Dark

सुपरिवेक्षकीय सूचना प्रणालीको विधिवत् हस्तान्तरण 

खबरमुकाम । नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण संरचनालाई स्वचालित र प्रविधिमैत्री बनाउने उदेश्यले कार्यान्यवयनमा ल्याइएको ‘सुपरिवेक्षकीय सूचना प्रणाली’ विधिवत् रुपमा बैंकलाई हस्तान्तरण गरिएको छ ।

बिहीबार काठमाडौँमा आयोजित एक समारोहका बीच बेलायती सहयोग नियोगअन्तर्गतको फरेन कमनवेल्थ एण्ड डेभेलपमेन्ट अफिस (एफसीडीओ)का विकास निर्देशक पीप्पा बर्डले उक्त प्रणाली गभर्नर महाप्रसाद अधिकारीलाई हस्तान्तरण गरेका हुन् । 

बेलायती सहयोग नियोगको वित्तीय क्षेत्र स्थायित्व कार्यक्रम (एफएसएसपी)को वित्तीय सहयोगमा एसआईएस निर्माण गरिएको हो । कार्यक्रममा गभर्नर अधिकारीले एसआइएसको कार्यान्वयनसँगै बैंक तथा वित्तीय संस्थाको नियमन र सुपरिवेक्षणको ढाँचा स्वचालित प्रणालीमा प्रवेश गरेको बताए ।

वित्तीय क्षेत्रको प्रभावकारी नीति तर्जुमा र कार्यान्वयनका निम्ति विश्वसनिय र यथार्थ तथ्यांक आवश्यक पर्ने उल्लेख गर्दे गभर्नर अधिकारीले एसआईएसले त्यो आवश्यकतालाई परिपूर्ति गर्ने विश्वास व्यक्त गरे । एसआईएसको निर्माण र कार्यान्वयनमा प्राप्त सहयोगको निम्ति उनले बेलायती सहयोग नियोग र सम्बद्ध अन्य निकायलाई धन्यवाद दिए । 


 

सो अवसरमा एफसीडीओका निर्देशक बर्डले एसआईएसको कार्यान्वयनबाट राष्ट्र बैंकको सुपरीवेक्षकीय क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै नेपालको वित्तीय क्षेत्रको सुदृढीकरणको निम्ति बेलायत सरकार सँधै प्रतिबद्ध रहेको धारणा राखिन् । 

कार्यक्रममा बैंक सुपरीवेक्षण विभागका निर्देशक शुभाषचन्द्र घिमिरेले एसआईएसको परिचय, विशेषता र यसको कार्यान्वयनका विविध पक्षबारे जानकारी दिए भने उपनिर्देशक डिल्लीराम पोखरेलले एसआईएसको डेमो प्रदर्शन गरे ।

सो अवसरमा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिक केसीले एसआईएसको कार्यान्वयन नेपालको वित्तीय प्रणालीको निम्ति ‘कोसे ढुङ्गा’ सावित भएको उल्लेख गर्दै यसको कार्यान्वयनमा बैंक तथा वित्तीय संस्थाबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा एसआईएस निर्माणमा आबद्ध साझेदार संस्था (पीडब्लूसी) का प्रतिनिधि रनेन बनर्जी, एफएसएसपीका टोली प्रमुख सूर्य आचार्य र एसआईएसको सफ्टवेयर तयार गर्ने संस्था (आईआरआईएस) का प्रमुख एस.स्वामीनाथनले उक्त प्रणालीको प्रारम्भिक चरणदेखि कार्यान्वयन अवस्थासम्मका विविध पक्षबारे चचा गरेका थिए । 

‘सुपरिवेक्षकीय सूचना प्रणाली (एसआईएस)’ अनलाइन प्रविधिमा आधारित रिपोर्टिङ सिस्टम हो । बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकमा नियमित रूपमा रिपोर्टिङ गर्नुपर्ने तथ्याङ्क र सूचना यसै प्रणालीमार्पmत पेश गर्दछन् । स्वाचालित प्रणालीबाटै ती तथ्याङ्कको प्रशोधन गरिन्छ । एसआईएसको कार्यान्वयनबाट सुपरिवेक्षकीय प्रणाली आधुनिक, स्वचालित र थप प्रभावकारी बन्न पुगेको सरोकारवालाहरूको विश्वास छ । एसआईएसको कार्यान्वयनबाट नेपाल राष्ट्र बैंकको सुपरिवेक्षकीय प्रणाली थप सबल, वस्तुनिष्ठ तथा प्रभावकारी बन्ने र यसबाट वित्तीय क्षेत्रको स्थायित्वमा योगदान पुग्ने अपेक्षासमेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै