लुम्बिनी । कपिलवस्तुको ऐतिहासिक तथा पुरातात्विकस्थल सगरहवामा पुस २३ गतेदेखि सुरु भएको प्रथम कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला सोमबार सम्पन्न भएको छ ।
राष्ट्रियस्तरमा ख्यातिप्राप्त १५ मूर्तिकार र १५ सहयोगी मूर्तिकारले सगरहवासँग सम्बन्धित विषयमा १८ वटा मूर्ति तयार पारेका छन् । सगरहवामै आवासीय रुपमा रहेर कलाकारले ढुङ्गामा मूर्ति कुँदेर सगरहवाको ऐतिहासिक गतिविधिलाई प्रस्तरमा उतारेका हुन् ।
कार्यशाला समापनमा राष्ट्रियसभा सदस्य बिमला घिमिरेले कपिलवस्तु खुल्ला सङ्ग्रहालयका रूपमा रहे पनि यहाँको बुद्धकालीन स्थलहरुबारे प्रचारप्रसार र विकास हुन नसकेको बताए ।
लुम्बिनी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री विष्णु पन्थीले यस कार्यशालामार्फत सगरहवा पर्यटनका लागि केन्द्रविन्दु हुने बताए । उनको यस कार्यले सगरहवाको ऐतिहासिक तथा पुरातात्विक महत्व बुझाउन र जगदीशपुर क्षेत्रको पर्यटन प्रवद्र्धनमा कासेढुङ्गा साबित हुने बताए ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कपिलवस्तुमा सञ्चालित मूर्ति कार्यशाला प्राज्ञिक, सांस्कृतिक प्र्राविधिक र ऐतिहासिक काम भएको बताए । उनले सर्जकहरुले निकै मेहनतका साथ सगरहवाको ऐतिहासिक अवस्था र यहाँको कथालाई मूर्तिमा उतार्ने काम गरेको छ भने ।
कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले सगरहवाको पुरातात्विक महत्व तथा ऐतिहासिक कुरा उजागर गर्न र यहाँको पर्यटन प्रवद्र्धन गर्न जनतासँग मिलेर पहिलोपटक नयाँ ढाँचामा काम गरिएको बताए । उनले मूर्ति कार्यशालाबाट तयार भएका मूर्तिहरुलाई दिगो संरक्षण र व्यवस्थापनका लागि स्थानीय समुदायबीच एकता र सहकार्य आवश्यक छ भने ।
कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले कार्यशाला गरेर कोषले यहाँको विकास सुरुआत गरेको बताए । उनले अब कपिलवस्तुका बुद्धसम्बन्धी विभिन्न स्थलको गुरुयोजना बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिए ।
कार्यशालामा मूर्तिकारहरुको खर्च लुम्बिनी विकास कोषमार्फत नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानबाट भुक्तानीका लागि रु २६ लाख २५ हजारको चेक कार्यक्रममै प्रदान गरिएको थियो । प्राचीन कपिलवस्तु राज्यको पतनको मुख्य कारण मानिएको सगहरवामा शाक्यहरुको सामूहिक नरसंहारको घटनालाई प्रस्तरमा उतार्न कार्यशाला गरिएको थियो ।
उक्त कोषको नेतृत्व तथा कपिलवस्तु नगरपालिका, ललित कला प्रतिष्ठान, लुम्बिनी प्रदेशस्थित पर्यटन डिभिजन कार्यलयसहित स्थानीय सङ्घसंस्थाहरुको आयोजनामा प्रारम्भ गरिएको कार्यशाला १५ दिनसम्म चलेको थियो ।
कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट नौ किलोमिटर र तिलौराकोटबाट छ किलोमिटर उत्तरमा छभने पूर्वपश्चिम राजमार्गको वनगाईबाट सात किलोमिटर दूरीमा सगरहवा रहेको छ । सगरहवा तालको पश्चिम र दक्षिण भागमा शाक्यहरूको नरसंहार गरिएपछि उनीहरुको सम्झनामा सयौँ स्तूप निर्माण गरिएको चिनियाँ यात्री हुुयन् साङ्को सन् ६३६ को यात्रा वृत्तान्तमा उल्लेख छ । सन् १८९७ मा डा फुुरर्हरद्वारा गरिएको उत्खनन तथा अन्वेषणमा शाक्य सेनाहरुको सम्झनामा निर्माण गरिएका १७ वटा ठूूलो वर्गाकार स्तूप र धेरै सङ्ख्यामा साना स्तूप भेटिएको थियो । स्तूपभित्र हड्डी, सुन, चाँदी, क्रिस्टल तथा रुबीजस्ता सामग्री प्राप्त भएका थिए । जगदीशपुर तालको काखैमा रहेको लम्बु सागरका रुपमा परिचित सगरहवा ५८ बिघा क्षेत्रफलमा फैलिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







