Dark

किरात सांस्कृतिक सम्पदा साल्पा सिलिचुङ मुन्दुमी आस्थाको केन्द्र

मुलघरे कान्छा/राजेन खिम्बुले राई 

मुन्दुम हजारौ वर्ष अघि किराती पुर्खाहरुमा जब चेतनाको विकास हुने क्रममा यो श्रृष्टि, यो संसार, यो प्रकृतीसंगको सामिप्यता संगै प्रकृतिमा रहेका चराचर प्राणी जगत,सारा पशुपंक्षी, चराचुरुङ्गी, वनस्पती, प्रकृतीमा रहेका हिमाल पहाड, ढुङ्गा माटो, वन–जङ्गल, नदि खोला–नाला ताल तलैयाहरु, प्रकृतीमा रहेका हरेक कुराहरुसंगको अनुभव, भोगाईहरुबाट व्यवहारिक ज्ञान प्राप्त गर्दै गए । यसरी प्राप्त व्यवहारिक ज्ञान पुस्तौपुस्ता देखी एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुदै आईरहेको चेतनाको विकासको चरणहरुको सिंगो सार,ति हरेक वस्तुहरु प्रतिको दार्शनिक चिन्तन,विश्व दृष्टिकोण तथा व्यवहारिक ज्ञानको समुच्चय सार नै मुन्दुम हो । मुन्दुम मौखिक तथा श्रुति परम्परामा आधारित छ । मुन्दुम किराती समाज/समुदायमा विभिन्न मिथकहरुको संग्रह, कथा, होप्माछाम, गित तथा मुन्दुमी सांस्कृतिक नायकहरु मुन्दुमी, तायामी, नछुङ, नाक्छो, नाक्छुङ, माङ्पा, कुबी, नागिरे, जानपा, मावी, ज्वाम्, पासिङ, दोवा, वाटाङ्पा, बुङटोमी, सुक्सङ्मी, बुङपेन्मी, राहाङ्मी, बाखमी, फेदाङमा, येबा, येमा, देवारी, तुम्साबङ्ग, धामी बिजुवाहरुले गाऊने रिसिया, होप्माछाम (मन्त्रहरु)को स्वरुपमा एक पुस्तादेखी अर्को पुस्तामा पुस्तौपुस्ता देखी पुस्तान्तरण हुदै आईरहेको छ ।

मुन्दुम अनुसार साल्पा सिलिचुङ नै श्रृष्टिको उत्पत्ति केन्द्र तथा मुन्दुमको उत्पत्ति केन्द्र रहेको जनविश्वास रहेको छ । मुन्दुम अनुसार यो धर्तीमा (हेन्खामा)मा सर्वप्रथम श्रृष्टिकर्ताहरु सुम्निमा र पारुहाङ यहि सिलिचुङमा नै भेट भएको कारणले सिलिचुङ लाई पारुखामको रुपमा जनविश्वास रहेको छ । त्यस्तै मुन्दुमा किरातीहरुको आदिम पुर्खाहरु रिकापा–रिभ्यामा,साल्पाहाङ-रिब्रिहाङमा/रिब्रिमा (साल्पा राजा र साल्पा रानी) जस्ता आदिम किराती पुर्खाहरुको साल्पा सिलिचुङमा नै आदिमथलो तथा बासस्थान रहेको मुन्दुमी जनविश्वास रहेको छ । किरातीहरुको पवित्र मुन्दुमी स्थल सिलिचुङ मुन्दुमी साया (शिर) सुम्दिमा–पारुहाङको बासस्थान हो । किरात राईहरुको भाषामा सिलिचुङको शाब्दिक अर्थ सिली भनेको (साकेला सिली,नछुङ माङ्पाहरुले नाच्ने विभिन्न सिलीहरु झै सिली=नांच र चुङ= डांडा÷चुचुरा भन्ने शाब्दिक अर्थ राख्दछ । यस पवित्र मुन्दुमी स्थल सिलिचुङमा आदिमकालमा नछुङ-माङ्पा धामी बिजुवाहरुले आफ्ना गुरु बस्ने स्थान र आध्यात्मिक रुपमा सिली नाच्ने स्थलको रुपमा लिने गरीन्छ ।

त्यसैले किरातीहरुको सांस्कृतिक  नायकहरु, मुन्दुमी नछुङ, माङ्पा, नागिरे, कुबी, ज्वाम्चो, मावी, दोवा, पासिङ, वाटाङ्पा, बुङ्पेन्मी, धामी बिजुवाहरु यारीचुरी माङमिछामा चिन्ता बस्दा मुन्दुमी शक्तिले सुप्तुलुंङ तिनचुलाबाट सुरुवात गरेर खुवालुङ  हुदै साल्पा सिलिचुङ सम्मको रिचुवल यात्रा गर्देछन । किरातीहरुको सांस्कृतिक नायकहरु, मुन्दुमी नछुङ, माङ्पा, धामी बिजुवाहरु वर्षेनी कार्तिक पुर्णिमा, बैशाख पुर्णिमा र भदौरे पुर्णिमामा (Ritual Journey,Spiritual Jorney) रिचुवल यात्रा, स्पिरिचुवल यात्रामा र मुन्दुमी शक्ति नविकरण गर्नको लागी मुन्दुमी यात्राको निमित्त साल्पा-सिलिचुङ जाने गर्दछन। यस अर्थमा (साल्पासिलिचुङ) किरातीहरुको निमित्त हिन्दुहरुको मानसरोवर ताल र कैलाश पर्वत, क्रिस्चियनहरुको जेरुसेलम, मुस्लिमहरुको मक्का-मदिना, बुद्धिस्टहरुको लुम्बिनी भने जस्तै र त्यतिकै महत्वपुर्ण पवित्र मुन्दुमी स्थल, किरात धार्मिक तथा सांस्कृतिक स्थल किरात सांस्कृतिक सम्पदा हो ।   



यस साल्पा पोखरी र सिलिचुङ भोजपुर,सोलुखुम्बु, खोटाङ र संखुवासभा जिल्लाको सिमाक्षेत्रमा अबस्थित भोजपुर जिल्लाको साल्पा सिलिछो गाउँपालिका दोभाने गाबिसको वडा नम्बर ५ अन्तर्गत पर्दछ । यो क्षेत्र भोजपुर, सोलुखुम्बु, संखुवासभा र खोटाङ जिल्लाको संगम स्थल हो । यस साल्पा पोखरीको उचाई समुन्द्री सतहदेखि ३७५० मिटरको उचाइमा रहेको साल्पा पोखरी र सिलिचुङ समुन्द्री सतहदेखि ४१५५ मिटरको उचाइमा रहेको छ । यस साल्पा पोखरीको अक्षांश २७.४४६ डिग्री उत्तर र देशान्तर ८६.९३४ डिग्री पुर्ब रहेको छ । यहाँबाट भोजपुर, संखुवासभा, धनकुटा,तेर्हथुम ताप्लेजुंग, खोटांग, सोलुखुम्बु, ओखालढुंगा जिल्लाको थुप्रै गाउँघर देख्न सकिन्छ । यहाँबाट मकालु, कंचनजंघा, चोमोलुङ्मा/सगरमाथा हिमाल देख्न सकिन्छ । यस साल्पा सिलिचुङ वरपरका क्षेत्र भोजपुर, खोटांग, सोलुखुम्बु, संखुवासभा लगायत क्षेत्रमा बिशेष गरेर कुलुङ, बान्तावा, चाम्लिङ, साम्पाङ, कोयी, खालिङ, दुमी, मेवाहाङ, याम्फु, थुलुङ लगाएत अन्य विभिन्न भाषिक राईहरुको सघन बसोबास रहेको छ । यस साल्पा सिलिचुङ छेत्रमा भूगर्भशास्त्री, पुरातात्वबिद, मानवशास्त्री, समाजशास्त्री, इतिहासविदहरुले गहन रुपमा पुरातात्विक खोज तथा अध्ययन अनुसन्धान गर्ने हो भने किरातीहरुको प्राग ऐतिहासिककालको इतिहास,प्राचिन किरात सभ्यताकालिन ऐतिहासिक तथ्य प्रमाणहरु प्राप्त गर्न सकिने सम्भावनाहरु देखिन्छ ।  

किरातीहरुको मुन्दुमी मिथक अनुसार सृष्टिको उत्पत्ती सम्बन्धित सुम्निमा पारुहाङ र साल्पा सिलिचुङको इतिहास/मिथक 

यो सृष्टिको उत्पत्तीकालमा यो संसार पानी नै पानीले ढाकेको जलाम्य महासागर थियो। यो सृष्टिलाई सुन्दर बनाऊन थुप्रै जीव जीवात्माको परिकल्पना माङले गर्नुभयो। त्यसको लागी सृष्टिकर्ता माङले जमिनको आवश्यक रहेको ठान्नुो । त्यसपछि सृष्टिकर्ता माङले ३ वटा पिपलको पातको उत्पत्ति गराऊनु भयो । एउटा पिपलको पातले जलाम्य धर्तीलाई छोपिदिनु भयो,अर्को पिपलको पातले शिरमाथी पार्नुभयो र आकाशको उत्पत्ति गराऊनु भयो । त्यस्तै अर्को पिपलको पात घोप्टो पारेर धर्तीमा राखिदिनु भयो । त्यहि घोप्टो पारेको पिपलको पातले पानी लाई छोपिदिएपछि त्यहाँ बिस्तारै जमिन बन्दै गयो । त्यस घोप्टो पारेको पातमुनी बिस्तारै माटो बन्दै गरेको माटो लाई (बोबोयोङ्मा) धमिराले उधिनेर माटोको उत्पत्ती गराए । यसरी धमिरा (बोबोयोङ्मा) ले माटो थुपार्दै जादा कालान्तरमा धर्तीमा (माटो र पानी) जल र जमिन बराबरी हुन पुग्यो ।

त्यसरी जल र जमिनको उत्पत्ति भएपछि नै यो धर्तीमा विभिन्न जिव जिवात्माहरु प्राणी जगतलाई बाच्न योग्य बन्दै गयो । त्यसरी विभिन्न जिव जिवात्माहरुको उत्पत्ती गराएपछि मात्र मानवको उत्पत्ती गराऊने विचार गर्नुभयो । त्यसपछि नेवाहाङ निनाम्मा र हितुहाङ निनाम्माको गर्नुभयो । त्यसपछि निवाहाङ निनाम्मा र हितुहाङ निनाम्माको कोखबाट सुम्निमा चेली र पारुहाङ माईतीको जन्म भयो। सुम्निमा र पारुहाङ हुर्किन्दै बढ्दै जानुभयो । तर यो सृष्टिलाई निरन्तरता दिनको लागी स्त्री र पुरुषको समागमन हुन अनिवार्य आवश्यक थियो । त्यसकारणले सृष्टिलाई निरन्तरता दिनकै लागी सुम्निमाले आफ्नो माईती पारुहाङसंग बिवाह गर्ने निर्णय गर्नुभयो। तर पारुहाङले भने आफ्नै चेलीसंग बिवाह गर्न अनुचित मात्र होईन अपराध नै हुने ठान्नुभयो । आफ्नी चेली सुम्निमाले आफुसंग बिवाह गर्न लागेको र आफुलाई आफ्नै चेलीसंग बिवाह गर्न मन्जुर नभएको कारणले सुम्निमाले नभेट्ने ठाँऊ साल्पा पोखरी तिर गई अलप हुनुभयो। सुम्निमाले जसरी पनि सृष्टि लाई निरन्तरता दिनको लागी पारुहाङ लाई खोज्न थाल्नुभयो। सुम्निमाले सर्वप्रथम पारुहाङ लाई खोज्नको लागी टाङटुमी (चाँदे) चराको उत्पत्ती गराऊनुभयो । सुम्निमाले (टाङटुङ्मी) लाई पारुहाङ लाई जसरी पनी खोजेर ल्याऊन भनेर पठाईन। टाङटुङ्मीले सारा संसार खोजे तर पनि पारुहाङ लाई भेट्न सकेनन।

अन्तमा टाङटुमीले पारुहाङ साल्पा पोखरी भित्र ध्यान गरेर बसेरहेको छ भन्ने कुरा पत्ता लगाए। टाङटुङ्मीले अदुवा काटेर यारी गर्दै, मुन्दुम गाँऊदै शिली नाच्दै साल्पा पोखरी वरीपरी परिक्रमा लगायो, तर पारुहाङ निस्किएनन । टाङटुङ्मीले त्यतिबेला यारी गर्दा आफ्नो टाऊको नै एकपाटो छिनाई पठाए । त्यसैले आजपनि चाँदे चराको टाऊको एकपाटे रहेको हो भन्ने मान्यता रहेको छ । पारुहाङ साल्पा पोखरी भित्र रहेको कुरा टाङटुङ्मीले पत्ता त लगायो तर पारुहाङ लाई ल्याऊन भने सकेनन। त्यसपछि टाङटुङ्मी सुम्निमा भएको ठाँऊमा फर्केर गयो र सुम्निमा लाई पारुहाङ साल्पा पोखरी भित्र रहेको तर फर्काऊन नसकेको कुरा बेलिविस्तार लगायो । त्यसपछि फेरी सुम्निमाले झेतुवा (धोवी) चराको उत्पत्ती गराऊनुभयो र पारुहाङ खोजेर ल्याऊन भनेर पठाऊनुभयो । झेतुवा (धोवी)चराले पारुहाङ लाई खोज्दै सारा संसार नै डुल्यो तर कहिकतै पनि भेट्टाऊन सकेन । अन्तमा पारुहाङ लाई झेतुवाले साल्पा पोखरी भित्रै रहेको भन्ने कुरा पत्ता लगायो । झेतुवा चराले पनि मुन्दुम गाऊदै शिलि नाच्दै यारी गर्दै सोलोन्वा (चिण्डो) बोकेर साल्पा पोखरी वरीपरी परिक्रमा लगाए तरपनि पारुहाङ निस्किएनन । त्यसपछि झेतुवा चरा पनि फर्किएर गयो र पारुहाङ साल्पा पोखरीमा रहेको तर फर्काऊन नसकेको कुरा वृतान्त बतायो । 

त्यसपछि सुम्निमाले फेरी (तुईरा) चराको उत्पत्ती गराऊनुभयो र पारुहाङको खोजीमा पठाऊनुभयो।तुईरा चराले पनि पारुहाङको खोजीमा सारा संसार चाहार्यो र अन्तमा पारुहाङलाई साल्पा पोखरीमा रहेको पत्ता लगायो,तर तुईरा चराले पनि पारुहाङ लाई फर्काऊन सकेन । त्यसपछि फेरी सुम्निमाले माक्वा (कलचुडो चरा), चेन्चेवा (पदुवा चरा) र तयामा खियामा चराको उत्पत्ती गराऊनुभयो र पारुहाङ लाई खोज्न पालैपालो पठाऊनुभयो।ऊनीहरुले पनि अदुवा काट्दै यारी गर्दै चिण्डो बोकेर मुन्दुम गाऊदै शिली नाच्दै पारुहाङ लाई खोज्न निस्किए । ऊनीहरुले पनि अरुले जस्तै पारुहाङ साल्पा पोखरीमा रहेको पत्ता लगाए तर फर्काऊन सकेनन । त्यसरी कसैले पनि पारुहाङ लाई फर्काऊन नसकेपछि, कसले चाहि पारुहाङ लाई खोजेर ल्याऊन सक्दछ भनेर सोच्न थाल्नुभयो ।

त्यसपछि सुम्निमाले पानी मुनी पस्न सक्ने बाजीकुहाङ (गंगटा) को उत्पत्ती गराऊनु भयो । सुम्निमाले सबै चराहरुलाई बोलाएर भेला पार्नुभयो र तिमिहरु सबै बाजीकुहाङसंग साल्पा पोखरी जानु र मुन्दुम गाऊदै, शिली नाच्दै यारी गर्दै चिण्डो बोकेर साल्पा पोखरी परिक्रमा लगाऊनु, त्यसपछि पनि पारुहाङ ननिस्किए बाजीकुहाङ आफै साल्पा पोखरी भित्र पसेर पारुहाङ लाई निकाल्नेछ है भनेर सबैलाई अर्हाऊनु भयो । त्यसपछि सबै चराहरु सुम्निमाले भने बमोजिम बाजीकुहाङ संगै साल्पा पोखरी तिर लागे।सबै चराहरुले मुन्दुम गाँऊदै, शिली नाच्दै, यारी गर्दै चिण्डो बोकेर साल्पा पोखरी वरीपरी परिक्रमा लगाऊन थाले, तर पनि पारुहाङ निस्किनु भएन । त्यसपछि बाजीकुहाङले पनि पारुहाङ साल्पा पोखरी भित्र नै रहेको ठहर्याई साल्पा पोखरी भित्र आफै पसेर पारुहाङको जीऊमा काऊकुत्ती लगाईदियो । बाजिकुहाङले लगाएको काऊकुतीले पारुहाङ व्युझिनु भयो । कसैले पनि पत्ता लगाऊन नसक्ने ठाँऊमा आफु गुप्तवास बसेको कारणले आफुलाई व्युझाऊनुको कारण बाजीकुहाङ र चराहरु लाई सोध्नुभयो । बाजीकुहाङ र चराहरुले एकै स्वरमा सुम्निमाले हजुरको अत्यन्तै चाहाना गर्नु भएकोले हजुर लाई लिन आएका हौ भने ।

सुम्निमाले आफुसंग बिवाह गर्न चाहेकोले त्यसो गरेको हो भन्ने कुरा पारुहाङले थाहा पाईहाले।तर चेली र माईती बिचमा प्रत्यक्ष रुपमा बिवाह गर्न नहुने ठहर गरेर पारुहाङले आफ्नो विर्य कर्कलाको पातमा पोको पारेर बाजीकुहाङको हातबाट पठाई सुम्निमा लाई अहिले भेट्न नसक्ने सन्देश पठाऊनु भयो । यता पारुहाङ लाई लिन पठाएको टोली पारुहाङ बिना नै फर्किएर आईपुगेको देखेर सुम्निमाले सबैलाई सोध्नु भयो।खोई ? त पारुहाङ ? लाई ल्याएनऊ त ? ऊनीहरु सबैले बिवशता देखाऊदै भने हामीले पारुहाङ लाई फर्काऊन सकेनौ तर सुम्निमाको लागी पारुहाङले विशेष प्रकारको ओखती पठाईदिएको जानकारी गराए । पारुहाङले पठाएको उक्त बिर्य लाई ओखती ठानेर सुम्निमाले खानुभयो । खाएपछि सुम्निमाको पेटमा गर्भ रहयो । खाएपछि सुम्निमाको पेटमा गर्भ रहयो।यसरी पारुहाङको गर्भ सुम्निमाको पेटमा बढ्दै गयो र सुम्निमाले आफ्नो कोखबाट जेठा (चाप्चा) बाघ,माईला (तुमुन) भालु र कान्छा हाङ्छा (मान्छे) को जन्म भयो । आमा सु्म्निमाको रेखदेखमा ३ भाई चाप्चा, तुमुन र हाङ्छा हुर्कन्दै बढ्दै गए । सुम्निमाले हुर्किएका आफ्नो ३ भाई छोराहरु लाई शिकार खेल्न पठाऊन थाल्नुभयो । जेठा चाप्चाले बँदेल मृग जस्ता ठुला शिकार गरेर ल्याऊन थाल्यो।माईला तुमुनले तरुल तुलफुल र गिठा भ्याकुर ल्याऊन थाल्यो र हाङ्छा (मान्छे) ले धनुषवाणले शिकार गरेर मृग, जरायो, खरायो जस्ता  शिकार ल्याऊन थाल्यो ।

सुम्निमाले तिनै भाईले ल्याएको शिकारहरुलाई एउटै वादेनखोक (अण्डा बाहिरी खोल) को भाँडोमा पकाऊ थिईन र तिनै भाई छोराहरु लाई बाडेर दिनुहुन्थियो । एउटै भाँडोमा तिनै भाईको धेरै शिकारहरु बेग्ला बेग्लै स्वादको हुन्थियो । यसरी तिनै भाई नै शिकार खेल्न जाने र ल्याएको शिकार बाँडेर खान थाले।सुम्निमाले शिकार खेल्न जाने बेला तिनै भाईलाई नै भनेर एकैठाँऊमा खाजा पठाईदिन्थिईन । सुम्निमाले तिनै भाई लाई लाई शिकार खेल्दै जादा थाकिन्छ, थाकेपछि एकै ठाँऊमा भेला हुनु खाजा बाँडेर खानु र त्यसपछि फेरी शिकार खेल्नु भनेर अर्हाऊनु भयो ।

आमाले भने बमोजिम नै तिनै भाईले शिकार खेल्ने र खाजा बाँडेर खान थाले।तर केहि दिनपछि चाप्चाले आफ्नो भाईहरु लाई पाप चिताऊन थाल्यो । यताऊती शिकार खेलेजस्तो गरेर राखिएको सबैको खाजा आफैले मात्र खाएर सिध्याऊन थाले।तुमुन र हाङछा शिकार खेलेर खाजा खान आऊदा खाजा अरु कसैले नै खाईसकेर सकिएको हुन्थियो । खाजा के ले खादैछ ? शिकार गर्ने आफुलाई भने खाजा छैन भन्दै हाङ्छा रीसले मुरमुरीयो । त्यसपछि खाजा राख्ने ठाँऊमा आफु जस्तै देखिने केराको थम्बा राख्यो र आफु रुखमा चढ्यो।जसले खाजा खान्छ उसलाई धनुषवाणले हानेर मार्ने निर्णय गर्यो ।

कैछिनमा त्यहा चाप्चा आएर खाजा खान थाल्यो । हाङ्छाले पनि आफ्नो खाजा खान आऊने जन्तु लाई केहि पनि विचार नगरी बाँणले हानेर ढाल्यो।त्यसरी हाङ्छाले चाप्चा लाई मारेपछि हाङ्छाले त मार्ने पो रहेछ भनेर तुमुन डरायो । त्यसरी चाप्चा मरेपछि चाप्चा त मर्यो तर आमालाई अब के भन्ने ? तुमुनले हाङ्छालाई सोध्यो।हाङ्छाले खै ? कता ? गयो कता ? थाहा पाईएन भन्ने भनेर जवाफ दियो।सँधै तिनै भाई छोराहरु संगै शिकार गरेर फर्कने आज दुई भाई छोराहरु मात्र फर्केको देखेर सुम्निमाले तुमुन र हाङ्छा लाई चाप्चा खोई भनेर चाप्चाको बारेमा सोधिन।तर दुवै भाईले खै ? कता गयो ? कता थाहा पाईएन भनेर बताए । सुम्निमाले दाजुभाईको कुरा बुझिन र ऊनीहरु शिकार खेल्ने ठाँऊतिर चाप्चा लाई खोज्न गईन।जंगलमा सुम्निामाले खाजा खाने ठाँऊमा चाप्चा ढलिरहेको भेटिन । सुम्निमाले मुन्दुम गाऊदै अदुवा काट्दै चिण्डोले दोप्काऊदै यारी गर्दै चाप्चाको शिर उठाईन ।

 

सुम्निमाले पेरुङ्गोमा आगो हालेर मरेको चाप्चाको शिर उठाऊन उसको शरिर भरी आगो डुलाईन । पेरुङ्गोको आगो झरेर चाप्चाको शरीर डढेर चाप्चाको शरीर भरी खालखालको टाटा बस्यो । त्यसरी सुम्निामाले चाप्चा लाई फेरी प्राण फर्काई व्युझाएपछि चाप्चा जिऊदो भयो।त्यसपछि सुम्निमाले फेरी पनि दाजुभाई लाई मेलमिलाप गराए दाजुभाई बिचमा मारामार हुन्छ भनेर खुबै डराईन । चाप्चाले पाप चिताऊने कुबुद्धि गरेकोले फेरी पनि जन्माऊनु बचाऊनु परेकोले जेठा चाप्चा लाई कान्छा बनाईदिईन र चतुर बुद्धि भएकोले हाङ्छा लाई जेठो बनाईदिईन।त्यस दिन पछि तिनै जना लाई तिन दिशा तिर पठाईन र भेट गर्दा मारामार नगर्नु भनेर सम्झाईन । हाङ्छा लाई बाटोमा भेट्दा चाप्चा बाटोमुनी लुक्नु,भाऊजु (हाङ्छाको श्रिमती) भेट्दा बाटोमुनी लुक्नु भनेर अर्हाईन र अबदेखी शिकार खेलेर आफै खानु नबाड्नु है भनेर अर्हाईन ।

त्यसरी समय बित्दै जादा सुम्निमाको पनि बुढेसकाल लागेर मृत्यु भयो।हाङ्छाले आमाको मृत शरीर जंगल पुर्याएर गाड्न तुमुन लाई अर्हायो । तर तुमुनले आमाको लाश लाई जंगल पुर्याएर गाडेर आऊनुको साटो उल्टै आमाको लाशको मासु खाएर फर्कियो।हाङ्छाले तुमुन तेती चाडै फर्किएर आएको देखेपछि  आमालाई खाईस कि के हो ? भनेर शंका गर्यो। तर तुमुनले होईन भनेर ढाट्यो र निच्च परेर हास्यो । त्यति नै बेला हाङ्छाले तुमुनको दाँतमा आमाको केश अल्झिएको देखेर तुमुनले आमाको लाश खाएको हो भन्ने पक्का ठहर गर्यो । त्यसपछि हाङ्छाले तुमुन लाई आमाको मासु खाने ? भनेर बेस्सरी कुट्यो । हाङ्छाले तुमुन लाई त्यसरी कुटेपछि (हाङ्छा) मान्छेले मलाई कुट्यो, त्यसैले आजदेखी मान्छेको अनुहार हेर्न नपरोस भन्दै तुमुन जंगल तिर पस्यो । त्यसरी सुम्निमाको तिनै भाई छोराहरु छुट्टिएर बस्न थाले । पछि कालान्तर सम्म हाङ्छा (मान्छे) को सन्तानहरु धेरै बढ्दै जादा फैलियो । त्यहि हाङ्छाको सन्तानहरुको नामबाट पाछाहरु बनेको हो भन्ने मिथक पाईन्छ ।

एकदिन हाङ्छाको सन्तानहरु पनि शिकार खेल्न गए । दिनभरी शिकार खेलेपनि एउटै शिकार मार्न नसके पछि घर फर्किएर आए र घरमै भएको बाख्रा काटेर खाने निर्णय गरे । बाख्राको मासु सबै दाजुभाईले बराबरी बाडे तर आन्द्रा धुन पधँरो गएको पुमा भाई लाई भाग लगाऊन बिर्सिए । पुमा भाई फर्किएपछि आफ्नो लागी खोई मासुको भाग भनेर सोघे ।पुमा लाई मासु भाग लगाऊन बिर्सिएकोले त्यहि आन्द्रा लाई नै आफ्नो भाग सम्झिएर खानु भने । पुमाले रीसले मासु त खान पाईएन यो आन्द्रा भनेर आन्द्रा फालिदिए । अब देखी म बाख्राको मासु खान्न भनेर कमस खाएको हो भन्ने मिथक रहेको छ ।

पुमा मिथक (पुमा बाजे)  किरातीहरुको मुन्दुमी मिथक अनुसार (रिकापा/रिभ्यामा सालपाहाङ/होङ र रिभिमा/रिब्रिहाङमा) साल्पा राजा र साल्पारानी)को मिथक

किरातीहरुको मुन्दुम अनुसार साल्पा सिलिचुङ लाई सुम्निमा पारुहाङको बासस्थान तथा श्रृष्टिको उत्पत्ति केन्द्र/मुन्दुम उत्पत्ति भएको स्थलको रुपमा लिने गरीन्छ । मुन्दुममा आधारिक मिथक अनुसार श्रृष्टिकर्ता सुम्निमा पारुहाङले श्रृष्टिको उत्पत्ती गराए पश्चात वहाँहरुकै सन्तान किराती मानव पुर्खा होँछा/हाङछा र नागाहाङ/नागाहोङको छोरी सिकुरीमा/सिक्रिमाको बिवाह भयो।बिवाह पश्चात हाङछा/होङ्छा र सिकुरीमाको छोराछोरी (सालपाहाङ/होङ र रिभिमा/रिब्रिहाङमा) (साल्पा राजा र साल्पारानी)को जन्म भयो । सालापाहोङ र रिभिमा/रिब्रिहोङमा जवान हुनुभयो ।रिब्रिहोङमाले सालापाहोङसँग बिवाह गर्ने ईच्छा राख्नुभयो । तर उहाँहरू माईतीचेली हुनुभएकोले बिवाह गर्नु सक्नु भएन । त्यसपछि सालापाहोङले भन्नुभयो ए छेत्कुमा (चेली) अब म साल्पापोखरीमा गएर बस्छु । तिमीले यहि ठाउँमा जङ्गल फाँडेर फेसा, घैया साप्पाचा, पाङ्दुर छरेर खेतीपाती गरेर बस्नु है । त्यो घैया, साप्पाचा र पाङ्दुर आदि पाकेपछि म याङभोक (बँदेल) बनेर त्यो अन्नबाली खानु आउँछु ।

त्यहिबेला तिमीले त्यो अन्नबालीको छेउमा पासो थाप्नु । म त्यो पासोमा परेर मर्छु।तर तिमीले किरात मुन्धुम फलाक्दै रक्खेखाचासहितको सोलेन्वा र बेछुकले मलाई छर्कनु ।म पुनः ब्युँतिन्छु। हाम्रो माईतिचेलीबीचको नातासम्बन्ध पनि टुट्छ ।अनि हामीबीच विवाह गरेर यस हेन्खामा भरी साखा–सन्तान फैलाएर बस्नुपर्छ । त्यो कुरामा रिभिमा÷रिब्रिहोङमा राजी हुनुभयो । त्यसपछि सालापाहोङ साल्पामा गएर बस्नुभयो । रिब्रिहोङमाले पनि वहाँको भनाईनुसार अन्नबाली लगाउनुभयो ।अन्नबाली पनि पाक्यो । त्यहि समयमा विभिन्न जनावरहरूले अन्नबाली खानथाल्यो । त्यसपछि रिब्रिहोङमाले पासो थाप्नुभयो । त्यो पासोमा याङभोकको रूप धारण गरेर आउनुभएको सालापाहोङको मृत्युभयो । त्यसपछि रिब्रिहोङमाले त्यस याङभोकलाई बेछुक र रख्खेखाचा सहितको सोलेन्वाले थोक्दाउनु भयो । त्यो याङभोकको रूपमा मरेको सालापाहोङ पुनः ब्युँतिनुभयो । अब सालापाहोङ र रिब्रिहोङमाको नाता–सम्बन्ध पनि टुट्यो । त्यसपछि सालापाहोङ र रिब्रिहोङमाले एकआपसमा विवाह गरेर साल्पा दरबार बनाएर बस्नुभयो ।

साल्पाहाङको साल्पा सिलिचुङ क्षेत्रमा अत्यन्तै सुन्दर (साल्पादरबार) थियो।एक दिन हिमाल÷कैलाश तिर मधेस तिर भ्रमणमा निक्लँदा (निरिवा) ले उक्त साल्पाहाङको सुन्दर दरबार देखेछन र औधि मन पराएछन।साल्पाहाङको सुन्दर साल्पा दरबार देखि लोभिएर (निरावा) ले उक्त दरबार हात पार्न बिभिन्न षढ्यन्त्र र जालहरु रच्न थालेछन । (निरावा) ले (सालपाहाङ) लाई तन्त्रमन्त्र विधाले बिरामी पारीदिए । (साल्पाहाङ) लाई पिनासले समात्यो र सारो बिरामी पर्नुभयो ।त्यतिबेला नै निरावा भिक्षुको भेष धारण गरेर साल्पा दरबारको तल माथि हिडि रहेको नाटक गर्यो । साल्पादरबारको अगाडि लामाको भेषमा निरीवा देखापरेपछि सालापाहाङले भन्नुभयो ए लामा तपाई त विद्या गर्दै भोट-मधेश गर्नुहुन्छ ।तपाई त तन्त्रमन्त्र विद्यामा धेरै शक्तिशाली र निपूर्ण हुनुहुन्छ।अहिले म बिमारी छु। लौ न मलाई निको पारीदिने केहि उपाय गरीदिनु पर्यो ? भनेर बिन्ति बिलौना गर्नुभयो। त्यो कुरा सुनेर लामाको भेषमा रहेको निरीवाले भन्योः-सालापाहाङ तपाई लाई यो साल्पादरबार फापेन त्यसैले तपाईलाई पिनास लागेको छ ।

त्यसको उपचार म गरिदिन्छु । तर तपाईंले यो साल्पादरबार छोडेर अन्त कतै टाढा जानुपर्छ । नत्र तपाईको ज्यान पनि जानसक्छ भनेपछि सालापाहाङ साल्पा दरबार छाडेर जान राजी हुनुभयो । त्यसपछि सालापाहाङले रिभ्यामा/रिब्रिहोङ्मा संग सल्लाह गरेर साल्पादरबारलाई छोडेर (हाल सुनसरी स्थित धरानको बिजयपुरतिर) लाग्नुभयो । साल्पाहाङले पछि साल्पादरबारमा फर्किदा बाटो नभुलियोस भनेर उहाँले बाटो बाटोमा फलैचा/चौतारा/देउराली बनाऊदै त्यहाँ बर-पीपलको रुखहरु रोप्दै जानुभयो । त्यसरी सालापाहाङ साल्पा दरबार छाडेर हालको बिजयपुर पल्लोकिरातस्थित धरानको बूढासुब्बा मन्दिर क्षेत्र) मा आएर बस्नुभयो । उता साल्पादरबारमा रिभ्यामा रिब्रिहोङ्मा (साल्पा रानी) एक्लै हुनुभयो । त्यहि मौका छोपेर निरीवाले रिभ्यामा/रिब्रिहोङमालाई त्यस साल्पादरबारबाट जबर्जस्ति निकालेर साल्पादरबारमा बस्यो ।त्यसपछि निरिवाले सालापाहाङले बाटो–बाटोमा बनाउनुभएको फलैँचा–चौतारा–देउराली र रोपेको बर–पीपललाई निरीवाले संखुवाखोलामा बगाईदियो । निरिवाले साल्पादरबारलाई पनि अर्कै रूपमा परिवर्तन गर्यो।निरावाले सालापाहाङ पछि आफ्नो सालपादरबारमा फर्किनु नसकोस भनेर साल्पादरबार वरिपरि ठूलोठुलो भीर–पहराहरु बनाईदियो।त्यसैले आजसम्म साल्पा पोखरी वरपर ठुलठुला भिरपहराहरु रहेको जनविश्वास रहेको छ । त्यहाँ नीरीवाको अन्याय र अत्याचारको विगविगी बढ्न थाल्यो।त्यसको प्रतिवाद गर्दै (साल्पारानी) रिभ्यामा/रिब्रिहोङ्माले आफ्नो साल्पादरबारलाई र आफ्नो सतित्व बचाउनु ठूलो संघर्ष गर्नुभयो, तर सफल हुनुभएन । निरावाले रिभ्यामा/रिब्रिहोङमा माथी झन्झन ठूलो षडयन्त्रहरु गरेर दुख दिन थाल्यो । त्यहाँ रिभ्यामा÷रिब्रिहोङमा सुरक्षित हुनुभएन।रिब्रिहोङमाको सतित्व जोगाउन पनि खतरा भयो।रिब्रिहोङमाले आफ्नो सतित्व बचाउनको लागि धेरै संघर्ष गर्नुभयो । तर निरीवाको अगाडि रिब्रिहोङमाको केहि पार चलेन । त्यसपछि रिभिमा/रिब्रिहोङमा (साल्पारानी) ले रूँदै रूँदै साल्पाराजा) सालापाहाङलाई धेरै तिर खोज्नुभयो,तर कहिपनि भेट्नु भएन । रिब्रिहोङमा/रिभिमा बेसहारा हुनुभयो । त्यसपछि रिब्रिहोङमाले साल्पादरबार छोडेर सालापाहोङलाई खोज्न हिड्नुभयो ।



रिब्रिहोङमा/साल्पारानीले उन्ले साल्पाहाङ कता छन ? भनेर साल्पाहाङ (साल्पा राजा) लाई पुकार्दै ढुङ्गा–माटो, खोलानाला, रुखबिरुवा, हावापानी पशुपंक्षी र चराहरुलाई सोध्दै आफ्नो अबस्था र साल्पा दरबार निरिवाले कब्जा गरेकोबारे साल्पाहाङको लागी समाचार छोड्दै छोड्दै अरुण नदि कोशी तरिन । यसरी दिनरात साल्पाहाङको खोजीमा हिड्दा हिड्दा पनि कहि कतै अत्तो पत्तो नलागेपछि रिब्रिहाङ्मा (साल्पारानी) थाकिन, निराश भईन र पानी पिएर एउटा ढुंगामा ढल्किइन । त्यसरी रिब्रिहाङमा (साल्पारानी) ले साल्पाहाङ लाई खोज्दै उकाली ओराली गर्दै हिड्ने क्रममा कुनै स्थानमा  रिब्रिहाङ्मा हिडेको बाटो (साल्पा हाङ) लाई पछि पत्ता लगाउन सजिलो होस भनेर पैतालाको डोबहरु छाड्दै गई न। त्यसरी प्राचिनकालमा (रिभिमा/रिब्रिहाङमा) साल्पारानीले टेकेका पाईलाहरुको  डोबहरु नै साल्पा शिलिचुङ क्षेत्रमा लामो (पैताला आकारको पोखरी) भएको हो भन्ने जनविश्वास रहेको छ । रिभिमा/रिब्रिहाङ्माले टेकेर छाडेका डोबहरु भनिएका यस्ता पैताला आकारको पोखरीहरु आजपनि साल्पा पोखरी जाने बाटो/साल्पा सिलिचुङ क्षेत्रमा प्रशस्त रुपमा देख्न सकिन्छ ।

त्यसरी धेरै समय हिड्दै यात्रा पछि रिब्रिहाङमा दोभाने फेदी पुगिन। त्यसपछि पनि साल्पाहाङ लाई कहिकतै नभेटिए पछि रिभिमा रिब्रिहाङमा फेरी उकालो हुदै फर्किएर साल्पाहाङ बसेको स्थल साल्पा पोखरी पुगिन । साल्पा दरबार छाडेर हिडेको धेरै समय भएपछि (साल्पाराजा) साल्पाहाङको स्वास्थमा सुधार भयो र साल्पाहाङ साल्पा दरबार तिर फर्किए ।पहिला आफुले बाटो बाटोमा बनाउनुभएको फलैचा–चौतारा–देउराली र बर–पीपल केहि पनि भेट्नु भएन । बरू साल्पादरबार वरिपरि जताततै भीरैभीर मात्र भेट्नुभयो । सालापाहाङ अरुण नदीको किनारै किनार हिडेर साल्पा दरबारमा पुग्नुभयो । तर वहाँले रिब्रिहाङमा लाई भेट्नु भएन । तर साल्पा दरबार शत्रु (निरावा) ले कब्जा गरीसकेको थियो र रिब्रिहाङमा/साल्पारानी पनि लापत्ता थिईन । रिब्रिहाङमा बारे सोधि खोजी गर्दै जाँदा बर पिपलको रुखले निरिवाले गरेको अत्याचार रिब्रिहाङ्मामा दुख दिएको र दरबारबारे घटेको सबै घट्ना सबिस्तार बताए । खोला, रुख, पानी, हावा, चरा र जनावरहरुले रानी गएको दिशा बताइ दिए।साल्पाहोङ तुरुन्तै त्यो दिशातिर रिब्रिहोङमा खोजीमा निक्लिए । जाँदा जाँदा बाटोमा पोखरीको रुपमा रानीको पैतालाको डोब भेटियो । रानी अबस्य भेटिने आसमा राजा अझ छिटो अगाडि बढ्यो । यसरी रानी खोज्दै जाँदा (जौंबारी) भन्ने ठाउँमा साल्पाहाङले अग्लो ढुंगा ठडिएको भेट्यो । उ उक्त ढुंगामा चढेर रिब्रिहाङमा चारैतिर खोज्न थाल्यो । यसरी खोज्दा टाढा रानीको टाउको मात्र देखियो । उस्ले त्यस माथि अर्को ढुंगा थपेर हेर्दा रानीको माथिल्लो आधि भाग देखियो ।त्यसैले आज पनि जौंबारीमा अग्लो ढुंगा माथि अर्को ढुंगा थपिएको अबस्थामा देख्न सकिन्छ। त्यसपछि रिब्रिहोङ्मालाई खोज्दै सालापाहोङ अरुण नदिको किनारै–किनार हिड्दै सिदोमा पुग्नुभयो । सिदोमा रिब्रिहोङ्मासँग भेट हुनुभयो ।

त्यहाँ वहाँहरूले दुःखसुःख साटासाट गर्नुभयो । रिब्रिहोङमाले रूँदै आफूले पाएको दुःख–कष्ट अआफ्नो राज्य फर्काउनको लागि गरिएको प्रयास र आफ्नो सतीत्व बचाउनुको लागि सालापाहोङलाई धेरै खोजेको, तर पाउन नसकेको सबै वृतान्त बताउनुभयो । त्यसपछि उहाँहरूबिच जुनी–जुनीसम्म सँगै मर्ने, सँगै बाँच्ने बाचाकसम खाएर बस्नुभयो । तर सिदोबाट पनि वहाँहरूलाई निरीवाले लखेट्यो । त्यसपछि उहाँहरू सुकेपोखरीमा आएर बस्नुभयो । त्यहाँबाट पनि निरिवाले लखेट्यो । फेरि आहालेडाँडामा आएर बस्नुभयो त्यहाँबाट पनि उहाँहरूलाई निरीवाले धपायो । जहाँ गए पनि उहाँहरूलाई निरीवाको सिपाहीहरूले लखेट्यो र ज्यानको सुरक्षा कहिँ पनि भएन ।त्यसपछि उहाँहरूले एकापसमा सल्लाह गरेर साल्पादरबार नै फर्किनु भयो । त्यहाँ वहाँहरू र निरीवाका सिपाहीहरूको बिच घमासान लडाँई भयो । त्यो युद्वमा उहाँहरूले किरात मुन्दुम फलाक्दै वाँण हान्नुभयो । त्यो वाँणले निरीवाको सिपाहीहरू सखाप भयो । यो युद्वमा उहाँहरूको जित भयो। त्यो निरीवा डरले काम्नु थाल्यो । त्यसपछि रिब्रिहोङमाले निरीवाको अनुहारमा आफ्नो फुची दलिदिँदै पहिला आफ्नो सतीत्व खोस्न खोज्ने निरीवा भएको कुरा साल्पादरबारको जनताहरूलाई बताउनुभयो।त्यो दर्दनाक कहानी सुनेर त्यहाँको जनताहरूले निरीवालाई सालापाहोङले काटेर मार्नुपर्ने फैसला सुनायो । त्यो फैसला अनुसार उहाँले निरीवालाई काटेर मार्नुभयो । त्यसरी सालापाहोङ र रिब्रिहोङमाको बिजय भयो । उहाँहरूको बिजयमा साल्पादरबारको जनताहरूले जयजयकार मनायो । साथै उहाँहरूलाई साल्पादरबारमा ल्याएर राख्यो । त्यसपछि साल्पादरबारको जनताहरूको ईच्छाअनुसार सालापाहोङ र रिब्रिहोङमाले साल्पादरबारमा फेरी पहिलाझैं त्यहाँको जनताहरूको रक्षा गरेर राज्य गर्नुभयो। त्यसपछि उहाँहरू साल्पादरबारको पोखरीमुनि बस्नुभयो। त्यहाँ उहाँहरूलाई कसैले पनि केहि गर्न सकेन।

(किराती मुन्दुमी मिथक संग्रह प्रसिद्ध किरात धार्मिक तथा सांस्कृतिक स्थल साल्पा पोखरी विभिन्न मौखिक श्रोतहरु)


यो साल्पापोखरी भोजपुर जिल्लाको दोभाने गाबिसको वडा नम्बर ५ मा साल्पा पोखरी र सिलिचुङ (मुन्दुमी साया) रहेको छ। नेपालको भोजपुर जिल्ला, सोलुखुम्बु,संखुवासभा र खोटाङ जिल्लाको सिमानामा रहेको संगम स्थलमा साल्पा शिलिचुङ रहेको छ । यस साल्पा पोखरीमा किरातीहरु तथा गैर किरातीहरु बौद्ध हिन्दुहरु समेत हजारौ मानिसहरु भदौरे पूर्णिमा,कात्तिके पूर्णिमा र वैशाखे पूर्णिमामा भेला भई साल्पा पोखरीमा पुजाआजा गर्दछन । किराती नछुङ माङ्पा/दोवा÷नागिरे/कुबि/ज्वाम्चो/ पासिङ/माबिहरुले ढोल–ढ्यांग्रो बजाउँदै रातभरि चिन्ता (धामी) बस्छन । त्यहा आउने श्रद्वालु भक्तजनहरुले (सोई राजा सोई...सोई, सोई रानी सोई....सोई) भनेर साल्पाहोङ र रिब्रिहोङमा लाई बल शक्ति आशिर्वाद माग्दै पुकार गर्दछन । यसरी साल्पा पोखरीमा जीवनमा कम्तीमा एक पटक पुग्नैपर्छ भन्ने जनविश्वास रहेको छ । साल्पा पोखरीमा आएर पूजा आराधना गरेमा सुखशान्ति र चिताको काम पुरा हुन्छ,कसैको सन्तान नभएमा बाँसको चोयाँको कोक्रो बनाई सन्तान मागेमा सन्तान प्राप्त हुने जनविश्वास रहेको छ साथै बोली नआएको बालबच्चा लाई साल्पा पोखरी लगेर पुजा गरेमा बोली आऊछ भन्ने जस्ता विभिन्न धार्मिक विश्वास रहेको छ। 

अन्तमाः

आदिम किराती पुर्खाहरु साल्पाहाङ/साल्पाहोङ (साल्पा राजा) र रिब्रिहोङमा/रिभामा/ रिभ्यामा/रिब्रिहाङमा (साल्पा रानी) को आधारमा साल्पा पोखरी नामकरण भएको हो । यस साल्पा सिलिचुङ लाई किरातीहरुको श्रृष्टिकर्ता सुम्निमा पारुहाङको बास स्थान/रिकापा रिभ्यामा तथा साल्पाहोङ र रिब्रिहोङमाको बासस्थान मानिन्छ साथै साल्पा सिलिचुङ लाई श्रृष्टिको उत्पत्ति केन्द्र मानिन्दै यहि साल्पा सिलिचुङमा नै मुन्दुमको उत्पत्ति भएको जनविश्वास रहेको छ।

तर पछिल्लो समयमा किरातहरुको पवित्र मुन्दुमी स्थल, धार्मिक तथा सांस्कृतिक स्थल, किरात सांस्कृतिक सम्पदा साल्पा–सिलिचुङमा विभिन्न चौतर्फि रुपमा धार्मिक तथा सांस्कृतिक अतिक्रमण बढिरहेको छ । किरातीहरुको पबित्र मुन्दुमी स्थल साल्पा सिलिचुङमा हिन्दुहरुको मठ मन्दिर जस्ता भौतिक संरचना निर्माण गर्ने, हिन्दुकरण गरेर हिन्दु देबी देउताको विभिन्न मुर्तिहरु राख्ने, साथै बौद्ध मार्गिहरुले माने र छोटेन जस्ता भौतिक संरचना निर्माण गर्ने, बौद्ध ध्वजाहरु टाङ्ने जस्ता धार्मिक अतिक्रमणको कार्यहरु हुदै आइरहेको छ । त्यस्तै यस साल्पा सिलिचुङ छेत्रमा भक्तकुमार राईको हेभेन्लीपाथ प्रेमवाद लेखिएको भित्तेलेखन समेत पाईएको छ । हिन्दुहरुको पशुपति मन्दिर, बौधहरुको लुम्बिनी भने जस्तै र त्यतिकै किरातीहरुको धार्मिक आस्थासंग जोडिएको यस साल्पा सिलिचुङ बिशुद्ध किरातीहरुको मुन्दुम तथा किरात धार्मिक तथा सांस्कृतिक स्थल हो । यस साल्पा सिलिचुङ किरातीहरुको पबित्र मुन्दुमी स्थल किरात धार्मिक तथा सांस्कृतिक स्थल हो भनेर मुन्दुमले प्रस्ट पार्दछ। मुन्दुम अनुसार हजारौ बर्ष अघि सुम्निमा पारुहाङको समय श्रृष्टिको उत्पति कालदेखि, प्राचिन किरात मानब सभ्यताको सुरुवात यहि साल्पा सिलिचुंग बतेइ भएको मुन्दुम ले प्रस्ट पार्दछ । यस साल्पा सिलिचुङ किराती हरुको धार्मिक तथा सांस्कृतिक स्थल हो भनेर विभिन्न अभिलेख पुस्तकहरुमा समेत तथ्य प्रमाणहरु पाउन सकिन्छ। त्यसैले साल्पा सिलिचुङ जस्तो किरात धार्मिक तथा सांस्कृतिक स्थल मा धार्मिक अतिक्रमण गर्नु भनेको धार्मिक सहिष्णुता खल्बलाउनु हो, धार्मिक कलह निम्त्याउनु हो।  

त्यसैले किरातीहरुको पबित्र मुन्दुमी स्थल किरात धार्मिक तथा सांस्कृतिक स्थल लै अतिक्रमण गर्ने कार्य रोकिनु पर्दछ । नेपालको पशुपति मन्दिरलाई जसरि हिन्दु धर्मालम्बिको तिर्थस्थल हो भनेर सबैले स्वीकार गरिएको छ, जसरि लुम्बिनी बौद्ध धर्मलम्बिको तिर्थस्थल हो भनेर सबैले स्वीकार गरिएको छ । त्यसरी नै साल्पा सिलिचुङ लाई पनि किरातीहरुको पबित्र मुन्दुमी स्थल हो भनेर हिन्दु बौद्ध धर्मालम्बि लगाएत सबै धर्मालम्बिले किरात धार्मिक तथा सांस्कृतिक स्थलको रुपमा स्वीकार गर्नु पर्दछ र मात्र नेपालको किरात हिन्दु र बौद्ध धर्मालम्बी बिचमा धार्मिक सहिष्णुता कायम रहनेछ । केहि वर्ष यता चखेवा हांसपोखरी लौरे भिर हुदै मुन्दुम पदमार्ग,पर्यटकीय पदमार्ग खुले पश्चात मुन्दुम पदमार्ग हुदै साल्पा सिलिचुङको दर्शन गर्न जाने दर्शनार्थी तिर्थालुहरुकोहरुको संख्या बढिरहेको छ । तर साथै यस स्थानीय निकायहरुको योजनामा भौतिक बिकाश निर्माणको नाममा साल्पा सिलिचुङ क्षेत्रलाई क्षती पुग्ने गरि सोलुखुम्बु संखुवासभा देखि खोटांग भोजपुर सम्मको सडक निर्माण गर्ने तैयारी रहेको देखिन्छ । यदि स्थानीय निकायहरुले सोलुखुम्बु देखि खोटांग र भोजपुर सम्मको सडक निर्माण गर्ने नै हो भने पनि साल्पा सिलिचुङ क्षेत्र लाई क्षती नपुग्ने गरि सडक निर्माण गर्न आवस्यक छ । साल्पा सिलिचुङ क्षेत्रमा भौतिक विकास निर्माणको नाममा,बाटोघाटो सडक निर्माण गर्ने कार्यहरु गर्दा धेरै नै विचार पुर्याऊन आवश्यक छ। साल्पा सिलिचुङ परिसर क्षेत्रको भुगोल लाई क्षती पुग्ने गरी भौगोलिक उथलपुथल खन्ने भत्काऊने कार्यहरुले गर्दा साल्पा पोखरीको (मुहान/नशा) सुक्ने सम्भावनाको खतरा देखिन्छ ।

यदि साल्पा पोखरीको मुहान सुक्यो भने किरातीहरुको पवित्र मुन्दुमी स्थल किरात श्रृष्टिको उत्पत्ती केन्द्र मुन्दुमको उत्पत्ती केन्द्र तथा किरात धार्मिक तथा सांस्कृतिक स्थल साल्पा सिलिचुङको मुन्दुमी अस्तित्व समाप्त हुनेछ । यस साल्पा पोखरीको पानीको मुहान सुक्यो भने यहांको पर्यावरण वातावरणलाई असर पुग्न सक्दछ । साथै साल्पा–सिलिचुङ आसपासको क्षेत्रमा विभिन्न प्रकारको प्राकृतिक वनस्पतिहरू,लालीगुराँसका विभिन्न प्रजातिहरु, विभिन्न प्रजातीको मुन्दुमी वनस्पतीहरु तथा मुन्दुमी फुलहरु जस्तै सुनपाती,भैरुङपाती,विभिन्न प्रजातिका जडिबुटीहरु,लगायत विभिन्न प्रजातिका पशुपंक्षी डांफे मुनाल रेड पान्डा लगायतका जंङ्गली जीवजन्तुहरूको अस्तित्वमा संकट आऊने,लोप भएर जाने खतरा देखिन्छ। त्यसैले साल्पा सिलिचुङ क्षेत्रमा बिकासको नाममा बाटोघाटो सडक निर्माण गर्ने कार्ययोजनालाई त्यहांको भूगोल,भुबनोट,साल्पा पोखरीको मुहानको अध्ययन,सम्भावित साल्पा पोखरी सुक्न सक्ने खतराको बारेमा गहिरो अध्ययन अनुसन्धान गरेर मात्र कदम चाल्न आवश्यक छ ।

यस साल्पा सिलिचुङ लाई संरक्षण प्रवर्दन गर्नु,जोगाऊनु भनेको किरातहरुको पवित्र मुन्दुमी स्थल किरात धार्मिक तथा  सांस्कृतिक सम्पदालाई जोगाऊनु मात्र होईन,यस साल्पा सिलिचुङ परिसर क्षेत्रको पर्यावरण वातावरणको संरक्षण गर्नुका साथै हजारौ प्रजातीको प्राकृतिक मुन्दुमी वनस्पतिहरु,मुन्दुमी फुलहरु विभिन्न प्रजातीका जंगली जडिबुट्टि तथा जंगली पशुपंक्षी जीवजन्तुहरुको संरक्षण पनि हुन आवश्यक छ। किरातीहरुको पबित्र मुन्दुमी स्थल साल्पा सिलिचुङ क्षेत्र किरात सांस्कृतिक सम्पदा हो । यस साल्पा सिलिचुङ लाई संरक्षण तथा प्रवर्द्धन गरेर युनेस्को अनतर्गत विश्व सम्पदा सुचिमा सुचिकृत गर्न आवास्यक छ। त्यस्तै साल्पा सिलिचुङ क्षेत्रलाई हिन्दुहरुको मानसरोबर ताल र कैलाश पर्बत, बौद्दहरुको लुम्बिनी जस्तै नेपाल, भारत, भुटान, बर्मा लगायत विश्वभरको किराती तथा गैर किरातहरुको धार्मिक तिर्थस्थल तथा पर्यटकीय स्थलको रुपमा विकास तथा किरात सांस्कृतिक सम्पदाको रुपमा स्थापना गर्न आवास्यक छ । यसो गर्र्न सकियो भने आन्तरिक तथा बिस्वभरका बाह्य पर्यटन भित्राएर स्थानीय तवरमा आय आर्जनको स्रोत साथै स्थानीय बासीहरुलाई रोजगारको सिर्जना गर्न सकिनेछ। तसर्थ किरातीहरुको पवित्र मुन्दुमी स्थल, धार्मिक तथा सांस्कृतिक स्थल साल्पा–सिलिचुङ लाई किरातहरुले यहि केहि वर्ष भित्र नै संरक्षण तथा प्रवर्द्धन गर्न सकेनौ भने चौतर्फि रुपमा धार्मिक÷सांस्कृतिक अतिक्रमण भएर साल्पा सिलिचुङ भनेको श्रृष्टिको उत्पत्ति केन्द्र तथा मुन्दुमको उत्पत्ति केन्द्र रहेको,सुम्निमा पारुहाङको बासस्थान हो भन्ने सिर्फ कथा कहानीमा मात्र सिमित हुनेछ। साल्पा सिलिचुङको मुन्दुमी अस्तित्व समाप्त भएर जानेछ,साल्पा सिलिचुङलाई जोगाउन नसकेकोमा किराती भाबि सन्ततिहरुले धिक्कार्नेछन।

अतः–साल्पा सिलिचुङ विश्वभरको किरातीहरुको मुन्दुमी आस्था जोडिएको एक पवित्र मुन्दुमी स्थल, किरात धार्मिक तथा सांस्कृतिक स्थल भएकोले साल्पा सिलिचुङको संरक्षण प्रवर्द्धन गर्ने जिम्मेवारी पनि विश्वभरकै किरातीहरुको नै जिम्मेवारी हो। त्यसैले विश्वभर छरिएर रहेका किरात जन्य संघ संस्थाहरु, भोजपुर,सोलुखुम्बु, खोटाङ र संखुवासभाको स्थानीय निकायहरु, नेपालको पर्यटन तथा संस्कृती मन्त्रालय तथा नेपाल सरकार अन्तर्गतको सरकारी निकायहरुको तर्फबाट साल्पा सिलिचुङ लाई संरक्षण तथा प्रवर्द्धन गर्दै यस किरातीहरुको पवित्र मुन्दुमी स्थल, धार्मिक तथा सांस्कृतिक स्थल साल्पा–सिलिचुङ लाई किरात सांस्कृतिक सम्पदा स्थापित गर्दै युनेस्कोको बिस्व सम्पदा सुचीमा सूचीकरण गर्नको लागि पहल गर्न आवश्यक छ । 

भोजपुर चरम्बी र्याङ्ग हाल बेलायत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
100 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै