काठमाडौं । धार्मिक लडाइँका कारण तहसनहस भएका सभ्यता, सम्प्रदाय र समुदायले एक पटक हलेसीमा आएर धार्मिक सहिष्णुता सिके सभ्यता संरक्षणको गतिलो शिक्षा लिन सक्छन् । किनकि, हलेसी महादेव तीन धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र, धार्मिक सद्भाव र सहिष्णुताको मुहान हो । यो गुफाको मुखबाट एकैचोटी ८ र १० जना सजिलै पस्न सकिन्छ । यसको गर्भ झण्डै ४५ फिट चौडा छ । आकाशतिरको मुख धेरै चौडा छ । यसको कुना काप्चाबाट पानी रसाएका छन् । एक ठाउँमा भित्तामा गाईका थुनहरू जस्तै चुनढुङ्गाका पग्लँदै गरेका जस्ता चुच्चा आकृतिहरू देखिन्छन् । त्यसबाट चुन मिश्रित चौलानी रङको पानी टप्कने गर्दछ । भक्तजनहरू त्यहाँ ‘दूध देऊ माई’ भन्दै दूध थाप्दछन् ।
किरात, हिन्दू र बौद्ध धर्मावलम्बीका आ-आफ्नै आस्था
किरात, हिन्दू र बौद्ध धर्मावलम्बीले हलेसीमा साझा रूपमा पूजा अर्चना र श्रद्धा गर्छन् । जहाँ, एउटै ठाउँमा तीनवटै धर्मका पितृ, भगवान् र गुरुको सद्भाव प्राप्त गरिन्छ । हलेसी पुगेपछि पितृपुर्खाको आशीर्वाद पाइने, विद्या, धन, आयु बढ्नुका साथै आध्यात्मिक शान्ति पाइन्छ । किरातीहरूले हलेसीलाई खुवालुङ भन्छन् । पुर्खा बसोवास गरेको पवित्र स्थल भएकाले उनीहरू हलेसी गुफालाई माङखिम ९माङ९पितृरमातृ, खिम (घररनिवास) मान्छन् । हलेसी गुफालाई हिन्दू धर्मावलम्बीले अलौकिक प्राकृतिक मन्दिर ठान्छन् । हलेसीलाई बौद्ध धर्मावलम्बीले पवित्र धार्मिक तथा आध्यात्मिक तीर्थधामका रूपमा श्रद्धा गर्छन् । प्रस्तुत आलेखमा तीन धर्मावलम्बीले उत्तिकै महत्त्व ठान्ने हलेसीलाई किराती, हिन्दू र बौद्धमार्गीको हलेसीका रूपमा छुट्टाछुट्टै प्रस्तुत गरिएको छ ।

किरातीको हलेसी
हालको हलेसी तुवाचुङ नगरपालिका ९ सल्लेको रोसुङ्तो (तल्लो चिचिङ्गा) मा घर बनाएर बसेका खोक्चिलिपाले सायँकुमा खेती गर्थे । सायँकु हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानमा पर्छ । घर र खेती गर्ने ठाउँ नजीक थिएन । खेतीबाट घर फर्कन ढिला हुँदा उनी खोक्चिलिपा बुक्टोमै रात बिताउँथे । खोक्चिलिपा बुक्टोमा रात बिताउँदा तिर्खा लाग्यो । उनले मुन्दुमी शक्ति प्रयोग गरेर पानी निकाले । जुन पानी खोक्चिलिपा बुक्टो (बसाहाथान) मुनि छ । त्यही पानी पिएर तिर्खा मेट्थे । त्यो ठाउँलाई अहिले खोक्चिलिपा वालाखा (रानीपोखरी) भनिन्छ ।
नेपालको संक्षिप्त इतिहासमा प्रेमबहादुर सुब्बा माबोहाङ र भूपेन्द्रनाथ तिम्सिनाले लेखेका छन्, ‘सहोदर भाइ साम्सोहाङले षड्यन्त्र गरेकाले किरात राजा लेलिमहाङले कलिगत २२९५ मा काभ्रेको बनेपाबाट हलेसी आई पूजा गरेका थिए ।’ माझकिरातका प्रथम किरात राजा साम्सोहाङ कलिगत वर्ष २३०१ मा हलेसी पुगेको नेपालको संक्षिप्त इतिहासमा उल्लेख छ । लेलिमहाङ र साम्सोहाङभन्दा पहिल्यै कलिगत २२४७ मा किरात राजा शङ्खोहाङ हलेसी पुगिसकेका थिए ।
‘यो पवित्र तीर्थधाम क्षेत्रमा किरात राई समुदाय लगभग चार हजार वर्षदेखि बसोवास गर्दै आइरहेका छन् । यस क्षेत्र आसपासका किरात राईका घर९घरमा हिजोआज पनि बैथर (वज्रढुङ्गा) पाइन्छन् । वज्रढुङ्गालाई चट्याङ ढुङ्गा पनि भनिन्छ । त्यो चट्याङ ढुङ्गा नभएर उहिले किरात पुर्खाले प्रयोग गरेको ढुङ्गे हतियार हो,’ हलेसी महादेवस्थान विकास समितिले प्रकाशन गरेको हलेसी - २ मा भोगीराज चाम्लिङले उल्लेख गरेका छन्, ‘त्यो हतियारलाई मुन्दुममा बैथर भनिन्छ । धामी (नछुङ) ले आफ्नो सांस्कृतिक सामग्रीका रूपमा प्रयोग गर्छन् । प्रत्येक किरात राईले पुर्खाको चिनो र ओखतीका लागि बैथर जोगाएको पाइन्छ । भारतको आसामको तीन चार हजार वर्ष पुरानो बैथरसँग हलेसी क्षेत्रका किरात राईहरूको घर९घरमा पाइने बैथरको बनावट मिल्ने भएकाले यस क्षेत्रका बैथरलाई समेत तीनदेखि चार हजार वर्ष प्राचीन मान्ने गरिएको छ । सम्भवतः खोक्चिलिपाको समय त्यही थियो ।’ उनै प्रतापी राजा होलेसुङले शासन९प्रशासन गरेको क्षेत्र भएकाले अपभ्रंश भएर हलेसी नाम रहन गएको हो ।

हिन्दुको हलेसी
हलेसी प्राकृतिक गुफा भएकाले यहाँ मठमन्दिर छैनन् तर हिन्दू धर्मावलम्बीले हलेसी गुफालाई नै प्राकृतिक मन्दिरका रूपमा मान्दै आएका छन् । धार्मिक आस्था राख्नेका लागि हलेसी गुफा अलौकिक प्राकृतिक मन्दिर हो । हलेसी हिन्दू धर्मावलम्बीका लागि वृकासुरबाट बच्न महादेव लुकेको अद्भुत थलो हो । हलेसीसँग जोडिएर आउने प्रचलितमध्ये एक किम्बदन्ती यस्तो छ । शकुनी दैत्यका छोरा वृकासुर हुन् । वृकासुरलाई नै भष्मासुर पनि भनिन्छ । वृकासुर राक्षसले गरेको कठोर तपस्याबाट प्रसन्न भई महादेवले वरदान माग्न भने । उनले ‘म जसको शिरमा हात राखूँ, त्यसको भष्म होस्’ भनी वरदान मागे । महादेवले वरदान दिए । आफूले पाएको वरदान परीक्षण गर्न वृकासुर हतारिए । नभन्दै महादेवको शिरमा हात राखी भष्म पारेर पार्वतीलाई आफ्नो बनाउने कुभलो चिताए । वृकासुरले कुभलो चिताएपछि महादेव भाग्दै हलेसी गुफामा लुक्न पुगे तर राक्षसले लखेट्न छाडेनन् । महादेव अप्ठ्यारोमा परेको विष्णुले चाल पाए । ऋषिरूप धारण गरेर विष्णुले महादेवलाई जोगाउने उपाय निकाले । महादेव लखेट्दै गरेका वृकासुरलाई विष्णुले भने, ‘तिमी पनि कस्ता नि । महादेवले दिएको वरदान पनि साँचो हुन्छ त रु होइन भने एकपटक जाँचिहेर त ।’ विष्णुको भनाइ सुनेर झस्केका उनले आफ्नै शिरमा हात राख्न पुगे । शिरमा हात राख्नासाथ वृकासुर भष्म भए ।
६७ मिटर लामो गुफाको मुखैमा बेढङ्गको ढुङ्गा रहेको छ । सोही ढुङ्गालाई महादेवको वाहन भन्ने गरिन्छ । राक्षसबाट बच्न आफ्नो वाहन बसाहालाई सुरक्षाका रूपमा राखेर महादेव बसाहा गुफामा लुकेको किम्बदन्ती छ ।

२६ रोपनी क्षेत्रफलमा विस्तारित हलेसीमा नित्यपूजा र चाडपूजा गरिन्छन् । बिहान, बेलुका गरिने नित्यपूजाका लागि १४ वर्षभन्दा कम उमेरका गिरी परिवारका कुमार चाहिन्छ । चाडविशेषमा चाडपूजा गरिन्छ । यस अवसरमा शङ्ख, घन्ट, पञ्चेबाजा र डमरु बजाउँदै पूजारी समूह हलेसी गुफा प्रवेश गर्छन् । चाडपूजामा महादेवलाई गहना पहिर्याउने चलन छ । हलेसीमा वर्षेनि रामनवमी, शिवरात्री, बालाचतुदर्शी र तीजमा भव्य मेला लाग्छ । बालाचतुर्दशीमा पितृको सम्झनामा सतबीज छर्नेको भीडभाड हुन्छ । यहाँ रुद्री, लघुरुद्री, अतिरुद्री, चूडाकर्म र व्रतबन्ध गरिन्छ । प्रत्येक पूर्णिमामा ११ आवृत्ति रुद्री र शिवरात्रिमा १४ बाह्मणद्वारा लघुरुद्री पाठ गरिन्छ । त्यतिबेला तीनसुते एक लाख बत्ती बाल्ने र एक लाख बेलपत्र चढाउने गरिन्छ । त्यति मात्रै होइन, हलेसीमा परेवा उडाउने, घन्ट, त्रिशुल र दूधसमेत चढाउने गरिन्छ । वैशाखे पूर्णिमामा भण्डारा लगाउने प्रचलन छ ।
_विद्युतिय_मन्दिर_ह.jpg)
बौद्धमार्गीको हलेसी
बौद्ध धर्मगुरु पद्मसम्भवले ध्यान९तपस्या गरेको सम्मानित ठाउँ हो हलेसी । त्यसैले बौद्ध धर्मावलम्बीले हलेसी गुफालाई मारातिका भनेर पुकार्ने गर्छन् । मारातिका भनेको मृत्युबाट मुक्ति हो । गुरु पद्मसम्भवले हलेसी गुफामा तपस्या गरी मृत्युबाट मुक्ति पाएकाले हलेसी गुफालाई मारातिका भनिएको हो । खासमा अमरातिका हो । बोलीचालीको भाषामा ‘अ’ लोप भएकाले मारातिका भन्न थालियो । सातौँ शताब्दीको अन्त्यतिर पद्मसम्भव र मन्दरादेवी (पद्मसम्भवकी श्रीमती) ले हलेसीमा तीन महिना साधना गरेका थिए । तीन महिना साधना गर्दा उनीहरूले मृत्युबाट मुक्ति मिल्यो अर्थात् कहिल्यै जन्मनु र मर्न नपर्ने भयो । पहिल्यै अस्तित्वमा रहे पनि पद्मसम्भवले मृत्युबाट मुक्ति पाएको सन्देश प्रवाह हुँदै गएपछि बौद्ध धर्मावलम्बी हलेसी बाक्लै आउन थाले । यो क्रम जारी छ । उनीहरूले हलेसी गुफामा रहेको शिवलिङ्गलाई ‘धर्मपाल’ र पार्वतीथानलाई ‘आयुकलश’ मान्दै आएका छन् ।

विश्वमै बौद्ध धर्मसम्बन्धी प्रमुख छवटा तीर्थ छन् । त्यसमध्ये मारातिका (हलेसी गुफा) लाई पनि एक मानिएको छ । त्यस अर्थमा बौद्ध धर्मावलम्बीका लागि हलेसी अत्यन्तै सम्मानित ठाउँ हो । हलेसी गुफाको प्रवेशद्वारमै दायाँपट्टि मारातिका क्षिमेत ताग्तेन क्षोलिङ गुम्बा निर्माण गरिएको छ । वि.सं. २०३७ मा लामा ङवाङ छोफेल ग्याछोले गुम्बा निर्माण गरेका हुन् । वि.सं. २०७३ मा पुनःनिर्माण गर्ने भन्दै पुरानो भत्काएर भव्य गुम्बा निर्माण गरिएको छ । बौद्ध शिक्षा पढाइने गुम्बामा शाक्यमुनि गौतम बुद्ध, पद्मसम्भव र अवलोकितेश्वर लगायतका मूर्ति रहेका छन् ।
मुकाम, काेशी प्रदेश भ्रमण वर्ष २०८२ विशेषाङ्कबाट ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
चन्द्र तामाङ






