Dark

यसरी रहन गयो पहाडकी रानी ‘बन्दीपुर’ को नामः दुई किम्बदन्ती एक नाम...! 

मुकाम डेस्क । कुनै बेला बन्दीपुर मगर बस्ती भएको सानो गाउँ थियो । मगर भाषामा ‘दी’ को अर्थ पानी हुन्छ । यहाँ वरपरका प्राय नदीहरुको नामको पछाडि ‘दी’ आउने गर्दछ । भनिन्छ, कुनै बेला यस ठाउँमा पानीको समस्या थियो । वनबाट आउने पानीमा निर्भर हुनुपर्नु हुँदा ‘वनदी’ भनियो । पछि बिस्तारै बस्ती बढ्दै गएपछि ‘बन्दीपुर’ नाम रहन गयो ।

हुन त बन्दीपुरको विस्तृत अध्ययन गर्ने अमेरिकी विद्यार्थी लिण्डा एल इल्टिसका अनुसार भने केही भिन्न छ ।

उनको भनाइमा राख्नु अगाडि उनको रिसर्चका केही कुरा राख्नु आवश्यक हुन्छ

राजा मुकुन्द सेन मगरहरु तथा कामीहरुको वस्ती रहेको यो ठाउँदेखि केही माथि रहेको मुच्चुक डाँडामा रहेको गढीमा केही दिन राजकाजदेखि अलग्गिएर शान्तिसँग बस्न आएका थिए । एक दिन नजिकैको ब्राम्हण बस्ती झाप्री फाँटको एक वृद्धाले एक्लो बसेको देखेर खाना खान बोलाएछन् । वृद्धाले चौरासी व्यञ्जन सजाएर खाना पस्केछन् । मुकुन्दसेनले सबै एकै ठाँउमा मुछेर खान लागेको देखेर भनिछन्, ‘तिमी त राजा मुकुन्दसेनजस्तै रहेछौ । सबैलाई एकै ठाउँमा मिसाउन खोज्ने । राजाले पनि विभिन्न जातजाति संस्कार धर्म भएका जनतालाई एकै ठाँउमा मिसाएर राज्य चलाउन खोजे । तिमी पनि सबै खानेकुरालाई एकै ठाउँमा मिसाएर खाना खान खोज्दैछौ । प्रत्येक व्यञ्जनको आफ्नै विशेषता हुन्छ आफ्नै स्वाद हुन्छ । त्यसलाई अलग अलग खानुपर्छ ।’ 

त्यसपछि राजा केही नबोली उठेर हिँडे । वृद्धाको कुरा सुनेर राजकाज त्यागेर योगी बनेर देवघाट गएर त्यहीँ मन्दिर बनाएर बसे । देवघाटमा बसेको केही समयपछि त्यहीँ उनको देहावसान भयो । अहिले पनि मुच्चुक डाँडामा मुकुन्दसेन बसेको गढीमा मन्दिर बनाइएको हुनाले उक्त मन्दिरलाई मुकुन्देश्वरीको मन्दिर भनिन्छ । मुकुन्देश्वरी मन्दिरमा खासगरी मगरहरुले पूज्ने गर्दछ । वृद्धाको घरबाट खाना खार्इ राजा केही नबोली हिँडेर गए तर राजाले आफ्नो खड्ग बिर्सेर गएका थिए ।

वृद्धाले कुनै समय त्यो मानिस आफ्नो खड्ग लिन आउने छ भनेर कोठामा बन्द गरेर राखे । वृद्धालाई ती मानिस नै राजा मुकुन्दसेन हुन् भन्ने थाहा थिएन । यसरी खड्ग कोठामा बन्द गरेर राखेको केही समयपछि झाप्री फाँटमा विभिन्न अपशकुनहरु हुन थाले । मिलेर बसेका दाजुभाइबीच कलह हुन थाल्यो, गार्इबस्तुहरु मर्न थाले । खेतीपाती पनि हुुन छाडयो । 

त्यसपछि गाउँलेहरुले झाँक्री बोलाएर देखाउँदा यहाँ कोही बाहिरको बस्तु आएर बसेको छ भने । पछि वृद्धाले झट्ट सम्झिइन् खड्ग कोठामा राखेको कुरा । उनी तुरुन्तै कोठामा गएर हेर्दा खड्ग टुप्पोले टेकेर खडा थियो तर दायाँ बायाँ हल्लिइरहेको थियो । झाँक्रीले हेर्नासाथ भने, ‘यो खड्ग नै देवता हो । यसलाई मन्दिर बनाएर स्थापना गर्नुपर्छ ।’ 

आज बन्दीपुरमा रहेकी देवी तिनै खड्गदेवी हुन् । त्यही भएर खड्गदेवी मन्दिरमा दुर्इजना पूजारी हुने गर्छन् । एक मगर पूजारी जसले वर्षको एकपटक दशैँमा खड्गलाई छुन सक्छन् । तर ब्राम्हण पूजारीले खड्गलाई छुन पाउँदैदैनन् । दशैँमा पूजा पछि खड्ग लिएर मगर पूजारी मन्दिर बाहिर निस्केर सबैलाई देखाएपछि उक्त खड्ग कामीलाई दिइन्छ । कामीले खड्ग लिएर बजार परिक्रमा गर्ने गर्दछन् ।

यही खड्गको रक्षकको रुपमा रहेको बन्दी कामीकै नामबाट नै यो स्थानको नाम बन्दी रहन गएको भन्ने कथन पनि छ । आखिर जुन रुपबाट भएपनि बिस्तारै यो ठाउँमा बस्ती बस्न थाल्यो । उपत्यकामा गोरखा राजा पृथ्वीनारायण शाहको एकीकरण अभियानको क्रममा आक्रमण गर्दा उपत्यका छोडेर जाने नेवारहरुको संख्या बढ्दै गयो । यसरी जाने क्रममा पश्चिमतर्फ लागेका नेवारहरुमा एउटा समुह तर्कुघाटबाट मर्स्याङ्दीको किनारै किनार दक्षिण लागे । सयौँ वर्षदेखि भोटसँग भारततर्फ व्यापार गर्ने यो बाटो निकै प्रख्यात थियो । तिनै नेवारहरुको पहिलो समुह विसं १८३२ देखि १८५७ को बीचमा बन्दीपुर पुगेको इतिहास देखिन्छ । नेवारहरुको प्रवेशपछि यहाँ भक्तपुर शैलीका घरहरु बने । भक्तपुर शैलीमा नै मन्दिर बनाए । व्यापारिक सोचमा आएका नेवारहरुले यो ठाउँलाई गुलजार बनाए । 

करिब २०० वर्षको मेहनतले एउटा सानो गाउँ शहरको रुपमा परिवर्तन आयो । तर यहाँ पनि शकुनीको आँखा लागे झैँ भयो । राजा महेन्द्रले देशमा पंचायती व्यवस्थाको शुरुवात गरेसँगै देशलाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरे । तनहुँको सदरमुकाम बन्दीपुरबाट हटाउने योजना आयो । सदरमुकाम कुनै नयाँ स्थानमा राख्ने तैयारी भयो । निकै विवाद भयो निकै सरसल्लाहहरु भए । एक रात अञ्चलाधीस नन्दबहादुर मल्ल बन्दीपुर पुगेर सदरमुकाम सार्ने निर्णय बन्दीपुरमा टाँस्न लगाए । सोही दिनदेखि आन्दोलन भयो । नन्दबहादुर मल्लले सदरमुकाम सार्नको लागि सामग्री ओसार्न तनहुँका जनतालाई सहभागी हुन अनुरोध गरेका थिए । विरोधमा जुलुस निस्कियो । हुलदंगा भयो । सयौ मानिस घाइते भए । एकलाई गोली लागेर मृत्यु पनि भयो । बन्दीपुरवासी तैयार भएन सदरमुकाम सार्न । यसरी हुलदंगा र मानिसको मृत्यु समेत भएको घटना सुनेका राजा महेन्द्र हेलिकोप्टरमा बन्दीपुर आएन त्यहाँका जनतालाई सम्झाए । बन्दीपुको कुनै व्यवस्था गरिदिने विकासलाई रोक्न नदिने आश्वासन पाएपछि बन्दीपुरवासी सदरमुकाम हटाउन तैयार भए ।

स्कुल, अस्पताल, हुलाक, दुरसञ्चार तथा प्रहरी त्यहाँबाट नहट्ने आश्वासन दिइएको थियो । राजाले यसरी आश्वासन दिएको केही वर्षमा नै राजा महेन्द्रको मृत्यु भयो । बन्दीपुरवासी निकै दुखी भए । यसपछि बाध्य भएर बिस्तारै बन्दीपुरवासी आफ्नो थातथलो छोड्न बाध्य भए । कोही नयाँ सदरमुकाम दमौली झरे । कोही बिमलटार झरे । कोही चितवन पुगे ।
२०२५ साल अर्थात् यो तस्विर खिच्दासम्म पनि बन्दिपुर तनहुँको सदरमुकाम थियो । अहिले केही वर्षदेखि बन्दीपुर पर्यटनको गन्तव्यको रुपमा चिरपरिचित हुँदै गएको छ । पुरानो साख नफर्के पनि केही जमर्को भने अवश्य भएको मान्नुपर्छ । बन्दीपुरवासी निराश छैनन् । केही गर्ने आँट र साहस बटुलेका छन् ।

(स्रोतः सुनिल उलकको सामाजिक सञ्जाल)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै