काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्घ नगरपालिका–११ स्थित नमोबुद्घमा आजदेखि जात्रा सुरु भएको छ । आज कात्तिक शुक्ल पूर्णिमा तिथि, शान्तिका प्रतीक गौतम बुद्घको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको दिन ।
किंवदन्तीअनुसार बुद्धले लुम्बिनीमा पुनःजन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमि जो, ‘नमोबुद्घय नमः’बाट नमोबुद्घ नामकरण भएको स्थान । काभ्रेपलाञ्चोकको उक्त ऐतिहासिक, पर्यटकीय, धार्मिक एवं रमणीय स्थान नमोबुद्धमा कात्तिक शुक्ल पूर्णिमाका अवसरमा मेला लाग्दै आएको हो ।
यो किंवदन्ती अनुसार द्वापर युगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा पूजाअर्चना र दीप प्रज्ज्वलन गर्न बर्सेनि बुद्घ धर्मावलम्बीको निकै ठूलो भीड लाग्ने गर्दछ । मेलामा बर्सेनि करिब एक लाखले नमोबुद्घको दर्शन–पूजाअर्चना गर्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । जात्राअन्तर्गत आज दिनदेखि रातभरि र भोलि पनि नमोबुद्घमा मेला लाग्ने गर्दछ भने मेला अवधिभर परम्परागत गीत तथा नृत्यु प्रस्तुत गर्नेको उत्तिकै भीड लाग्ने गर्दछ ।
नमोबुद्घ गुठीका अध्यक्ष लोप्साङ बज्र लामाका अनुसार मेला अवधिभर ‘पितृ’को सम्झनामा दीप प्रज्ज्वलन गरिन्छ । “यहाँ बर्सेनि पितृका नाममा बत्ती बाल्ने परम्परा रहँदै आएको छ, बत्ती बाल्नाले पितृलाई वर्षभरि उज्यालो हुने मान्यता छ”, उनले भने । विशेषगरी तामाङ र नेवार समुदायका धर्मावलम्बीले मेला भर्ने गरेको नमोबुद्घका मूल लामागुरु कान्छा लामाले बताए । उहाँका अनुसार तत्कालीन पञ्चलादेश (पनौती राज्य) का राजा महारथ र रानी सत्यवतीका तीन छोरा पूर्वतर्फको गन्धमान पर्वत (जङ्गल)मा सिकार खेल्ने क्रममा कान्छा राजकुमारले भोकले छटपटिएको सुत्केरी बघिनीलाई आफ्नो रगत र शरीरको मासु काट्दै खुवाएर आफूले देहत्याग गरी जीवन प्रदान गरेका थिए ।
सोही विश्वासका आधारमा प्रत्येक कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लाग्ने गरेको हो । “पाँच डमरु जन्माएकी बघिनी लक्ष्मी मानिएको हो भने, पाँच डमरु भिक्षु भएका थिए”, लामागुरु लामाले भने । उनका अनुसार राजकुमारले बघिनीलाई बचाएर आफूले देहत्याग गरेपछि राजा–रानी सोही नजिकै बाँकी जीवन चैत्यसेवामा बिताएका थिए । “तत्पश्चात राजारानी शङ्खेश्वरी अजिअजिमाको नामले चिनिँदै आउनुभएको हो”, लामागुरुले भने ।
संवत् ९७४ मा गन्धमान पर्वतकै टुप्पोमा अस्थिपञ्जर जम्मा गरी स्तुपा (चैत्य) बनाएको अभिलेख पाइन्छ । उक्त पर्वत आठ हजार फिटको उचाइमा रहेको छ । उक्त पर्वतमा राजकुमारले बघिनीलाई आफैँले शरीरको मासु काटेर खुवाइरहेको दृश्य कुँदिएको मूर्ति छ ।
नमोबुद्धमा सधैजसो स्वदेशलगायत विदेशका बौद्धमार्गीको चहलपहल हुने गरेको स्थानीय समाजसेवी राकेश लामाले बताउछन् । उनीका अनुसार मेलामा यस वर्ष छिमेकी जिल्ला सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, भक्तपुर, ललितपुर, काठमाडाौं, धादिङ, नुवाकोटलगायतबाट सहभागिता हुने गरेको छ ।
यस्तै नमोबुद्धमा भाद्र कृष्ण द्वादशी र चैत्र कृष्ण द्वादशीको दिन पनि मेला लाग्ने गर्दछ । प्रचलनअनुसार धार्मिक भाद्र कृष्ण द्वादशीको दिन नमोबुद्धको खटलाई पनौतीस्थित राजदरबारमा ल्याई दुई दीपङ्कर बद्ध, अजा अजिमाँसहितको भव्य जात्रा आयोजना गर्ने गरिन्छ । राजकुमारको जन्मघर काशीवर्ण महावीर अर्थात् हाल पनौतीको प्रसिद्ध तलेजु भवानी नजिक हो । धेरैजसो बुद्धमार्गी भक्तजन पनौतीभन्दा नमोबुद्धस्थल जाने गरेको पाइन्छ ।
उक्त गन्धमान पर्वत (हालको पर्यटकीय नमोबुद्ध)मा कल्पवृक्ष, रुद्राक्ष, अशोक, मसला, उत्तिस, सल्ला, अग्राख, लप्सी, कपुर, काफल, श्रीखण्डजस्ता सयौँ प्रकारका रुखबिरुवा तथा बाघ, भालु, बँदेल, खरायो, हरिणजस्ता जन्तु पाइन्थ्यो । साथै मयुर, हाँस, वनकुखुरालगायत पक्षी उक्त जङ्गलमा पाइने गरेकामा हाल पाइन छाडेको अध्यक्ष लामाले बताए ।
केन्द्रीय राजधानी काठमाडौँबाट ३२ किलोमिटरको दूरीमा अवस्थित धुलिखेलबाट १८ किलोमिटर दक्षिणमा नमोबुद्ध पर्दछ । यस क्षेत्रमा लामा, महायानी गुम्बा, ढुङ्गाद्वारा निर्मित ठूला–ठूला बुद्धमूर्ति, चैत्य रहेको छ । ‘नमोबुद्ध महासत्व देगाल’ सामान्य नेवारी घरशैलीको मन्दिर रहेको छ ।
यस पर्वतबाट ऐतिहासिक पनौतीलगायतका हरियाली बस्ती तथा पूर्व–उत्तरतर्फका हिमशृङ्खला र पहाडी मनमोहक दृष्यावलोकन गर्न सकिन्छ । हाल उक्त स्थानमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य छन् । गुम्बामा बुद्ध पाठशालासमेत रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन


ट्रेन्डिङ
खबरमुकाम







