Dark

आँखासँगै कान उपचार सेवा विस्तारको योजनामा नेत्रज्योति संघ दाङ   

खबरमुकाम । नेपाल नेत्रज्योति संघ दाङ लमहीमा आँखासँगै कान उपचारको सेवा सञ्चालन गर्ने तयारीमा जुटेको छ। 

नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक अधिकृत शम्शेर थापाका अनुसार लमही आँखा अस्पताल अन्तर्गत् कान उपचारका लागि आवश्यक तयारी भइरहेको छ। उनले लमही नगरपालिका-५ रातोडाँडा स्थित नगर विकास समितिले उपलब्ध गराएको पाँच कठ्ठा जमिनमा भवन निर्माण गरेर कानसम्बन्धी समस्याका बिरामीलाई सेवा दिने प्रयास रहेको बताए। उने भवन निर्माणसँगै कानसम्बन्धी विशेषज्ञ सेवा दिन सके देउखुरीसँगै जिल्लाका सम्बन्धित बिरामीले सेवा लिन पाउने बताए। 

जग्गा प्राप्त भए पनि लमहीका नगरका अघिल्लो जनप्रतिनिधि र प्रमुख प्रशासक कारण अस्पताल निर्माणमा ढिलाइ भएको जनाइएको छ। उनले थप्दै भने, ‘अहिले फेरि अर्को ठाउँमा जग्गा उपलब्ध गराउने कुरा छ। उक्त जग्गामा भवन निर्माण गरेर कानसम्बन्धी सेवा दिने तयारीमा छौँ।’ 

त्यस्तै, नेपालमा १ लाख ३० हजार व्यक्ति दृष्टिविहीन रहेको; जसमध्ये ३० हजार २ सय ४० जना बच्चाहरू दृष्टिविहीन र ९० हजार बच्चाहरूमा न्यून दृष्टिविहीनको समस्या रहेको जनाइएको छ। उनले ३० वर्षभन्दा माथिका १ लाख मानिस जलबिन्दुको समस्या रहेको र १ लाखलाई मधुमेह भएको जानकारी गराए। जसमध्ये २० हजार व्यक्ति मधुमेहका कारण दृष्टिविहीन छन्। थापाले आ.व २०८०/८१ को लागि साझेदारी कार्यक्रमका योजना, यस आ.वमा गढवा, राजपुर, लमही नगरपालिका र वडाहरुले गरेका साझेदारी कार्यक्रम र सहयोगको बारेमा जानकारी दिएका थिए। 

उनले लमही आँखा अस्पतालको रणनितिक कार्ययोजना समेत प्रस्तुतिकरण गरेका थिए। चालु आ.व. लमही नगरपालिका र गढवा गाउँपालिकाले आँखाको निःशुल्क उपचार सेवा प्रदान गरेका छन्। लमही नगरपालिकाका सबै वडाहरुमा निःशुल्क आँखा जाँच गरिएको छ। जाँच गरिएका ६ सय ५० जनामध्ये ४ सय ६ जनाको मोतीबिन्दु निःशुल्क शल्यक्रिया गरिएको छ। बाँकी २ सय ४४ जनाको शल्यक्रिया गर्नुपर्ने, गढवा गाउँपालिकाको सबै वडामा निःशुल्क आँखा जाँच गर्दा ४ सय ६० जनाको शल्यक्रिया गर्नुपर्ने र ३ सय ४ जनाको शल्यक्रिया गरिएको जनाइएको छ। त्यस्तै, १ सय ५६ जनाको शल्यक्रिया गर्न बाँकी रहेको छ। राजपुर गाउँपालिकामा ५ सय ५१ र राप्ती गाउँपालिकामा ८ सय ९७ जनाको मोतीबिन्दुको शल्यक्रिया गर्नुपर्ने रहेको जनाइएको छ।

यसैगरी, लमहीमा नेपाल नेत्रज्योति संघ आँखा अस्पताल कार्यक्रम राप्ती तथा बहादुरगञ्ज लमही अस्पतालले आयोजना गरेको ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख प्रशासक थापाले लुम्बिनी प्रदेशमा विभिन्न कारणले १ लाख ९५ हजार १ सय २० जना आँखासम्बन्धी समस्या भएका बिरामी रहेको जानकारी गराएका थिए। उनका अनुसार त्यसमा १ लाख १२ हजार ९ सय ६४ जना मोतियाबिन्दुका कारणले अन्धोपन भएका बिरामी रहेका छन्।

प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै रूपन्देहीमा २३ हजार ७ सय ५ जना मोतियाबिन्दुका बिरामी छन्। क्रमशः कपिलवस्तुमा १४ हजार ८ सय ७१, दाङमा १४ हजार ४ सय २७, बाँकेमा १३ हजार ५ सय ४६, बर्दियामा १० हजार ६ सय ४१, नवलपरासीमा ८ हजार ३ सय २२, गुल्मीमा ५ हजार ५ सय ९१, पाल्पामा ५ हजार ४ सय ३५, प्युठानमा ५ हजार ३ सय ५०, रोल्पामा ५ हजार २ सय ४, अर्घाखाँचीमा ४ हजार ४ सय ५८ र रुकुममा एक हजार २ सय ९१ जना मोतियाबिन्दुका बिरामी रहेको उनले कार्यक्रममा जनाए।

आखाँ उपचारमा सहयोग गर्ने प्रतिबद्धताः

यसैबीच, छलफल कार्यक्रममा बोल्ने वक्ताले आँखासँगै कानको उपचार गर्ने सवालमा सबै क्षेत्रको सहयोगसँगै साझेदारी आवश्यक रहेको जनाए। मानवीय सेवाको सबैभन्दा महत्वपूर्ण सेवा भनेकै आँखा उपचार सेवा भएको भन्दै सहभागी वक्ताले आँखा उपचार सेवामा स्थानीय तह, संघसंस्थालगायतको समन्वय र साझेदारी आवश्यक रहेको बताए।

कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले स्वास्थ्यका दृष्टिले आँखा उपचार सेवा महत्वपूर्ण भएको भन्दै आँखा उपचारलाई देउखुरीका चारवटै पालिकाले प्राथमिकतामा राख्नुपर्ने बताए। चारवटै पालिकासँगै नेत्रज्योति संघकाबीचमा सहकार्य र सम्झौता हुन आवश्यक रहेकोमा शर्माको जोड थियो। ‘मानवीय स्वास्थ्यका दृष्टिमा आँखा उपचार महत्वपूर्ण सेवा हो’, जिल्ला समन्वय समितिका प्रमुख शर्माले भने, ‘त्यसमा चारवटै पालिकासँगै अस्पतालबीच समन्वय र सहकार्य हुन आवश्यक छ।’ उनले स्थानीय तहहरूले गरिब तथा विपन्न नागरिकलाई देउखुरीमा सहजै आँखा उपचार सेवा दिनुपर्ने, जसका लागि आपूmले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले आफ्नो पहिलो प्राथमिकता नै जनताको सेवा भएको भन्दै जनताको सेवाका लागि आपूm जहिले पनि सकारात्मक रहेको बताए। जनताको सेवाका लागि आपूmले काम गर्दै आएको भन्दै नगर प्रमुख चौधरीले अस्पताल निर्माणका लागि समेत सहयोग गर्ने बताए। गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले राप्ती आँखा अस्पताललाई प्रदेशकै उत्कृष्ट आँखा अस्पतालको रूपमा विस्तार गर्नुपर्ने बताए। बिरामीलाई टाढा जानै नपर्ने गरेर लमही, तुलसीपुर र बहादुरगञ्जबाटै सेवा पाउने गरी सेवा प्रवाह गरिनुपर्ने उनले बताए। आँखा अस्पतालले हालसम्म गरेका कामहरू सराहानीय भएको उल्लेख गर्दै यो अस्पतालको विकासका लागि प्रदेशका सबै जनप्रतिनिधिले आर्थिक रूपले सहयोग गर्नुपर्ने उनको भनाइ थियो। उक्त आँखा स्वास्थ्य कार्यक्रममार्फत जनतालाई सेवा दिन आफू प्रतिबद्ध रहेको बताए। साथै, पालिका अध्यक्ष शर्माले आँखा तथा कानसम्बन्धी उपचार सेवालाई सहज र प्रभावकारी बनाउन सहकार्य गर्ने बताए।

कार्यक्रममा बोल्ने अन्य वक्ताले आँखा उपचार सेवा दातृ नियकाको सहयोगले मात्रै नचल्ने भन्दै दीर्घकालीन रूपमा सफल बनाउन सबैले सोच्नुपर्ने बताए। साथै, कार्यक्रममा कोइलावा आँखा अस्पतालको गुरुयोजना,पुनस्थापन कार्यक्रमलगायतका बारेमा जानकारी गराइएको थियो। उक्त कार्यक्रममा नेपाल नेत्रज्योति संघका सदस्य घनश्याम सुवेदीले साझेदारी कार्यक्रम र आगामी सहयोग साझेदारीको विषयमा प्रकाश पारेका थिए। 

नेपाल नेत्रज्योति संघ दाङका निवर्तमान उपसभापति तथा वर्तमान कार्यसमिति सदस्य रेशमबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगी, लमही नगरपालिका वडा नं. ५ का वडाध्यक्ष ओमप्रकाश सुवेदी, गढवा गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष लेखबहादुर थापा, राजपुर गाउँपालिका वडा नं. २ का ओमप्रकाश यादवलगायत लमही अँखा अस्पताको विकाश र विस्तारमा सहयोग गर्ने जनाएका थिए। कार्यक्रमको सहजीकरण सूचना अधिकारी बालाराम खड्काले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै