• वि.सं २०८१, कात्तिक २८ बुधबार
  • Wednesday, 13 November, 2024
  • युनिकोड
  • Live

पर्यटकलाई नयाँ उर्जा र उत्साहको अनुभूति दिलाउने चिवा भन्ज्याङ


केबी मसाल 

चिवा भन्ज्याङ धेरैलाई नयाँ नाम लाग्न सक्दछ । तर पर्यटनको क्षेत्रमा भने चिवा भन्ज्याङ नयाँ नाम होइन । मध्यपहाडी राजमार्ग अर्थात पुष्पलाल लोकमार्गको पूर्वी सिमाना चिवा भन्ज्याङमा पर्दछ । चिवा भन्ज्याङ पाँचथरको याङवरक गाउँपालिका वाडनं १ मा पर्दछ । चिवा भन्ज्याङ समुद्र सतहदेखि १० हजार ५०० फिटको उचाइमा पर्दछ । चिवा शब्द लिम्वु भाषाको हो र यसको शाब्दिक अर्थ हेर्न सकने\चियाउने\अवलोकन गर्न सकिने आदि हुन्छ । हुन पनि हो चिवा भन्ज्याङबाट मौसम सफा भएको समयमा भारतको उत्तरे, गेमपाङ दार्जलिङ र सिक्किमसम्मको भूगोल पर्यटकहरुले अवलोकन गर्न सक्दछन । भन्ज्याङ भनेको पहाडको चुचुरोबाट यात्रा गर्ने बाटो पनि हो ।

चिवा भन्ज्याङले पर्यटकहरुलाई नयाँ उर्जा र उत्साहको अनुभूति दिन्छ । नेपालको भूगोलको बारेमा जिज्ञासा राख्ने पर्यटकहरु आजभोलि चिवा भन्ज्याङ पुग्न थालेका छन् । पर्यटनका लागि चिवा भन्ज्याङ पुग्दा नेपाल–भारत सीमाको बारेमा अध्ययन अवलोकन समेत हुन्छ । चिवा भन्ज्याङमा पुगेपछि पर्यटकहरुले सीमा स्तम्भलाई छाया पारी फोटो, भिडिओ र सेल्फी लिँदा छुट्टै आनन्द र खुशीको अनुभूति लिने गर्दछन् । पर्यटकहरु चिवा भन्ज्याङमा सीमा स्तम्भ ४७ र २ मा जोडिएर देशप्रतिको माया दर्शाउँछन् । कतिपय पर्यटकहरु राष्ट्रिय गीतको धुनमा नाच्ने पनि गर्दछन् । पाँचथरमा १ सय १३ नेपाल–भारत सीमा स्तम्भ रहेको छ । सीमा क्षेत्रमा पूर्वतर्फ भारतीय भूमिमा संरक्षित क्षेत्रका रुपमा सिंहलीला राष्ट्रिय निकुञ्ज रहेको छ । नेपालको अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा ठूला, मझौला र साना गरी तीन खालका सीमा स्तम्भहरु पर्दछन् । नेपाल र भारतबीच १८ सय किलोमिटरभन्दा लामो सीमारेखा रहेको छ भने नेपाल र चीनबीच १४ सय किलोमिटरभन्दा लामो सीमारेखा पर्दछ । चिवा भन्ज्याङमा नेपालको सशस्त्र प्रहरीले सीमा सुरक्षा गर्दै आएको छ भने भारततर्फ सीमा सुरक्षा बल एसएसबीको क्याम्प रहेको छ ।

चिवा भन्ज्याङबाट सिक्किमको राजधानी गान्टोकको दूरी १७० कि.मी.को दूरीमा पर्दछ । ताप्लेजुङ, पाँचथर जिल्लाका मानिसहरु गान्टोक पुग्ने सबैभन्दा छोटो दूरी चिवा भन्ज्याङ हो । सिक्किम सरकारले पश्चिम सिक्किमको महत्वपूर्ण व्यापारिक बजार उत्तरेबाट सोक्पाख, जरिवुर्त भालुवाले हुँदै चिवा भञ्ज्याङसम्म अहिले सडक निर्माण गरेको छ । सिक्किमको सोम्पाखाबाट चिवा भञ्ज्याङसम्मको दूरी २५ कि.मी. पर्दछ । चिवा भन्ज्याङको नाका औपचारिकरुपले खुलाइएको त छैन । तर पनि आफ्नो निजी सवारी साधनबाट सिक्किम, गान्टोकदेखिका पर्यटकहरु चिवा भन्ज्याङ आउने जाने गर्दछन् । चिवा भञ्ज्याङको नाका सञ्चालन भएपछि नेपाल र सिक्किमबीच आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध विस्तार हुने र पर्यटनको समेत विकास हुनेछ । सिक्किमको सरकारले चिवा भञ्ज्याङसम्मको सडकलाई प्रमुख सडकका रुपमा विकास गरी नाकालाई करिडोर बनाउने काम गर्दैछ । गुराँस र चिमल ढकमक्क फुलेको बेलामा चिवा भञ्ज्याङ पर्यटकहरु पुगे भने सबै लोभिन्छन् । गर्मीको ससमयमा नेपालीहरु मात्र होइन, भारतीय पर्यटकहरु पनि चिवा भञ्ज्याङमा पुग्दछन् ।

लोकमार्गको चिवा भन्ज्याङ सीमाले अब ताप्लेजुङ र पाचँथरका मानिसहरुलाई दार्जिलिङ, कालिम्पोङ, खरसाङ र सिलिगुडी जान आउन सजिलो भएको छ । ती क्षेत्रमा पहि लेदेखि नै नेपाली भाषीहरुको बसोबास छ । पाँचथर र ताप्लेजुङको भाषा, सँस्कृति, रहनसहन, सिक्किमसँग मिल्दोजुल्दो हुन्छ । दार्जिलिङ सन् १८१६ मा ब्रिटिश शासकहरु र नेपाली शासकहरुबीच भएको सुगौली सन्धिबाट नेपालले गुमाएको भूमि हो । सुगौली सन्धिले पूर्वमा मेची नदीलाई नेपाल–भारत सीमा कायम ग¥यो । दार्जिलिङमा धेरै पर्यटकहरु पुग्ने गर्दछन् । दार्जिलिङका बासिन्दाको बोलीचाली, जीवनशैली, परम्परा र संस्कृतिप्रतिको आस्थाले पर्यटकहरुलाई मोहित बनाउँछ । नेपालीलाई सीमाबाट दार्जिलिङ छिर्न राजनीतिक भूगोलले छेक्दैन । दार्जिलिङमा थुम्का–थुम्का डाँडाकाँडामा चियाबारी, सडक छेउमा धुपी सल्लाका  रुखहरु, चिसो बतासले पर्यटकलाई स्वागत गरिरहेको हुन्छ । आँखा अगाडि देखिने कञ्चनजङ्घा हिमाल र हिमश्रृङ्खलाले पर्यटकहरुलाई नलोभ्याउने कुरा भएन । दार्जिलिङमा बर्षेनि लाखौं स्वदेशी र विदेशी पर्यटकहरु पुग्दछन् । नेपालबाट पनि घुम्नको लागि हजारौं  पर्यटकहरु दार्जिलिङ पुग्छन् ।

पाँचथरको गणेशचोकबाट चिवा भन्ज्याङसम्मको दूरी ६० किमी पर्दछ । मध्यपहाडी लोकमार्ग गणेशचोक हँुदै थर्पु, ओयाम, फलैचा, च्याङ्थापु बजार भएर चिवा भञ्ज्याङ जोडिन्छ । चिवा भन्ज्याङ पुग्नको लागि अहिले काठमाडौँ बाट बनेपा हुँदै वि.पि. राजमार्गको खुर्कोट भएर मध्यपहाडी लोकमार्गबाट पाँचथरको गणेशचोक पुग्न सकिन्छ । अर्कोतर्फ पूर्वी पहाडी जिल्लालाई तराईसँग जोड्ने चतरा–तमोर कोरिडोरबाट पनि गणेशचोक पुग्न सकिन्छ । यो मार्गमा चतरादेखि धनकुटाको मूलघाट हुँदै पाचथरको गणेशचोकसम्म १ सय ५३ किलोमिटर मोटरमार्ग पर्दछ । झापाको आरआलीदेखि मेची राजमार्गबाट इलामको चिया बगान कन्याम अवलोेकन गर्दै पनि गणेशचोक पुग्न सकिन्छ । पर्यटनका लागि पाँचथरमा पुग्नैपर्ने ठाउँ धेरै छन् । तर पनि आगेजुङ गुम्बा, कालापानी, जोरपोखरी, तिम्बुङ पोखरी, पौवा भञ्ज्याङ, फिदिम, बतासेडाँडा, रमितेडाँडा, लुब्रेकोटी, साधुटार, सिलौटी मन्दिर, सुकेपोखरी, किराँतहरुको प्रसिद्ध लुब्रेकुटी मन्दिर, महागुरु फाल्गुनन्दको मन्दिर, यासोकको सिद्धदेवी, देउराली, राउतेको बेहुली ढुङ्गा र हिलिहाङ दरबार पुग्न सके राम्रो हुन्छ । चिवा भन्ज्याङ जाँदा याङवरकको लामपोखरी अर्थात सुकाधाप क्षेत्र पुग्नसके राम्रो हुन्छ । वरिपरि गुराँस, चिमल र चाँपका रुखको घना जगलको बीच लामपोखरी क्षेत्रमा करिब दुई किलोमिटर दूरीमा दर्जनौँ ठूला र साना पोखरी पर्यटकहरुले अवलोकन गर्न सक्दछन् । गुराँस फुल्ने सिजनमा पुग्ने पर्यटकहरुलाई थरिथरिका गुराँसले तानिदिन्छ । पर्यटकहरुलाई चौंरी र गाईको चरन क्ष ेत्र जति घुमे पनि उत्तिकै आनन्द हुन्छ । यो क्षेत्रमा जानको लागि च्याङथापू बजारबाट कच्ची सडक वा पैदल यात्राबाट पुग्न सकिन्छ ।

चिवा भञ्ज्याङ पुग्ने पर्यटकहरुले पाँचथरका सबै पर्यटकीयस्थलहरुमा पुग्न आफ्नो घुमफिर गर्ने समय र प्याकेज भयो भने सजिलो हुन्छ । तर पनि हिलिहाङ गाउँपालिकामा पर्ने किराँत वंशका अन्तिम राजा हिलिहाङ योङहाङको संग्रहालय पुगेन भने पाँचथरको घुमफिर अधुरो जस्तै हुन्छ । हिलिहाङ दरबार परिसर प्राकृतिक भ्यूटावर हो । दरबवार परिसरबाट कञ्चनजङ्घा, कुम्भकर्ण हिमाल, पाथीभरादेवीको मन्दिर लगायत पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाका धेरै भूगोलको दृश्यावलोकन पर्यटकहरुले गर्न सक्दछन् । दरबार क्षेत्रमा सङ्ग्रहालय, गेट र हिलिहाङ राजाको शालिक स्थापना भएपछि पर्यटकहरु जान थालेका छन् । सङ्ग्रहालयमा हिलिहाङले तत्कालीन शाह वंशका सेनासँग युद्व लड्दा प्रयोग गरेका ढाल, तरवार, खुँडा, खुकुरी, निशान तथा युद्ध पश्चात् भएको सम्झौताका दस्तावेज र फौज लुक्ने बङ्कर एवं चीनबाट दरबार बनाउन ल्याइएका ईटाजस्ता पुरातात्विक वस्तुहरु समेत पर्यटकहरुले रुचिपूर्वक अवलोकन गर्दछन् । हिलिहाङ लिम्बुवानका अन्तिम राजा थिए । हिलिहाङले विक्रम संवत् १८१४ देखि १८३१ सम्म राज्य गरेको इतिहास छ । नेपाल एकीकरणका क्रममा शाह वंशसँग १७ पटकसम्म युद्ध लड्दा पनि जितहार नभएपछि सम्झौता भएको इतिहास छ । गणेशचोकबाट मेची राजमार्गको फिदिम हुँदै नाँगीको हिलिहाङ चोकबाट हिलिहाङ दरबार पुगिन्छ । फिदिम बजार पाँचथर जिल्लाको सदरमुकाम हो ।

हिलिहाङ राजाको सङ्ग्रहालय र फिदिम बजार अवलोकनपछि फर्कने बेला धेरै पर्यटकहरु मध्यपहाडी राजमार्ग अवलोकन गर्दै फर्कन खोज्दछन् । मध्यपहाडी राजमार्गलाई पुष्पलाल लोकमार्ग पनि भनिन्छ । महेन्द्र राजमार्ग र हुलाकी राजमार्गपछिको मध्यपहाडी लोकमार्ग तेस्रो राजमार्ग हो । पूर्वमा नेपाल–भारत सिमाना पाँचथरको चिवा भन्ज्याङबाट शुरु भएको मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला भएर सुदूरपश्चिमको नेपाल–भारत सिमाना बैतडीको झुलाघाटमा पुगेर टुंगिन्छ । पुष्पलाल लोकमार्गको लम्बाइ १ हजार ७ सय ६५ किलोमिटर पर्दछ । चिवा भन्ज्याङदेखि झुलाघाटसम्म पुग्दा मध्यपहाडी राजमार्गले २४ जिल्ला पार गर्दछ भने १९ जिल्लाका सदरमुकाम र कतै छेउछाउ भएर सडक निर्माण भएको छ । लोकमार्गले पहाडका २४ जिल्लाका २ सय २५ वटा बस्तीलाई सडक सञ्जालले जोडिएको छ । लोकमार्गले पाँचथरको याङ्वरक गाउँपालिकाको चिवा भन्ज्याङमा भारतको सिक्किम जोडिन्छ भने पश्चिममा बैतडीको झुलाघाटस्थित महाकाली नदी समाप्त विन्दु पर्दछ । महाकाली नदीपारि भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्ला पर्दछ ।

लोकमार्गमा घुमफिर गर्ने पर्यटकहरुले आफ्नो इच्छा, समय र आर्थिक अवस्था विचार गरेर घुमफिर तय गर्दा राम्रो हुन्छ । लोकमार्गको यात्रा एकैचोटि गर्ने अथवा खण्ड–खण्ड गरेर गर्ने त्यो पनि पर्यटकहरुले यात्राको तय गर्नुभन्दा पहिले नै गर्दा राम्रो हुन्छ । पाँचथरको चिवा भन्ज्याङबाट शुरु भएको मध्यपहाडी लोकमार्ग च्याङथापु, आयोम, थर्पु, गणेशचोक, गोपेटार, जोरसाल, तमोर नदी, संक्रान्ति, म्याङलुङ, वसन्तपुर, हिले, लगुवाघाट, भोजपुर, दिक्तेल, हलेसी, हिलेपानी, घुर्मी, खुर्कोट, चौरीखोला, दोलालघाट, बाहुनेपाटी, पातीभन्ज्याङ, नुवाकोट, सल्यानटार आरुघाट, पालुङटार, कास्कीको अन्नपूर्ण गाउँपालिका, बाग्लुङ, लुकुम, रुकुमकोट, मुसिकोट, चौरजहारी, जगतीपुर, बस्ताडा, दैलेख, दुल्लु जबमुकाध, साइजिउला, बेलखेत, विनायक, साँफेबगर, सिलगडी, डडेलधुरा, पाटन, सतबाँझ हुँदै झुलाघाट पुगेको छ । लोकमार्गको सडक पूर्णरुपमा नयाँ भने होइन । पहाडी जिल्लामा पहिला सञ्चालनमा रहेका विभिन्न राजमार्गका सडक खण्ड समेत लोकमार्गमा जोडिएको छ । जस्तै पोखराको ह्याम्जादेखि बाग्लुङको बुर्तिवाङसम्मको सडक लोकमार्ग बन्नुभन्दा पहिलेदेखि नै सञ्चालनमा थियो । अर्कोतर्फ अछामको मङ्गलसेनदेखि डोटी डडेलधुरा हुँदै बैतडीको पाटनसम्मको सडक पनि पहिले नै बनेको थियो । यो बाहेक पूर्वका केही जिल्लामा लोकमार्गमा केही खण्डमा पनि पहिला भएका सडक समेत जोडिएका छन् ।

 

 

पर्यटकहरुले लोकमार्गको यात्रा गर्दा नेपालका सबै प्रमुख नदीहरु देख्न सक्ने छन् । विभिन्न जिल्लाहरुमा पुग्दा त्यहाँको भाषा, संस्कृतिका बारेमा अध्ययन गर्न सक्नेछन् । पर्यटकहरुले यात्राकै क्रममा पहाडी धरातलका उपत्यका, रमणीय डाँडाकाँडा र हिमालको समेत अवलोकन गर्न सक्नेछन् । पर्यटकहरुले लोकमार्गको यात्रा गर्दा आफू पुगेको जिल्लामा धार्मिक तीर्थस्थल मात्र होइन, त्यस जिल्लाको पर्यटकीयस्थलहरुको पनि अवलोकन गर्न सक्दछन् । यात्रामा विभिन्न जनजातिहरुको परिकारका स्वाद र सिजनअनुसारका स्थानीय उत्पादनका फलफूलसमेत खान सक्नेछन् । पर्यटकहरुले यात्राकै क्रममा पहाडको स्वच्छ हावापानी, ठाउँठाउँमा उत्तर दक्षिणतर्फ निर्माण भएका सडकले लोकमार्गमा बनेका चोकमा बिस्तार भएका बजारले पर्यटकहरुलाई मोहित बनाउँछ । लोकमार्गको यात्राले पर्यटकहरुलाई नयाँ अनुभव र अनुभूति प्राप्त हुन्छ । लोकमार्गले ६ वटा प्रदेशको भूगोललाई छोएको छ । कतै कालोपत्रे, कतै ग्राभेल त कतै कच्ची सडकको प्रयोग गरेर पहाडै पहाड नागबेली आकारका सडक पार गर्दाको आनन्द पर्यटकहरुलाई छुट्टै हुन्छ ।

लोकमार्गले सहरलाई भन्दा पनि गाउँलाई बढी जोडेको छ । पहाडका दुर्गम गाउँहरु सडक मार्गमा जोडिएका छन् । लोकमार्गको उद्देश्य नै पहाडबाट बसाइँसराइ रोक्ने र पहाडी बजारहरुलाई सहर बनाउनु पनि हो । अहिले लोकमार्गमा पर्ने धेरै ठाउँमा नयाँ सहरहरु बन्दै गएका छन् । लोकमार्ग नै भएर अन्य ग्रामीण सडकहरु बढेका छन् । लोकमार्गलाई आधार बनाएर विभिन्न ठाउँमा सडक बनाउने क्रम बढ्दै गएको छ । लोकमार्गको यात्रामा एक्लै जानुभन्दा समूहमा जाँदा यात्रा खर्चमा कम हुन्छ । मन मिल्ने साथीभाइ मिलेर स्का र्पियो अथवा बोलेरो जस्ता गाडी अथवा मोटरसाइकल भयो भने यात्रामा उकालो ओरालो मात्र होइन, कच्ची र ग्राभेल सडकमा पनि यात्रामा कठिन हुँदैन । धेरै दिनको यात्राको प्याकेज छ भने आफूलाई आवश् यक पर्ने सबै सामान साथमा लैजानुपर्दछ । समूहमा जाँदा खाने बस्ने टेण्टको समेत बन्दोबस्ती भयो भने होटल खर्च हुँदैन । यात्रामा सबै मिलेर आफ्नो स्वाद अनुसारको खाना बनाएर खाँदाको मज्जा भिन्नै हुन्छ । दीर्घ रोगी भए आफूलाई चाहिने औषधि समेत साथमा नै लानुपर्दछ ।

लोकमार्गको सडकसँगै ग्रामीण क्षेत्रमा जग्गाको महत्व र मूल्यसमेत बढ्दै गएको छ । लोकमार्गले प्रदेशभित्र उत्तर–दक्षिण निर्माण भएका र निर्माणाधीन सडकलाई समेत जोडेको छ । पूर्वमा मेची राजमार्ग, कोशी राजमार्ग, सगरमाथा राजमार्ग, कटारी–ओखलढुंगा, धरान–धनकुटा, हिले–भोजपुर, मिर्चैया–सल्लेरी लगायतका सडकहरुले जोडेको छ । अर्कोतर्फ सिन्धुपलान्चोकमा कोदारी राजमार्ग,नुवाकोटमा त्रिशूली–धुन्चे राजमार्ग, बुढीगण्डकी करिडोरको निर्माणाधीन सडकले आरुघाटमा जोडेको छ भने गोरखाको लाप्राक, बाह्रपाकको ग्रामणी सडकले पनि लोकमार्गलाई जोडेको छ । त्यसैगरी लुइँटेलमा गोरखाको भच्चेक सिरानचोकको ग्रामीण सडक जोडिन्छ । अर्कोतर्फ डुभ्रे–बेसी सहर मनाङ सडकले पनि पाउडी ढिकमा लोकमार्ग जोडिन्छ । पोखराभन्दा पश्चिम लागेपछि लोकमार्गले कालीगण्डकी करिडोर, पूर्वी रुकुममा शहीदमार्ग, जाजरकोटमा भेरी करिडोर, दैलेखमा कर्णाली करिडोर, अछाममा बाजुरा मार्ग र बैतडीमा पुगेपछि दार्चुला जाने सडकले पनि लोकमार्गलाई जोडेको छ । यी प्रमुख राजमार्ग बाहेक प्रत्येक जिल्लामा अन्य ग्रामीण सडकहरुले पनि लोकमार्गलाई जोडेको छ ।

लोकमार्गमा यात्रा गर्दा पर्यटकहरु यी सबै राजमार्ग अवलोकन गर्दा रमाउने मात्र होइनन् यात्रामा उत्साहित हुन्छन् । सडक आफैले केही पनि उत्पादन गर्दैन तर सडकले स्थानीय उत्पादनलाई बाहिर पठाउन र बाहिरका उत्पादन भिœयाउन भने सहयोग गरेको छ । यस बाहेक सडक सञ्जाल विस्तार भएपछि मानिसको आवतजावत बढेको छ । नयाँ नौला पर्यटकहरु गाउँमा पुग्ने गरेका छन् । पर्यटकहरु गाउँमा पुग्न थालेपछि ग्रामीण क्षेत्रको आर्थिक क्रियाकलपमा पनि बृद्धि हुँदै गएको छ । सरकारले लोकमार्ग आसपासका ठाउँमा नयाँ शहरका रुपमा विकास गर्न थालेको छ । नयाँ शहरहरुमा पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, बाग्लुङको बुर्तिबाङ, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, बैतडीको पाटन र अछामको साँफेबगरलाई व्यवस्थित शहरका रुपमा विकास गर्न लागेको छ । लोकमार्गले छुने सबै जिल्लामा महत्पूर्ण पर्यटकीय क्षेत्रहरुलाई समेत जोडेको छ । पर्यटकहरुले यात्रामा प्राकृतिक सुन्दरता, धार्मिक महत्वका स्थल, परम्परागत सांस्कृतिक सम्पदा, पुरातात्विक महत्वका क्षेत्रहरु अवलोकन गर्न सक्दछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै