विवेक शर्मा
नेपालमा आजकल ‘नेपाल’ भन्ने देश कति पुरानो हो भनेर बहस चलेको देखिन्छ । नेपालबारे देशको प्राचीनताको विषयमा विद्वत वर्गबीच छलफल भएकै विषय हो । उहाँहरुले प्राय भारत र नेपालमा भएको संस्कृत वाङ्मयभित्रका स्रोत, पुराताङ्खिवक र ऐतिहासिक कुराहरुलाई साभार गरेर नेपालको प्राचीनताको बारेमा छलफल गरेको देखिन्छ ।
तर बौद्ध स्रोतहरु, खासगरी भारतबाट उल्था गरेर पहिलो÷दोस्रो शताब्दीदेखि नै लगिएको चिनियाँ भाषामा सङ्ग्रहित गरिएको बौद्ध, र चिनियाँ राजकीय अबौद्ध स्रोतहरुलाई हेरेर नेपालको प्राचीनताको बारेमा शोध, अनुसन्धान गरेको भने अपवादलाई छोडेर त्यति देखिँदैन ।
पुनः नेपाल र भारतमा भएका विद्यामान स्रोतहरुले नेपाल भन्ने देश धेरै पुरानो भनेर देखाइसकेको छ । विद्धत वर्गले यो विषयमा धेरै कलम चलाइसक्नु भएकोले छोट्करीमा भन्दा वेदको अथर्व परिशिष्टमा उल्लेख गरिएको, चाणक्यले (करिब तेस्रो÷चौथो शताब्दी ईशापूर्वको) किराँती राजाको सहयोग लिएर नन्दहरुको राज्यलाई विस्थापित गर्दै चन्द्रगुप्त मौर्यलाई स्थापित गर्नुभएको र किराँती राजा यलम्बरको राज्य नेपालमा करिब ईशापूर्व सत्रौँ शताब्दी÷अठारौँ शताब्दीतिर रहेको र समुन्द्र गुप्तको अलावा प्रयागको स्तम्भमा ‘नेपाल’ भन्ने देशको बारेमा उल्लेख गरिसकिएको कुरालाई थाँती राख्दै म चिनियाँ स्रोतहरुतिर ध्यान केन्द्रित गर्नेछु ।
इतिहास र अभिलेखहरु राख्ने मामिलामा चिनियाँहरु जति सजग थिए, भारतीयहरु त्यति सजग देखिँदैनन् । यसो भन्नुको तात्पर्य यो होइन कि भारतीयहरुले इतिहासको बारेमा कुनै उल्लेख नै गरेका थिएनन् वा त्यहाँ उल्लेखनीय कुरा पाइँदैन । तर, हामीले तुलनात्मक रुपमा भारतीय अभिलेख र चिनियाँ अभिलेखहरुलाई हे¥यौँ भने चिनियाँहरुमा करिब ५ हजार वर्षदेखि आफ्नो इतिहास, भेषभूषा, संस्कृति, ग्रन्थहरुको बारेमा तिथिमिति नै तोकेर त्यसको अभिलेख लेख्ने एउटा गज्जबको परम्परा पाउँदछौँ । त्यसको तुलनामा भारत वर्षका अभिलेखहरु वा इतिहासहरु पढ्ने क्रममा हामी भने भारतीयहरु वा आर्यवर्तका मानिसहरुमा इतिहासलाई हेर्ने दृष्टिकोण चिनियाँभन्दा केही फरक पाउँदछौँ । उनीहरु ऐतिहासिक कुराहरुलाई त्यसको तिथिमितिहरुलाई, ग्रन्थमार्फत् वा शिलालेख÷ताम्रपत्रहरुमा स्पष्ट राख्ने चलन भारतमा त्यति धेरैअगाडि नभएको पाउँछौँ । यो एक तुलनात्मक विश्लेषण मात्र हो । तर यसको अर्थ यो होइन कि भारत÷नेपालमा कुनै पनि अभिलेख लेखिएकै छैन । यसको अर्थ यतिमात्रै हो कि सांस्कृतिक रुपमा इतिहासलाई लेख्ने÷पढ्ने र अभिलेख राख्ने कार्यमा चिनियाँहरुमा अलि कडा संस्कार देखिन्छ ।
मैले माथि नै भनिसकेँ– मैले यहाँ चर्चा गर्न लागेको स्रोत भनेको नेपाल देशको प्राचीनताको बारेमा भारतीय स्रोत होइन, बल्की चीनको मध्यकालीन समयमा राखिएको चिनियाँ बौद्ध र अबौद्ध स्रोतहरुमार्फत् मध्यकालीन नेपालको बारेमा हो ।
मध्यकालीन चिनियाँ स्रोेतहरु हेर्दाखेरी नेपालबारे हामीले दुई, तीनवटा उल्लेख्य कुरा पाउँछौँ
१. चिनियाँ यात्रीहरुले आफ्नो यात्रा वृत्तान्तमा उल्लेख गरेको नेपालसम्बन्धी विवरणहरु
२. चिनियाँ राजकीय अभिलेखहरुमा भएका विवरणहरु
३. भारतबाट चिनियाँ भाषामा उल्था हुने बौद्ध ग्रन्थहरु
यस क्रममा अरु भारतीय अबौद्ध स्रोतहरुको पनि उल्था हुँदाखेरी त्यसमा लेखिएका नेपालसम्बन्धी अन्य अभिलेखहरु छन् । यस आलेखमा चाहिँ माथिका यी तीन कुराहरुलाई लिएर नेपालको बारेमा छोटकरीमा केही सामाग्री प्रस्तुत गर्न कोसिस गर्नेछु ।

अफगानिस्तानमा तालिबान शासकले बमले ध्वस्त बनाइएका बुद्धका मूर्ति
यी चिनियाँ स्रोतहरु करिब सातौँदेखि पन्ध्रौँ शताब्दीसम्मका छन् । सौभाग्यवश मध्यकालीन नेपालको बारेमा चिनियाँ स्रोतहरुमा भएका यी सामग्रीहरुले नेपाल देश कस्तो थियो, यहाँको रितिथिति के थियो, यहाँका मानिसहरु कस्ता थिए, यहाँको धर्म कस्तो थियो, नेपालको क्षेत्रफल कति थियो, त्यहाँको एक विश्मयकारी ज्वाला ओकल्ने तलाउको किम्बदन्ती के थियो र यो कसरी आगामी बुद्ध मैत्रेयसँग जोडिएको किम्बदन्ती रहेको छ भन्ने बारेमा हामीले केही मात्रामा जानकारी पाउन सक्छौँ ।
सबभन्दा पहिले मध्यकालीन नेपालको बारेमा उल्लेख चीनबाट भारतमा बौद्ध धर्म खोज्दै यात्रा गर्नुभएका श्वागंचांगले आफैँले लेखेको यात्रा विवरणमा पाइन्छ, जसलाई ‘थागं वंशको पश्चिम क्षेत्रको बारेमा रिपोर्ट’ भनेर भनिन्छ । उहाँ चीनबाट करिब ईश्वी सम्वत ६२९ मा भारत आउनुभएको थियो भने ६४५ मा फेरि चीन फर्किनुभएको थियो । यो समय अवधिमा उहाँले नालान्दामा अध्ययन गर्नुका साथसाथै भारत र उत्तरी क्षेत्रका धेरै ठाउँहरुमा भ्रमण गर्नुभएको थियो । म यहाँ उहाँले आफूले भ्रमण गरेका र देखेका कुरा आफ्नो यात्रा वृत्तान्तमा लेख्नुभएको आधारमा मध्यकालीन नेपालको बारेमा चर्चा गर्दा सबैभन्दा पहिले उहाँले लेखेको नेपालसम्बन्धी अभिलेखलाई प्रस्तुत गर्दैछु । यो कतिपयलाई कुनै नयाँ सामग्री त नलाग्ला तर यो सम्पूर्ण लेखको पृष्ठभूमि तयार गर्न भने अवश्य सहायक हुनेछ ।

चीनको सान्छी प्रान्तमा बनेको बुद्धको पुरानो फोटोग्राफी
उहाँले नेपालसम्बन्धी विवरणमा भन्नुहुन्छ, ‘नेपाल’ भन्ने देशको परिधि करिब करिब ‘चार हजार ली’ थियो र यो हिउँले ढाकिएको क्षेत्र थियो ।’ यहाँनेर ‘ली’ भनेको पारम्परिक चिनियाँ नाप्ने इकाई हो । अहिलेको हाम्रो किलोमिटरमा यसलाई परिवर्तन गर्दा ‘एक ली’ बराबर करिब करिब तीन सय मिटरदेखि पाँच सय मिटर हुन आउँछ । त्यो हिसाबले हे¥यौँ भने नेपाल भन्ने देशको परिधि त्यतिबेला करिब दुई हजार किमीको देखिन्छ, जसलाई हामी एउटा ठूलै क्षेत्र ओगटेको देश मान्न सक्दछौँ । त्यसै गरी यसको राजधानीको परिधि उहाँले ‘२० ली’ रहेको उल्लेख गर्नुभएको छ । अर्थात् करिब करिब १० किमी जतिको क्षेत्रफल ओगटेको राजधानी थियो भनेर भन्न हामी सक्छौँ । मध्यकालको लागि यो क्षेत्रफल भनेको ठूलै मान्नुपर्दछ ।
तर यहाँनेर उहाँले त्यो राज्य कहाँनेर थियो ? त्यो राजधानी के हो ? भनेर यकिनका साथ, किटानका साथ त्यसको नाम भने भन्नुभएको छैन । तर यो अवश्य उल्लेख गर्नु भएको छ कि यो राज्यमा धेरै पहाडहरु भएको, नदीनालाहरु भएको, यहाँ धेरै धनधान्य उम्रने र धेरै किसिमका फलफूल उब्जनी हुने भनेर लेख्नुभएको छ । त्यसै गरेर यो देशले रातो रङको तामा धातु उत्पादन गर्ने, याक र जिवकजिवक भन्ने पन्छी पनि उत्पादन गर्ने भनेर उल्लेख गर्नुहुन्छ । त्यस्तै यो देशको प्रशासनले रातो तामाको सिक्का प्रयोग गर्ने र यो देश धेरै चिसो भएको पनि लेख्नुभएको छ ।
त्यसै गरेर यहाँको जीवनचर्या र मानिसहरुको स्वभावको बारेमा उहाँले त्यति सकारात्मक नलेखेता पनि यो देशमा बसोबास गर्नेहरु शिल्प विद्यामा, खासगरी मूर्तिकलामा धेरै नै कुशल भएको उल्लेख गर्नुभएको छ ।

हजारीबागको ९०० वर्ष पुरानो बुद्धको मूर्ति
यहाँनेर उहाँले यो देशमा ‘बौद्ध’ र ‘ब्राम्हण धर्म’ गरी दुवै भएको र त्यहाँ भएका बौद्ध भिक्षुहरुको सङ्ख्या दुई हजार थियो भनेर लेख्नुभएको छ । उहाँको यो विवरणबाट हामीले के देख्न सक्छौँ भने उहाँले ‘वैदिक धर्म’ भन्ने शब्द प्रयोग नगरी ‘ब्राम्हण धर्म’ तथा ब्राम्हणहरुको मन्दिर शब्द नै प्रयोग गर्नुभएको छ । यो एउटा राम्रो ऐतिहासिक जानकारी हो । किनभने उहाँले भन्नुभएको ‘ब्राम्हण धर्म’लाई आज हिन्दू धर्म, सनातन धर्म भनिन्छ । भारतमै गएर नालान्दामा अध्ययन गरेको, संस्कृतमा नै शास्त्रार्थ गरेर भारतीयलाई हराएको र उत्तर भारतमा धेरै समय बिताएको एकजना पूर्वीय दर्शनको विद्वान्ले प्रयोग गरेको शब्दको धेरै महङ्खव हुन्छ । अर्थात््, उहाँले त्यो धर्मलाई ‘ब्राम्हण धर्म’ भनेर लेख्नुले यसले वैदिक धर्मको बारेमा तत्कालीन समयमा प्रयोग गरिने शब्दलाई इङ्गित गर्दछ ।
उहाँ अझै भन्नुहुन्छ– नेपालको राजधानीमा बौद्ध धर्मालम्बीहरु महायान अनि हीनयान दुईवटैको अभ्यास गर्दथे । तर उहाँले वैदिक धर्मालम्बी कति मात्रामा थिए भनेर चाहिँ उल्लेख गर्नुभएको छैन । उहाँ जोड्नुहुन्छ कि त्यहाँका राजा क्षेत्रीय थिए र लिच्छवी वंशका थिए । यसमा हामी प्रस्ट हुन जरुरी छ– लिच्छवीहरु उत्तर भारतबाट बसाइँ सरेर माथि पहाडी क्षेत्रमा आएका थिए र यी लिच्छवीहरुको उल्लेख बौद्ध त्रिपिटकमा स्पष्टसँग गरिएको छ । बुद्धको समयमा लिच्छवीहरुको आफ्नो एउटा जनपद (देश) थियो ।
उहाँ अर्काे पनि एउटा महङ्खवपूर्ण जानकारी दिनुहुन्छ– ती लिच्छवी राजाहरु धेरै नै पढेलेखेका, नैतिकवान् र बौद्ध धर्ममा आस्था भएका थिए । उहाँको भ्रमणको केही समय अगाडि अंशुवर्मा भन्ने प्रसिद्ध राजा थिए जो ज्यादै नै विद्वान् पण्डित हुनुहुन्थ्यो जसले ‘शब्द विद्याशास्त्र’ भन्ने ग्रन्थ आफैँले लेख्नुभएको थियो भनेर पनि उल्लेख गर्नुभएको छ । यो ‘शब्द विद्याशास्त्र’ भनेको संस्कृत व्याकरण हो । यसरी सुवान्चाङका अनुसार ती लिच्छवि राजाको प्रसिद्धि चारैतर्फ फैलिएको थियो ।

चीनमा बनाएको संसारकै सबैभन्दा ठूलो बुद्धको मूर्ति
योभन्दा अझै एउटा रोचक जानकारी स्वान्चाङ एउटा तलाउको बारेमा बताउनुहुन्छ जुन त्यो नेपाल देशको राजधानीमा अवस्थित थियो । उहाँ लेख्नु हुन्छ– राजधानीको दक्षिण पूर्वीय क्षेत्रमा अवस्थित थियो त्यो तलाउ र विस्मयकारी थियो । किनकि यो तलाउ ज्वलनशील थियो । त्यो तलाउमा कसैले आगो फालिदियो भने एक किसिमको पानीको ज्वारभाट निस्कन्थ्यो । त्यहाँ आगो मात्र होइन कि कुनै पनि वस्तु फाल्दा आगोको ज्वाला निस्कने भएकाले यसलाई ‘ज्वलनशील तलाउ’ भनेर भन्ने गरिन्थ्यो ।
यहाँनेर बुझ्नुपर्ने कुरा के छ भने, चिनियाँ स्रोतमा ज्वलनशील तलाउको बारेमा यो पहिलो र अन्तिम उल्लेख भने पक्कै होइन । अरु धेरै स्रोतहरुमा पनि नेपालको राजधानीको दक्षिण पूर्वीय क्षेत्रमा भएको ज्वलनशील तलाउको बारेमा थप जानकारी पाइन्छ । अझ रोचक प्रसङ्ग के हो भने यो ज्वलनशील तलाउलाई मैत्रेय बुद्धसँग पनि जोडेर उल्लेख गरेको देखिन्छ । एउटा स्वभाविक प्रश्न के आउँदछ भने–
यो ज्वलनशील तलाउ के हो ? नेपाल र त्यस्को राजधानी कहाँ थियो ? यसको मैत्रेय बुद्धसँग जोडिएको किम्बदन्ती छ, त्यो के हो ? भनेर जिज्ञासा हुनु स्वभाविकै हो । यसका बारेमा म अर्काे भागमा चिनियाँ मध्यकालीन अभिलेखमा भएका अन्य स्रोतहरुबाट पनि थप जानकारी दिनेछु ।
साभारः जेफ्री कोट्योकको नेपाल सम्बन्धी चिनियाँ स्रोतमा आधारित शोध,
स्वान्चान्ङको यात्रा विवरण,
र अन्य चिनियाँ स्रोतहरु ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- गठबन्धनभित्रको मतभेदले मधेश सरकार विस्तार रोकियो
- सुकुम्बासीका माग सम्बोधन नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको चेतावनी
- शेरबहादुर देउवा र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता
- बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि
- आजको मौसम, पानी पर्ने र तातो हावा बहने सम्भावना
- आज यस्तो छ बिदेशी मुद्राको नेपाली दररेट
- ओलीको संकट तत्काललाई टर्यो, यस्तोछ पार्टीको नयाँ पदीय वरीयताक्रम



ट्रेन्डिङ
खबरमुकाम






