छवि अनित्य
काठमाडौँको चन्द्रागिरीबाट मकवानपुरको चित्लाङतर्फ झर्दै गर्दा मानव बस्ती सुरु हुनेबित्तिकै दायाँपट्टि ढुंगा छापेको गोरेटो देखिन्छ । त्यो गोरेटोबाट करिब सय मिटरजति अगाडि एउटा ऐतिहासिक ढुंगेधारा छ । यो त्यही ढुंगेधारा हो, जहाँ बसेर महाकवि लक्ष्मीप्रसाद देवकोटाले उनको बहुचर्चित कविता ‘यात्री’ रचना गरेका थिए ।
गुर्जुधारा नामले परिचित यो ढुंगेधाराको ठिक अगाडि झन्डै ११० वर्ष पुरानो घर छ । तर, अब यो घर होइन, भग्नावशेषमा परिणत हुने क्रममा छ । ढुंगाको गारो भएको यो घर २०७२ सालको भूकम्पपछि झ्यालढोका समेत खुल्न नसक्ने अवस्थामा छ । छानो पनि एकातिर ह्वांगै छ । झ्यालका कलात्मक बुट्टाहरू भने संरक्षणको पर्खाइमा छन् ।
तर, यहाँ आइपुग्ने जोकोहीको ध्यान घरका अन्य भाग वा झ्यालका बुट्टाभन्दा पनि छानोमा रहेका टिनका पातामा पुगेर अडिन्छ । यी टिनका पाताहरू साधारण जस्तापाता होइनन्, यिनमा एउटा महिला आकृति कुँदिएको छ । शिरमा ताज पहिरिएको यो आकृतिलाई कतिपयले बेलायती महारानी एलिजावेथ भनेका छन् । तर, पुस्तौँदेखि गुर्जुधाराकै अघिल्तिरको घरमा बस्दै आएका बुद्धरत्न मानन्धर भन्छन्, ‘यो महारानी भिक्टोरियाको तस्बिर हो ।’
१९७० सालतिर आफ्ना बाजे भाइचा मानन्धरले बनाएको घरको भग्नावशेष देखाउँदै उनले भने, ‘बाजेले त्यतिबेला घर बनाउँदैदेखि यो छानो प्रयोग भएको हो ।’ त्यो समय बेलायती महारानी भिक्टोरियाको निधन भएको भर्खरै १२ वर्षजति भएको थियो । एलिजावेथ द्वितीयको जन्म त्यसको झन्डै १३ वर्षपछि मात्र भयो । यस अर्थमा पनि मानन्धरले भनेजस्तै यो महारानी भिक्टोरियाकै तस्बिर भएकामा अन्य स्थानीय पनि सहमत छन् ।
चित्लाङका छानाछानासम्म महारानी भिक्टोरियाका तस्बिर अंकित ती टिनका पाता कहाँबाट आइपुगे त ? मानन्धरका अनुसार ती टिनका पाता बाकसका रूपमा चित्लाङसम्म आइपुगेका हुन् । यातायातका माध्यमको विकास भइनसकेको त्यो समयमा राजधानी काठमाडौँ प्रवेश गर्ने एकमात्र विकल्प भीमफेदी–चित्लाङ मार्ग हुँदै थियो । चित्लाङ, काठमाडौँको मात्र नभई गोरखासम्मका मानिसले दैनिक उपभोग्य सामग्री भित्र्याउने मार्ग थियो ।
नेपालमा राणाहरूको उदयसँगै भारतमा शासन गरिरहेका अंग्रेजहरूको नेपाल प्रवेश औपचारिक रूपमै सुरु भइसकेको थियो । विभिन्न समयमा अंग्रेजहरूको ठुलो जत्था भीमफेदी–चित्लाङ रुट हुँदै काठमाडौँ प्रवेश गर्ने गरेको थियो । यसको वर्णन कर्कपेट्रिकको ‘एन अकाउन्ट अफ द किङडम अफ नेपाल’ देखि एरिका ल्युकट्यागको ‘एरिका एन्ड किङ त्रिभुवन’ लगायत किताबमा पनि पाउन सकिन्छ ।
अंग्रेजहरू काठमाडौँ प्रवेश गर्दा ठुलो समूहमा आउँथे । उनीहरूको तराईदेखि काठमाडौँको यात्रा हप्तौँको हुन्थ्यो । उनीहरूले आफ्ना लागि रासनको बन्दोबस्त पनि भरिया लगाएर साथैमा गरेर आउँथे । विशेषतः ‘ड्राइफुड’का सौखिन बेलायतीहरूले आफ्ना लागि तयार गरिएको रासन लामो समयसम्म सुरक्षित राख्न टिनका बाकसमा लिएर आउँथे ।
‘अंग्रेजहरू भारतमा साम्राज्य फैलाएर बस्दा हरेका कुरामा आफ्नो छाप छोड्न चाहन्थे । त्यसै क्रममा बिस्कुटका टिनमा पनि महारानी भिक्टोरियाको तस्बिर अंकित गरेको हुनुपर्छ,’ मानन्धरले भने ।हप्तौँ लगाएर चित्लाङसम्म आइपुग्दा कैयौँ टिनका बाकस रित्तिसकेका हुन्थे । खाली बाकसहरू भरियाहरूले चित्लाङ वरपर छाडेर जान थाले । त्यही बाकसलाई काटेर चित्लाङबासीले खरको सट्टा टिनले छानो छाउन थालेका थिए ।
अहिले जताततै जस्ताको प्रयोग बढ्दै जाँदा एकाध घरमा मात्र त्यतिबेलाका टिनका छाना बाँकी छन् । आधुनिक घरहरू बन्न थालेपछि त टिनको प्रयोग पनि कम हुँदै गयो । त्यसैले त्यतिबेलाका छाना कमैमात्र भेटिन्छन् ।
मानन्धरका बाजेले बनाएको १० कोठे घरमा पनि यही टिनको छानो थियो । २०७३ सालमा घरमा आगलागी भयो । घर पूरै भत्कियो, टिनका छाना यत्रतत्र छरिए । कतिपय गाइगोठ र बाख्राका खोरमा ठोकिएका छन् । तर, मानन्धरले महारानी भिक्टोरियाको स्पष्ट आकृति देखिने एउटा पाता भने फ्रेममा सजाएर आफ्नो ‘गुर्जुधारा होमस्टे’को भित्तामा झुन्ड्याएका छन् ।
चित्लाङको स्वच्छन्द भैरव माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक समेत रहेका मानन्धरलाई यी पुरातात्विक सम्पदामा परिणत भइसकेका सामग्रीहरूको संरक्षण हुनुपर्छ भन्ने लाग्छ । तर, स्थानीय सरकारबाट भनेजस्तो पहल र केन्द्रबाट आवश्यक तदारुकता नदेखिँदा उनी थोरै निराश पनि देखिन्छन् ।
थाहा नगरपालिका–७ मा पर्ने यस क्षेत्रमा अरू थुप्रै ऐतिहासिक तथा धार्मिक पुरातात्विक महत्वका सामग्री र स्थल छन् । स्थानीय सरकार पनि पुरातात्विक महत्वका क्षेत्रमा के कसरी अघि बढ्ने भन्नेमा अन्योलमै छ । वडाध्यक्ष राजकुमार बलामीले पुरातत्व विभागले ठोस निर्णय दिन नसक्दा आफूहरूले चाहेर पनि केही गर्न नसकिएको गुनासो गरे । ‘हामी आफैँ काम गर्छौँ नि त भन्दा हुँदैन भन्छन्, आफैँ पनि केही गरिहाल्दैनन्,’ बलामीले भने ।
सोही वडामा रहेको ऐतिहासिक पाटी र शिवालयको जीर्णोद्धार भर्खरै सकिए पनि त्यहाँका मूर्ति चोरी हुनबाट बचाउन सकिएन । अन्य थुप्रै भौतिक संरचना संरक्षणको अभावमा बेवारिसे जस्तै बनेका छन् । ‘सय वर्ष नाघेपछि कुनै पनि संरचना पुरातात्विक महत्वको हुन्छ,’ मानन्धर भन्छन्, ‘अब यी थोत्रा टिनका टुक्रा जोगाउन कसको ध्यान पुग्नु ?’
(स्रोतः सौर्य दैनिक)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- गठबन्धनभित्रको मतभेदले मधेश सरकार विस्तार रोकियो
- सुकुम्बासीका माग सम्बोधन नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको चेतावनी
- शेरबहादुर देउवा र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता
- बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि
- आजको मौसम, पानी पर्ने र तातो हावा बहने सम्भावना
- आज यस्तो छ बिदेशी मुद्राको नेपाली दररेट
- ओलीको संकट तत्काललाई टर्यो, यस्तोछ पार्टीको नयाँ पदीय वरीयताक्रम



ट्रेन्डिङ
खबरमुकाम






