‘महायान’ र ‘हिनयान’-यी शब्दहरु सुरुमा सम्प्रदायको लागि प्रयोग गरिएका थिएनन्। हीनयानको अर्थ हो, ‘सानो रथ’ वा ‘सानो मार्ग’। यो उपाधि महायानको विरोधी निकायहरु, जो संख्यामा १८ थिए र जो बौद्ध धर्मका प्रारम्भिक निकाय थिए, लाई दिइएको थियो। यो शब्द प्रचलित हुन शताब्दीयौं लाग्यो। तर आजकल बौद्ध धर्मको प्राचीन रुप ‘हीनयान’ नै मानिन्छ।
यसरी नै महायान पनि यो नयाँ निकायको नाम मानिनदैन। यी दुबै नामले आपसी कटु सम्बन्धलाई प्रकट गर्दछन्। त्यसकारण मलाई के लाग्दछ भने यी शब्दहरुको सट्टामा अन्य शब्दहरु प्रयोग गर्नु उचित हुन्छ। मेरो विचारमा यसको लागि सबैभन्दा उपयुक्त शब्द “प्राचीन बौद्ध धर्म र विकसित बौद्ध धर्म” हो। तर यहाँ पाठकहरुको सुविधाको लागि यही शब्द राखिएका छन्।
संसारमा धेरै प्रकारका मानिसहरु पाइन्छन्। पहिलो, बुद्धिवादी (Rational) हुन्, जो केवल कारणलाई मान्यता दिन्छन्। तिनीहरु तपाईको विश्वास तबसम्म गर्दैनन्, जबसम्म तपाई उनीहरुको तर्कलाई शान्त/समाधान गर्नुहुन्न। दोस्रा, ती व्यक्तिहरु जो कारणको उतिसाह्रो वास्ता गर्दैनन्। उनीहरु भावप्रधान (Emotional)हुन्छन्। उनीहरु चित्तमा जुन कुरा जम्छ, त्यसमाथि विश्वास गर्दछन् र त्यसलाई पालना गर्दछन्।
सतहीरुपमा संसारमा बुद्धिवादी र भावप्रधान गरी २ प्रकारका मानिसहरु पाइन्छन्। एउटै प्रकारको धर्म वा विश्वासले सबैलाई सन्तुष्ट गर्न सक्दैन। हामी पनि एक धार्मिक विचारमा यस्तो भिन्नता अनुसार फरकपना देख्दछौं। त्यसैले बौद्ध धर्ममा पनि यस्तो हुनु स्वभाविक छ। भगवान् बुद्धले दुबै प्रकारका मानिसहरुलाई ध्यानमा राखेका थिए। प्राचीन बौद्ध धर्ममा पनि, जसलाई हीनयान भनिन्छ, दुई प्रकारका उपदेशहरु पाइन्छन्– एक जनसाधारणको सन्तोषको लागि र दोस्रो बुद्धिवादीहरुको लागि। यस सन्दर्भमा बुद्धले उपदेश दिने तरीका एकदमै भिन्न थियो। पालि त्रिपिटकका प्रसिद्ध सूत्रहरुमा बुद्धले कसरी भिन्न भिन्न प्रकारका मानिसहरुलाई उपदेश दिनको लागि भिन्न भिन्न ढंग र उपाय चाहिन्छ भनेर देखाएका छन्।

अब म तपाईहरुलाई एउट उदाहरण दिन्छु। एउट सानो बच्चा खेलौना हात्तीसंग खेलिरहेको छ। उसले साँच्चिकै असली हात्ती देखेको छैन। त्यसकारण खेलौनालाई हात्ती मानेको छ। एक युवाले उक्त बच्चाको भ्रमलाई देख्दछ र उसलाई वास्तविकता बताउन चाहन्छ। त्यसबेला उसले के गर्नुपर्छ? सबैभन्दा राम्रो तरीका उक्त बच्चाको बुध्दि आफ्नै हिसाबले बढ्न दिनुपर्छ। तर कहिले पनि उक्त बच्चाको हातबाट खेलौना हात्ती खोसेर टुक्रा गर्न हुन्न। यसरी नै वौद्ध धर्ममा प्रारम्भदेखि नै केही कम बुद्धि भएका व्यक्तिहरुको मानसिक सन्तोषको लागि स्थान थियो।
उदाहरणका लागि, सम्पूर्ण देवतागण, जो पालि र चिनियाँ त्रिपिटकहरुमा पाइन्छन्, माथि भगवान् बुद्धको विश्वास थिएन। तर त्यस समयका हिन्दुस्तानी जनसमुदाय उनीहरुलाई मान्दथे। यसमा अधिकाँश झुठा र विद्या/शिक्षाका विरुद्ध हुन सक्दछन्। यो संभव छ, प्राचीन बौद्धहरु यसबारे जानकार थिए। तर उनीहरु आम मानसिक वृत्तिलाई धक्का/नोक्सान दिन चाहदैन थिए। भगवान् बुद्धले अत्यन्त बुद्धिमत्तापूर्वक उनीहरुको अस्तित्व (status)लाई घटाएर एउटा सिद्धान्त बनाइदिए — प्राणीमात्रको जन्म र मृत्यु उसले गरेका कर्म अनुसार हुन्छ।
यो विचार भगवान् बुद्धभन्उा पहिले ज्ञात थिएन। प्राचीन देवताहरु फरक फरक थिए । तिनीहरु अजर अमर मानिन्थे। जब बौद्ध धर्म बिस्तारै बिस्तारै अन्य देशहरुमा फैलिदै गयो, तब ती ती ठाउँहरुमा जस्ता जस्ता विश्वासहरु पाउँदै गए, उस्तै उस्तै भाव धारण गर्दै गयो। यही अवस्था तिब्बत, चीन, बर्मा आदि देशमा भयो। उक्त स्थानका जनसमुदायहरु धेरै ग्राम देवता र अन्य देवताहरु पुज्ने गर्दथे। त्यसकारण उनीहरुलाई आफ्नो प्रिय देवताबाट अलग्याउन उचित ठानेनन्। किनकी निर्बल विचार भएकाहरु नै आफ्नो दुःखमा सहायताको लागि देवताकहाँ जाने गर्दछन्। र, यदि यहि सानो आशा पनि उसबाट खोस्दा ऊ असन्तुष्ट हुन सक्थ्यो।
मैले यसको उल्लेख किन गरेको भन्दा हीनयानका कतिपय मानिसहरु भन्दछन् – महायानले हजारौं देवता, धार्मिक क्रियाहरु र बलि आदि प्रथाहरु बनाए, जुन भगवान् बुद्धको साँचो उपदेशमा कहि पाइदैंन। म यी दुबै निकायका जनसाधारणका आम रितीरिवाजमा खासै भिन्नता देख्दिनँ। जनसाधारण आफूलाई समस्या पर्दा दैविक सहायता चाहन्छन्। हीनयानीहरुले महायानीहरुले जस्तै नयाँ नयाँ देवताहरुको उत्पत्ति गरेनन्। तर यसको अर्थ यो हैन कि उनीहरुले आफ्नो स्थानका जनसाधारणलाई नयाँ नयाँ देवता जन्माउन रोक्न सके…।
तपाईहरु देख्न सक्नुहुन्छ सिहांली हीनयानीहरु ब्राम्हण देवता, विष्णु र अन्य देवताहरुको पूजा गर्दछन्। बर्मा र थाइल्याण्डमा असंख्य देवताहरुको पूजा हुन्छ। यी सबै प्राचीन बौद्ध धर्मका लागि नयाँ हुन्। यिनीहरुको नाम प्राचीन पालि त्रिपिटकमा कहि पनि पाइन्नन्। त्यसकारण यदि महायानले नयाँ देवताहरुको खोज किन गरे भन्दा आम मानिसको लागि यसको आवश्यकता थियो। त्यसकारण महायान सम्प्रदायले धेरै देवताहरुको आविष्कार गरे र त्यो कार्य भगवान् बुद्धको वास्तविक उपदेशको विरुद्ध छ भन्नु ठीक छैन। यदि यो पाप हो भने दुबै पापी हुन्।

यसको अलावा हीनयानीहरु भन्दछन् – महायानी सूत्रहरु ऐतिहासिक आधार विरुद्ध छन्। तिनीहरु कपोलकल्पित कथाहरु जस्तै हुन्, जुन देवता र राक्षसहरुको कहानीले भरिएका छन्। र, कोही पनि बुद्धिवादी यसलाई ऐतिहासिक बुद्धको उपदेश मान्न सक्दैनन्। तर यहाँ पनि अन्तर केवल श्रेणीको हो। तपाईहरुले यो बुझ्नुपर्छ कि हीनयान भनेको प्राचीन बौद्ध धर्म हो र महायान भनेको विकसित बौध्द धर्म; जस्तो मैले पहिले नै भनिसकें। विकसितको अर्थ प्राचीनमा केही नयाँ थप। यसकारण महायानीहरु हीनयानी सूत्रहरु ऐतिहासिक बुद्धका उपदेश हैन् भनेर विमति राख्न सक्दैनन्।
हीनयानीहरु महायानीप्रति उनीहरुको साहित्य कपोलकल्पित कथाहरुले भरिएका छन् भनेर आरोप लगाउने गर्दछन्। यसको जवाफमा महायानीहरु केही हीनयानी सूत्रहरुलाई त्यस्तै भन्न सक्दछन्। त्यस्ता सूत्रहरु कमै छन्।
किनकी पालि त्रिपिटकमा जोड्ने घटाउने क्रम धेरै पहिले नै बन्द भइसकेको थियो। पवित्र बोधिवृक्ष तल मारसंगको लडाई के हो? के साँच्चिकै राक्षस मार कालो हात्ती चढेर बोधिसत्वसंग लड्न आएका थिए? उसंग शत्रुसंग लड्नको लागि फौज थियो? त्यहाँ मारको अर्थ खराब विचारहरु हुन्। तर यस्तो खराब विचारको नाशलाई कहानीको रुपमा देखाइएको थियो जसले जनसाधारणलाई एकदमै आकर्षित गर्यो। उनीहरुले बुद्ध र मारबिच साँच्चिकै लडाई भएको भनी माने। यो मारको कहानी खासमा हीनयानीहरुले रचना गरेको थियो। महायानीहरुले रचना गरेको थिएन। तपाईहरु यस्ता धेरै उदाहरणहरु हीनयानी साहित्यमा पाउनसक्नुहुन्छ, जहाँ आम मानिसका आवश्यकतालाई सम्बोधन गरिएको हुन्छ। त्यसकारण हामी महायान सूत्रहरुलाई त्यही अपराध, जुन हीनयानी सूत्रहरुमा पाइन्छ, को लागि दोषी मान्न सक्दैनौं।
यस प्रकारको तुलनाबाट मेरो तात्पर्य के भने नयाँ नयाँ देवता र कपोलकल्पित सूत्रहरु दुवै धार्मिक सम्प्रदायमा पाइन्छन्। यसको आधारमा कुनै एक सम्प्रदायलाई खराब भन्न मिल्दैन। जनसाधारणले कहानीहरु जुन एकदम असंभव जस्तो देखिन्छ, मन पराउँदछन्। तपाईलाई थाहा छ, यसप्रकारका कहानीहरु अपरिपक्व बुद्धि भएकाहरुलाई शिक्षा दिन उपयुक्त हुन्छ। आजकल स्कूलहरुमा पनि यस्ता सयौं कहानीहरु पढाइन्छन्, जसमा बच्चाहरु एकदम आनन्द लिन्छन्। र, यसबाट राम्रै परिणाम आएको छ। तर कोही पनि यी कहानीहरुलाई बेकार भन्न सक्दैनन्।

किनकी तिनीहरु ऐतिहासिक आधारमा सही छैनन्। यसरी नै हीनयानीहरुको त्रिपिटक या महायानी ग्रन्थहरुमा यस्ता धेरै सूत्रहरु हुन सक्दछन्, जुन ऐतिहासिक छैन। तर यदि मानिसहरुलाई आफ्नो जीवन सुधार्न या कठिन समयमा मष्तिस्कलाई शान्त बनाउन सहयोग गर्छन् ( र निश्चय पनि तिनीहरु अधिकाँश यस्ता विशेषताहरु छन्) भने तिनीहरुलाई रछ्यान मान्न मिल्दैन।
तर यी सबै अन्तर भनेका सतही/बाहिरी हुन्। अब हामी भित्री कुराहरु हेरौं। के हीनयान र महायानका मूल तत्त्वहरुमा फरक छ? बौद्ध धर्मका सिद्धान्तहरुमा सबैभन्दा मौलिक सिद्धान्त अनात्मवाद हो; अर्थात् अस्थायी हुने नियम बिना अपवाद हरेक वस्तुमा लागु हुन्छ। त्यसकारण शरीरभित्र एक अमर आत्मा हुने त कुनै संभावना नै छैन। अनात्मवादको सिद्धान्त महायानीहरु पनि मान्दछन्। उनीहरुले यसको लागि अनेक कारणहरु दिएका छन्। पाँचौं शताब्दीका बसुबन्धुको समयदेखि लिएर रत्नाकर शान्ति अर्थात् एघारौं शताब्दीका महायानीहरुले यस विषयमा धेरै नै ग्रन्थहरु लेखेका छन्। यसरी तपाई हीनयानीहरुको तमाम मौलिक तत्त्वहरुलाई एक एक गरी हेर्न सक्नुहुन्छ।
….. ती सबैलाई महायानी विद्वानहरुले समर्थन गरेको तपाई पाउनुहुन्छ। चार आर्यसत्य, आर्य अष्टांगिक मार्ग, कर्म प्रतिफल दुबैले मान्दछन्। तब तिनीहरुमा मौलिक भिन्नता कहाँ रहन्छ? जब ब्राम्हण विद्वानहरुले बुद्धका उपदेशहरुको खण्डन गरिरहेको देखे, तब महायानी विद्वानहरु अघि बढेर आफ्ना उत्तम तर्कहरुद्वारा विपक्षीहरुलाई हराए। शायद, थाइल्याण्ड, बर्मा र लंकाका स्थविरहरुले ती समस्याहरु बारे थाहा पाएनन्, जसको सामना हिन्दुस्तानमा गर्नुपरेको थियो। प्रतिद्वन्द्वी दार्शनिक हिन्दुस्तानी संस्था ( School) हरुले तर्कशास्त्रको साहित्यलाई एकदम अगाडी लगेको थियो। र, पहिले उनीहरुलाई शान्त नगरी उनीहरुको विचारलाई प्रभावित गर्न असंभव थियो।
एउटा यस्तो देश जहाँ आत्माको विषयमा केवल मामुली विचार छ, थोरै शब्दमा आत्मा अमर छैन भनेर बताइदिनु कुनै गाह्रो कुरा होइन। तर हिन्दुस्तानमा ब्राम्हणहरुले यस विषयमा धेरै नै विशाल साहित्य तयार गरेका थिए र त्यही व्यक्ति जसले उनीहरुको सिद्धान्तलाई जानेको हुन्छ, अनात्मवादलाई सही तरीकाले सामना गर्न सक्दछ। यदि हामी हिन्दुस्तानी महायानी विद्वानहरुको कामलाई छोडिदिने हो भने विरोधी पक्षको अगाडी आफ्नो विषय राख्नको लागि हामीसंग केही पनि बाँकी हुन्न।
त्यसकारण जहाँसम्म उच्चतम श्रेणीका दार्शनिक विचारहरुको सम्बन्ध छ, हीनयान र महायान झुठा नामहरु हुन्। उनीहरुको दुई पृथक पृथक सिद्धान्त छैन। अब थप एउटा कुरा बुझ्नु जरुरी छ। महायानीहरु हीनयानीप्रति यस्तो दोषारोपण गर्दछन् – उनीहरुले व्यक्तिको अगाडी व्यक्तिगत मुक्तिलाई राखेर आदर्शलाई एकदम तल खसाइदिए, र महायानीहरु व्यक्तिगत मुक्तिको वास्ता गर्दैनन्। उनीहरु पाएसम्म सबै प्राणी दुःखबाट मुक्त हुँदैनन्, तबसम्म आफ्नो मुक्तिको कोसिस गर्न हुन्न। उनीहरु सोच्दछन् कि यस्तो उँचो आदर्श हीनयानी धर्मग्रन्थहरूमा पाइदैन। यो गलत छ।
हीनयानीहरुको ५५० जातक कथाहरु केवल यही आदर्शलाई बताउँदछन्। जातक कथाको सुरुवातमै सुमेधले अरुहरुको सहायताको लागि आफ्नो निर्वाण छोडेको पाउँछौं। उसले गरीबहरुको मद्दतको लागि जस्तो बलिदान पनि गर्दछ। भोकाएका बाघलाई बचाउन आफ्नो शरीर त्याग गरिदिन्छ। यसप्रकारका अनेकौं उदाहरणहरु जातक कथामा पाइन्छन्। यसबाट के स्पष्ट हुन्छ भने हीनयानीहरुले बोधिसत्वको यस्तो आदर्शलाई कहिल्यै वेवास्ता गरेको छैन।

यदि यस्तो हो भने हीनयानीहरु आफ्नो व्यक्तिगत मोक्षको लागि स्वार्थी हुन भन्नु ठीक होइन। भिन्नता यति मात्र हो कि महायानीहरु निर्वाणको लागि एउटा मार्ग छ र असंख्य पिडितहरुलाई माथि उठाएर बुद्धत्व प्राप्त गर्नु हो भन्दछन्। जब कि हीनयानीहरु अरु मानिसहरुलाई वास्ता गर्नु भन्दा आफ्ना दुःखहरुबाट छिटो मुक्ति चाहन्छन्। र, उनीहरु ‘श्रावक या प्रत्येक’का मार्ग ग्रहण गर्न सक्दछन्, जसको अर्थ व्यक्तिगत मोक्ष। तर कोही पनि हीनयानी यो आदर्श बोधिसत्वको आदर्शसंग समान छ भनेर भन्न सक्दैनन्। यसरी नै उनीहरुको जीवनका आदर्शहरुमा पनि धेरै भिन्नता छैन।
अब यस्तो समय/काल छैन कि यसमा बढी जोड दिन उपयुक्त हुन्छ। त्यससमयमा केही कारणहरु हुनुपर्छ जसले यी भिन्नताहरुलाई अगाडी ल्याए। तर अब हामीले निष्पक्षरुपले विचार गर्नुपर्दछ। र, बौद्ध धर्मका भिन्न भिन्न सम्प्रदायमा रहेका उत्तम कुराहरुलाई ग्रहण गर्नुपर्दछ। धेरै भन्दा धेरै गुण, जुन हीनयानी त्रिपिटकमा छन्, लाई महायानीहरुले ग्रहण गर्नुपर्दछ र यसरी नै महायानीहरुको गुणलाई हीनयानीहरुले ग्रहण गर्नुपर्दछ। उदाहरणका लागि एक समय थियो, जब मानिसहरु त्यस्ता जीवनीहरु, जुन धेरै चमत्कार र दैवीय वर्णन विना भनिन्थ्यो, मन पराउँदैन थिए। तर अब बुद्धिको समय हो।
मानिसहरु अब आफ्ना गुरका विषयमा धेरै बुद्धिवादी कहानी चाहन्छन् र यदि तपाई वास्तविक ऐतिहासिक बुद्धलाई जान्न चाहनुहुन्छ भने तपाईले हीनयानी धर्मग्रन्थहरुको अवलोकन गर्नुपर्छ। त्यसमा तपाईलाई बुद्ध मनुष्यको रुपमा मिल्दछ। एक आरक्षित भिक्षु कुनै भयानक रोगले ग्रसित छ, भगवान् बुद्ध उसलाई देख्दछ, उसलाई आफ्नो हातले सफा गर्दछन्। यसप्रकारका धेरै उदाहरणहरु बुद्ध जीवनीमा छन्। यदि चमत्कार र दैवीय गुणहरुलाई छोडेर यी सबै संकलन गर्ने हो भने हामी बुद्धका आचरण धेरै उत्तम पाउँछौं।
यस विषयमा महायानी सूत्रहरु पछाडी पर्दछन्। त्यसकारण बुद्धको यो मानवी चरित्र(Human element) हीनयानी धर्मग्रन्थहरुबाट पुरा गर्न सकिन्छ। महायानले उच्च दार्शनिकहरु–नागार्जुन र असंग दिएको छ। उनीहरुले बुद्धको असली विचारलाई जस्तो हो त्यस्तै प्रश्तुत गरे। उनीहरुले असली विचारलाई खास केही गरेका होइनन्। बरु त्यस्ता विचारलाई समर्थन गरी अझ स्पष्ट गरिदिएका थिए। कहिलेकाहीँ भगवान् बुद्ध भन्दथे – मेरा तमाम उपदेशहरु एउटा डुंगा जस्तै हो। यसबाट पार पाउने कि यसलाई समातेर बस्ने? यस प्रकारका उपमाहरुलाई लिएर महायानी विद्वानहरुले धर्मलाई सम्झाउन/बुझाउन अनेक सिद्धान्तहरूको निर्माण गरे। यस कुरालाई समाधान गर्न आवश्यक छ किनकी भगवान् बुद्ध र नागार्जुनको दार्शनिक विचार भिन्न वा प्रतिद्वन्द्वी सिध्दान्तजस्ता भएनन्।
यसको धेरै व्याख्या गर्दा विषय एकदम पारिभाषिक/प्राविधिक हुन जान्छ। नागार्जुनको दार्शनिक विचार अनुसार वस्तुहरुको स्थिति केवल एकआपसको सम्बन्ध माथि निर्भर गर्दछ। जस्तै तातो र चिसो, अध्याँरो र उज्यालो, छोटो र लामो। यो छोटो सूत्र (Formula) नागार्जुनले हरेक स्थानमा प्रयोग गरे। अवश्य पनि यो विचार हीनयान सम्प्रदायका कट्टर उपदेशहरुको विरुद्ध जाँदैन। जब संसारका प्रत्येक वस्तु क्षणिक हो र केही पनि स्थायी छैन, तब हामी वस्तुको स्थिति उसका सम्बन्धहरुबाट जान्दछौं। यसकारण ती वस्तुहरुको सम्बन्ध त्यो मूल सार्वभौमिक क्षणिकताको सिद्धान्तकै शेष सिध्दान्त हो।
असंगको योगाचार संस्था बौद्ध दर्शन शास्त्रको लागि एक अर्को योगदान हो। यो एकदम गम्भीर प्रकृतिको र उच्चकोटीको दर्शन हो, जसले अझैं पनि ठूला ठूला ब्राम्हणहरुको विचारलाई उत्तेजित (inspire) गर्दछ। यही संस्थाबाट हिन्दुस्तानको आधुनिक वेदान्ती संस्था (school) निस्केको हो। योगाचार संस्थाले वसुवन्धु, दिङ्नाग, धर्मकीर्ति र अन्य धेरै दार्शनिकहरु जन्माए। यस संस्थाको मुख्य ग्रन्थ विज्ञानपतिशास्त्र हो जुन आफ्नो टिकासंगै चिनियाँ अनुवादमा पाइन्छ। यो एउटा यस्तो ग्रन्थ हो जसको संस्कृतमा पुनरुद्धार हुनु एकदम आवश्यक छ।

मैले यसको फ्रेन्च अनुवाद पनि देखेको छु। मैले यही फ्रेन्च अनुवादबाट यसको पुनरुद्धार गर्न चाहेको थिए। तर त्यस भाषाका विद्वानहरुको सहयोग नपाएको कारण मैले सुरु गर्न सकिनँ। भाग्यवश मेरा स्वर्गीय मित्र “वाङ् मो लं” (सांघाइका “चिनियाँ बौद्ध” का भूपु सम्पादक) लंका आएर मसंग बसेका थिए। र, एक आपसको मद्दतबाट कुल किताबका केही मामुली अनुवाद गर्यौं। श्री वाङ्ले आफ्नो किताबको पहिलो अध्याय छापेका थिए। उनको अनुवाद एकदम राम्रो र प्रवाहपूर्ण थियो। यो “चिनियाँ बौद्ध”को विशेषांकको रुपमा छापिएको थियो। श्री वाङ्बाट हामीलाई ठूलो आशा थियो। तर अपशोच! उनी आफ्नो महत्वाकांक्षा पुरा गर्न जिवित रहेनन्। मेरो अनुवादको आधा दोहोर्याइसकिएको छ र किताबको आधाभाग संस्कृतमा छापिसकेको छ। शेष आधा मैले पुरा गर्नु छ।
यदि दुबै संस्था (हीनयान र महायान) मा भिन्नता छ भने स-साना कुराहरुमा हो। यदि तिनीहरुको केही मुल्य छ भने त्यस्ता मानिसहरुको लागि जो साँचो र उच्च सिद्धान्तलाई बुझ्न सक्दैनन्। दार्शनिक विचारमा दुबै एकै हुन्।
(स्रोत धर्मदुत, वर्ष ४, अंक १०, फेब्रुअरी १९३९ः भाषानुवादः राजु महर्जन, स्वयम्भू, २०२१ जनवरी)
(यस आलेखलाई हामीले मुकामको बुद्घ पूर्णिमा विशेषांक (बैशाख जेठ २०८० मा प्रकाशन गरेका थियौँ ।)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन
- परशुराम चौहानको अन्तर्राष्ट्रिय फड्को, पाए यस्तो सम्मान
- राष्ट्रिय वाणिज्य बैंकले कृषिमा प्राथमिकताका साथ लगानी बढाउँदै
- खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक एनआईसी एशिया बैंकको आग्रह


ट्रेन्डिङ
खबरमुकाम







