ थुम्काहरूकाे समूह मिलेर शैलुङ बनेकाे छ । प्राकृतिक, सांस्कृतिक तथा पुरातात्त्विक पर्यटनको राम्रो सम्भावना बोकेको शैलुङ गाउँपालिका बर्खायाममा घुम्न जाने योजना बनाउनु त्यति उचित नहोला । पछिल्लो समय निरन्तर परिरहेको झरीका कारण सडकको अवस्था बिग्रिएकाले अहिले त्यति पर्यटक शैलुङसम्म जाने गरेका छैनन् । यद्यपि बर्खायाममा पर्यटकहरूमा कमी आए तापनि हिउँद तथा अन्य मौसममा पहिलाको दाँजोमा पर्यटकको सङ्ख्या बढ्दै गइरहेको शैलुङ गाउँपालिकाका सूचना अधिकारी सन्तोष दाहालले बताए ।

शैलुङसम्म पुग्न काठमाडौँबाट मुढेसम्मको सार्वजनिक या व्यक्तिगत यातायात प्रयोग गर्न सकिन्छ । लोकल गाडीहरूले पर्यटकलाई ढुङ्गेसम्म लैजान्छन् । ढुङ्गेबाट अगाडी कालापानीसम्म पुग्न ३ किलोमिटरको बाटो तय गर्नुपर्छ, जसको लागि पैदल यात्रा गर्न सकिन्छ या भाडाका साना गाडी लिएर अघि बढ्न सकिन्छ । कालापानीबाट करिब एक घण्टाको यात्रा तय गरेपश्चात् ‘शैलुङ डाँडा’सम्म पुग्न सकिन्छ । हवाईमार्ग हुँदै हेलिकप्टर प्रयोग गरेर जाने इच्छुक पर्यटकले पनि ढुङ्गेमा अवतरण गर्नुपर्ने हुन्छ ।

शैलुङ गाउँपालिका पुगिसकेपछि घुम्नै पर्ने केही ठाउँमध्ये पहिलो शैलुङ डाँडा रहेको छ । प्रकृतिको काखमा बसेर आफ्ना सारा पिडाहरू भुलाउन यो डाँडा पुग्नेहरूको सङ्ख्या दिनदिनै बढिरहेको छ । १०८ वटा थुम्का-थुम्कीले बनेको मनमोहक शैलुङ डाँडा पुग्दा हृदय पुलकित हुन्छ । त्यसैगरि डाँडाबाट लगभग २१० देखि २२० डिग्रीको पेरिफेरीमा जुगल, गणेश, गौरीशङ्कर आदि हिमाल हाँसिरहेको देख्न सकिन्छ ।

गाउँपालिकामा घुम्ने दोस्रो स्थान चनावती धाम रहेको छ । धार्मिक पर्यटनको राम्रो सम्भावना बोकेको उक्त ठाउँ तामाकोशी र चनावती खोलाको सङ्गममा रहेको छ । धाममा हिन्दु धर्मावलम्बी विशेषगरि स्नान आदिका लागि जाने गरेका छन् । सो ठाउँमा अहिले करिब ५ करोडको लगानीमा वृद्धाश्रम निर्माण समेत भइरहेको दाहालले बताए ।

शैलुङमा घुम्ने तेस्रो ठाउँ नाबङखर्क डाँडा रहेको छ । जहाँबाट दोलखा-रामेछाप-सिन्धुपाल्चोक आदि स्थानको दृश्यावलोकन गर्न सकिन्छ । आखिर अग्लो ठाउँबाट संसार हेर्नुको मजा नै छुट्टै छ ।

चौथो स्थान राजा गोल्माको दरबार रहेको छ । पुरातात्त्विक हिसाबले महत्त्वपूर्ण यस स्थानमा उक्त दरबारको भग्नावशेष देख्न सकिन्छ, जसलाई गाउँपालिकाले संरक्षण गर्दै आइरहेको छ । यसको लागि बजेट समेत व्यवस्था गरिएको दाहालले जानकारी दिए । करिब १७ औँ शताब्दीतिर निर्माण भएको उक्त दरबार तामाङ राजा गोल्माको दरबार रहेको उनले बताए । सन्तान नभएपछि सो राजवंश सकिएको थियो ।

गाउँपालिकाले शैलुङको तल्लो क्षेत्र कालापानीमा जग्गा भाडामा लिएर पर्यटकको सुविधाका विभिन्न भौतिक संरचना बनाउने योजना बनाएको थियो तर अख्तियारमा मुद्दा परेका कारण हाल त्यो योजना रोकिएको छ । प्रचार-प्रसारको र सुविधाको कमीले गर्दा शैलुङ घुम्न जाने बाह्य पर्यटकहरू निकै थोरै रहेका छन् । मौखिक प्रचार-प्रसारका कारण आन्तरिक पर्यटकमा भने यसको लोकप्रियता बढिरहेको छ ।

प्राकृतिक रूपमा सम्पन्न शैलुङको पर्यटन प्रवर्धनका लागि विभिन्न भौतिक संरचना निर्माण भइरहेको छ । जसमा करिब ५०० मिटर लम्बाइको मिनी ग्रेटवाल एक रहेको छ भने शिलाबाट विशाल शिवको मूर्ति बनाइएको छ । त्यसैगरि कालापानी क्षेत्रसम्मको सडकलाई स्तरोन्नति गर्ने काम भइरहेको छ ।

वासस्थानको कुरा गर्ने हो भने कालापानीमा ३० जनासम्मलाई सिङ्गल बेड सहितको सुविधा उपलब्ध छ । ढुङ्गेमा ६० देखि ७० पर्यटकलाई बस्ने राम्रो सुविधा रहेको छ भने पर्यटकको चाप बढी भए देउराली बजारमा बास बस्नु पर्ने हुन्छ ।

हरेक क्षेत्रको आफ्नो मौलिक खानाका परिकार हुन्छन् । शैलुङमा चौरी पालन हुने भएकाले चौरीको दूधका परिकारहरू विशेष रूपमा चाख्नै पर्ने परिकारमा पर्छन् । त्यसैगरि यहाँ विभिन्न जडीबुटीका अचारको स्वाद समेत लिन सकिन्छ ।

कोरोना महामारीले असर गरेको शैलुङको पर्यटन प्रवर्धनका लागि विभिन्न योजनाहरू बनिरहेका छन् । जसअन्तर्गत चाँडै शैलुङ महोत्सव आयोजना हुन गइरहेको छ । आलु उत्पादनका लागि पनि विशेष रहेको शैलुङ गाउँपालिकाले आफ्नो उत्पादनलाई चिनाउन पहल गर्ने भएको छ । ठाउँ-ठाउँमा पाइने ‘मुढेको आलु’ भनेर चिनिने आलु शैलुङमा उत्पादन भएर मुढेमा भण्डारण हुने गरेको र सोही कारण शैलुङको आलुलाई बजारमा मुढेको आलु भनेर चिनिने गरेको अधिकारीले बताए । त्यसैगरि पर्यटकलाई आकर्षित गर्न विभिन्न प्याकेज गाउँपालिकाले तयार गरिरहेको उनले बताए ।

तामाङ र नेवार समुदायको अधिकतम बसोबास रहेको शैलुङ गाउँपालिकामा तामाङ समुदायको विशेष नाच, नेवार समुदायको झाँकी आदि पर्यटकको अनुरोध बमोजिम देखाउन सकिने दाहालले बताए । गाउँपालिकामा अन्यत्रभन्दा फरक किसिमले पन्चे बाजा बजाउने गरिन्छ । सांस्कृतिक रूपमा समेत सम्पन्न शैलुङ घुम्दा त्यहाँको संस्कृतिसँग पनि परिचय गर्न सकिन्छ ।

१२८.६७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको दोलखा जिल्लाको शैलुङ गाउँपालिका बौद्ध, हिन्दु, क्रिश्चियन र बोन धर्मवालम्बीहरुको आस्थाका केन्द्रको रूपमा परिचित छ । शैलुङ पर्वतको नामबाट गाउँपालिकाको नामाकरण भएको यस ठाउँसम्बन्धी स्थानीयहरू माझ विभिन्न किवदन्तीहरु प्रचलनमा रहेका छन् । प्रथम बुद्ध साङ्गे माह्मोर्चेले ज्ञान दिएको हुनाले पहिले यस पर्वतलाई साङ्गेलुङ भनिन्थ्यो पछि अपभ्रंश हुँदै शैलुङ रहन गएको समेत भन्ने गरिन्छ ।  समुन्द्री सतहबाट करिब ३४०० मिटर अग्लो यस स्थानमा बहुमूल्य जङ्गली जडीबुटी पाँचऔंले, चिराइतो, मजिटो, च्यातु लगायत पाउन सकिन्छ ।

प्राकृतिक, धार्मिक, ऐतिहासिक एवम सांस्कृतिक पर्यटनकाे सङ्गम हाे, शैलुङ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
100 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै