
काठमाडौँ । भारतका ९ जना र नेपालका १५ जना पत्रकारसहितको टोलीले रारातालको अवलोकन भ्रमण गरेर फर्किएको छ । नेपाल फोटो पत्रकार महासंघको आयोजनामा कर्णाली प्रदेश सरकारको आर्थिक सहयोग रहेको 'गर्मीसे बेहाल, चलो राराताल' कार्यक्रममा गत असार २ गतेदेखि आज ७ गतेसम्म भारत र नेपालका पत्रकारलाई रारातालको भ्रमण गराइएको हो ।
कर्नाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशको पर्यटनका विकासमा थप काम गर्ने प्रतिबद्धता जनाए । उनले भने, 'तपाईँहरूले दिएका सुझाव उपयुक्त छन् । कर्णाली प्रदेश प्रकृतिले नै निर्माण गरेको अनुपम पर्यटकीय गन्तव्य हो । भौगोलिक विकटता बाहेक हामीसँग सबै छन् । आगामी दिनमा पूर्वाधार निर्माण गरी सहज बनाउन लागि परिरहेका छौँ । धार्मिक, पौराणिक र सांस्कृतिक रूपले पनि कर्णाली समृद्ध छ । मानसरोबर, छायानाथ, पञ्चकोशी जस्ता सांस्कृतिक सम्पदाको करिडोर निर्माण गरी कैलास जाने भारतीय धार्मिक पर्यटकलाई कर्णाली घुमाउन प्रतिबद्ध छौँ । '
उनले संघीय सरकारसमक्ष पनि कर्णाली को विकास र समृद्धिमा पर्यटनको भूमिकाबारे पटक पटक माग राखेको बताए। कर्णाली प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री दुर्गाबहादुर राउतले सुर्खेत पुगेपछि खादा लगाई सम्मान गरेका थिए । उनले भने, 'नेपाल र भारत भौगोलिक रूपमा पछि छुट्टिएका हुन् । सांस्कृतिक र धार्मिक हिसाबले हामी सबै एकै हौँ । हाम्रो, संस्कृति, ईतिहास र मीथकमा रहेका सबै कुरा उस्तै छन् । आजको हाम्रो यश अभियानले भारत र नेपालका जनताको मनसँग मन जोड्नेमा हामी विश्वस्त छौँ ।' उनले सुर्खेतबाट हिँडेका ३८ जना पत्रकार तथा मन्त्रालयका पदाधिकारीलाई मन्त्रालयमा रिबन काटेर बिदाई गरेका थिए ।
फर्केर आएपछि मन्त्रालयले पनि विदाइ गरेको थियो । मन्त्रालयले आयोजना गरेको विदाइ कार्यक्रममा मन्त्री रावलले आगामी वर्षको बजेटमा राखेरै काम गर्ने बताए । उनले भने, 'कर्णाली प्रदेशमा थुप्रै सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक र सामरिकमहत्वका स्थानसमेत घुमाउनेछौँ र कर्नाली कति सुन्दर छ भन्नेबारे सारा भारतीयलाई देखाउन चाहन्छौँ ।'
पर्यटन शाखाका प्रमुख रामबहादुर बुढाले समग्र कर्णालीको पर्यटन प्रबर्धनमा यस्ता कार्यक्रममा निरन्तरता दिइने बताए । उनले भने, 'पत्रकारिताको माध्यमबाट दिन सक्ने योगदान तपाईँहरू दिनुहोस् हामी तपाईँको अभियानमा हामी सधैँ साथमा छौँ। आज थालनी मात्र भएको यस कार्यक्रमलाई हामी अभियानकै रूपमा अघि बढाउनेछौँ । मुम्बई, दिल्लीसम्मका पत्रकारलाई समेत सामेल गराउने योजनामा छौँ ।' विदाई कार्यक्रममा सबै पत्रकारका धारणा सुनिसकेपछि आगामी दिनमा प्रदेश सरकारले बाटोघाटो र पर्यटन नीतीमा सुधार गरि समग्र कर्नालीको पर्यटन मार्फत् समृद्ध कर्नाली निर्माण गर्न प्रतिबद्ध रहेको बताए ।
मन्त्रालयका कार्यबाहक सचिव शेरबहादुर श्रेष्ठले कर्णाली प्रदेशस्थित रारा तालको भ्रमणमा आएकोमा खुसी लागेको बताए। उनले भने, 'केन्द्र सरकारको प्राथमिकताबाट अझै टाढै रहेका भर्जिन ठाउँहरू घुमाउने छौँ । सडक र पर्यटन नीतिमा आवश्यक सुधार गर्दै अगाडि बढ्नेछौँ ।'
खाडाचक्र नगरपालिका कालिकोटका नगरप्रमुख कमलजङ्ग शाही तथा प्रमुख जिल्ला अधिकारीले स्वागत गरेका थिए । खाडाचक्र नगरपालिका कालिकोटका नगरप्रमुख शाहीले भने, 'राज्यले कर्नालीलाई सधैँ हेयको नजरले हेर्छ सबैभन्दा विकट कर्नालीका स्थानीय सरकारलाई नै बजेट कम दिएपछि हामीले कसरी पर्टन प्रबर्धनमा बजेट छुट्याउन सक्छौँ '। उनले सरकारको पर्यटन प्रबर्धनको प्राथमिकतामा कर्नाली नपरेकोमा गुनासो गरे ।
कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदरप्रसाद भण्डारीले सिञ्जा सभ्यताको प्रचारप्रसार गर्न नसकेको बताए । उनले भने, 'हामीले खस सभ्यता, मस्टो संस्कृति तथा कर्नालीका प्रकृतिक सम्पत्ति जल, जमीन र जंगललाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सके लाखौँ पर्यटकलाई रारासम्म उकाल्न सकिन्छ ।'
मुगुका पूर्व संविधानसभा सदश्य गोपाल बमले सल्लेरी आइपुगेर आफैँ रारातालसम्म पुर्याए । पत्रकार महासंघ मुगुको टोलीले आयोजना गरेको स्वागत कार्यक्रममा पूर्व संविधानसभा सदश्य बमले राराको समग्र पर्यटन गतिविधिबारे जानकारी दिँदै आफैँले डुङ्गा चलाएर एक घण्टासम्म रारा तालको सयर गराएका थिए । उनले भने, 'सरकारी नीति तथा निकुञ्जको कडा नियमका कारण ड्रोन र ठूला क्यामरा भित्र्याउन सकिँदैन । यसले गर्दा रारातालका बारेमा जति गहन अध्ययन गर्नुपर्ने र व्यापक प्रचारप्रसार गर्नुपर्ने थियो' त्यो सकिएको छैन। उनले भने, 'राराताल जत्ति पनि सुन्दरता नभएको भारतस्थित नैनीतालमा दैनिक हजारौँ हजार पर्यटक पुग्ने तर रारा सुनसान हुने कारणमा सरकार नै मुख्य दोषी हो ।'
फर्केर दैलेख बजार आइपुगेका पत्रकारको टोलीलाई नारायण नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष शैलेश श्रेष्ठले स्वागत गरेका थिए । ऐतिहासिक कोटगढीको भ्रमण गराइएको थियो । अनौपचारिक र छोटो स्वागत कार्यक्रममा उनले भने, 'सरकारले दिने भनेको असी लाख पनि पूरातत्व विभागले रोकेर राखिदिएका कारण थप जिर्णोद्धार गर्न सकिएको छैन । सामान्य माटो परीक्षणदेखि निर्माणसम्मै ढिलाई गरिदिएको छ । ६ महिना अघि निरीक्षण गरेको पूरातत्व विभागले स्पष्ट कारण नदिँदा यश वर्ष न केन्द्रसँग बजेट माग्न पाइयो न आफूले छुट्याउन पाइयो।' पूरातत्व विभागको स्पष्ट मापदण्ड नआउँदा कोटगढीको विकास नै अलपत्र हुने उनको गुनासो थियो ।
५ दिनसम्म सञ्चालित उक्त अभियानले सीमावर्ती मुलुक भारतका पर्यटकलाई गर्मी छल्न रारामा आकर्षित गर्ने उद्देश्य राखेको नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष हरि रेग्मीले बताए । उनले भने, ञकर्नालीको पर्यटन प्रबर्धनमा उद्योग, पर्यटन तथा वन मन्त्रालयको यश कदमले कर्नालीको पर्यटनमा नयाँ आयाम थपिनेछ । आगामी दिनमा विश्वकै सबैभन्दा बढी जनसंख्या भएको मित्रराष्ट्र भारतका पर्यटक भित्र्याउने कर्नाली प्रदेश सरकारका यस्ता कदममा हाम्रो सर्वदा साथ र सहयोग रहने छ ।झ कार्यक्रम संयोजक तथा नेपाल फोटो पत्रकार महासंघका वरिष्ठ सचिव हरिहरसिँह राठौरले आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्ने बताए । उनले भने, आगामी दिनमा सरकारले पर्यटनको प्रबर्धन र पूर्वाधारको विकासमा थप लगानी गरे हामी अझै राम्रो काम गर्नेछौँ । '
भारतबाट आएका वरिष्ठ पत्रकार मिथिलेस दुबेले भने, 'यो नैनीतालभन्दा दशौँ गुणा राम्रो छ तर सडकको समस्याले रारासम्म पुग्ने निकै कठिनाई हुन्छ । हवाइजहाज एउटा मात्रै चल्छ ।'
अर्का पत्रकार आनन्द गुप्ताले भने, 'आउँदो समयमा यो भन्दा ठूलो कार्यक्रम आयोजना गर्नुहोला । सडक, स्वास्थ्य, शिक्षामा परिवर्तन नगरी पर्यटनको विकास सम्भव छैन ।'
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडा र नेपाल बिमा प्राधिकरण विच विद्युतिय सवारी साधनहरुको विमाबारे छलफल
- प्रविधिमा प्रशिक्षित गर्दै पर्यटनमा महिलाको सशक्त सहभागिता आवश्यक
- सिटिजन्स बैंकद्वारा १८ औं बार्षिकोत्सवको अवसरमा सडक आश्रीत घरबारविहीनलाई १८ दिन भोजनको व्यवस्था, निःशूल्क स्वास्थ्य शिविर संचालन
- बिस्का जात्राको आठौँ दिन: सगुन जात्रा सम्पन्न
- प्रभु बैंक र कृषि बजार व्यवस्थापन समिति बीच व्यवसायिक साझेदारी सम्झौता सम्पन्न
- लुम्बिनी विकास बैँकद्वारा किर्तिमानी पर्वतारोही कामी रिता शेर्पा लाई बैंकको लोगो अंकित ब्यानर हस्तान्तरण
- रिलायबल लाइफ इन्स्योरेन्सले खुल्ला गर्यो १ अर्व आकारको रिलायबल समृद्धि योजना
- पर्यटन प्रबर्द्धन गर्न कूटनीतिक प्रतिनिधिलाई पूर्वी नेपालको यात्रा