
अवसर र स्तरीय शिक्षा हासिल गर्नकै लागि विदेशमा पढ्न जाने विद्यार्थीको आकर्षण बढ्दो छ । अवसर र स्तरीय शिक्षा मात्र होइन, आपत्विपत्मा समेत विकसित देशहरूमा विदेशी विद्यार्थीलाई समेत स्तरीय सेवा सुविधा दिने अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाले समेत नेपाली विद्यार्थीको आकर्षण बढेको जानकारहरू बताउँछन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा नोअबजेक्सन लेटर (एनओसि ) लिने विद्यार्थीहरूको संख्या प्रति दिन बढेको तथ्यांकले देखाउँछ ।
सन्दर्भमा रहेर खबरमुकामले एडुकेयर अबरोड स्टडी कन्सलट्यन्ट( Gulmohar Educare Abroad Study Consultants) की कार्यकारी निर्देशक ईला स्वारसँग गरेको कुराकानीमा आधारीत अशः
विद्यार्थीहरु उच्च शिक्षाकै लागि किन विदेशिइरहेका छन् ?
विद्यार्थी विदेशिनुको प्रमुख कारण हो, नेपाली शिक्षाको कमजोर गुणस्तर । स्नातकोत्तर सकेको औसत विद्यार्थी जसले थेसिस बुझाएको हुन्छ, उसलाई अनुसन्धानात्मक कार्यमा लगायो भने गर्न नसक्ने स्थिति छ । यसको एकमात्र कारण हो, थेसिस कतैबाट सारेर बुझाउनु वा जाँचकीले पनि राम्रोसँग नहेर्नु ।
देशकै सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालयको अवस्था हेर्यो भने नाजुक छ । हालैमात्र भएका केही घटना नियाल्ने हो भने हाम्रो शैक्षिक गुणस्तर कस्तो छ भन्ने प्रस्ट हुन्छ । बीबीएस चौथो वर्षको रिसर्च मेथोडोलोजी विषयको परीक्षा भएको १ वर्षपछि पनि त्रिविले परीक्षाफल प्रकाशित गरेन । उल्टै उत्तरपुस्तिका हरायो भनेर विद्यार्थीहरूलाई पुनः परीक्षाको सूचना पठायो । यस्तो अवस्थामा भर्खरै १२ कक्षा उत्तीर्ण विद्यार्थीहरू कुन आधारले यही शिक्षा लिन प्रोत्साहित हुने ?
अधिकांश नेपाली विश्वविद्यालयले शैक्षिक क्यालेन्डर नै बनाउँदैनन् । बनाइहाले पनि त्यसको कार्यान्वयन शून्य बराबर छ । कुनै विषयको ४ वर्षे स्नातक कार्यक्रम सकिन ५ वर्ष लाग्छ, २ वर्षे स्नातकोत्तर सकिन ३ वर्षभन्दा बढी लाग्छ । क्यालेन्डर अभावको कारणले नै होला त्रिविले भर्खरै १२ कक्षाको परीक्षाफल प्रकाशित नहुँदै स्नातक तहको भर्ना खुलाएको थियो । कुनै पनि परीक्षा दिएको विद्यार्थीले आफूले दिएको परीक्षाको परिणाम प्राप्त गर्न कम्तीमा ५ देखि ७ महिना कुर्नपर्छ । यस्तो अवस्थामा एकातर्फ विद्यार्थीको समय बर्बाद भइरहेको हुन्छ भने अर्कोतर्फ विद्यार्थीहरूको विश्वविद्यालयप्रतिको विश्वास कमजोर भइरहेको हुन्छ । आफूसँगै १२ पढेको साथी विदेश गएर चार वर्षमा स्नातक सकेर कमाउन थालिसक्दा आफू भने स्नातक चौथो वर्षमा अध्ययन गरिरहेको अवस्थाले विद्यार्थीको वैदेशिक यात्राप्रतिको मोहलाई मलजल गरिरहेको छ । त्यसैले अविलम्ब शैक्षिक क्यालेन्डरलाई कडाइका साथ लागू गरेर ढिलासुस्ती अन्त्य नगरे विद्यार्थी विदेशिने क्रम अझै व्यापक रूपमा बढ्ने खतरा छ ।
अहिलेको परिस्थितीलाई ध्यानमा राखेर हेर्दा कुन देश पठाउने ?
विदेश धेरै प्रकारले गइन्छ । रोजगारीको लागि, घुमफिर मनोरञ्जनको लागि, स्वास्थ्योपचारको लागि, उच्च शिक्षाको लागि । तर, आफू कुन उद्देश्य लिएर विदेश जाने व्यक्ति स्वयंले निर्धारण गरेपछि मात्रै विदेश जाने प्रक्रिया सुरु गर्नुपर्छ । एक दशक यताको तथ्याङ्क नियाल्दा अष्ट्रेलिया, क्यानडा, यूके, यूएसए तथा केही युरोपियन देश नेपाली विद्यार्थीहरुको पहिलो रोजाईमा पर्छ । त्यसमा पनि १२ पास गरेर डिप्लोमा, ब्याचलर गर्न जाने अधिकांश विद्यार्थीहरू अष्ट्रेलिया गएका छन् । पछिल्लो २ वर्ष यता यूके, क्यानडा गएर अध्ययन गर्नेहरु पनि बढेका छन् । यसरी सबै विद्यार्थीको पहुँच हेर्दा अहिले यूक विद्यार्थीको रोजाईमा परेको छ ।
कुन कोर्स अध्ययन गर्न पठाउने ?
कोर्स हामील् छान्ने होईन विद्यार्थीले छान्ने हो । विद्यार्थीको चाहना के छ, कुन देश, कुन विश्वविद्यालय र कुन कोर्स अध्ययन गर्ने उनीहरूको चाहना छ, त्यसबारे बुझ्नुपर्छ । भविष्यमा उनीहरूले के गर्ने सोच बनाएका छन्, त्यसलाई अभिभावकले बुझेर मात्रै कन्सलटेन्सीमा जानुर्पछ । विद्यार्थीको कुरा गर्दा सबै विद्यार्थीले पढ्नकै लागि विदेश जाने मनस्थिति बनाउनु पर्छ । कतिपय विद्यार्थीहरू सुरुमा पढ्ने योजना बुनेरै विदेश जान्छन् तर विदेशको भूमिमा पाइला पर्ने बित्तिकै ‘म संसारकै धनी हुने देशमा आएँ’ भन्दै पढाई छाडेर ‘डलर कमाउन’ खोज्छन् । जुन एकदमै मुर्खतापूर्ण निर्णय हो । भर्खर कक्षा १२ पास गरेको, बाबुआमाको कमाईमा बाँचेको, जसको हातमा सामान्य चिया कफीसमेत बनाउन सक्ने सीप छैन । त्यस्ता विद्यार्थीले जुनसुकै देश गएपनि ‘सुन खानी’ भेट्टाउन सक्दैनन् । पहिले पढाई अनि मात्रै काम भन्दै पढाईमा एकाग्रता राख्नु पर्छ ।
कुन विश्वविद्यालय वा कलेजमा पठाउने ? कसरी आर्थिक पक्षलाई व्यवस्थापन गर्ने ?
हामीले पठाउने भनेको नै विश्वविद्यालयमा हे नेपालको जस्तो फलानो कलेज, फलानो चाँही युनिर्भसिटी भन्ने हुदैन । सबै विश्वविद्यालय नै हुने गर्छन । आफ्नो आर्थिक क्षमताअनुसारको देशमा छोराछोरीलाई पठाउने विषयमा परिवारका सदस्यसँग कुराकानी गर्नुपर्छ । धेरै खर्च लाग्ने देशमा पठाउँदा आफ्नो आर्थिक अवस्थाले नधान्न सक्छ । त्यसमा हामीले विशेष ध्यान पुर्याउनुपर्छ । त्यसपछि तपाईंले आफ्नो छोराछोरीसँग पनि छलफल गर्नुपर्छ । तर धेरैजसो अविभावकहरुले आफ्नो बच्चा विदेश नै पठाउनु पर्ने हो भन्ने सोचि पहिलैबाट सेभिङ गर्नु पनि हुदो रहेछ यो राम्रो पक्ष हो ।
विदेश जाने अन्तिम निर्णय लिनुभन्दा पहिला परामर्श क्षेत्रमा काम गरिरहेका अनुभवी व्यक्तिसँग सल्लाह लिन जरुरी हो ?
कुनै चिनेजानेको कन्सल्टेन्सी वा विज्ञ छ भने त्यहीँ बुझ्दा राम्रो, छैन भने देशभर अहिले ठूलो संख्यामा कन्सल्टेन्सी सञ्चालनमा छन् । तपाईंको नजिकै रहेका तीनदेखि चारवटा कन्सल्टेन्सीमा पुगेर बुझ्न सक्नुहुन्छ । त्यसो गर्दा तपाईंले सत्यतथ्य जानकारी पाउन सक्नुहुन्छ । एउटा मात्र कन्सल्टेन्सीको भर पर्नुहुँदैन । परामर्श लिँदा कुनै शुल्क नलाग्ने भएकाले तपाईंले आफूलाई चित्त नबुझ्दासम्म त्यसबारे बुझ्न सक्नुहुन्छ ।
कन्सल्टेन्सीको छनौट गर्दा सकेसम्म नाम चलेका र लामो समयदेखि परामर्श क्षेत्रमा काम गरिरहेका छान्नुपर्छ । त्यस्ता कन्सल्टेन्सीले आफ्नो प्रतिष्ठा जोगाइराख्न पनि गलत काम गरेका हुँदैनन् भनेर विश्वास गर्न सकिन्छ । भिसा भनेको प्राविधिक कुरा भएकाले यही क्षेत्रमा लामो समयदेखि काम गरेका व्यक्ति वा संस्थाहरू बढी जानकार हुन्छन् । अध्ययनका लागि विदेश जाँदा वा छोराछोरीलाई पठाउँदा तपाईंलाई सहयोग गर्ने कन्सल्टेन्सी नेपाल सरकारबाट अनुमतिप्राप्त छ वा छैन भनेर जान्न जरुरी छ ।
विदेश जाने अन्तिम निर्णय लिएपछि के गर्ने ?
भिसा पाउनका लागि तपाईंसँग भएका प्रमाणपत्रहरूलाई कागजी रूपमा नै बलियो बनाउन लाग्ने । तपाईं कागजी रूपमा नै कमजोर देखिएको खण्डमा सम्बन्धित देशले भिसा दिन अस्वीकार गर्छ । प्रमाणपत्र लिन वडा कार्यालयमा वा अन्य कुनै प्रशासनमा जाँदा त्यहाँ अभिभावक र विद्यार्थीसँग सँगै जानुपर्छ । जसले गर्दा छोराछोरी पनि योग्य हुन्छन् । कुन काम कसरी गर्ने, परिवारको आम्दानीको स्रोत के हो लगायत विषयमा जानकारी पाउँछन् । प्रमाणपत्र लिनेलगायत सबै कुरामा विद्यार्थी पनि सहभागी भएको खण्डमा अन्तर्वार्ता दिँदा होस् वा अध्यागमनलाई जवाफ दिँदा उनीहरूमा आत्मविश्वास बढेर जान्छ र निर्धक्क भएर सोधेका प्रश्नको जवाफ दिन सक्छन् । अन्तर्वार्ता दिँदा विद्यार्थी अलमलमा परे भने भिसासमेत नआउन सक्छ । त्यसैले हरेक क्रियाकलापमा अभिभावक र विद्यार्थी सँगसँगै हुनुपर्छ ।
भिसा प्रोसेसपछि के गर्ने ?
अन्तर्राष्ट्रिय विद्यार्थीलाई अध्ययन भिसा दिने अधिकांश देशले अध्ययनसँगै ‘पार्टटाइम’ काम गर्ने सुविधा पनि दिएका हुन्छन् । त्यसैले जुनसुकै क्षेत्रको भए पनि सीप सिकेर जाँदा विद्यार्थीलाई काम पाउन सहज हुन्छ । रोजगारदाताहरूले अनुभवी व्यक्तिलाई नै प्राथमिकतामा राख्ने भएकाले अध्ययनका लागि विदेश जाँदै गर्दा कुनै न कुनै सीप सिकेर जाँदा राम्रो हुन्छ । अनुभव भएको खण्डमा पारिश्रमिक पनि आफूले चाहेअनुसार माग गर्न सकिन्छ । तर, अध्ययन भिसामा गएका विद्यार्थीले पढाइलाई असर पर्ने गरी काम गर्न भने हुँदैन ।
अध्यागमन विभागले अन्तर्राष्ट्रिय विद्यार्थीमाथि हरेक समय निगरानी गरिरहेको हुन्छ । उनीहरूको कारबाहीमा परेको खण्डमा स्वदेश फिर्ता हुनुपर्ने अवस्था पनि आउन सक्छ । त्यसैले नियमअनुसार चल्नुपर्छ ।
विदेश गएपछि पैसा पठाएनन् भनेर छोराछोरीसँग अभिभावकको गुनासो हुने गर्छ यस विषयमा के भन्न चाहानु हुन्छ ?
यसो नगरौँ, छोराछोरीको पढाइमा ध्यान दिऔँ अध्ययनका लागि छोराछोरीलाई विदेश पठाएका अधिकांश अभिभावकको गुनासो पैसा पठाएनन् भन्ने हुन्छ । तर, अभिभावकले बुझ्नुपर्ने कुरा के हो भने छोराछोरी कमाउन नभई अध्ययन गर्न गएका हुन् । त्यसैले घरपरिवारबाट पैसा पठाऊ भनेर अनावश्यक तनाव दिनुहुँदैन ।
ऋण गरेर पठाएपछि अभिभावकले अपेक्षा गर्नु स्वाभाविक हो । तर, विद्यार्थी कस्तो परिस्थितिबाट गुज्रिरहेको छ भन्ने कुरालाई पनि ध्यान दिनुपर्छ । घरपरिवारकै अनावश्यक दबाबका कारण विद्यार्थी गलत बाटोमा लागेका, घरपरिवारबाट सम्पर्कविहीन भएका घटना पनि थुप्रै छन् । त्यसैले यस्ता कुरामा अभिभावकले ध्यान पुर्याउन जरुरी हुन्छ । घरपरिवारभन्दा टाढा हुने भएकाले के–कस्ता साथीभाइको संगत गरिरहेका हुन्छन् त्यो पनि थाहा हुँदैन । त्यसैले उनीहरूलाई सजग बनाउन जरुरी हुन्छ ।
नयाँ परिवेश, नयाँ वातावरण र त्यहाँको सांस्कृतिक माहोलसमेत फरक हुने भएकाले विद्यार्थीलाई त्यसले बढी आकर्षित गर्न सक्छ । त्यहाँको पार्टी कल्चर, बार कल्चर र ड्रिंक्स कल्चरले उनीहरूलाई कुलतमा पुर्याउन सक्छ । त्यसैले छोराछोरीका साथीभाइ, आफन्तलगायतसँगको सहकार्यमा छोराछोरीको हरेक क्रियाकलापलाई अभिभावकले निगरानीमा राख्न जरुरी हुन्छ । विदेशमा कोही पनि नभएको खण्डमा छोराछोरीले अध्ययन गरिरहेको विश्वविद्यालय वा प्रध्यापकलगायतसँग समन्वय गरेर पनि विद्यार्थीको बारेमा बुझ्न र जान्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक
- म्यानमारमा नेपाल-म्यानमार व्यापार र पर्यटन एक्स्पो-२०२५ हुँदै
- नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न NMB बैंक, IFC, र EU को साझेदारी
- मुक्तिनाथ विकास बैंकद्धारा कञ्चरपूरमा बैशाखी वितरण कार्यक्रम सम्पन्न
- सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमा PAN अपडेट र ब्यालेन्स सर्टिफिकेट अनुरोध गर्न सकिने सुबिधा थप
- नेपालमा भित्रियो बर्ली एयर कूलर, भब्य रुपमा सार्वजनिक
- बिहीबारदेखि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने
- राष्ट्रिय वाणिज्य बैंकद्वारा ग्लोबल मनी विकमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन