‘मुकाम’ दशैँ घुमघाम शृङ्खला ४ः किरात पहिचानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने ‘मुन्दुम ट्रेल’

- रमेश राई

मुन्दुम ट्रेल परिचय

प्रदेश नं १ अन्तर्गत मध्य पहाडी क्षेत्रको विशेष गरी किरात जातिको सांस्कृतिक विविधता रहेको, भाषा, धर्म, संस्कार, संस्कृति जिवन्त रहेको, प्रकृतिका सौन्दर्यले भरिपुर्ण, जैविक विविधता, वन्यजन्तु, जलाधार र सिमसार पोखरीहरुले भरिपुर्ण नेपालको घुम्नैपर्ने १०० गन्तव्यमध्ये एक नयाँ पदमार्ग हो ‘मुन्दुम ट्रेल’ । किरात जातिको प्राग इतिहास, जीजन दर्शन, ज्ञान विज्ञान, सिप कला कौसल, सभ्यता, संस्कार संस्कृति, मौलिकपनको एकीकृत रुप नै ‘मुन्दुम’ हो । ‘मुन्दुमि’ हरुले नियामा (समुन्द्रको मैदान) देखि चोमोलुङ्मा (सर्वोच्च शिखर सगरमाथा) सम्म शक्ति र ज्ञानको लागि आध्यात्मिक यात्रा गर्दा हिँड्ने बाटो यही भएकोले यस पदमार्गको नाम ‘मुन्दुम ट्रेल’ भनिएको हो ।

खोटाङ जिल्ला र भोजपुर जिल्लाको सिमाना चखेवा भन्ज्याङदेखि मेहेरुङ डाँडा, मैयुङ डाँडा लौरी डाँडा, साल्पा पोखरी, सिलिचुङ चुचुरा पुगेर पुनः मैयुङ डाँडा, सुन्तले डाँडा, डेलीखर्क हुँदै भोजपुर बजारसम्मको पदमार्गलाई हाल ‘मुन्दुम ट्रेल’ पदमार्ग भनेर नामकरण गरिएको छ ।

मुन्दुम ट्रेलको प्रमुख पर्यटकीय आकर्षणहरुः

प्राकृतिक आकर्षणः

८००० मिटर अग्लो विश्वको सर्वोच्च शिखर सगरमाथा (८८४८) लगायत, लोत्से (८५१६), लोत्से सार (८३८२), मकालु (८४६३), चोयु, कञ्चनजङ्घा (८५८६) गरी ६ वटा हिमाल यो पदमार्गबाट आँखा अगाडि देख्न सकिन्छ जुन नेपालको कुनै पदमार्गबाट देख्न सकिँदैन । त्यति मात्र होइन दुध कुण्ड, कार्यलुङ, कुसुमखाङ, आमादाब्लाम, थामसेर्कु, क्यासर, खाङ्तेगा, चाम्लाङ, मेरा पिक, बरुण हिमाल, कुम्भकर्ण हिमाल लगायत पश्चिममा गौरीशंकर हुँदै लाम्टाङ हिमालसम्मको करिब ४५ वटा पिक हरु हेर्न पाइन्छ । दक्षिणमा सप्तकोशीको फाँटसम्म देख्न सकिन्छ । यो पदमार्गअन्तर्गत टेम्के डाँडा (३०१० मि), मेहेरुङ डाँडा, मात्तिम डाँडा, हाँस पोखरी, मैयुङ डाँडा (३३३३ मी), सुन्तले डाँडा, लौरी डाँडा, साल्पा पोखरी (३७५०) र सिलिचुङ डाँडा (४१५५मि) प्रमुख आकर्षण हुन् । यसमध्ये साल्पा पोखरी र सिलिचुङ डाँडा विशेष महत्वका क्षेत्र हुन् ।

सांस्कृतिक आकर्षणः

यो पदमार्गको चारैतर्फ १० भाषी किरात जातिका संस्कार, संस्कृति, चाडपर्व, खानपान, जीवन पद्धति जिवन्त रहेको छ । यसको अलाबा शेर्पा, तामाङ र अन्य समुदायको पनि संस्कृति अवलोकन गर्न पाइन्छ । यो पदमार्गको हरेक ठाउँ विशेषको नाम मुन्दुमसँग जोडिन्छ । यसमध्ये साल्पा पोखरी सिलिचुङ किरातहरुको पवित्र धार्मिक अध्यात्मिक तिर्थस्थल हो । किरात जातिका सृष्टिकर्ता आदिम पुर्खा सुम्निमा र पारुहाङ बसोबास गरेको र किराती जातिको सृष्टि गरेको स्थानको रुपमा साल्पा पोखरी क्षेत्रलाई मानिन्छ । किरात मुन्दुमी, धामी, बिजुवा र नाक्छोङहरुले साल्पा पोखरी र सिल्चुङ क्षेत्रलाई आफ्ना गुरु बस्ने स्थान र अध्यात्मिक शक्तिका केन्द्रको रुपमा हालसम्म पनि पुजा प्रार्थना गरिआइएको छ । यो पदमार्गमा मुन्दुमी संस्कृति विशेष रुपमा हेर्न सकिन्छ ।

जैविक विविधताः

१. घना जंगल, प्रचुर पानीको स्रोत र ठुला घाँसे खर्कहरुको क्षेत्र भएकोले विभिन्न प्रजातिका फुलहरु, जडिबुटीहरु, बिभिन्न प्रजातिका गुराँस र चिमलका घना जंगलहरु, मालिंगो प्रजातिका बाँसहरु, लोपुन्मुख रेड पाण्डा, भिर माहुरीका घारहरू, मृग, घोरलको सिकार गर्ने ‘हिमाली चिल’ का बासस्थान र गतिविधिहरु, जंगलमा पाइने जंगली किबी फलहरु लगायत बाघ, भालु, मृग, घोरल, थार, डाँफे, मुनाल, कालिज, दुर्लभ राजपन्छी (छालाको पखेटाले उड्ने चरा) आदिको अवलोकन यो पदमार्गमा गर्न सकिन्छ ।

गोठाले संस्कृतिः

घाँसे खर्कको प्रचुरताले यो क्षेत्रमा चौँरी पालना, भेडा पालन, गाई भैँसी पालन गर्ने हुँदा पदमार्ग आसपास रहेका करिब २०० गोठहरुमा गोठालेहरुको जीवनपद्धति पनि अवलोकन गर्न पाइन्छ ।
 

 

पदमार्गको प्रकृतिः

 यो पदमार्गमा १० वर्षदेखि ७५ वर्ष उमेर समुहका पर्यटकहरु समेत सजिलै यात्रा गर्न सक्ने प्रकृतिको छ । उकालो ओरालो धेरै गर्नु नपर्ने, नजिकबाट हिमालको काखमा पुगेको अनुभव गर्न पाइने सांस्कृतिक विशेषतायुक्त छ । साथै यो पदमार्ग भएर एभरेस्ट बेस क्याम्प, अरुण भ्याली ट्रेक, मकालु ट्रेक, हुन्कु भ्याली ट्रेक गर्न सकिने प्रकृतिको छ ।

मुन्दुम पदमार्गमा गर्न सकिने साहासिक गतिबिधिहरुः

१.     मैयुङ डाँडाको टपदेखि खर्क –खर्क हु्ँदै मात्तिम डाँडाको टपसम्म ‘माउन्टेन साइक्लिङ’ गर्न सकिन्छ ।
२.     सावा झरना सावा गाउँ र महभीर झरना टेम्के डाँडा मुनि ‘क्यानोइङ’ गर्न सकिन्छ । जसको लागि नट, रोप लगायत पूर्वाधार तयार भइसकेको छ ।
३.     गौँथली भीर भैँसीपंखा भोजपुरमा रक क्लाइम्बिङका लागि पुर्वाधार तयार गरिएको छ ।
४.    प्रत्येक वर्ष मुन्दुम ट्रेल अन्तर्गत हुने ‘मुन्दुम ट्रेल अल्ट्रा रेस’ मा सहभागी हुन सकिन्छ । हाल सम्म २०७४, २०७५ र २०७६ को प्रतियोगिता सम्पन्न भइसकेको ।
५.    फेदी गाउँ, सुङ्देल, दोभाने क्षेत्रका भीरहरुमा परम्परगत ढंगबाट भीर माहुरी काढ्ने गतिविधिमा सहभागी हुन सकिने ।
६.    सरस्वतीगुफा टक्सार, भोजपुरमा कम्तीमा १ घण्टा गुफाभित्र भ्रमण गर्न सकिने ।

मुन्दुम ट्रेलका अन्य आकर्षणः

१.    मुन्दुम ट्रेलको भ्रमण गर्ने क्रममा खोटाङ तर्फबाट जाँदा हलेसी गुफा, किरातहरुले कृषि सभ्यताको विकासको सुरुवात गरेको स्थान तुवाचुङ जायाजूम, होलेसुंग गढी, माहुरे गढी, रुपाकोट डाँडा, मझुवा गढीको भ्रमण गर्न पाइन्छ भने भोजपुर तर्फ सिद्धकाली मन्दिर, खिवाहाङ गढी, खिकाम गढी, ऐतिहासिक टक काट्ने स्थान ‘टक्सार बजार’ रुद्राक्षको राजधानी तथा बालागुरु षडानन्दको तपोभूमि दिङ्ला बजारको पनि भ्रमण गर्न सकिन्छ ।
२.     विश्वप्रसिद्ध भोजपुरको खुकुरी, टक्सारको धातुका घरायसी सामग्री, अल्लो खाडीका कपडा, लोक्ताको सामग्री, मालिङ्गो बाँसका बिनायो, कोक्रो, सजाउने सामग्री, यलम्बर बाजा, मुर्चुङ्गा जस्ता मौलिक उपहारजन्य सामाग्रीहरु, भेडाको उनबाट बनेको राडी पाखी, चौँरीको छुर्पी आदि उपहार लैजान पाइन्छ ।
३.    फिल्म सुटिङका लागि प्राकृतिक सौन्दर्यको लागि धरै ठाउँ खोज्नुपर्दैन यसको लागि मुन्दुम ट्रेल काफी छ ।
४.     सप्तकोशीदेखि सगरमाथासम्मको ‘ग्रेटर मुन्दुम ट्रेल’ को समेत पदयात्रा गर्न सकिन्छ । जहाँ दुधकोशीमा ¥याफ्टिङ गर्दै कोशी टप्पुको वाइल्डलाइफ समते अवलोकन गर्न सकिन्छ ।

पदमार्गमा हाल उपलब्ध पुर्वाधारहरुः

१.    भोजपुरतर्फबाट, भोजपुरमा एरपोर्ट भएको, सार्बजनिक यातायातको सुविधा भोजपुर सुन्तले बाघखोरसम्म भएको । सुन्तले बाघखोरमा लज, टि हाउसहरु प्रसता रहेको । बाघखोरदेखि मैयुङ डाँडासम्म ट्रेल मर्मत सुधार भइसकेको ।
२.     खोटाङ तर्फबाट चखेवा भन्ज्याङसम्म गाडीको सुविधा भएको, चकेवामा ५ वटा टि हाउस र लज सञ्चालनमा रहेको, धोत्रे भन्ज्याङमा २ वटा टि हाउस सन्चालनमा रहेको, २ वटा ट्वाइलेट र पानीको सुविधा व्यवस्था गरिएको, हाँस पोखरीनजिक ८ कोठे र ३ कोठे २ वटा अट्याच बाथरुमसहितको पाहुना घर र हेलिप्याड सञ्चालन भएको ।
३.    मैयुङ डाँडा उत्तर पुर्वी भागमा टि हाउस निर्माण सम्पन्न भएको ।
४.    साल्पा पोखरीनजिक कुलुपंख भन्ज्याङमा १ वटा टि हाउस सञ्चालनमा रहेको र साल्पा पोखरीमुनि साल्पा सिलिछो गाउँपालिकाले ट्वाइलेट, पानी र सेल्टर हाउस सञ्चालनमा ल्याएको ।
५.    आब २०७७÷०७८ मा नेपालकै उत्कृट इको ट्रेलको रुपमा प्रदेश सरकार, स्थानीय गाउँपालिका, नगरपालिका र स्विस सरकारको त्रिपक्षीय लगानीमा मुन्दुम ट्रेलको करिब ५० प्रतिशत खण्ड स्तरोन्नति गरिसकिएको छ ।

आर्थिक लाभ रोजगारी सिर्जनाः

मुन्दुम ट्रेलको विकाससँगै यो पदमार्ग भएर पाँचपोखरी मेरा ट्रेक, अरुण भ्याली ट्रेक र एभरेस्ट बेस क्याम्प ट्रेक जाने विदेशी पर्यटकहरुको ठुलो संख्याले यो पदमार्ग पछ्याउने भएकोले अन्य रुटमा जाने विदेशी पर्यटक मार्फत पनि ठुलो आम्दानी यो क्षेत्रको बासिन्दाले प्राप्त गर्ने छन् । यसको अलाबा आन्तरिक पर्यटक, तिर्थ यात्री, छिमेकि मुलुकका पर्यटकहरुबाट पनि प्रचुर लाभ लिन सकिनेछ । विशेष गरेर निम्न कुराहरु मार्फत लाभ लिन सकिन्छः 

१.    पर्यटकीय क्षेत्रमा विशेष रोजगारी सिर्जना हुनेछ । जसको विशेष लाभ पनि स्थानीय समुदायले नै प्राप्त गर्नेछ ।
२.    पर्यटकीय पूर्वाधारको विकास र निर्माण गर्दा अन्य भौतिक पूर्वाधारहरुको समेत विकास र विस्तार हुन जानेछ । जुन कार्यमा स्थानीय समुदायले आफ्नो प्रविधि र सीपको समेत प्रयोग र उपयोग गर्दै प्रशस्त रोजगारी प्राप्त गर्ने र नयाँ सिप विकास गर्न अवसर मिल्नेछ ।
३.    भाषा, संस्कृति, कला, स्थानीयपनको व्यवसायीकरणसँगै यसको विशेष प्रवद्र्धन गर्न सकिने अवस्था रहन्छ ।
४.    स्थानीय समुदायको चेतनास्तरको विकास र विस्तार गर्न पर्यटन प्रवर्धन–विकासले ठूलो भूमिका खेल्नेछ ।
५.    स्थानीय मौसमी फलफुलहरु, तरकारी, स्थानीय प्रजातिका अन्नबाली, बनजन्यः बाँस÷काठ, जराजुरीबाट घरेलु हस्तकलाका सामानहरु, सजावटका सामाग्रीहरु उत्पादन र विक्री गर्न सकिने प्रचुर सम्भावना छ ।
६.    परम्परागत कपडा (विशेषः अल्लो) उत्पादन, पशुपालन, तरकारी खेती, चिया÷कफी उत्पादन गर्न सकिने सम्भावना छ ।

मुन्दुम ट्रेलको महत्वः

१. मुन्दुम ट्रेल ‘माझ किरात’ मा पर्यटक भित्र्याउने मुख्य औजार बन्दैछ ।
२. मुन्दुम ट्रेल यो क्षेत्रको पर्यटन विकासको सुरुवाती मूल ढोका मात्र हो, यहाँभित्र छिरेपछि सम्भावनाको अथाहा भण्डार छ जसलाई उपयोग गर्न सके हामी साँच्चिकै समृद्ध बन्नेछौ ।
३. मुन्दुम ट्रेलको विकाससँगै यो क्षेत्रमा वन, कृषि, पशुपालन लगायत उद्योगहरुको पनि सँगसँगै विकास हुनेछ र हुन सुरु पनि भैसकेको छ । मुन्दुम ट्रेल नेपालको लागि ‘नमुना पर्यटन गन्तब्य’ हुँदैछ ।
४. मुन्दुम ट्रेल शीतोष्ण क्षेत्र ९कगद बउिष्लभ शयलभ० को  नमुना गन्तब्य बन्दैछ । मुन्दुम ट्रेलले नेपालमा हालसम्म पर्यटन क्षेत्रमा सीमित गन्तव्यको मात्र बचस्र्व रही आएकोमा त्यसको अन्त्य गर्दै पर्यटनमा नयाँ आयामको सुरुवात गर्दैछ ।
५. किरात समुदायले पनि पहिलोपटक आफ्नै जन्मथलोमा पर्यटन उद्योगको लाभ पाउने अबस्था सिर्जना भएको छ ।
६. मुन्दुम ट्रेलको विकासले अन्य क्यात ब्मखभलतगचभ त्यगचष्कm म्भकतष्लबतष्यल खोज्न राज्य, योजनाविद र व्यवसायीहरुलाई समेत आकर्षित गर्नेछ ।

मुन्दुम ट्रेल itinerary:

पहिलो दिनः काठमाडौ–हलेसी– दिक्तेल (रेस्ट) 
दोस्रो दिनः दिक्तेल–चखेवा भन्ज्याङ (लन्च)– टेम्के डाँडा (रेस्ट) टेम्के डाँडा साइट सिन
तेस्रो दिनः चखेवा–दलसिंगे (लन्च)– धोत्रे भन्ज्याङ (रेस्ट)
चौथो दिनः धोत्रे भन्ज्याङ–जलजले–हाँस पोखरी (लन्च र रेस्ट) हाँस पोखरी, मैयुंङ डाडा, मात्तिम डाडा साइट सिन
पाँचौ दिनः हाँस पोखरी–ह्याकुले (लन्च) – रावा धाप (क्याम्प)
छैटौँ दिनः रावा धाप–निकास (लन्च)– साल्पा पोखरी (क्याम्प)
सातौँ दिनः साल्पा पोखरी–सिलिचुङ डाँडा चढ्ने–साल्पा पोखरी (लन्च र क्याम्प)
आठौँ दिनः साल्पा पोखरी–रावा धाप (लन्च)– ह्याकुले डाँडा (क्याम्प)
नवौँ दिनः ह्याकुले डाँडा–सातदोबाटो (ब्रेकफास्ट)– हाँस पोखरी (लन्च र रेस्ट) 
दशौँ दिनः हाँस पोखरी–बाघखोर–सुन्तले (लन्च)– भोजपुर (रेस्ट)
एघारौँ दिनः भोजपुर बजार, टक्सार बजार साइट सीन, रक क्लाइम्बिङ सेन्टर भ्रमण (होंकु रिसोर्ट साम्पाङ चोक रेस्ट)
बाह्रौँ दिनः भोजपुरदेखि काठमाडौँ (बस वा हवाई जहाज मार्फत)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
100 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै