आइतबारदेखि सुरू भएको सोती घटनाको मुद्दाको अन्तिम सुनुवाइमा १८ जना वकिलले बहस गरेका छन् ।
आइतबार र सोमबार गरी १८ जना वकिलले बहस गरेको रूकुम जिल्ला अदालत (रूकुम पश्चिम) का सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले बताए ।
उनका अनुसार सोमबार ९ जनाले बहस गरेका छन् ।
जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासमा भइरहेको सुनुवाइमा सोमबार सुरूमा पीडित तर्फबाट उच्च सरकारी वकिल कार्यालय सुर्खेतका निमित्त न्यायाधिवक्ता डम्बरप्रसाद काफ्लेले बहस गरेका थिए । त्यसपछि पीडितकै तर्फबाट अरू चार जना निजी वकिलले बहस गरेको सूचना अधिकारी कोइरालाले बताए ।
सोमबारदेखि प्रतिवादीतर्फको बहस पनि सुरू भएको छ । प्रतिवादी (पीडक) का तर्फबाट चार जना निजी वकिलले बहस गरेका छन् । अधिवक्ताहरू रत्नबहादुर खड्का, रचना मल्ल समेत चार जनाले सोमबार प्रतिवादीका तर्फबाट इजलासमा बहस गरेको उनले जानकारी दिए ।
आइतबार चार जना सरकारी वकिलसहित ९ जनाले पीडितका तर्फबाट बहस गरेका थिए ।
सोती घटनाको मुद्दामा अन्तिम सुनुवाइमा बहसका लागि २४ जना वकिलले नाम दर्ता गरेका छन् । अब ६ जना वकिलले इजलासमा बहस गर्न बाँकी छ । बहसमा थप वकिल सहभागी नभए मंगलबार बहस सकिनेछ। फैसला कहिले आउने भन्ने टुंगो भने छैन ।
अन्तरजातीय प्रेमको निहुँमा ६ जनाको हत्या हुनेगरी भएको सोती घटनाको मुद्दामा तीन वर्षपछि अन्तिम सुनुवाइ सुरू भएको हो ।
साढे तीन वर्षअघि २०७८ जेठ १० गते अन्तरजातीय विवाहको विषय बनाएर जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या गरिएको थियो। उक्त दिन भेरी नगरपालिकास्थित रानागाउँका २१ वर्षीय नवराज आफ्ना साथीहरूसहित रूकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी प्रेमिकासँग विवाहको कुरा गर्न पुगेका थिए ।
दलितले ठकुरीकी छोरीसँग विवाह गर्न लागेको भन्दै युवतीका परिवार र सोतीका स्थानीयले नवराजसहित उनका साथीहरूलाई लखेटेर हत्या गरेका थिए। घटनामा १२ जना घाइते भएका थिए । मृतकहरूको शव भेरी नदीमा भेटिएको थियो ।
घटनाको केही दिनपछि माओवादी केन्द्रका तत्कालीन सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा बनेको घटना छानबिन समितिले उक्त घटना नियोजित रूपमा भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो।
घटनाको अनुसन्धानका क्रममा सोती गाउँका ३४ जनालाई प्रतिवादी बनाएर प्रहरीले रूकुम पश्चिम जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। प्रतिवादीहरूविरूद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा सजाय मागदाबी गरिएको छ ।
यो घटनाका अभियुक्तमध्ये २३ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो । नवराजकी प्रेमिकासहित २ जना बालबालिकासहित ११ जनालाई तारेखमा छोडिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन


ट्रेन्डिङ
खबरमुकाम







