नवलपरासी । नवलपुरको कावासोतीस्थित टरुवा ताललाई ढपक्क जलकुम्भीले ढाकेको छ । पानीको सतह देखिनुपर्ने ताल जलकुम्भी झारले ढाकेर हरियो देखिन थालेको छ । यसबाट तालको सौन्दर्य नै गुमेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–७ र ८ मा फैलिएको सो तालको अस्तित्व नै जलकुम्भी झारले ढाकेर सङ्कटमा पर्न थालेको छ ।
कहिलेकाहीँ स्थानीयस्तरमा सरसफाइ गरे पनि बृहत् रुपमा तालको सफाइमा काम हुन नसकेको ताल छेउका स्थानीय तुलसी महतोले बताए। “स्थानीले कहिलेकाहीँ सफा गर्छन्, फेरि झार आउँछ, अलि राम्रोसँग सफा गर्ने हो भने ताल सुन्दर देखिने थियो,” उनले भने ।
करिब तीन दशमलव ५२ हेक्टर क्षेत्रफलमा फैलिएको टरुवा ताललाई झारले नढाकेको क्षेत्र निकै थोरै बाँकी छ । ताललाई जलकुम्भी झारले ढाकेर अस्तित्व नै सङ्कटमा परे पनि यसको सरसफाइ र संरक्षणमा कसैको ध्यान पुग्न सकेको छैन । तालको सफाइ गरेर पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सक्ने सम्भावना रहेको उनले बताए । तालको संरक्षणका लागि केही समयअघि योजना अघि बढेको भन्ने सुेने पनि खास काम नभएको उनले बताए । “पहिले एकपटक सफा गर्ने, ताललाई राम्रो बनाउने भनेर डोजरसमेत ल्याएर अलि अलि काम गरेथे, पछि के भयो, त्यतिकै छाडे, पूरा काम भएन, ताल उस्तै रह्यो,” स्थानीय महतोले भने ।
“टरुवा ताल सफा गरेर राम्रो बनाउन सके ताल हेर्न धेरै मानिस आउँथे वरपर व्यापार व्यवसाय बढ्ने थियो, स्थानीयसँगै सरकारलाई समेत आम्दानी हुने थियो,” स्थानीय केशकुमारी महतोले भनिन् । ताललाई झारले ढाक्दै गएकाले यसको संरक्षणको पहल गर्नुपर्ने उनले बताइन् ।
पूर्व पश्चिम राजमार्गदेखि करिब एक किलोमिटरको दूरीमा रहेको टरुवा तालको सम्बन्ध कावासोती बजार विकाससँग समेत जोडिएको छ । कावासोती बजार विकासको प्रारम्भकालमा यहाँका बासिन्दाले पिउने र घरायसी प्रयोजनका लागि यसै तालको पानी प्रयोग गर्ने बताइएको छ । अन्य पानीको कुनै स्रोत नभएको र टरुवा ताल क्षेत्रमा पानीको अटुट मुहान रहेकाले सुरु सुरुमा सोही क्षेत्रबाट कावासोती बजार क्षेत्रमा पानीको आपूर्ति हुने गथ्र्यो । पछि केरुङले खोला, कोइलापनी क्षेत्रको मुहानबाट पानी ल्याउने योजना सञ्चालन भएपछि पानीका लागि तालसँग कावासोती बजारको निर्भरता हटेको हो । यस अर्थमा समेत महत्व बोकेको ताल हिजोआज आफैँ सङ्कटमा परेको छ ।
तालको संरक्षण गर्दै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सके जिल्लाकै महत्वपूर्ण स्थलका रुपमा परिचित हुने नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले बताए । उनले ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजनाका साथ संरक्षणका लागि स्थानीय बासिन्दासँगै स्थानीय सरकार लाग्नुपर्ने बताए। ताललाई जलकुम्भी झारले ढाकेपछि यसको सरसफाइका लागि वडास्तरबाट काम गर्ने योजना रहेको कावासोती–७, का वडाअध्यक्ष गोविन्दप्रसाद महतोले बताए । वडाले प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएकालाई ताल सरसफाइमा खटाउने योजना बनाएको उनको भनाइ छ । ताल आफैँमा महत्वपूर्ण रहेकाले यसको संरक्षणसँगै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पहल भइरहेको उनको भनाइ छ । कावासोती नगरपालिकाले टरुवा तालको संरक्षण र यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न यस वर्ष रु ५० लाख विनियोजन गरेको वडाअध्यक्ष महतोले जानकारी दिए । “टरुवा ताल संरक्षणका विषयमा छलफल र बहसहरू चलेका छन्, मुख्य कुरा बजेट आवश्यक पर्ने रहेछ, अहिले थोरै विनियोजन भएको छ, केही काम यस वर्ष होला,” अध्यक्ष महतोले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







